+

बुबासँग बिताएका ती अन्तिम क्षणहरू

२०८२ साउन  ५ गते १८:४० २०८२ साउन ५ गते १८:४०

बेलुकातिर बायोप्सीको रिपोर्ट मेरो हातमा आयो । बुबालाई प्यान्क्रियाज क्यान्सर भएको पुष्टि भयो । मलाई थाहा थियो, यो क्यान्सर एकदमै नराम्रो हो ।

बुबासँग बिताएका ती अन्तिम क्षणहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले आफ्ना बुबा ५० वर्षदेखि लेटाङमा स्वास्थ्य सेवा दिन समर्पित भएको र बिरामीलाई उपचारमा पैसा भन्दा सेवा प्राथमिकता दिएको बताए।
  • लेखकका बुबालाई प्यान्क्रियाज क्यान्सर भएको पुष्टि भएपछि भारत र नेपालमा केमोथेरापी गरियो र कोभिड–१९ महामारीका कारण उपचारमा चुनौती आयो।
  • बुबाको अन्तिम इच्छा अनुसार रौतहटको गाउँमा पुर्‍याएर सम्मानपूर्वक विदाइ गरिएको र हजारौंले उनको निधनमा शोक व्यक्त गरेका थिए।

म सानो छँदा बुबालाई ३६५ दिन नै, अझ रातिमा पनि बिरामीको सेवामा समर्पित भएको देखेको हुँ । उहाँको कुनै विदा हुँदैनथ्यो । हामीले बुबासँगै बसेर कुनै पनि चाडपर्व राम्रोसँग मनाउन पाएनौँ । मलाई बुबासँग लामो छुट्टी बिताएको कुनै पनि पल याद छैन ।

लेटाङमा आज धेरै विकास भएको छ । यहाँ अहिले धेरै सुविधा छन् । हरेकदिन विराटनगर र धरानबाट विशेषज्ञ चिकित्सकसहितको सेवा यहाँका जनताले पाउने गर्छन् । तर, ४० वर्ष अगाडि अवस्था धेरै फरक थियो । त्यतिबेला न त शुद्ध खानेपानीको व्यवस्था थियो न त बिजुली बत्ती । उच्च शिक्षा, स्तरीय अस्पताल केहीको पनि सुविधा थिएन ।

यो ठाउँका हरेक बिरामीको उपचार गर्ने जिम्मा बुबाको काँधमा थियो ।

गाउँमा हरेक रात कोही न कोही व्यक्ति बिरामी हुने गर्थे । राति बिरामी आउनेबित्तिकै बुबा उठ्नुपर्थ्यो । त्यसरी सेवा दिए पनि पैसा बुबाको पहिलो प्राथमिकतामा थिएन । सेवा र सहयोगको भावना मुख्य थियो ।

एक पटकको घटना मलाई सम्झना छ, मध्यराति सुत्केरीपछि धेरै रक्तस्राव भएकी महिला हाम्रो क्लिनिकमा आएकी थिइन् । समयमा अस्पताल नपुर्‍याउँदा बिरामीको मृत्यु हुने सम्भावना धेरै थियो । उनीहरूसँगै अस्पतालसम्म पुग्न पनि पैसा रहेनछ । बुबाले अघिल्लो दिनभरको कमाइबाट निकालेर ती महिलाको श्रीमानको हातमा पैसा राखिदिनुभयो । यस्ता धेरै घटनाहरू छन् ।

बुबा भन्नुहुन्थ्यो, ‘पैसा नहुनेलाई उपचार नगरी फर्काउन मेरो धर्मले मिल्दैन।

बिरामीहरूले पनि बुबालाई धेरै विश्वास गर्थे । कति बिरामी त बुबाले छुनासाथ आफ्नो दुखाइ निको भएको प्रतिक्रिया दिन्थे । अहिले म थाहा पाउँदैछु–विश्वास भन्दा ठूलो औषधि अरु केही हुन सक्दैन ।

