
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी जवान चन्द्रिका देउवाले कैलालीको गोदावरीमा प्रसव पीडित महिलाको जीवन जोगाउन साहसिक कार्य गरेकी छन्।
- उनीले आफ्नै जोखिममा महिलालाई अस्पताल पुर्याएर र शिशुको जन्म गराएर मानवता र जिम्मेवारीको परिचय दिइन्।
- प्रहरीले उनलाई सम्मानित गरी सेवाको लागि प्रेरित गरेको छ।
७ जेठ, काठमाडौं । मंगलबार बिहान कैलाली गोदावारी नगरपालिका- १ चैतन्यपुरस्थित एक स्थानीयको आँगनमा ठूलो भिड लाग्यो । २४ वर्षीया चन्द्रा आचार्य प्रसव पीडाले आँगनमा छटपटाइरहेकी थिइन् ।
तर, त्यहाँ आपतमा सघाउनभन्दा रामरमिता हेर्नमै ध्याउन्न थियो अधिकांशको । बेसहारा चन्द्रालाई आपतकालीन उद्धारमा लैजानु कता हो कता, उल्टै फोटो-भिडिओ बनाउन तल्लीन देखिए गाउँका जान्नेसुन्नेहरू ।
कोही भनिरहेका थिए, ‘छुँदा रोग लाग्छ ।’ कोही उनलाई मानसिक रोगी मान्दै, प्रसव पीडालाई अनर्थको रमाइलो बुझिरहेका थिए ।
त्यही बेला कुनै स्थानीयले प्रहरीलाई खबर गरिदियो । मातृशिशु कार्यकर्ता वा जानिफकारहरूले हेर्नुपर्ने महिलाको प्राकृतिक विशेषावस्था गोदावरीमा प्रहरीको सुरक्षाको विषय बनिरहेको थियो ।
खैरना प्रहरी थानामा फोनको घण्टी गएको केहीबेरमै प्रहरी जवान चन्द्रिका देउवा घटनास्थल पुगिन् । उनको साथमा प्रहरीका अर्का हवल्दार पनि थिए ।
‘त्यहाँ पुग्दा महिलालाई प्रसव पीडाले च्यापेको थियो,’ चन्द्रिकाले अघिल्लो दिनको घटना सम्झिँदै भनिन्, ‘मैले त्यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ । स्थानीयले सघाउनुको सट्टा रमिता हेरेर बसेका थिए । यस्तो पनि कहीँ हुन्छ ?’
हुन पनि त्यस्तै विचित्रको अवस्था थियो । जुनबेला चन्द्रा घरको आँगनमा सुत्केरी बेथाले छटपटिइरहेकी थिइन्, उनलाई सघाउन त के कोही उनलाई छुनसमेत तयार थिएनन् । अझ कोही त बढ्ता जान्ने भएर एचआईभी, हेपाटाइटिस जस्ता रोग लाग्ला भनेर पन्छिँदै थिए ।
चन्द्रिकाले आफू पुग्नेबित्तिकै यही नाजुक परिस्थितिको आकलन गरिरहेकी थिइन् । तत्काल सहयोग नगर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा जान सक्थ्यो । ठिक त्यही क्षणमा उनले साहसी निर्णय लिइन् ।
‘महिला एकदमै पीडामा थिइन्, बच्चा निस्किने बेला भएको थियो र कसैले हात लगाएनन्,’ चन्द्रिकाले भनिन् ।
आफैँमा शंका र भय हुँदाहुँदै पनि चन्द्रिका अघि बढिन् । स्थानीयले छिछि गरिरहेको बेला उनलाई लाग्यो ‘म एक महिला हुँ, प्रहरी हुँ, यो मेरो कर्तव्य हो ।’
चन्द्रिका त्यहाँ बिहान साढे ९ बजे पुगेकी थिइन् । उनलाई के हुने हो, कस्तो हुने हो भन्ने डर लागिरहेको थियो । तर आमा र बच्चाको जीवन बचाउनु नै उनले कर्तव्य ठानिन् ।
बेहोस अवस्थामा रहेकी चन्द्राले झण्डै एक घन्टाको कष्टपछि छोरालाई जन्म दिइन् । प्रहरी जवान चन्द्रिकाले महिलालाई छोराको अनुहार देखाइदिइन् र आफ्नो अँगालोमा सुरक्षित राखिन् ।
उनले बच्चाको नाल काट्न काठको लट्ठी र पत्तीको प्रयोग गरिन् । तर अर्को समस्या थियो- नवजात शिशुकी अर्धनग्न आमालाई कसरी लाज ढाकिदिने ?
