+
+
Shares

सगरमाथाको चुचुरोमा मेस्सीको तस्वीर, भेटेरै उपहार दिने शेर्पाको इच्छा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आरोही पेम्बा शेर्पाले २०८२ वैशाख ३० गते पहिलो पटक सगरमाथा चुचुरोमा मेसीको तस्वीर पुर्‍याएका छन्।
  • शेर्पाले मेसीलाई भेटेर सगरमाथामा पुर्‍याएको ब्यानर उपहार दिन चाहेको जानकारी दिए।

३ जेठ, काठमाडौं । सगरमाथा आरोही पेम्बा शेर्पाले विश्वका चर्चित फुटबलर मेस्सीको तस्वीर सगरमाथाको शिखरमा पुर्‍याएका छन् ।

मिर्गौला प्रत्यारोपण गराएका ३८ वर्षीय शेर्पा २०८२ वैशाख ३० गते सगरमाथा चढ्न सफल भएका थिए । उनी मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोण गर्ने पहिलो व्यक्ति समेत रहेका छन् ।

सोही समय उनले विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडी मेस्सीको तस्वीर विश्वको सर्वोच्च शिखरमा पुर्‍याएका थिए । विश्वकप २०२६ नजिकै आइरहेको र मेस्सी पनि सो प्रतियोगिता खेल्ने तयारीमा रहेका बेला तस्वीर सार्वजनिक गरिएको शेर्पाले बताए । सगरमाथामा मेसीको तस्बिर पुर्‍याउने आफू पहिलो व्यक्ति भएको दावी उनको छ ।

उनको जादुमयी खेल र शालीन व्यक्तित्वले किशोर अवस्थादेखि नै आफ्नो ध्यान तानेको उनले सुनाए ।

उपाधिनजिकै पुगेर कयौं पटक हार खाँदा पनि धैर्य गरी अघि बढ्ने मेस्सीको साहसबाट आफूले समेत जीवनमा धेरै प्रेरणा लिएको शेर्पा बताउँछन् । ‘दुवै मिर्गौला फेल भएर डायलासिसको भरमा बाँचिरहँदा मैले पनि पटक–पटक जीवनदेखि हरेश खाएँ’ शेर्पा भन्छन्, ‘तर मिर्गौला प्रत्यारोपणपछि दोस्रो जीवन पाएँ र स्वस्थ भएर सगरमाथा चुचुरोसम्म पुग्न सफल भएँ ।’

२०२२ को कतार विश्वकपमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि जित्दा शेर्पाले मिर्गौला प्रत्यारोपण गराएको करिब २ महिना भएको थियो। 

मेस्सी खुसीले हाँसेको र रोएको दृश्य उनले टिभीमार्फत हेर । कयौं असफलतापछि हात लागेको मेस्सीको जीवनकै सबैभन्दा ठूलो सफलता थियो त्यो । ती दृश्यहरू हेरिरहँदा शेर्पाका आँखाबाट हर्षका आँसु बगे ।

त्यही कुराले पनि आफूलाई हिमाल चढ्ने प्रेरणा मिलेको उनको भनाइ छ । ‘मैले सोचें– वर्षौंसम्म धैर्यता गरेर मेसीले विश्वकप जित्न सक्छन् भने, मैले किन हिमाल चढ्न नसक्ने ?’ शेर्पा भन्छन्, ‘त्यो हौसलासहित शरीरमा बुबाले दिएको मिर्गौला र हातमा मेस्सीको फोटो भएको ब्यानर बोकेर सगरमाथाको चुचुरोमा पुगें ।’

मेस्सीले विश्वकप ट्रफी चुम्दै गरेको तस्वीर उनले सगरमाथाको शिखरमा पुर्‍याएका थिए ।

मेस्सीलाई भेटेरै सगरमाथामा पुर्‍याएको उक्त ब्यानर उपहार दिने इच्छा रहेको शेर्पाले सुनाए । ‘मेरो एउटा चाहना छ, मेसीलाई प्रत्यक्ष भेटेर, आउँदो जन्मदिनको अवसरमा यो ऐतिहासिक ब्यानर उपहार स्वरूप हातमा सुम्पिने सोचमा छु’ शेर्पाले भने ।

सोलुखुम्बुको दूधकोशी गाउँपालिका स्थायी घर भएका शेर्पाको २०७६ सालमा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । २०७९ कार्तिक २ गते भक्तपुरस्थित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसको साढे २ वर्षपछि उनी सगरमाथा आरोहण गर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?