बुबा काममै व्यस्त हुने हुनाले हामीले उहाँसँग बोल्ने अवसर थोरै मात्रै पाउथ्यौँ । तर, कम बोलेरै हामी एक–अर्कालाई बुझ्न सक्थ्यौँ । बुबा शान्त स्वभावको हुनुहुन्थ्यो, दिनभरिको काम सकेर बेलुका घर आउनुहुन्थ्यो । योग गरेर समाचार सुन्ने गर्नुहुन्थ्यो । त्यसपछि खाना खानुहुन्थ्यो । केहीबेर गफ गर्नुहुन्थ्यो । दिनभरको थकाइले होला छिट्टै निदाउनुहुन्थ्यो । बुबा कति छिटो निदाउनुहुन्छ, भन्ने लाग्थ्यो त्यतिबेला ।

त्यो थकानको महसुस आज गरिरहेको छु म, जब आफ्नो टाउकामा त्यही खालको जिम्मेवारी आइपुग्यो।

जब बुबालाई क्यान्सर देखियो

म एमडी अध्ययन गर्दैगर्दाको समयमा एक महिनाको छुट्टीमा नेपाल आएको थिएँ । फर्कनुभन्दा अगाडि एक पटक बुबाको स्वास्थ्य परीक्षण गरौं भनेर आग्रह गरेँ । त्यही क्रममा अल्ट्रासाउण्ड गर्दा पेटमा एउटा सानो गाँठो देखापर्‍यो । पछि पत्ता लगाउदै जाँदा त्यो क्यन्सर हुन सक्ने शंका बढ्दै गयो ।

बुबालाई सुरुवातमा नै शंका लागिसकेको थियो । स्वास्थ्यसँग सम्बन्धित व्यक्तिलाई लक्षणबाटै रोगको छनक मिल्छ । तैपनि मैले विभिन्न तर्क दिँदै बुबालाई त्यो क्यान्सर न होला भनेर सम्झाउने कोसिस गर्दै रहेँ । म आफू पनि त्यही तर्कसँग सहमत हुन खोजिरहेँ । बुबालाई क्यान्सर छ भन्ने सत्य पचाउन कसरी सजिलै सकिन्छ र ?

९ दिनपछि बेलुकातिर बायोप्सीको रिपोर्ट मेरो हातमा आयो । बुबालाई प्यान्क्रियाज क्यान्सर भएको पुष्टि भयो । मलाई थाहा थियो, यो क्यान्सर एकदमै नराम्रो हो ।

त्यो रिपोर्ट कसैलाई सुनाउन सक्ने हिम्मत आएन । बानेश्वर चोकको एउटा कुनामा बसेर आधा घण्टा रोएँ । विस्तारै मन थामेर घरमा फोन गरेँ । बुबालाई अलिअलि समस्या देखा परेको रहेछ तर निको हुन्छ भनेर सम्झाउने कोसिस गरेँ ।

बुबा एकदम सकारात्मक मान्छे । यो रिपोर्टपछि पनि उहाँको सकरात्मक शक्ति जीवितै थियो ।

भारत गएर अप्रेसन गराउने कि भन्ने पनि कुरा निस्किन थाल्यो । घरका धेरै व्यवहारिक कामहरू बाँकी रहेकाले अहिले नआत्तिकन सुरुमा घर गएर सल्लाह गर्ने अनि मात्रै भारत जाने निर्णय बुबाको भयो ।

कोभिड–१९ महामारीको त्रास फैलिइसकेको थियो । यही कारणले गर्दा मेरो बाहिर जाने कार्यक्रम स्थगित भएको थियो ।

