+

ठूलो महत्वाकांक्षा सहित एनएसएलको चौथो सिजन घोषणा

२०८३ जेठ  ३ गते २०:५५ २०८३ जेठ ३ गते २०:५५
ठूलो महत्वाकांक्षा सहित एनएसएलको चौथो सिजन घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुपर लिगको चौथो सिजन आगामी भदौ २० गतेदेखि होम एण्ड अवे फर्म्याटमा डबल राउण्ड रोविन प्रणालीमा सुरु हुने आयोजकले घोषणा गरेको छ ।
  • एनएसएलमा टिम संख्या १० देखि १२ पुर्‍याउने योजना छ र आयोजकले क्लबहरूसँग ५०-५० प्रतिशत रेभेन्यु सेयरिङ गर्ने मोडल अपनाउने जानकारी दिएका छन् ।
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरले एनएसएलले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्ने बताए भने एन्फा अध्यक्षले सफल आयोजनाको शुभकामना दिएका छन् ।

३ जेठ, काठमाडौं । महत्वकांक्षी लक्ष्यसहित नेपालको एक मात्र फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)को चौथो सिजनको घोषणा भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएल आगामी भदौ २० गतेदेखि (सेप्टेम्बर ५) मा सुरु हुने घोषणा गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरलेलाई उपस्थित गराएर आयोजकले एनएसएलको मिति घोषणा गर्दै नयाँ मोडालिटीमा लिग गर्ने बताएपनि धेरै कुरा अझै निर्णय हुन बाँकी नै रहेको छ ।

होम एण्ड अवे फर्म्याटमा गर्ने घोषणा गरिएको लिगको बाँकी जानकारी आगामी दिनमा गराउँदै जाने एनएसएलका निर्देशक श्रेयांश कार्कीले जानकारी दिएका छन् ।

आइतबारको पत्रकार सम्मेलनमा आयोजकले मुख्य गरी तीन कुरा घोषणा गर्‍यो । जसमा एनएसएलको मिति, डल राउण्ड रोविन प्रणालीमा खेलाउने र टिम संख्या बढाउने घोषणा भयो ।

तर ४-५ महिना सञ्चालन गर्ने तयार भएको लिगको यस बाहेक अन्य धेरै विषयमा भने अझै स्पष्ट रुपमा आएको छैन । एनएसएल चार महिना सञ्चालन भएपछि शहीद स्मारक ए डिभिजन लिगको समय, मोफसलका गोल्डकपहरुको समय कसरी व्यवस्थापन हुन्छ भन्ने विषयमा केही जानकारी आएको छैन ।

होम एण्ड अवे प्रणालीमा हुने

एनएसएलको चौथो सिजन होम एण्ड अवे फर्म्याटमा खेलाउने आयोजकले घोषणा गरेको छ । ‘चौथो सिजन होम एण्ड अवे फर्म्याटमा हुनेछ । त्यो भएपछि डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ’ निर्देशक कार्कीले भने ।

यस्तै आगामी संस्करणमा टिम संख्या बढाउने पनि कार्कीले घोषणा गरे । तर त्यसको पनि स्पष्ट मोडालिटी पनि आउन सकेन । टिम संख्या बढाएर १० देखि १२ पुर्‍याउने योजना छ ।

यसअघि २०८२ मा सम्पन्न तेस्रो सिजनमा ७ टोलीले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । टिम संख्या बढाएर होम एण्ड अवे प्रणालीमा लिग खेलाउनु भनेको नेपाली फुटबलमा महत्वाकांक्षी लक्ष्य नै हो । किनभने नेपाली फुटबलको अभिभावक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत होम एण्ड अवे प्रणालीमा लिग गर्ने भनेर भन्दै आएपनि गर्न सकेको छैन । त्यसैले एनएसएल होम एण्ड अवे प्रणालीमा गर्ने आँट गर्नु ठूलै जोखिम लिनु हो ।

