
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म \'प्यारेन्टहुड\'ले अभिभावकत्वका चुनौती र प्रेमले सम्बन्ध बलियो बनाउने कुरा देखाउँछ।
- \'द पर्स्युट अफ ह्याप्पिनेस\'ले आर्थिक संकटमा पनि अभिभावकको प्रेम र समर्पणले सन्तानलाई सुरक्षित राख्ने सन्देश दिन्छ।
- \'फाइन्डिङ निमो\'ले अभिभावक र सन्तानबीचको विश्वास र स्वतन्त्रताको महत्त्व उजागर गर्छ।
सबै आमाबाबुको एक साझा उद्देश्य हुन्छ-आफ्ना छोराछोरीको भविष्य राम्रो बनाउने । आफ्ना सन्तानको पढाइ राम्रो होस्, राम्रो आय-आर्जन गर्न सकुन्, समाजमा उच्च प्रतिष्ठा होस्, यो हरेक आमाबाबुको चाहना हो ।
आफ्ना बालबालिकालाई प्रगतिको बाटोमा डोर्याउने भूमिका पनि अभिभावककै हुन्छ । बालबालिकालाई कसरी हुर्काउने, उनीहरूको भावनात्मक, सामाजिक र बौद्धिक विकासलाई कसरी समर्थन गर्ने भन्ने विषयमा सिक्न विभिन्न माध्यमहरू उपयोगी हुन्छन् । यसमा एक माध्यम फिल्म पनि हो ।
बालबालिकालाई कसरी मार्गदर्शन गर्ने भनेर अभिभावकले केही फिल्मबाट सिक्न सक्छन् । यी फिल्मले मनोरञ्जनसँगै गहिरो सन्देश र प्रेरणा पनि दिन्छन्, जुन अभिभावकका लागि निकै उपयोगी हुनसक्छ ।
यी फिल्मले अभिभावकत्वका लागि आवश्यक पर्ने विभिन्न पक्षहरू जस्तै-: प्रेम, अनुशासन, विश्वास र सांस्कृतिक मूल्यहरूलाई उजागर गर्छन् ।
१. प्यारेन्टहुड (१९८९)
यो रोन हावर्डले निर्देशन गरेको हल्का हास्य र भावनात्मक कथानक भएको पारिवारिक ड्रामा हो । फिल्ममा स्टीव मार्टिन, म्यारी स्टिनबर्गन र रिक मोरानिसजस्ता अभिनेताहरू छन् । यो बकमिन्स्टर परिवारको विभिन्न पुस्ताको कथा हो, जसले अभिभावकत्वका चुनौती र आनन्दलाई चित्रण गर्छ । कुनै पनि अभिभावक पूर्ण हुँदैन, तर प्रेम र प्रयासले सम्बन्धलाई बलियो बनाउन सकिन्छ भन्ने कुरा फिल्मले देखाउँछ ।
यो फिल्मले सन्तानको अपेक्षा र वास्तविकता बीचको द्वन्द्व, किशोरावस्थाको विद्रोही स्वभाव र साना बालबालिकाको हेरचाहको जटिलताबारे प्रस्तुत गरेको छ ।
गिल बकमिन्स्टर (स्टीव मार्टिन) आफ्ना सन्तानको भविष्यप्रति चिन्तित छन् । उनको छोराको भावनात्मक समस्यालाई बुझ्न खोज्छन् । उनकी बहिनी सुसानले आफ्नी किशोरी छोरीको विद्रोही व्यवहारसँग जुध्नुपर्छ । अर्की बहिनी हेलेन एक्ली आमा भएर छोराछोरीको पालनपोषण गर्छिन्।
अभिभावकले सन्तानलाई बुझ्न र उनीहरूको भावनालाई स्वीकार गर्न समय दिनुपर्छ भन्ने कुरा यसले सिकाउँछ । प्रत्येक बच्चा फरक हुन्छ, र उनीहरूको अद्वितीय आवश्यकता बुझ्नुपर्छ भन्ने सन्देश पनि यसको छ ।
यो फिल्मले अभिभावकहरूलाई आफ्ना सन्तानसँग खुला संवाद गर्न र उनीहरूको भावनात्मक आवश्यकतामा ध्यान दिन प्रेरित गर्छ।
२.द पर्स्युट अफ ह्याप्पिनेस (२००६)
यो फिल्म वास्तविक जीवनको कथामा आधारित छ । यसमा विल स्मिथले क्रिस गार्डनरको भूमिका निर्वाह गरेका छन्। क्रिस एकल अभिभावक हुन्, जो आर्थिक संकट र घरबिहीन अवस्थामा पनि आफ्नो छोराको हेरचाह गर्छन् । उनले स्टकब्रोकर बन्ने आफ्नो सपना र छोराको भविष्यका लागि कडा मेहनत गर्छन् । यो फिल्म सङ्घर्ष, त्याग र अभिभावकको दृढताको कथा हो।