घर जानुभन्दा अगाडि हामीले बुबालाई पहिलो डोज केमोथेरापी सुरु गरिसकेको थियौँ । त्यहीबेला म अमेरिकाको हार्डवड विश्वविद्यालयको ६ महिनाको क्लिनिकल रिसर्च कोर्सका लागि छनोट भएको खबर पाएँ। यो कुरा बुबालाई सुनाएँ । बुबा निकै खुसी हुनुभयो । बुबाको स्वास्थ्यस्थिति देखेर मैले यो कोर्स नलिने निर्णय गरेँ । बुबाले मान्नुभएन । जस्तोसुकै अवस्थामा पनि कोर्स लिन आग्रह गर्नुभयो । पहिलो चरणको तालिम दुबईमा थियो ।

दुबई जानुभन्दा अगाडि मैले मेरो एकदमै नजिको भाई डा. रविन बस्नेतलाई बुबाको हेरचारको जिम्मेवारी दिएँ । उसले मलाई ढुक्क भएर जान र कोर्स पूरा गर्न हौसला दियो । उसकै सदासयताले मैले दुबई जाने हिम्मत गरेँ ।

एकदिन म पाटन अस्पताल गएको थिएँ । त्यहाँ मलाई माया गर्ने एमबीबीएस पढ्दाका गुरु मुटुरोग विशेषज्ञ प्रा.डा. संजय श्रेष्ठसँग भेट भयो । उहाँले केमोथेरापी पाटनमै सुरु गर्ने सल्लाह दिनुभयो । मलाई क्यान्सर रोग विशेषज्ञ डा‍. अरुण शाहीसँग भेट गराउनुभयो । सुरुवाती दिनमा डा. अरुण र मेरो सम्बन्ध डाक्टर र बिरामीको आफन्तको मात्रै थियो ।

पछि डा.अरुण हाम्रो घरको सदस्यसरह हुनुभयो । त्यही बेला मेरो काकाको छोरा पेट रोग विशेषज्ञ डा. मोहन खड्का नेपाल फर्किसक्नुभएको थियो । यति धेरै डाक्टरको जमात यस लडाइँमा जुट्दा बुबाले धेरै हौसला पाउनुभएको थियो ।

हामीले धेरै आफन्तहरूलाई बुबालाई क्यान्सर भएको जानकारी दिएको थिएनौँ । बुबाको नजिकैका व्यक्तिहरूलाई भने क्यान्सर हुनसक्ने सम्भावना रहेको भनेर सुनाएक थियौं ।

विराटनगरमा पनि केमोथेरापी लगाउन मिल्ने थाहा पाएपछि हामी मोरङतिर लाग्यौँ । कोरोना महामारीले उग्ररुप लिंदै थियो । स्थिति झनै बिग्रिँदै गएको थियो । जनजीवन अस्तव्यस्त हुँदै थियो । अस्पतालका बेडहरू कोरोना संक्रमितले भरिन थालेका थिए । मानिसहरू बाहिर निस्किनै डराइरहेका थिए ।

म दुबईबाट फर्किसकेपछि हरेक दिन बुबा सँगै हुन्थें किनकि मलाई थाहा थियो, अबको केही महिनामा पछि मैले चाहेर पनि बुबासँग समय बिताउने मौका पाउने छैन । सानैदेखि होस्टल बसेको हुनाले बुबासँग धेरै गफ गर्न बाँकी थियो । धेरै कुरा सिक्न बाँकी थियो । त्यो सबै काम गर्न मसँग एक वर्ष भन्दा कम समय थियो ।

एकदिन बुबा र म सल्लाह गर्दै थियौँ । बुबाले ५० वर्षदेखि चलाइरहनुभएको त्यो स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिकलाई के गर्ने भनेर । फेरि मैले त्यो स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक बन्द गरौ भनेँ ।त्यो प्रस्ताव बुबालाई खासै मन परेन तर पनि बुबाले हुन्छ भन्नुभयो ।

एउटा एतिहास बोकेको ठाँउको परिचय मेटाउन मन त थिएन तर मेरो अध्ययन बाँकी भएको र आमाको स्वास्थ्यका कारणले त्यो निर्णय गर्नुपरेको थियो ।