चन्द्रिकालाई भीडको तरिका मन परेकै थिएन । तर उनी तिनलाई गाली वा आक्रोश बर्साउन होइन, उल्टै अनुरोध गर्न थालिन्, ‘शरीर ढाक्ने पुरानो कपडा भए पनि दिनुहोस्, तपाईंहरूलाई धर्म हुन्छ ।’
एक स्थानीयले पेटिकोटको एक टुक्रा फालिदिए, जसको सहाराले चन्द्रिकाले नवजात शिशुकी आमा चन्द्राको शरीर छोपिदिइन् ।
अकस्मात आइपरेको यही कर्तव्य पालनाको कारण सिंगो भिडमा प्रहरी जवान चन्द्रिका सबैभन्दा फरक देखिइन् । किनभने उनी डराइनन्, जिम्मेवारीबाट पन्छिनन् । उनले आफ्नो कर्तव्य निभाइन् ।
गोदावरी नगरपालिका- १ का वडाध्यक्ष गोपालदत्त भट्ट स्वास्थ्यकर्मीलाई लिन अस्पताल नै पुगेका थिए ।

अत्तरियास्थित पद्मा अस्पतालका प्रमुख डा. गणेश फुलारा तत्कालै चिकित्सकीय टोली र एम्बुलेन्स लिएर घटनास्थलमा पुग्दा चन्द्रिकाले आमा र बच्चालाई खतरामुक्त राखिसकेकी थिइन् ।
‘हामी पुग्दा गाउँलेको भिड जम्मा भएको थियो । एक महिला प्रहरीले अत्यन्त साहसपूर्वक काम गरिसकेकी थिइन्, डा. गणेश प्रशंसा गर्दै भन्छन् ।
प्रहरी जवान चन्द्रिका बैतडीकी हुन् । उनी प्रहरी सेवामा प्रवेश गरेको ११ वर्ष भइसकेको छ ।
चन्द्रिकाले विभिन्न प्रकारका ड्युटी निभाएकी छिन्- सडक दुर्घटनादेखि शव उठाउनेसम्म । तर यो घटना उनको जीवनमा सबैभन्दा अविश्मरणीय छ ।
‘यो मेरो जीवनको पहिलो घटना हो, जहाँ मैले एक जीवन संसारमा आउने प्रक्रियामा सहयोग गरेँ,’ भावुक हुँदै उनी सम्झन्छिन् ।
त्यो क्षणमा गर्व र सन्तुष्टिको अनुभूति अतुलनीय थियो ।
किन यस्तो जोखिम लिनुभयो? भन्ने प्रश्नमा उनले सरल जवाफ फर्काइन्, ‘सेवाकै लागि प्रहरी संगठनमा आएको हुँ । कुनै पनि अवस्थामा जीवन बचाउनु मेरो पहिलो कर्तव्य हो ।’

साहसको क्षण
घटनास्थल पुग्दा डा. फुलारा र उनको टोलीले देखेको दृश्य मानवताका लागि मन कुँड्याउने क्षण थियो ।
डा. फुलारा नेतृत्वको टोली आइपुग्दा पनि दृश्य अझै उस्तै थियो । फोटो र भिडिओ खिच्नेको लाइन भिडमा देखिन्थ्यो ।
‘हामी आउँदा पनि मानिस उत्सुकतावस भिडियो खिचिरहेका थिए । त्यहाँको अवस्था हेरिनसक्नु थियो,’ डा. फुलारा भन्छन्, ‘गाउँले रमिता हेरेर बसेका थिए । कसैले नजिक गएर छोएका थिएनन् । मानौं उनी मानिस नै होइनन् ।’
