
३२ असार, काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन भएका छन् ।
अफ्रिकी देश तान्जानियामा सोमबारदेखि चलिरहेको विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनबाट निवर्तमान महासचिव श्रेष्ठ सर्वसम्मत उपाध्यक्षमा चयन भएका हुन् ।
नेपालका तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा र सर्मथकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए ।
सम्मेलनले विश्व प्रेस काउन्सिलको अध्यक्षमा केन्याका डेभिड ओम्ओयो र अर्का उपाध्यक्षमा साइप्रसका अली हान्सेर्लीलाई चयन गरेको छ ।
यस्तै काउन्सिलको महासचिवमा तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा, टर्कीका तामेर अताबारुत कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चयन भएका छन् ।
काउन्सिलको नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । नेपालसहित २६ देशका प्रतिनिधि सहभागी शिखर सम्मेलन शुक्रबार सकिने छ ।
प्रतिक्रिया 4