+

अमेरिकाविरुद्ध ओपनिङ जोडीको कमाल

२०८३ जेठ  २ गते २२:०७ २०८३ जेठ २ गते २२:०७

विकल्पविहीन हुँदै पुरानै जोडीलाई ओपनिङ गराएको नेपालकोे लागि यो खेलमा भने कुशल–आसिफ जोडीले पुनः एकपटक ओपनिङ जोडी मजबुत रहेको सन्देश दियो

अमेरिकाविरुद्ध ओपनिङ जोडीको कमाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध ३७ ओभरमै १९६ रनको लक्ष्य पूरा गर्दै शानदार जित निकाल्यो।
  • कुशल भुर्तेलले १२० बलमा १२० रनको अविजित शतक प्रहार गर्दा आसिफ शेखले ५८ रन बनाएर आउट भए।
  • दीपेन्द्रसिंह ऐरीले ७ ओभर ३ बलमा ४ विकेट लिएर अमेरिकाको बलिङ कमजोर पारे।

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार जित निकाल्यो । लिग–२ मा बलियो देखिएको अमेरिकाविरुद्ध नेपाल शनिबार खम्बा बनेर उभियो ।

अमेरिकामाथि जित निकाल्दा नेपालको टप अर्डर ब्याटिङ शानदार रह्यो । पछिल्लो समय टाउको दुखाई बन्दै आएको टपअर्डर ब्याटिङले शनिबार भने आश फर्काउन सफल भयो ।

पछिल्लो समय ओपनिङसहित टपअर्डर फ्लप हुँदा नेपाल धेरै खेलमा पराजित हुँदै आएको छ । लिग–२ अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको टपअर्डर ब्याटिङ लामो समयदेखि धरासायी बन्दै आएको छ । त्यसकारण पनि नेपालले नयाँ खेलाडीको प्रयोग गर्दै आएको छ ।

केही दिनअघि मात्रै भएको नेपाल–ओमन–यूएई सिरिजको पहिलो दुई खेलमा आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । दुवै खेलमा सुरुवात राम्रो हुन सकेन । पहिलो खेलमा ८ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो खेलमा एक रनमै पहिलो विकेट गुमाउन पुग्यो ।

त्यसपछि तेस्रो खेलमा ओपनिङ जोडी परिवर्तन भयो । तेस्रो खेलमा यूएईविरुद्ध विनोद भण्डारी र अर्जुन कुमालले ओपनिङ गरे । उक्त खेलमा २५ रनमा नेपालले पहिलो विकेट गुमायो । चौथो खेलमा पनि ओपनिङ जोडी परिवर्तन भयो । विनोद र आसिफले चौथो खेलमा ओपनिङ गरे । आसिफले राम्रो ब्याटिङ गरेपनि विनोद कुनै पनि रन नजोडी आउट हुन पुगे ।

त्यसपछि अहिले भइरहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध पनि विनोद र आसिफले नेपालको ओपनिङ गरे । तर, उनीहरु पनि सफल भएनन् । दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपाल पुरानै ओपनिङ जोडीलाई ओपनिङको रुपमा खेलाउन बाध्य भयो ।

विकल्पविहीन हुँदै पुरानै जोडीलाई ओपनिङ गराएको नेपालकोे लागि यो खेलमा भने कुशल–आसिफ जोडीले पुनः एकपटक ओपनिङ जोडी मजबुत रहेको सन्देश दियो ।

अमेरिकाविरुद्ध ओपनर कुशल र आसिफले १४५ रनको ओपनिङ साझेदारी गरे । जुन नेपालको जितको आधार बन्यो । कुशलले उत्कृष्ट अविजित शतक प्रहार गर्दा आसिफ ५८ रन बनाएर आउट भए ।

त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमै भेट्टायो । नेपालका लागि ओपनर कुशलले ११८ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले ।

उनले १३ चौका र ४ छक्का प्रहार गरे । यो कुशलको व्यक्तिगत उच्च स्कोर र ओडीआईमा दोस्रो शतक हो । यसअघि उनले सन् २०२३ मा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । आफ्नो प्रदर्शनबारे कुशल भन्छन्, ‘टपअर्डरले राम्रो सुरुवात दिइराखेको थिएन । आज आसिफ र मैले सुरुवात राम्रो दिँदाखेरि खुसी लागेको थियो, आफ्नो शतकभन्दा पनि ।’

कुशल र आसिफको अमेरिकाविरुद्धको साझेदारी ओडीआई ओपनिङमा नेपालले गरेको दोस्रो सबैभन्दा ठूलो साझेदारी हो । पहिलो ठूलो साझेदारी कुशल–आसिफ जोडीले सन् २०२३ मा जिम्बाब्बेविरुद्ध १७१ रनको साझेदारी गरेका थिए । यो जोडीले ओडीआईमा नेपालका लागि हालसम्म ४ शतकीय ओपनिङ साझेदारी गरेका छन् ।

अमेरिकाविरुद्ध अर्का ओपनर आसिफ ७२ बलमा ५८ रन बनाएर आउट हुँदा डेब्यु गरेका इसान पाण्डे ३० बलमा २० रन बनाएर अविजित रहे । एउटा गएपछि अर्काे पनि गइहाल्ने समस्यालाई डेब्यु म्यान इसानले रोक्न सफल भए । उनले कुशललाई साथ दिँदै नेपालको जितको बाटो कोरे ।

प्लानिङअनुसार आज सफल भएको कुशल बताउँछन् । ‘आसिफ र मेरो कुरा भइराखेको थियो । टप अर्डर राम्रो भयो भने जहिले खेल जित्छौं हामीलाई थाहा छ । त्यहि मात्र प्लानिङ भइराखेको थियो । आज सफल हुँदा खेरि खुसी लागेको छ,’ उनी भन्छन् ।

दीपेन्द्रले दिलाएको मोमेन्टम

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले २२ रन जोड्दा पहिलो विकेट गुमायो । त्यसपछि ओपनर स्मित पटेलले दोस्रो विकेटका लागि शेहान जयसुरियासँग शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो स्थितिमा पुर्‍याए ।

दुवैले अर्धशतक पूरा गरिसकेका थिए । यो साझेदारी टिकेमा नेपाल समस्यामा पर्न सक्थ्यो । नेपालले ८ बलर प्रयोग गर्दा पनि स्मित र शेहानको विकेट लिन सकेको थिएन ।

२३औं ओभरको चौथो बलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरिसकेका शेहानलाई लङअफमा गुल्सन झाको हातबाट क्याच आउट गराए । त्यसपछि खेल नेपालको पोल्टामा पल्टियो ।

अमेरिकाले लगातार विकेट गुमाइराख्यो । १२२-१ को अवस्थाबाट अमेरिकाले थप ७३ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो । अमेरिकाका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

७ ओभर ३ बल बलिङ गरेका दीपेन्द्रले २४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २, सन्दीप लामिछाने र गुल्सन झाले १-१ विकेट लिन सफल भए ।

नेपालको ओपनिङ जोडी नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय