+

विश्वकप उपाधिमा युरोप र ल्याटिन अमेरिकी राष्ट्रकै दबदबा, कसले कतिपटक जिते ?

२०८३ जेठ  ३ गते १३:३७ २०८३ जेठ ३ गते १३:३७

युरोपियन राष्ट्रले १२ पटक फिफा विश्वकपको उपाधि जित्दा दक्षिण अमेरिकी राष्ट्रले १० पटक उपाधि जितेको छ । त्यसमा ब्राजिल सर्वाधिक ५ पटक च्याम्पियन बनेको छ ।

विश्वकप उपाधिमा युरोप र ल्याटिन अमेरिकी राष्ट्रकै दबदबा, कसले कतिपटक जिते ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ जुन ११ देखि मेक्सिको, अमेरिका र क्यानडामा संयुक्त रुपमा आयोजना हुँदैछ र ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
  • ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितिसकेको छ भने युरोपका पाँच राष्ट्रले १२ पटक उपाधि जितेका छन्।
  • अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् जसमा नेदरल्यान्ड्सले तीन पटक उपविजेता बनेको छ।

३ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ जुन ११ देखि पटक तीन फरक देशमा संयुक्त रुपमा आयोजना हुन लाग्दा अहिलेसम्मकै सर्वाधिक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदा विश्वकपको अवधि लम्बेर ३९ दिन पुगेको छ भने खेलपनि अहिलेसम्मकै धेरै १०४ खेल हुनेछ ।

यस्तोमा विश्वकपमा कस्तो प्रतिस्पर्धा होला, कुन टिमले उपाधि जित्ला, कुन टिमले अप्रत्यासित नतिजा ल्याउला, को उत्कृष्ट खेलाडी बन्ला भन्ने जिज्ञासा सबैको मनमा छ ।

त्यसमा पनि सबैभन्दा मुख्य कौतुहलता नै विश्वकप कसले जित्ला भन्ने नै हुन्छ । त्यसमा युरोप वा दक्षिण अमेरिकी टिममध्ये नै कुनै एकले जित्ने सम्भावना बढी हुन्छ । अहिलेसम्म एसिया र दक्षिण अफ्रिकाबाट एक-एक टिम मात्र सेमिफाइनलसम्म पुग्न सकेका छन् ।

युरोप र दक्षिण अमेरिका बाहिरका टिमहरूले विश्वकप जित्न अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । यस पटक टिम संख्या बढ्दा कतै नयाँ टिम पो च्याम्पियन बन्छ कि भन्ने चर्चा पनि हुन्छ । तर कसले उपाधि जित्छ भनेर थाहा पाउन जुलाई ११ सम्मै पर्खनुपर्ने हुन्छ ।

पहिलो पटक तीन फरक राष्ट्र मेक्सिको, अमेरिका र क्यानडाले संयुक्त रुपमा विश्वकप आयोजना गर्न लाग्दा यो अर्को कीर्तिमान बनिसकेको छ । त्यसमा पनि जुन ११ को उद्घाटन खेल भएपछि मेक्सिको आधिकारिक रुपमै तीन पटक फिफा विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्नेछ ।

यस्तै अमेरिकाले ३२ वर्षपछि पहिलो पटक र समग्रमा दोस्रो पटक विश्वकप आयोजना गर्दैछ भने क्यानडा पहिलो पटक विश्वकपको आयोजक बन्नेछ । उत्तर अमेरिकाबाट पनि अहिलेसम्म कुनै पनि टिमले विश्वकप जित्न सकेको छैन । यस पटक तीन राष्ट्र आयोजक हुँदै कुनै एक टिमले पहिले भन्दा राम्रो प्रदर्शन गर्छ कि भन्ने अपेक्षा छ ।

यहाँ चर्चा गर्न लागिएको मुख्य विषय भनेको अहिलेसम्म भएको २२ संस्करणमा विजेता बनेको टिमहरूको हो । उनीहरूले कुन वर्ष कसरी विश्वकप जिते भन्ने इतिहासबारे यस्तै विश्वकप सुरु हुनुअघि चर्चा हुने गर्छ ।

विश्वकप फुटबलकै सबैभन्दा सफल टिमको रुपमा रहेको ब्राजिलले कीर्तिमानी पाँच पटक विश्वकप जितिसकेको छ । त्यसलाई भेट्टाउन युरोपियन राष्ट्रहरू प्रयासरत छन् ।

