News Summary
Generated by OK AI. Editorially reviewed.- प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको छ।
- आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले पुरस्कार समारोहमा मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले मातृभाषाको सम्मान हुने बताए।
- आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र सम्बर्द्धनका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिए।
२९ वैशाख, ललितपुर । समालोचक तथा नेपाल भाषा साहित्य तथा इतिहास लेखक प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ प्रदान गरिएको छ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आज मंगलबार ललितपुरमा आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई एक लाख रुपैयाँ नगद सहितको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ हस्तान्तरण गरेका हुन् ।
पुरस्कार वितरणमा समारोहलाई सम्बोधन गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले पुरस्कार पाउनका लागि कसैले पनि मातृभाषामा काम गरेको हुँदैन भन्दै मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले मातृभाषाको सम्मान हुने बताए ।
“अहिलेसम्म धेरै गरिमा बोकेका व्यक्तिहरुले पुरस्कार प्राप्त गरेका छन्, मातृभाषालाई माया गर्नेलाई सम्मान गरेर देशको भाषिक विविधतालाई कायम राख्न हामी सबै क्रियाशील हुनुपर्छ,’ उनले भने ।
उनले सबै जातीय संस्थाहरूले गर्ने मातृभाषाका सम्मान तथा पुरस्कार कार्यक्रमलाई मातृ भाषामा नै सञ्चालन गर्ने अवस्था मिलाउन आग्रह गरे।
आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र सम्बर्द्धनका लागि यस्तो सम्मान महत्त्वपूर्ण हुने भन्दै मातृभाषाको संरक्षण गरेर पहिचान कायम राख्नका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4