त्यो दिन डेढ वर्षदेखि बन्द रहेको हाम्रो स्वास्थ्य केन्द्रमा गएर काम सुरु गरेँ ।

बुबा हुँदाहुँदै मैले स्वास्थ्य केन्द्रको जिम्मेबारी लिएको थिएँ । तर, मेरो जिम्मेवारीको मूल्यांकन गर्न बुबा अगाडि हुनुहुन्नथ्यो।

बुबालाई केमोले गलाउँदै लगेको थियो । मस्तिष्कको शक्तिलाई पनि कम गर्दै थियो । कोरोना महामारीले स्थिति नाजुक थियो । हाम्रो भारत जाने सल्लाह भइरहेको थियो । बुबालाई एउटा आशा अझै थियो कि, अप्रेसन गरेपछि उहाँको रोग निको हुन्छ ।

भारतको सबैभन्दा चर्चित डाक्टरसँग समय लिनु धेरै कठिन थियो । फोनमा सोध्दा ती सर्जनको समय पाउन अझै तीन महिना कुर्नुपर्ने कुरा थाहा पाएँ । चिनेको एकजना दाइ र त्यहाँका केही डाक्टरहरूलाई भनसुन गरेर एक हप्ताभित्रमा डाक्टरसँग भेट्ने समय पक्का गरेँ । तर नेपाल–भारतको सीमा पार गर्नु कम्ता सास्ती थिएन । जसोतसो दिल्ली पुग्यौँ ।

दिल्ली र भारतको केही शहरमा हरेक दिन कोरानाले हजारौं व्यक्तिहरूको ज्यान गइइरहेको थियो । तर, बुबाको समस्याका अगाडि त्यसको खासै पर्वाह लागेन। मलाई खाली बुबालाई बचाउनु थियो जुनसुकै हालतमा पनि । डाक्टरसँग भेटिसकेपछि थहा भयो, बुबाको अप्रेसन गर्न त मिल्छ तर उहाँको जीवन केही वर्ष लम्ब्याउन पनि कठिन छ । हाम्रो सबै आशाको अन्त्य भयो । बुबाको मुहार मलिन थियो । पेटको दुखाइले उग्र रूप लिइरहेको थियो ।

उहाँलाई हामीले दुखाइ कम गर्ने एकदमै कडा औषधि सुरु गरिसकेका थियौँ । कुनै विकल्प नभएपछि बुबालाई लिएर नेपाल फर्किएँ । विराटनगरमा नै बाँकी रहेको केमो दिने क्रम जारी रह्यो ।

बुबासँग अस्पतालमा बिताएको त्यो १२ रात

धेरै केमो प्रयोग गरेर होला बुबाको शरीर गलिसकेको थियो । संक्रमण हुने सम्भावना एकदमै अधिक थियो । बुबालाई भेट्न आउने मानिसहरूको जमात एकदमै धेरै थियो । किनकि, ५० वर्षसम्म त्यो वरिपरिका धेरै गाउँलाई बुबाले स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको थियो ।

जति धेरै मानिसको जमघट त्यतिधेरै बुबालाई संक्रमण हुने सम्भावना भएकाले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था थियो । सावधानी अपनाउँदा अपनाउँदै पनि बुबालाई केही महिनापछि ज्वरो आयो । त्यसका लागि कुनै पनि औषधीले काम गरिरहेको थिएन ।

ज्वरोको कारण थाहा पाउन विभिन्न जाँच गर्नुपर्ने हुन्थ्यो । ती जाँच लेटाङमा सम्भव थिएन । बुबालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गर्‍यौँ।