त्यसमा पनि अहिले भएका ७ मध्ये ६ टिमको घरेलु मैदान हुनेछ भने एफसी चितवन र थपिने टिमहरूको मैदान टुङ्गो लाग्न बाँकी छ । ‘अहिले भएका मध्ये ६ टिमको आफ्नै मैदान हुनेछ । चितवनको मात्र होम ग्राउण्ड छैन । चितवनले नजिकको मैदानका लागि पहल गर्नेछ । यस्तै थपिने टिम कहाँबाट आउँछ त्यसै अनुसार भर पर्छ’ कार्कीको भनाइ छ ।

एनएसएलको चौथो सिजनमा भने आयोजकले क्लबहरूसँग रेभेन्यु मोडल बाँड्ने जनाएको छ । जसमा आयोजक र क्लबहरूको ५०-५० प्रतिशत हिस्सा रहनेछ । ‘अन्तर्राष्ट्रिय लिग मोडल अनुसार नै हामीले गृहकार्य गरिरहेका छौं । सेन्ट्रल रेभेन्युको ५०-५० प्रतिशत आयोजक र क्लबहरूबीच सेयरिङ गर्ने मोडलमा जाँदैछौं’ कार्कीले भने ।

मन्त्रीदेखि सदस्य सचिवसम्मको उपस्थिति

एनएसएलको मिति घोषणा कार्यक्रमम शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरलेदेखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता सम्मको उपस्थिति थियो । मन्त्रीका सल्लाहकार सिद्धि व्यन्जनकार लगायत पनि उपस्थित थिए ।

यस्तै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायत फुटबलसँग सरोकार राख्नेहरूको बाक्ले जमघट भएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तन किरण चेम्जोङ देखि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्य, अनिल गुरुङ लगायत पूर्व खेलाडीहरू पनि उपस्थित थिए ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरलेलले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको उदाहरण दिँदै नेपाल सुपर लिगले नेपाली फुटबलमा सहयोगी भुमिका खेल्ने बताए । फ्रेन्चाइज लिगले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्ने मन्त्री पोखरलेको विश्वास छ ।

यस्तै एन्फा अध्यक्ष नेम्वाङले एनएसल वा कुनै पनि प्रतियोगिताको घोषणा कार्यक्रम विरलै मात्रामा मन्त्री स्वयं नै उपस्थित हने बताउँदै यसले एन्फा, आयोजक समिति र सम्पुर्ण क्लबहरूलाई थप ऊर्जा प्रदान गर्ने बताए । उनले एन्फाको कुर्चीमा आफूहरू हुँदासम्म सधैं राम्रो काम गर्न प्रयास गर्ने बताए ।

उनले खेलकुदलाई हेर्ने यो सरकारको दृष्टिकोण विगतमा भन्दा राम्रो रहेकोले धेरै आशा राखिएको पनि बताए । उनले एन्फाको निलम्बन फुकुवा गरेकोमा मन्त्री, सदस्य सचिव लगायत सबैलाई धन्यवाद दिए ।

अध्यक्ष नेम्वाङले एनएसएलको विषयमा खासै धेरै कुरा गरेनन् । यसअघिका संस्करणहरू सफलतापुर्वक सम्पन्न भएको र अब आउने संस्करण भव्य रुपमा सफल बनाउन शुभकामना मात्र दिए ।

नेपालमै भए खेल्छु : किरण चेम्जोङ

नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यसअघि पहिलो सिजन धनगढी एफसीबाट एनएसएल खेलेका थिए । त्यसपछिका दुई सिजन भने उनले कुनै टिमबाट खेलेनन् ।

गत वर्ष भएको तेस्रो संस्करणमा विभिन्न टिमसँग किरणको कुरा भएपनि उनले अन्तिममा कुनै पनि टिमबाट खेलेनन् ।

आइतबार पत्रकार सम्मेलनमा किरण चेम्जोङले आगामी सिजन होम एण्ड अवे पर्म्याटमा हुनु राम्रो भएको बताउँदै त्यो बेला आफू नेपालमै रहेमा लिग खेल्ने बताए ।

किरणले पछिल्लो वर्षहरूमा भारत र बंगलादेशको लिग खेल्दै आएका छन् । गत वर्ष केही समय उनले बंगलादेशको लिग समेत खेले ।

होम एण्ड अवेमा खेलाउन कति सम्भव ?