युरोपका इटली र जर्मनीले समान ४ पटक उपाधि जितेका छन् । यस्तै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३ र उरुग्वेले २ पटक उपाधि जितेका छन् । युरोपकै फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक विश्वकप जितेका छन् ।

सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना हुँदा त्यसको विजेता दक्षिण अमेरिकी राष्ट्र उरुग्वे थियो । उरुग्वे अर्को दक्षिण अमेरिकी टिम अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो । त्यही अर्जेन्टिनाले पछिल्लो पटक कतारमा २०२२ मा भएको विश्वकपको उपाधि जितेको थियो ।

यस बीचमा दक्षिण अमेरिकाकै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितिसकेको छ भने युरोपका पाँच राष्ट्र मिलेर १२ पटक विश्वकप जितिसकेका छन् ।

ब्राजिलले सन् १९५८ मा पहिलो पटक विश्वकप जितेको थियो । त्यसपछि १९६२ मा विश्वकप जितेको ब्राजिलले एक संस्करणपछि १९७० मा फेरि जितेर विश्वकप ट्रफी नै पचाएको थियो ।

यी तीनै पटक विश्वकप जित्दाका एक मुख्य सदस्य थिए पेले । त्यसपछि उनी विश्वकप फुटबलको राजाको रुपमा उदाए । त्यसपछि ब्राजिलले १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो ।

इटालीले सन् १९३४ को दोस्रो र १९३८ को तेस्रो संस्करण जित्दै लगातार दुई पटक विश्वकप जित्ने पहिलो टिम बनेको थियो । इटलीले १९८२ मा तेस्रो पटक र २००६ मा चौथो पटक विश्वकप जित्यो ।

यस्तै उरुग्वेले १९५० मा दोस्रो पटक विश्वकप जित्यो ।

सन् १९५४ मा तत्कालिन पश्चिम जर्मनीले त्यसबेलाको जबरजस्त टिम हंगेरीलाई हराएर पहिलो पटक उपाधि जितेको थियो । पश्चिम जर्मनीले १९७४ र १९९० मा उपाधि जित्यो । जर्मनी एकीकरण भएपछि सन् २०१४ मा जर्मनीले विश्वकप उपाधि जितेको थियो ।

यस्तै इंग्ल्यान्डले सन् १९६६ मा उपाधि जितेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक उपाधि जितेको छ । स्पेनले गोल्डेन जेनेरेसनका दौरान सन् २०१० को उपाधि जितेको थियो ।

चार पटकको च्याम्पियन इटाली भने फेरि एक पटक विश्वकपमा देखिने छैन । सन् २००६ मा फ्रान्सलाई हराउदै चौथो पटक विश्वकप जितेको इटलीको फुटबल फेरि त्यस्तै देखिएको छैन ।

सन् २०१८ देखि लगातार तीन संस्करण इटली विश्वकपमा छनोट हुन सकेन । यस बीचमा इटलीले युरो २०२० को उपाधि जितेको थियो ।

१३ राष्ट्रले फाइनल खेल्दा नेदरल्यान्ड्स ३ पटक उपविजेता

अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् । जसमा ८ राष्ट्र च्याम्पियन बन्दा पाँच राष्ट्र फाइनलमा पुगेर असफल भएका छन् । चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स क्रोएशियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्न सकेनन् ।

त्यसमा पनि नेदरल्याण्ड्सले तीन पटक विश्वकप फाइनल पुगेर उपाधि जित्न सकेको छैन । चेकोस्लोभाकिया र हंगेरी समान दुई पटक फाइनलमा पराजित भएका छन् ।

पछिल्लो पटक रूसमा सन् २०१८ मा भएको विश्वकपमा क्रोएशिया फाइनल पुग्ने नयाँ टिम बनेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो ।

अहिलेसम्मको भएका विश्वकपको विजेता, उपविजेता टिमहरू

पहिलो विश्वकप, १९३० (उरुग्वे)

विजेता– उरुग्वे

उपविजेता– अर्जेन्टिना

तेस्रो – अमेरिका

चौथो – युगोस्लाभिया

दोस्रो विश्वकप, १९३४ (इटाली)

विजेता– इटाली

उपविजेता– चेकोस्लोभाकिया

तेस्रो– जर्मनी

चौथो– अस्ट्रिया

तेस्रो विश्वकप, १९३८ (फ्रान्स)