अस्पताल मात्र दुई किलोमिटरको दुरीमा हुँदाहुँदै कसैले पनि उनलाई त्यहाँसम्म लगिदिने मानवता देखाएनन् ।
त्यसपछि चिकित्सकीय टोलीले तुरुन्तै आमा र बच्चालाई एम्बुलेन्समा राखेर अस्पताल लग्यो । तर साल निस्किएको थिएन । चिकित्सकले थप उपचार गरेर समस्या समाधान गरे ।
‘सबै जना आफ्नो स्वार्थ केन्द्रित भए,’ डा. फुलाराले दुखेसो पोख्दै भने, ‘समाजको उदासिनताले गर्दा अपमानित महसुस भयो ।’

आखिर धेरैले बेवारिसे भनेर चिनाएकी चन्द्रा मानसिक असन्तुलन भएकी महिला थिइनन् ।
‘उहाँको मानसिक सन्तुलन गुमेको छैन,’ डा. फुलाराले प्रष्ट पारे ।
‘उहाँले मसँग स्पष्ट कुरा गर्नुभयो । आज यहीँ बस्न दिनुहोस्, भोलि बिहानसम्म कोही न कोही आफन्त आएपछि जान्छु भन्नुभयो,’ उनले अनलाइनखबरसँग भने ।
अहिले चन्द्रा र उनको नवजात शिशु स्वस्थ छन् ।
‘आफ्नै दिदीबहिनी त्यस्तो अवस्थामा पर्दा हामी के गर्थ्यौं,’ उनले स्थानीयलाई पश्न गर्दै भने, ‘छुँदा रोग लाग्छ भन्ने अन्धविश्वासको दुखद दृश्य देख्यौं ।’
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार चन्द्रा आचार्य एक दुखद जीवन बिताइरहेकी थिइन् ।
सुर्खेतकी माइतीघर भएकी चन्द्रा स्नातक अध्ययनरत थिइन्, तर प्रेम विवाह गरेपछि पढाइ छाड्न बाध्य भइन् ।
बझाङमा एक वर्षअघि विवाह गरेकी चन्द्राका श्रीमान् भारतको बैंगलोरमा काम गर्छन् । उनी ३ महिनादेखि सम्पर्कविहीन छन् ।
‘आमा बितिसकेकी रहिछिन्, बुबाले अर्को विवाह गरेका रहेछन्,’ डीएसपी चन्दले अनलाइनखबरसँग भने, ‘अहिले बुबा पनि बितिसक्नुभएको रहेछ । माइतीमा कान्छी आमा र भाइ रहेको बुझिएको छ ।’
श्रीमान् सम्पर्कविहीन भएपछि उनले कपडा पसलमा काम गर्न थालेकी थिइन् ।
अहिले चन्द्रा र उनको नवजात शिशु ‘सेफ हाउस’ मा छन् । प्रहरीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । आफन्त आएपछि मात्र उनलाई जिम्मा लगाइनेछ ।
‘अहिले आमा र बच्चा शारीरिक रूपमा स्वस्थ नै छन्,’ डीएसपी चन्द भन्छन् ।
जवान चन्द्रिकालाई उनको यही साहस र निष्ठापूर्ण कर्तव्यपालनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका साथै प्रहरी महानिरीक्षक दीपक थापाले बुधबार पुरस्कृत गरेका छन् ।
प्रतिक्रिया 4