
२२ असार, काठमाडौं। नक्कली नोट कारोबारको आरोपमा पक्राउ गरेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीको बयान सकिएको छ ।
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर लगाएर उनको बयान सकिएको हो । थुनछेक बहसका लागि चाहिँ समय नपुगेपछि उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा फिर्ता पठाइएको एक अधिकृतले अनलाइनखबरलाई बताए ।
जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भएको थियो । भोलि हुने थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।
अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।
अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यसलगत्तै फेरि पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए ।
युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० जेठ २०७६ मा पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
यिन तीन जना पाकिस्तानी नागरिकलाई लिन युनुससँगै पुगेका रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट समेत त्यहीँबाट पक्राउ परेका थिए ।
यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो ।
प्रतिक्रिया 4