आयोजकले एनएसएललाई अब नेपाली फुटबलको नयाँ अध्यायको रुपमा घोषणा गरेको छ । त्यही अनुसार एनएसएलको मिति घोषणा कार्यक्रममा सरकारको मन्त्री, देखि एन्फाको अध्यक्ष लगयात समेतको उपस्थित रहे ।

उनीहरूले नेपाली फुटबलको बारेमा केही चर्चा समेत गरे । तर एन्फा अध्यक्षले एनएसएल र एन्फाको आफुहरूको कामको कुरा गर्दा नेपालको शीर्ष डिभिजनको लिग शहीद स्मारक ए डिभिजन लिग बारे भने केही भनेनन् । विगत तीन सिजन देखि ए डिभिजन लिग भएको छैन ।

पछिल्लो समय एन्फाले नै होम एण्ड अवे प्रणालीमा ए डिभिजन लिग गर्ने भनेर घोषणा गर्दा ए डिभिजन क्लबहरूले नै यो तत्काल सम्भव नभएको भन्दै दीर्घकालीन योजना बनाएर पनि अघि बढ्नुपर्ने बताएका थिए ।

यस्तोमा फुटबल संघ भन्दा बाहिरबाट होम एण्ड अवेमा डबल राउण्ड रोविन फर्म्याटको लिग घोषणा हुनु सानो विषय भने होइन ।

त्यसमा पनि एनएसएल ४ देखि ५ महिना सञ्चालन हुने भनिएको छ । त्यसका लागि एन्फाले प्राविधिक सहयोग गर्ने एनएसएलको आयोजकले जनाएको छ । तर एनएसएलमा टिम संख्या बढाएर होम एण्ड अवे फर्म्याटमा गर्न कति सम्भव छ भन्ने मुख्य प्रश्न रहेको छ ।

यसअघि पनि एन्फाकै प्राविधिक सहयोगमा एनएसएल सञ्चालन हुँदै आएको थियो । तर मन्त्री नै उपस्थित भएपछि अब यसमा एन्फा मात्र नभएर सरकारको पनि सहयोग रहने आयोजकको दाबी छ । तर एन्फा र सरकारले कस्तो सहयोग गर्ने भन्ने स्पष्ट खुलेको छैन ।

लिग सुरु हुने मिति सेप्टेम्बरमै साफ च्याम्पियनसिप फुटबल पनि आयोजना हुने तयारी छ । यस्तै राष्ट्रिय टिमको पनि फिफा विन्डोमा मैत्रीपूर्ण खेलहरू हुन्छ ।

यस्तो अवस्थामा राष्ट्रिय टिमको तयारी देखि अन्तर्राष्ट्रिय खेलहरू खेल्न जाँदा एनएसएलको लागि कस्तो असर गर्छ भन्ने विषयमा केही सार्वजनिक भएको छैन ।

मिति घोषणा कार्यक्रममा उपस्थित रहेका एन्फा अध्यक्षले पनि अब एनएसएल कसरी अघि बढ्छ, शहीद स्मारक ए डिभिजन लिग कसरी आयोजना हुन्छ कुन समयमा हुन्छ भन्ने विषयमा केही बोलेनन् ।

एनएसएल आयोजकलाई ए डिभिजन लिग र एनएसएलको समयमा कसरी व्यवस्थापन हुन्छ भनेर प्रश्न राख्दा एनएसएलका निर्देशक कार्कीले यो विषयमा एन्फाले बोल्ने र आफूहरूलाई यो विषयमा सरोकार नहुने जवाफ दिए ।

यस विषयमा सोध्न एन्फा अध्यक्षलाई फोन गर्दा सम्पर्क हुन सकेन भने महासचिवले अहिले यो विषयमा आफू अहिले नबोल्ने प्रतिक्रिया दिए ।

एनएसएल नेपाल सुपर लिग नेपाल सुपर लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय