+
+
Shares
डाक्टरसँग अफबिट कुरा :

‘३० वर्ष भयो फिल्म नहेरेको’ डा. शेरबहादुर पुन

फुर्सद पाए दयाहाङ राईसँग समय बिताउन चाहन्छु । उहाँको पूरा फिल्म त मैले हेरेको छैन । तर, मोबाइल चलाउँदा कहिँलेकाँही रिलमा फिल्मका क्लिपहरू हेरेको छु ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ असार ४ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डाक्टर शेरबहादुर पुन पुराना गीत सुन्न र घुम्न जान रुचाउँछन् ।
  • उहाँले फिल्म पूरा नहेरेको लामो समय भयो ।
  • उहाँले नेपाली कलाकार दयाहाङ राईलाई मन पराउनुहुन्छ ।

अस्पताल, उपचारको दौडधूपमा व्यस्त हुने डाक्टरहरू अक्सर गम्भीर देखिन्छन् । घडीको काँटाजस्तै एकनासे दैनिकीले उनीहरूलाई डोहोर्‍याउने गर्छ । यस्तो अवस्थामा उनीहरू कसरी आफ्नो निजी जीवन बिताउँछन् ? कसरी रमाइलो गर्छन् ?

कुन बेला घुमफिर गर्छन् ? कुन बेला फिल्म हेर्न निस्कन्छन् ? आम चासोका कुरा हुन् यी । हामीले यस्तै चासो राखेका थियौं, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग ।

१.रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात मन खुसी भएका बेला के गर्नुहुन्छ ?

रामाइलो गर्न मन लागेको बेला वा मन खुसी भएका बेला मलाई पुराना गीत सुन्न मनपर्छ । साथै फुर्सद भएको बेलामा घुम्न जान पनि असाध्यै मनपर्छ । घुम्न जान त अलि बढी नै समय चाहियो त्यसैले अलिकति फ्री हुँदा, मन खुसी हुँदा पुराना नेपाली गीत सुन्न मनपर्छ ।

२.फिल्म हेर्नुहुन्छ ? पछिल्लो समय हेरेको फिल्म याद छ ?

मैले फिल्म नहेरेको त लगभग ३० वर्ष भइसक्यो । कहिँलेकाँही सूचनामुलक डकुमेन्ट्रीहरू चाहिँ हेर्छु तर फिल्म नहेरेको लामो समय पो भयो त । पछिल्लो फिल्म हेरेको भनेको लाहुरे होला।

३. त्यो फिल्म घरमै हेर्नुभएको वा हलमा ?

लामो समय भयो फिल्म नहेरेको । तर, धेरै पहिले फिल्म हेर्दा भने हलमा नै गएर हेरेको हो ।

४. कुनै फिल्म हेरेर त्यसप्रति प्रभावित हुनुभएको छ ?

कुनै फिल्म हेरेर प्रभावित नै भएको त याद छैन । म फिल्म हेरेर मनोरञ्जन भने भरपुर लिने मान्छे हो । मनोरञ्जनका लागि नै हेर्थेँ ।

५. फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो कि लाग्दैनथ्यो ?

यस्तो हुन्छ फिल्ममा भित्र डुबेपछि आफैँ नै त्यसको कलाकार भएको जस्तो चाहिँ फिल हुन्थ्यो मलाई । तर, फिल्म सकिए पछि त फेरि कलाकारबाट सामान्य मान्छे हुन्थेँ।

६. तपाईले हेरेको कुनै त्यस्तो फिल्म छ, जसको कारण तपाईंले आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?

फिल्म हेरेर नै आफूलाई बदल्ने कोसिस भने मैले गरिन ।

७. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?

फुर्सद पाए दयाहाङ राईसँग समय बिताउन चाहन्छु । उहाँको पूरा फिल्म त मैले हेरेको छैन । तर, मोबाइल चलाउँदा कहिँलेकाँही रिलमा फिल्मका क्लिपहरू हेर्दा मलाई उहाँको अभिनय स्वाभाविक र प्राकृतिक लाग्छ । त्यसैले फुर्सद मिल्यो र भेट्ने अवसर मिल्यो भने उहाँसँग समय बिताउँछु ।

८. तपाईंलाई कुन कलाकार मनपर्छ ? किन ?

पछिल्लो समयका कलाकारमा मलाई मनपर्ने कलाकार दयाहाङ राई नै हो । उहाँको अभिनय स्वाभाविक भएकै कारण मन परेको हो ।

९. नाटक हेर्न जानुभएको छ ?

मह जोडीको विज्ञापन भन्ने नाटक हेरेको छु । जुन एकदमै मन परेको थियो ।

१०. घरमै बस्दा गीत सुन्ने गर्नुभएको छ ?

घरमा बस्दा मात्र हैन फुर्सद हुनेबित्तिकै म गीत सुन्छु । गीत सुन्दा एकदमै आराम महसुस हुन्छ ।

११. कसको गीत वा कस्तो गीत सुन्नुहुन्छ ?

सानैदेखि बच्चु कैलाशको फ्यान हुँ म, त्यसैले उहाँको गीत सुन्छु । नाति काजी, भक्तराज आचार्य, दिप श्रेष्ठ र नारायण गोपाल जस्ता गायकहरूको आधुनिक पनि सुन्छु । ब्यान्डहरूको कुरा गर्दा भने कन्दरा ब्याडको गीत सुन्ने गर्छु । नयाँ भन्दा पनि पुराना गीतहरू बढी सुन्न मनपर्छ मलाई ।

१२. कुन नेपाली गायक, जसलाई तपाईं भेट्न चाहनुहुन्छ ?