मलाई यो थाहा थिएन कि, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तो एउटा प्रतिष्ठित संस्थाको व्यवस्थापन यति धेरै कमजोर छ भनेर । त्यहाँ बिरामीले पाउनुपर्ने सेवामा धेरै कमी देखियो । सेनिटाइज नगरिकन सुई लगाउने, बिरामीसँग झर्केर बोल्ने जस्ता धेरै कारणले गर्दा बुबा त्यहाँको बसाइमा निकै दुःखी हुनुहुन्थ्यो ।

त्यहाँका स्वास्थ्यकर्मीहरूलाई हाम्रो पूर्ण परिचय दिनु जरुरी ठानेनौँ ।

त्यो अस्पतालको १२ दिन मेरो जीवनको सबैभन्दा महत्वपूर्ण समय थियो। बुबासँग गर्न छुटेको विषयमा कुरा गर्ने मेरो इच्छा पूरा भयो । दिउँसो धेरै कुरा गर्न मिल्दैनथ्यो । कहिले बुबालाई लिएर रगत परीक्षणमा जानुपर्थ्यो । कहिले बुबालाई बोकेर सिटिस्क्यान गराउन जानुपर्थ्यो।

रोगले च्याप्दै गएका कारण बुबा झर्को मान्न थाल्नुभएको थियो । राति दुखाइको कारण बुबालाई निद्रा लाग्दैनथ्यो । हामीले कैयौँ रात गफिएरै बिताउने गर्थ्यौँ । धेरै निद्रा लाग्दा बुबाको बेड तल ओछ्यान लगाएर सुत्थेँ । कहिले त्यही कोठाको छेउको बेडमा ढल्केर बुबासँग कुरा गर्थेँ ।

एकरात करिब १२ बजेकतिर, उठेर यसो छाम्दा बुबाको शरीर एकदमै तातो थियो । ज्वरो १०२ भन्दा माथि रहेछ, शरीर कामिरहेको थियो । अरुलाई डिस्टर्ब हुन्छ भनेर केही नबोली सुतिरहनुभएको रहेछ । लडिरहनु भएको थियो । मैले आधाघण्टा बुबालाई पानीपट्टी दिएँ । औषधि खुवाएँ र ज्वरोलाई कम गराएँ । बुबाको ज्वरो कम भइसकेपछि फेरि करिब २–३ घण्टा जीवन, मृत्यु, खुसी र सफलताको विषयमा कुरा गर्न थाल्यौँ ।

बुबाको मनले नजिकै आइरहेको मृत्युलाई स्वीकार गरिसकेको थियो । आफ्ना केही सपना अधुरै रहेको जानकारी दिनुभयो । मैले अझै सफलता हात पारेको र उहाँको जिम्मेवारीलाई मैले आफ्नो काँधमा बोकेको हेर्ने ठूलो सपना रहेछ । त्यो अधुरै हुने कुराले उहाँको मन खिन्न थियो ।

सबै इच्छा पूरा भएर पनि खुसी नभएका केही व्यक्तिका उदाहरण उहाँसामु प्रस्तुत गरेँ । छोराहरू व्यस्त भएर बुबा बिरामी हुँदा पनि आउन नसक्नेहरूको पनि उदाहरण दिएँ । आफू पनि त्यस्तै व्यस्त भएको भए यो क्षणमा यहाँ हुन्नथेँ, भनेर पनि सम्झाएँ ।

मैले अरु सम्झाउँदै गएँ- जीवनका ७० वर्षमध्ये ५० वर्ष अरूको सेवामा बिताउनुभयो । लाखौँले तपाईंबाट उपचार पाएर छन् । यति सम्मानित र शानदार जीवन जो कसैको हुँदैन ।