आर्थिक कठिनाइ, घरबिहीन हुनुपर्दाको सामाजिक तिरस्कारका बावजुद क्रिसले कहिल्यै हार मान्दैनन् । उनको छोरासँगको सम्बन्धले दर्शकहरूलाई भावुक बनाउँछ । अभिभावकको प्रेम र समर्पणले कठिन परिस्थितिमा पनि सन्तानलाई सुरक्षित महसुर गराउँछ र अघि बढ्ने प्रेरणा मिल्छ भन्ने यो फिल्मले देखाउँछ ।
अभिभावकले सन्तानलाई कठिन समयमा पनि सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्नुपर्छ भन्ने सन्देश यो फिल्मको छ । सन्तानको भविष्यका लागि अभिभावकले आफ्नो व्यक्तिगत सुख त्याग्न तयार हुनुपर्ने यथार्थलाई यसमा प्रस्तुत गरिएको छ ।
३. फाइन्डिङ निमो (२००३)
यो पिक्सारको एनिमेटेड फिल्म हो । यसले मर्लिन (एउटा माछा) र उसको छोरो निमोको कथा प्रस्तुत गर्छ । यसमा बुबा मर्लिनले आफ्नो छोरालाई हरेक खतराबाट जोगाउन चाहन्छ। यसैबीच निमो हराउँछ । आफ्नो छोरालाई खोज्न मर्लिन समुद्रको यात्रा गर्छ । यो यात्रामा मर्लिनले आफ्नो डरलाई जित्छ । साथै, सन्तानलाई चुनौतीबाट जोगाउन भन्दै अति नियन्त्रण गर्न नहुने रहेछ भन्ने कुरा पनि उसले सिक्छ ।
फिल्मले अभिभावक र सन्तान बीचको सम्बन्ध, स्वतन्त्रताको आवश्यकता र विश्वासको महत्त्वलाई चित्रण गर्छ । निमोले पनि आफ्नो एउटा पखेटा कमजोर हुँदाहुँदै पनि आत्मविश्वास र साहस सिक्छ।
यसले दिने मुख्य सन्देश भनेको सन्तानलाई सधैं आफ्नो संरक्षणमा राख्ने मात्रै होइन आफ्नो क्षमतामा विश्वास गर्न सिकाउनुपर्छ भन्ने हो ।
४. मिसेज डाउटफायर (१९९३)
यो रमाइलो र भावनात्मक फिल्ममा रबिन विलियम्सले ड्यानियल हिलार्डको भूमिका निर्वाह गरेका छन् । हिलार्ड सम्बन्धविच्छेदपछि आफ्ना सन्तानसँग समय बिताउन नर्सको भेषमा ‘मिसेज डाउटफायर’ बनेर आफ्नै घरमा काम गर्छन् । यो फिल्मले सम्बन्धविच्छेदको प्रभाव, अभिभावकको जिम्मेवारी र सन्तानप्रतिको प्रेमलाई देखाउँछ।
ड्यानियलले आफ्ना सन्तानलाई माया गर्छन्, तर उनको अव्यवस्थित जीवनशैलीले उनलाई अभिभावकको रूपमा चुनौती दिन्छ । मिसेज डाउटफायरको रूपमा उनले अनुशासन, हेरचाह र जिम्मेवारीको महत्त्व सिक्छन् । यो फिल्मले हाँस्य र भावनाको संयोजनले अभिभावकत्वका जटिल पक्षहरूलाई प्रस्तुत गर्छ ।
सम्बन्धविच्छेदले सन्तानमा पर्ने भावनात्मक प्रभावलाई बुझ्ने र त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा यसको मुल सन्देश हो । यो फिल्मले अभिभावकहरूलाई सन्तानसँगको सम्बन्धलाई प्राथमिकता दिन र परिवर्तनशील परिस्थितिमा पनि जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्छ।
५.पथेर पञ्चाली (१९५५)
सत्यजित रायको यो भारतीय फिल्म बंगाली परिवारको कथा हो । यसमा आमाबुबाले गरिबी र सामाजिक चुनौतीहरूका बीच आफ्ना सन्तान दुर्गा र अपुको पालनपोषण गर्छ । यो फिल्मले ग्रामीण भारतको जीवन, परिवारको प्रेम र सन्तानको सपनालाई चित्रण गर्छ ।
हरिहर र सरोजिनीले आफ्ना सन्तानलाई सीमित स्रोतमा पनि माया र हेरचाह दिन्छन् । दुर्गा र अपुको बाल्यकालको निर्दोषपन र उनीहरूको सानो संसारमा रमाउने कथा मार्मिक छ। फिल्मले गरिबीले अभिभावकत्वमा ल्याउने चुनौती र सन्तानको सिकाइमा परिवारको भूमिकालाई उजागर गर्छ।
आर्थिक कठिनाइले अभिभावकको मायालाई कमजोर बनाउनु हुँदैन र सन्तानको जिज्ञासा र रचनात्मकतालाई प्रोत्साहन गर्नुपर्छ भन्ने सन्देश यसमा छ ।
प्रतिक्रिया 4