+

एड्रेनल ग्रन्थी के हो ? कसरी हुन्छ यसमा क्यान्सर ?

२०८२ साउन  २ गते १३:५० २०८२ साउन २ गते १३:५०
Shares
एड्रेनल ग्रन्थी के हो ? कसरी हुन्छ यसमा क्यान्सर ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एड्रेनल ग्रन्थी शरीरको पछाडि मिर्गौलाको माथिल्लो भागमा अवस्थित साना ग्रन्थीहरू हुन् जसले महत्वपूर्ण हर्मोनहरू उत्पादन गर्छन्।
  • एड्रेनल ग्रन्थीमा ट्युमर बन्न सक्छ जुन बेनाइन वा म्यालिग्नेन्ट हुन सक्छ र क्यान्सरले अन्य अङ्गमा फैलिन सक्छ।

हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ, शरीरको पछाडि, मिर्गौलाको माथिल्लो भागमा दुईवटा साना ग्रन्थीहरू हुन्छन् । जसलाई, एड्रेनल ग्रन्थी भनिन्छ । समोसा जस्तै आकार भएका यी अंगहरू यति साना देखिन्छन् कि, आँखाले देख्दा सामान्य लाग्न सक्छ । तर, यिनले गर्ने कार्य शरीरको सन्तुलनका लागि अति नै महत्वपूर्ण हुन्छन् ।

यी ग्रन्थीहरूलाई सुप्रा-रेनल ग्रन्थी पनि भनिन्छ ।

एड्रेनल ग्रन्थी मुख्यत: दुई भागमा विभाजित हुन्छ-बाहिरी तह कोर्टेक्स र भित्री तह मेडुल्ला ।

यी तहहरूबाट कोर्टिसोल, एल्डोस्टेरोन, एड्रेनालिन, नोरएड्रेनालिन, डीएचईए, स्टेरोइड र क्याटेकोलामाइनजस्ता अति महत्त्वका हर्मोनहरू उत्पादन हुन्छन् । यी हर्मोनहरूले शरीरको रक्तचाप, चिनीको मात्रा, रोगसँग लड्ने क्षमता, मेटाबोलिज्म, तनाव नियन्त्रण र मानसिक सन्तुलन जस्ता महत्वपूर्ण कार्यहरूमा भूमिका खेल्छन् ।

एड्रेनल ग्रन्थीको ट्युमर र क्यान्सर

एड्रेनल ग्रन्थीमा पनि ट्युमर बन्न सक्छ । तर, सबै ट्युमर घातक हुँदैनन् । यदि कुनै ट्युमरले शरीरलाई क्षति नपुर्‍याउने खालको हो भने त्यसलाई बेनाइन ट्युमर भनिन्छ ।

यस्ता ट्युमरहरू प्रायः अर्को अङ्गमा सर्दैनन् । र, सीमित असर गर्छन् । यदि ट्युमर घातक खालको भए क्यान्सरको स्वरूप लिन्छ भने जसलाई म्यालिग्नेन्ट ट्युमर भनिन्छ । यस्तो अवस्थामा ट्युमरले अन्य अङ्गमा समेत आक्रमण गर्न सक्छ, अन्यत्र फैलिन सक्छ र बिरामीको जीवनलाई नै संकटमा पार्न सक्छ ।

क्यान्सर कसरी हुन्छ ?

एड्रेनल ग्रन्थीको कोशिकाहरूको डीएनएमा विकृति उत्पन्न भएपछि ती कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् । यस्तो अनियन्त्रित वृद्धि नै क्यान्सरको लक्षण हो । धेरैजसो अवस्थामा एड्रेनल ट्युमर घातक हुँदैनन् । तर, केही दुर्लभ अवस्थाहरूमा क्यान्सरको रुप लिन्छ ।

कतिपय अवस्थामा अन्य अङ्गमा भएको क्यान्सर एड्रेनल ग्रन्थीमा सर्न सक्छ, जसलाई मेटास्टाटिक एड्रेनल क्यान्सर भनिन्छ । उदाहरणका लागि फोक्सो, स्तन, मिर्गौला, मलद्वार वा आन्द्राको क्यान्सर एड्रेनल ग्रन्थीसम्म फैलिन सक्छ । यस्तो क्यान्सरलाई सेकेन्डरी एड्रेनल क्यान्सर पनि भनिन्छ ।