धेरै कुराहरू गरियो । कुरा गर्दै जाँदा रसाएका बुबाका आँखा हेरिरहेँ ।

१२ दिनको अस्पताल बसाइपछि बुबाको ज्वरो कम भयो अनि घर फर्कियौँ।

अन्तिम विदाइ

दशैंको टीकाको दिन, बुबाको केमोथेरापी चलिरहेको थियो । टीका लगाउनुपर्ने भएकाले बुबालाई बिहानै उठाउन खोजेँ तर उठ्नुभएन । सायद दुखाइले रातभर सुत्न सक्नुभएको थिएन । अलि समय डिस्टर्ब नगरौँ भन्ने लाग्यो । केही समयपछि फेरि उठाउन खोजेँ तर पनि उठ्नु भएन । मन चिसो भयो । उहाँको सुगर हेरेँ एकदमै कम भएको रहेछ।

बुबालाई त्यतिकै छोडिदिएको भए बचाउन सम्भव थिएन । बुबाको त्यो अवस्था देख्नेबितिक्कै म आत्तिएँ । स्वास्थकर्मीहरूलाई बोलाएँ । हामी सबैले कोसिस गरेर सुकिसकेको रगतको नलीबाट ग्लुकोज लगाउन सफल भयौँ । करिब ४–५ घण्टापछि बुबाको होस् फर्किन थाल्यो । हामीले त्यो दिनको टीका राति १० बजे लगायौं।

बुबाको हातबाट लगाएको दशैंको अन्तिम टिका थियो त्यो । मैले जीवनमा पहिलो पटक आफ्नो ज्ञान र सिपले बुबाको जीवन बचाउन सफल भएको थिएँ । त्यो मेरा लागि ठूलो अहोभाग्य थियो।

दिनको ३–४ पटक १०–१२ वटा सुई बुबालाई लगाउने गर्थें । हरेक सुई लगाइरहेका बेला सोच्थेँ, ‘बुबाले मलाई डाक्टर बनाउनुमा मात्र मद्दत गर्नुभएन, आफ्नो शरीरलाई प्रयोगशालाको रूपमा सुम्पिएर मेरो जीवन अनौठो अनुभव गराउनुभयो ।’ त्यति धेरै औषधि मैले कुनै बिरमीलाई लगाएको थिइनँ, जति बुबालाई लगाएँ ।

बुबाको अन्तिम दिनहरू झनै पीडादायी हुँदै गए । पिसाबमा रगत देखिन सुरु भयो । रगत यति धेरै बगिरहेको थियो कि बिहान हेर्दा पुरै शरीर रगतले भिजेको हुन्थ्यो ।

दिनदिन अवस्था नाजुक हुँदैगयो । यो अन्तिम अवस्था हो, अब कतै पनि लानुहुँदैन भन्ने सल्लाह आफन्तहरूले दिएका थिए । बुबाको पीडा देख्न नसकेर मैले अस्पताल लाने निर्णय गरेँ । हामी विराट मेडिकल कलेजको इमर्जेन्सीमा पुग्यौँ । घरबाट निस्कने बेला मैले नजिकका केही व्यक्तिलाई भनेको थिएँ, ‘फर्किँदा सायद म एक्लै पनि हुनसक्छु।’

दिनभरीको अस्पताल बसाइपछि करिब राति ८ बजेतिर बुबाको अवस्था सुधार आयो । यो समयमा पनि उहाँलाई बचाउन सक्यौँ ।

हामीले जति कोसिस गरे पनि त्यसको केही दिन पछि बुबाले शरीर त्याग्नुभयो । उहाँ सदाका लागि हामीबाट विदा हुनुभयो ।

बुबाको अन्तिम इच्छा

बुबालाई मैले अन्तिम इच्छा सोधेको थिएँ । उहाँले आफू जन्मेको ठाउँ रौतहटको वसन्तपट्टी गाउँमा पाइला टेक्ने इच्छा रहेको सुनाउनुभयो । बुबाको इच्छाअनुसार गाडी भित्रै अक्सिजनको व्यवस्था गरी नजिकैको भाइ डा. रविन बस्नेतलाई लिएर हामी बुबाको गाउँतिर लाग्यौँ । बुबा अर्धचेत अवस्थामा हुनुहुन्थ्यो तै पनि आफ्नो गाँउको बाटो भुल्नुभएको थिएन ।