विजेता– इटाली

उपविजेता– हंगेरी

तेस्रो– ब्राजिल

चौथो– स्विडेन

चौथो विश्वकप, १९५० (ब्राजिल)

विजेता– उरुग्वे

उपविजेता– ब्राजिल

तेस्रो– स्विडेन

चौथो– स्पेन

पाँचौं विश्वकप, १९५४ (स्वीट्जरल्यान्ड)

विजेता– पश्चिम जर्मनी

उपविजेता– हंगेरी

तेस्रो– अस्ट्रिया

चौथो– उरुग्वे

छैटौं विश्वकप, १९५८ (स्विडेन)

विजेता– ब्राजिल

उपविजेता– स्विडेन

तेस्रो स्थान– फ्रान्स

चौथो स्थान– जर्मनी

सातौं विश्वकप, १९६२ (चिली)

विजेता– ब्राजिल

उपविजेता– चेकोस्लोभाकिया

तेस्रो– चिली

चौथो– युगोस्लाभिया

आठौं विश्वकप, १९६६ (इङ्ल्यान्ड)

विजेता– इङ्ल्यान्ड

उपविजेता– पश्चिम जर्मनी

तेस्रो– पोर्चुगल

चौथो– सोभियत युनियन

नवौं विश्वकप, १९७० (मेक्सिको)

विजेता– ब्राजिल

उपविजेता– इटाली

तेस्रो– पश्चिम जर्मनी

चौथो– उरुग्वे

दसौं विश्वकप, १९७४ (जर्मनी)

विजेता– पश्चिम जर्मनी

उपविजेता– नेदरल्यान्ड्स

तेस्रो– पोल्यान्ड

चौथो– ब्राजिल

११औं विश्वकप, १९७८ (अर्जेन्टिना)

विजेता– अर्जेन्टिना

उपविजेता– नेदरल्यान्डस

तेस्रो– ब्राजिल

चौथो– इटाली

१२औं विश्वकप, १९८२ (स्पेन)

विजेता– इटाली

उपविजेता– पश्चिम जर्मनी

तेस्रो– पोल्यान्ड

चौथो– फ्रान्स

१३औं विश्वकप, १९८६ (मेक्सिको)

विजेता– अर्जेन्टिना

उपविजेता– पश्चिम जर्मनी

तेस्रो– फ्रान्स

चौथो– बेल्जियम

१४औं विश्वकप, १९९० (इटाली )

विजेता– जर्मनी

उपविजेता– अर्जेन्टिना

तेस्रो– इटाली

चौथो– इङल्यान्ड

१५औं विश्वकप १९९४ (अमेरिका)

विजेता– ब्राजिल

उपविजेता– इटाली

तेस्रो– स्विडेन

चौथो– बुल्गेरिया

१६औं विश्वकप, १९९८ (फ्रान्स)

विजेता– फ्रान्स

उपविजेता– ब्राजिल

तेस्रो– क्रोएसिया

चौथो– नेदरल्यान्ड्स

१७औं विश्वकप, २००२ (दक्षिण कोरिया/जापान)

विजेता– ब्राजिल

उपविजेता– जर्मनी

तेस्रो– टर्की

चौथो– दक्षिण कोरिया

१८औं विश्वकप, २००६ (जर्मनी)

विजेता– इटाली

उपविजेता– फ्रान्स

तेस्रो– जर्मनी

चौथो– पोर्चुगल

१९औं विश्वकप, २०१० (दक्षिण अफ्रिका)

विजेता– स्पेन

उपविजेता– नेदरल्यान्ड्स

तेस्रो– जर्मनी

चौथो– उरुग्वे

२०औं विश्वकप, २०१४ (ब्राजिल)

विजेता– जर्मनी

उपविजेता– अर्जेन्टिना

तेस्रो– नेदरल्यान्ड्स

चौथो– ब्राजिल

२१औं विश्वकप, २०१८ (रुस)

विजेता– फ्रान्स

उपविजेता– क्रोएसिया

तेस्रो– बेल्जियम

चौथो– इंग्ल्यान्ड

२२औं विश्वकप, २०२२ (कतार)

विजेता– अर्जेन्टिना

उपविजेता– फ्रान्स

तेस्रो– क्रोएसिया

चौथो– मोरक्को

२३औं विश्वकप, २०२६ (अमेरिका, मेक्सिको, क्यानडा)

विजेता–?

उपविजेता– ?

तेस्रो– ?

चौथो– ?

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय