News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षाको मौसममा दम रोगीलाई चिसो, आर्द्रता, ढुसी र परागकणले सास फेर्न गाह्रो हुने समस्या बढाउन सक्छ।
- दम रोगीले वर्षातमा घरभित्र सफाइमा ध्यान दिनु, औषधि नियमित लिने र संक्रमणबाट बच्नु आवश्यक छ।
- दम रोगीले योग, प्राणायाम, नियमित स्वास्थ्य जाँच र फ्लू खोप लगाउनुपर्छ।
वर्षाको मौसमले दम (आस्थमा) रोगीहरूका लागि स्वास्थ्य चुनौतीहरू थप जटिल बनाउँछ । यो मौसममा वातावरणमा बढ्ने चिसो, आर्द्रता, ढुसी, बाेटबिरुवाका पराग पुंकेशर, धूलो र तापमानको उतार–चढावले सास फेर्ने समस्यालाई थप जटिल बनाउन सक्छ । यस्ता परिस्थितिले दमको लक्षणहरू जस्तै खोकी, सास फेर्न गाह्रो हुने, छाती कसिलो हुने र घ्यारघ्यार आवाज जस्ता समस्यालाई बढाउन सक्छ ।
साथै, वर्षाको समयमा हावामा हुने प्रदूषण र एलर्जी उत्पन्न गर्ने तत्वहरू (एलर्जेन) को वृद्धिले पनि दमका बिरामीहरूलाई असर पार्न सक्छ । यस्तो अवस्थामा, बिरामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु आवश्यक हुन्छ । दैनिक जीवनमा सावधानी अपनाएर, उचित औषधिको प्रयोग गरेर र स्वस्थ जीवनशैली अँगालेर दमका बिरामीले यो मौसममा आफूलाई सुरक्षित र स्वस्थ राख्न सक्छन् ।
१. चिसो र फंगसबाट बच्ने
वर्षाको समयमा वातावरणमा चिसो धेरै बढ्छ, जसले फोक्सोलाई हानि पुर्याउन सक्छ । घरभित्र पनि चिसोले गर्दा ढुसी र धूलका कणहरू बढ्छन्, जसले दमलाई ट्रिगर गर्न सक्छ । वर्षातमा घरलाई सुख्खा, सफा र हावा प्रवाह हुनेगरी राख्ने प्रयास गर्नुपर्छ ।
२.घरभित्रको सरसफाइमा विशेष ध्यान दिने
वर्षातमा घरमा चिसो, धूलो र ढुसीको सङ्क्रमण बढ्न सक्छ । त्यसैले भुइँ, पर्दा, कार्पेट र ओछ्यानलाई समय-समयमा सफा गर्नुपर्छ । एयर प्युरिफायरको प्रयोग पनि लाभदायक हुन सक्छ । पुराना तकिया वा डस्नामा जम्मा भएको धूलले पनि दमलाई बढाउन सक्छ, त्यसैले तिनलाई पनि समय-समयमा परिवर्तन गर्नुपर्छ ।
३.चिसोतातो चीजहरूबाट बच्ने
वर्षातमा भिज्नु, चिसो पानी पिउनु वा चिसो खानेकुराहरू खानाले दम बढ्न सक्छ । त्यसैले शरीरलाई सुख्खा र न्यानो राख्नुपर्छ । बाहिरबाट आउनासाथ लुगा फेर्नुपर्छ र भिजेका कपाल सुकाउनुपर्छ । न्यानो पानीले नुहाउने र सुपजस्ता न्यानो खानेकुराहरू खानुपर्छ, जसले सासको नलीलाई आराम दिन सक्छ ।
४.सङ्क्रमणबाट सावधान रहने
वर्षातमा भाइरल र ब्याक्टेरियल सङ्क्रमणको जोखिम बढ्छ । यो दम रोगीहरूका लागि थप समस्याको कारण बन्न सक्छ । हात धुने, मास्क लगाउने, भीडभाड भएका ठाउँहरूबाट बच्ने र डाक्टरले सिफारिस गरेका औषधिहरू समयमा लिने गर्नुपर्छ ।
५.औषधिहरूलाई नबिर्सने र नजिकै राख्ने
इन्हेलर वा नेबुलाइजरजस्ता औषधिहरू सधैं नजिकै राख्नुपर्छ । मौसम परिवर्तन हुँदा अचानक सास फुल्न सक्छ, यस्तोमा तुरुन्त औषधि लिनु जरूरी हुन्छ । डाक्टरले दिएको औषधिको मात्रा नछोड्ने र नियमित जाँच गराइरहनुपर्छ ।
६.योग र श्वाससम्बन्धी व्यायाम गर्ने
प्राणायाम र अनुलोम–विलोमजस्ता योग अभ्यासहरू दम रोगीहरूका लागि धेरै लाभदायक हुन्छन् । यी अभ्यासले फोक्सोको क्षमता बढाउँछ र तनाव कम गर्छ, जसले दमलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
७.केही समय घाममा बस्ने
वर्षातमा भिटामिन डीको कमी हुन सक्छ, जसले रोग प्रतिरोधक क्षमतालाई असर गर्छ । जब घाम लाग्छ, केही समय बाहिर बस्नुपर्छ । यसले शरीरलाई न्यानो बनाउँछ र दमका लक्षणहरू केही हदसम्म कम हुन सक्छ ।
८.खानपानमा विशेष ध्यान दिने
मौसमी फलफूल र तरकारीहरू खानुपर्छ । तर कफ बढाउने चीजहरू जस्तै केरा, दही वा धेरै तारे–भुटेका खानेकुराहरूबाट बच्नुपर्छ । बेसार मिसाएको दूध, तुलसी–मह मिसाइएको पानी, अदुवाको चिया पिउनु लाभदायक हुन्छ ।
९.एलर्जीका कारक पहिचान र व्यवस्थापन गर्ने
वर्षातमा फूलहरू, परागकण र मोल्ड (ढुसी) जस्ता एलर्जी बढाउने कुराहरू बढ्छन् । दम रोगीले आफूलाई कुन कुराले एलर्जी ट्रिगर गर्छ भनेर पहिचान गर्नुपर्छ । उदाहरणका लागि, यदि कुनै खास बोटबिरुवा वा फूलको परागकणले समस्या निम्त्याउँछ भने, त्यस्ता ठाउँबाट टाढा रहनुपर्छ ।
१०.नियमित स्वास्थ्य जाँच र फ्लू खोप लगाउने
वर्षातमा भाइरल सङ्क्रमणको जोखिम बढी हुन्छ । दम रोगीले डाक्टरको सल्लाहमा फ्लू खोप वा निमोनिया खोप लिनु उपयुक्त हुन्छ । साथै, नियमित रूपमा पल्मोनरी फङ्सन टेस्ट गराएर फोक्सोको अवस्था जाँच गर्नुपर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने
रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन भिटामिन सी र जिंकयुक्त खानेकुराहरू जस्तैः सुन्तला, कागती, ब्रोकाउली र नट्सलाई आहारमा समावेश गर्नुपर्छ । हर्बल चिया जस्तैः तुलसी, अदुवा र मह मिसाएर बनाइएकोले सासको नलीलाई सफा राख्न र सङ्क्रमणबाट बचाउन मद्दत गर्छ । साथै, ओमेगा–३ फ्याटी एसिड जस्तै: माछा वा आलसले पनि फाइदा गर्छ ।
प्रतिक्रिया 4