मलाई धेरै पुरानो आधुनिक गीतहरू मन पर्ने भएकाले मेरो दिप श्रेष्ठलाई भेट्ने चाहना छ ।

१३. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ? फिक्सन वा ननफिक्सन

कोर्सबाहेक इतिहास सम्बन्धी र अध्ययन अनुसन्धान सम्बन्धी किताबहरू बढी पढ्छु । डाक्टर भएकाले आफ्नो विषयसँग सम्बन्धित किताबहरू नै बढी पढ्ने गर्छु ।

१४. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?

काममा व्यस्तताका कारण पछिल्लो समय कुन पुस्तक पढेँ भन्ने चाहिँ ठ्याक्कै याद छैन ।

१५. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ  ?

पुस्तक ज्ञानका लागि पढ्छु । मनोरञ्जनका लागि भने खासै पढेको छैन ।

१६. कुनै यस्तो पुस्तक छ, जसले तपाईंको मन परिवर्तन गरिदियो  ?

सानैमा मुनामदन पढेर म भावुक भएको थिएँ। अझै एकपटक त्यो पुस्तक भने पढ्न मन छ । त्यो पुस्तक पढेर आफूसँग जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने कुरा सिक्न सकिन्छ।

१७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?

किनमेल गर्न मनपर्छ मलाई । त्यसैले खाली समयमा एक्लै पनि किनमेलका लागि निस्करहेको हुन्छु ।

१८. के कस्ता किनमेलका लागि बजार जानुहुन्छ  ?

विशेष गरी तरकारी किन्न म बजार जाने गर्छु । तरकारी बजार जान मनपर्छ त्यहाँ गएर विशेष गरी हरियो तरकारी किन्छु । म शाकाहारी भएकोले पनि धेरै हरियो तरकारी किनेर घर लैजान्छु । कहिँलेकाँही घरमा तरकारी छ भन्ने थाहा हुँदाहुँदै पनि तरकारी किनेर लैजान्छु ।

१९. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरुले किनिदिन्छन् ?

आफ्नो लुगाफाटो भने म खासै किन्दिन । कहिले बुबाआमाले भने कहिले श्रीमतीले किन्दिने गर्नुभएको छ ।

२०. घरमा खाना पकाउने गर्नुहुन्छ ?

मलाई खाना पकाउन रुचि त लाग्छ तर मैले भन्दा मिठो श्रीमती र आमाले नै पकाउने भएकाले प्राय घरमा खाना उहाँहरूले पकाउनुहुन्छ । तर, एक्लै हुँदा भने म आफैँ पकाउँछु । खाना पकाउन गाह्रो लाग्दैन ।

२१. तपाईंलाई पकाउन आउने परिकार कुन हो ?

मलाई हरियो तरकारी मनपर्ने भएको पकाउन आउने परिकार पनि तरकारीहरू नै हो ।

२२. पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?

पाहुना आउँदा वा पारिवारिक जमघटमा भने मैले खासै पकाएको छैन श्रीमती र आमाले नै पकाउनुहुन्छ ।

२३. तपाईंलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो ?

मलाई मिठो लाग्ने चिप्ले भिन्डी र काउलीको तरिकारी हो ।

२४. पर्फ्युमको कति सौखिन हुनुहुन्छ ? कुन पर्फ्युम प्रयोग गर्नुहुन्छ ?

पर्फ्युमको भने म सौखिन हैन । कुनै पर्फ्युम प्रयोग गर्दिन ।

२५. आफ्नो पेशाबाहेक अरु के कुरामा सौखिन हुनुहुन्छ  ?

आफ्नो पेशाबाहेक म गाउने र बाजा बजाउनमा सौखिन छु । युवा अवस्थामा साथीहरूसँग मिलेर बाजा बजाउने, गीत गाउने गर्थें तर पछिल्लो समय भने सौखमा खासै ध्यान दिन पाएको छैन ।

२६. घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?

मलाई जनावरहरू असाध्यै मनपर्छ त्यसैले उनीहरूलाई दुख दिएर मारेको मन नपरेर नै मैले मासु खान छोडेको हुँ । घरमा एउटा कुकुर पनि पालेको थिएँ जापनिज स्पिट्ज । जसको नाम निकी पुन राखिएको थियो । परिवारको सदस्य जसरी नै पालेका थियौँ । उसको मृत्यु पछि भने अर्को पाल्न मन लागेन । तर जनावरमा पनि कुकुर एकदमै मन पर्छ मलाई ।

२७. जमघटमा वा रमाइलोमा कत्तिको सहभागी हुन रुचाउनुहुन्छ ?

जमघटमा वा रमाइलोमा खासै सहभागी हुन मन लाग्दैन ।

२८. घुमफिरमा कति रुचि राख्नुहुन्छ ?

घुमफिरमा असाध्यै रुचि छ मलाई । त्यसैले अलि समय फुर्सद हुँदा पनि घुम्न जान मन लाग्छ र जान्छु पनि ।

२९. प्राय कहाँ कहाँ घुम्न निस्कनुहुन्छ ?

घुमफिरका लागि म नेपालकै पहाडी, हिमाली क्षेत्रमा जान रुचाउँछु । घुम्न जाने खासै फुर्सद नै मिल्दैन । फुर्सद मिलेको खण्डमा नेपालका सबै हिमाल घुम्न जान मन छ ।

३०. घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?

घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ भनेको अन्नपूर्ण सर्किट हो । त्यहाँ पदमार्गको सबै ठाउँबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ । अन्नपूर्ण, गङगापूर्ण, निलगिरी, माछापुच्छ्रे, धौलागिरी जस्ता हिमालमा हुने सुर्योदय र सुर्यास्तको दृश्य प्रत्यक्ष रुपमा नजिकबाट नियाल्न सकिन्छ ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?