गाउँ पुग्न साथ उँहाको होसमा धेरै सुधार आयो र त्यो दिन सुतिसकेपछि अर्को बिहान आफ्नो दुखाइ पुरै हराएको भन्नुहुन्थ्यो । सायद त्यो आफ्नो गाउँको मायाले गर्दा होला । केही दिन त्यहाँ बसेर बुबालाई घर फर्कायौँ ।

मृत्युपछिको त्यो सम्मान

बुबाले आफ्नो जीवनकालमा पैसा कमाउनलाई भन्दा पनि आफ्ना शुभचिन्तक, हितैसी कमाउन प्राथमिकता दिनुभएको थियो । बुबाले भन्ने गर्नुहुन्थ्यो, ‘मैले के कमाएको छु त्यो दिन थाहा हुन्छ, जुन दिन भौतिक शरीरको अन्तिम यात्रा हुन्छ ।’ नभन्दै यस्तै भयो।

कोभिडको समयमा भीडभाड गर्न नहुने नियम थियो । तर, बुबाप्रतिको त्यो सम्मान र आस्थालाई नियमले छेकेन । हरेक मानिस घरबाट बाहिर निस्किएका थिए । हजारौंको भीडले बुबाको प्राणहीन भौतिक शरीरलाई नगरपरिक्रमा गराएको थियो ।

त्यो दिन धेरैको घरमा खाना पाकेन, धेरैले आफ्नो व्यवसायहरू बन्द गरे । हरेकको आँखा रसाएको थियो । हरेकले एउटा अभिभावक गुमाएको महसुस गरेका थिए ।

अन्तिम बिदाइमा कुनै भेदभाव थिएन । जात, धर्म, वर्ण कुनैको भेद थिएन त्यहाँ । त्यो भीडमा रहेका अधिकांशको अनुहारमा रहेको शोक र आँखामा आँसु देखेपछि महसुस गरेँ, ‘मैले बुबा मात्रै होइन नगरले नै एक अभिभावक गुमाएको रहेछ ।’

जीवनको ५० वर्ष हजारौंको ज्यान बचाउने, कुनै पनि दाग नलागी संसारबाट बिदा हुनु भनेको चानचुने कुरा होइन।

बुबाले भन्नुहुन्थ्यो मृत्यु २ प्रकारको हुन्छ, एउटा कपासजस्तो हलुंगो र अर्को पहाडजस्तो भारी । मलाई लाग्छ उहाँले पहाडजस्तो भारी मृत्युवरण गर्नुभयो ।

डा.राम विनोदसिंह
लेखक
डा. विवेक सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बुबासँग बिताएका ती अन्तिम क्षणहरू

बुबासँग बिताएका ती अन्तिम क्षणहरू

खासमा कस्तो प्रक्रिया हो अण्डादान ? नेपालमा कसरी व्यवस्थित गर्ने ?

खासमा कस्तो प्रक्रिया हो अण्डादान ? नेपालमा कसरी व्यवस्थित गर्ने ?

रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने ६ उपाय

रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने ६ उपाय

दुखाइ कम गर्ने औषधि जथाभावी खाँदा कलेजोमा कस्तो असर पर्छ ?

दुखाइ कम गर्ने औषधि जथाभावी खाँदा कलेजोमा कस्तो असर पर्छ ?

कुष्ठरोगीको आत्मसम्मान बढाउने जंगबहादुरको त्यो कदम

कुष्ठरोगीको आत्मसम्मान बढाउने जंगबहादुरको त्यो कदम

एड्रेनल ग्रन्थी के हो ? कसरी हुन्छ यसमा क्यान्सर ?

एड्रेनल ग्रन्थी के हो ? कसरी हुन्छ यसमा क्यान्सर ?