News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले नवौँ पीएम कप एनभीए लिग काठमाडौ बाहिर आयोजना गर्दैछ।
- लिगमा ८ पुरुष र ६ महिला टोली सहभागी छन् र पहिलो दिन ६ खेल हुनेछ।
- पूर्व कप्तान मानबहादुर श्रेष्ठले हेल्प नेपालबाट खेल्दै आफ्नै पूर्व टिम आर्मीविरुद्ध पहिलो पटक घरेलु भलिबल खेल्नेछन्।
८ जेठ, काठमाडौं । नवौँ पीएम कप एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०८२ आज देखि पोखरा रंगशालास्थित बहुउद्देशिय कभर्डहलमा सुरु हुँदैछ ।
नेपाल भलिबल संघले पहिलो पटक एनभीए लिग काठमाडौ बाहिर आयोजना गर्दैछ । जहाँ पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ ।
लिगको पहिलो दिन आज पुरुषतर्फ ४ र महिलातर्फ २ गरी कूल ६ खेल हुनेछ ।
महिलातर्फ एपीएफ र कर्णाली प्रदेशत तथा एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहान खेल हुनेछ । त्यसपछि पुरुषतर्फका खेलहरु हुनेछन् ।
आर्मी विरुद्ध हेल्प नेपालबाट खेल्दै मानबहादुर
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ यस पटक हेल्प नेपाल स्पोर्ट्स क्लबबाट नवौँ पीएम कप एनभीए लिग खेल्दैछन् । उनी यसै प्रतियोगिता खेल्नका लागि अष्ट्रेलियाबाट नेपाल आएका हुन् ।
मानबहादुर आर्मी छाडेपछि पहिलो पटक घरेलु भलिबल खेल्दैछन् र संयोग कस्तो भने उनको पहिलो खेलनै पूर्व क्लब आर्मी विरुद्ध हुनेछ ।
आजै पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मीबीच खेल हुनेछ । एक दशक भन्दा बढी समय आर्मीबाट खेल्दै विभिन्न घरेलु प्रतियोगिताको उपाधि जिताएका मानबहादुरको गनर्स सेलेब्रेसन निकै चर्चित छ । आर्मीका लागि उनले धेरै पटक त्यस्तो सेलेब्रेसन गरेका छन् ।
तर यस पटक भने आफ्नै पूर्व टिम विरुद्ध मानबहादुरको प्रदर्शन र सेलेब्रेसन कस्तो रहन्छ हेर्नलायक हुनेछ ।
१२ वर्षमा खोलो फर्कन्छ भन्ने उखान छ । तर यहाँ १२ वर्षपछि आफ्नै पूर्व टिमविरुद्ध खेल्न मानबहादुर अष्ट्रेलियाबाट नेपाल आएका छन् ।
हेल्प नेपालले मानबहादुरलाई समेटेपछि टिम बलियो बनेको बताएको छ । हेल्प नेपाललमा पाकिस्तानका तीन विदेशी खेलाडी समेत छन् ।
आर्मीका धन बहादुर भट्ट, हरि हजुर थापा, शरण सामरी, दुर्गा महतो जस्ता खेलाडीहरु छन् ।
यसैगरी पुरुषतर्फको पहिलो खेलमा नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । यस्तै आजै घरेलु टोली गण्डकी प्रदेशले कोशी प्रदेशसँग खेल्नेछ भने नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच पनि खेल हुनेछ ।
यस पटक हेल्प नेपाल, गण्डकी र मणिमुकुन्द गरी ३ टिमले विदेशी खेलाडी भित्र्याएका छन् । महिलातर्फ बुटवलको एभरेष्ट भलिबल क्लबले थाइल्याण्डका तीन खेलाडी टिममा राखेको छ ।
खेलतालिका
प्रतिक्रिया 4