क्यान्सरको  कारक

एड्रेनल ग्रन्थीको क्यान्सर केही विशेष अनुवांशिक रोगहरू भएका व्यक्तिहरूमा बढी देखिने गर्छ । जस्तैः लीन्च सिन्ड्रोम । आन्द्रा, पाठेघर, पेट आदिमा क्यान्सर हुने सम्भावना बढाउने अनुवांशिक रोग ।

ली–फ्राउमेनी सिन्ड्रोम । धेरै प्रकारका ट्युमरको जोखिम बढाउने दुर्लभ अवस्था । ञमल्टिपल इन्डोक्राइन नियोप्लासिया । यो भनेको शरीरका विभिन्न हर्मोन उत्पादन गर्ने ग्रन्थीहरूमा ट्युमर बन्ने प्रवृत्तिले गर्दा देखिने सम्भावना रहन्छ ।

बालबालिकामा असमान अंग विकास र ट्युमरको जोखिम बढाउने अवस्था ।

क्यान्सरका लक्षण

एड्रेनल ग्रन्थीको क्यान्सरका लक्षणहरू सुरुवाती चरणमा प्रष्ट नदेखिए पनि केही लक्षणहरू निम्न प्रकारका हुन सक्छन् ।

– पछाडिको भाग विशेषगरी पिठ्यूँ तल दुखाइ हुनु

– पेटको नाभी वरिपरि असहज पीडा हुनु

– खाना खान मन नलाग्ने र तौल अकस्मात घट्नु

– लगातार उच्च रक्तचाप

– रगतमा चिनीको मात्रा अनियन्त्रित हुनु

– छालामा गिर्खा वा कालो दाग देखिनु

– मांसपेशी कमजोर हुँदै जानु

– महिलामा महिनावारी अनियमित हुनु

– अनुहारमा कपाल उम्रनु

– टाउकाको कपाल झर्नु

– पुरुषमा स्तन ठूलो हुनु वा अण्डकोष सुक्नु

कसरी थाहा पाउने ?

यदि लक्षणहरू देखिन थाले भने चिकित्सकले शारीरिक परीक्षणपछि विभिन्न विधिबाट क्यान्सरको पहिचान गर्छन् ।

– पेटको अल्ट्रासाउन्ड, सिटी स्क्यान ।

– रगत, पिसाब र हर्मोनको परीक्षण

– बायोप्सी अर्थात् मासुको नमुना लिएर सूक्ष्म परीक्षण ।

क्यान्सर प्रमाणित भएपछि त्यो क्यान्सर अन्य अङ्गहरूमा फैलिएको छ कि छैन भन्ने जाँच पनि गर्न आवश्यक हुन्छ ।

उपचार कस्तो हुन्छ ?

एड्रेनल ग्रन्थीको क्यान्सरको उपचार रोगको अवस्था, क्यान्सरको प्रकार र शरीरमा फैलिएको अवस्थाको आधारमा गरिन्छ ।

यदि क्यान्सर प्रारम्भिक चरणमा छ भने ग्रन्थी नै निकाल्ने शल्यक्रिया सबैभन्दा प्रभावकारी उपाय हो ।

यो क्यान्सरमा कोशिकाहरू मार्न प्रयोग गरिने औषधि उपचार केमोथेरापी आवश्यक हुनसक्छ ।

उच्च शक्ति भएको किरणमार्फत क्यान्सरको कोशिकामा आक्रमण गर्ने विधि रेडियो थेरापी आवश्यक हुन्छ ।

कतिपय बिरामीलाई आवश्यकता हेरी शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सरसँग लड्न सशक्त बनाउने उपचार पद्धति इम्युनोथेरापी दिइन्छ ।

एड्रेनल ग्रन्थी क्यान्सर
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
क्यान्सररोग विशेषज्ञ

डा. अख्तर हाल ललितपुरको किष्ट मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय