
३२ असार, इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।
सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो ।
चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शङ्कास्पद भएको आरोप लागेको थियो ।
इस्लामाबादस्थित बेलायती उच्चायोगका अनुसार बेलायतको हवाई सुरक्षा समितिले पाकिस्तानमा हवाई सुरक्षामा सुधार भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
‘यो स्वतन्त्र र प्राविधिक रूपमा संचालित प्रक्रियाको आधारमा यसले पाकिस्तान र यसका हवाई वाहकहरूलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको छ,’ एक विज्ञप्तिमा भनिएको छ ।
युरोपेली नियामकहरूले पिआईएमाथिको चार वर्षको प्रतिबन्ध हटाएपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले जनवरीदेखि युरोपमा उडान पुनः सुरु गरेपछि यो कदम चालिएको हो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रतिबन्ध फुकुवा हुनुलाई ‘देशको लागि महत्वपूर्ण कोसेढुङ्गा’ भनेका छन् ।
‘बेलायतले पाकिस्तानी उडानमा लगाएको प्रतिबन्ध हटाउनु बेलायतमा रहेका पाकिस्तानीहरूका लागि राहतको स्रोत हो,’ उनले एक विज्ञप्तिमा भनेका छन् ।
पिआईएले इस्लामाबादबाट म्यानचेस्टरका लागि पहिलो उडानसँगै ‘सकेसम्म छोटो समयमा’ बेलायतका लागि सेवा पुनः सुरु गर्ने जनाएको छ ।
उड्डयन मन्त्री ख्वाजा आसिफले प्रतिबन्धका कारण पिआईए घाटा भएको स्वीकारेका छन् । इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पाकिस्तानी एयरलाइन्समा फेरि एकपटक विश्वास बहाल भइरहेको छ ।’
करिब सात हजार जनालाई रोजगारी दिने पिआईएमाथि लामो समयदेखि बिल नतिरेको, कमजोर सुरक्षा रेकर्ड र नियामकीय समस्या रहेको र सेवा सञ्चालन रेकर्ड राम्रो नदेखिएको आरोप लाग्दै आएको छ ।
पाकिस्तान सरकारले ऋणमा डुबेको एयरलाइनलाई निजीकरण गर्न प्रतिबद्ध रहेको बताएको छ र क्रेता खोज्न कोसिस गरिरहेको छ ।
सन् २०२४ मा एक सम्भावित क्रेताले माग मूल्यको एक अंश मात्र दिने प्रस्ताव गरेपछि एउटा सम्भावित सम्झौता असफल भएको थियो ।
पिआईए सन् १९५५ मा अस्तित्वमा आएको थियो भने सन् १९९० को दशकसम्म तीव्र नाफामा थियो ।
प्रतिक्रिया 4