+
+
Shares

‘अपरेशन ब्ल्याक फरेस्ट’मा यसरी मारिए भाकपा माओवादीका महासचिव बसवराजू

बसवराजूलाई भारतीय माओवादी आन्दोलनको एक शक्तिशाली मस्तिष्क मानिन्छ । उनको मृत्यु भारतीय माओवादी आन्दोलनका लागि सन् २००४ पछिको सबैभन्दा ठूलो क्षति हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते ८:०७
भाकपा माओवादीका महासचिव बसवराजु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका गृहमन्त्री अमित शाहले छत्तीसगढमा २७ माओवादी मारिएको र त्यसमा महासचिव बसवराजु पनि रहेको बताएका छन्।
  • बसवराजुलाई भारतीय माओवादी आन्दोलनको एक शक्तिशाली मष्तिष्क मानिन्छ ।
  • भारतको माओवादी आन्दोलनले एउटा वैचारिक नेतृत्व, आन्दोलनको रणनीतिकार, सैन्य नेतृत्व त गुमाएको छ नै सँगै एउटा गम्भीर मनोवैज्ञानिक धक्का पनि व्यहोरेको छ ।

८ जेठ, काठमाडौं । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मूठभेडमा २६ जना नक्सलवादी मारिएको खबर बुधबार निकै चर्चामा रह्यो ।

छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको उल्लेख गर्दै छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मूठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे ।

एएनआईसँग कुरा गर्दै उनले भने, ‘राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ । नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन् ।’

उता, छत्तीसगढकै सुरक्षा बलहरूले भने बुधबार २७ जना माओवादी मारिएको दाबी गरेका छन् । भारतीय प्रहरीका अनुसार बस्तर सम्भागअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा जारी भिडन्तमा ती माओवादीहरू मारिएका हुन्।

यी कारबाहीमा भारतको माओवादी आन्दोलनका शीर्ष नेता बसवराजूको पनि मृत्यु भएको भारतका गृहमन्त्री अमित शाहले पुष्टि गरेका छन् ।

उनले बुधबार एक ट्वीट गर्दै लेखेका छन्, ‘नक्सलवाद अन्त्य गर्ने संघर्षमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। आज, छत्तीसगढको नारायणपुरमा भएको एक अपरेशनमा हाम्रो सुरक्षा बलले २७ जना खतरनाक माओवादीलाई मार्न सफल भएका छन्, जसमा सीपीआई–माओवादीका महासचिव, शीर्ष नेता र आन्दोलनका मेरुदण्ड नंबाला केशव राव उर्फ बसवराजू पनि छन्।’

उनले अगाडि थपेका छन्, ‘नक्सलवादविरुद्ध भारतको तीन दशक लामो संघर्षमा पहिलो पटक सुरक्षा बलले महासचिव स्तरको माओवादी नेतालाई मार्न सफल भएको हो। म यो ठूलो सफलताका लागि हाम्रा बहादुर सुरक्षाकर्मीहरू र एजेन्सीहरूको प्रशंसा गर्छु।’

शाहले उल्लेख गरेअनुसार, ‘ब्ल्याक फरेस्ट’ नामक अपरेशन पूरा भएपछि छत्तीसगढ, तेलंगाना र महाराष्ट्रमा ५४ जना नक्सली पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेका छन्।

अघिल्ला केही वर्षमा सुरक्षाबलहरूले माओवादी विरोधी अपरेशनहरूमा सफलता त हासिल गरे पनि उनीहरूका सैन्य कारबाहीहरूप्रति आलोचना बढिरहेको छ ।

ताजा अपरेशनपछि छत्तीसगढका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता भूपेश बघेलले भनेका छन्, ‘भिडन्तको क्रममा २७ जना नक्सलवादी मारिएका छन् र एक जना जवानको पनि मृत्यु भएको छ। म सबै जवानहरूलाई यो ठूलो सफलताका लागि बधाई दिन चाहन्छु। हामी सत्तामा हुँदा ६०० गाउँहरूलाई नक्सलमुक्त बनाएका थियौं।’

उनले अगाडि थपेका छन्, ‘हामीले जनतामा विश्वास जगायौं, उनीहरूलाई भूमि अधिकार दिलायौं, ऋण माफ गर्‍यौं र उनीहरूको जमीन फिर्ता दिलायौं। अहिले भइरहेको अपरेशन बाँकी रहेका क्षेत्रहरूमा केन्द्रित छ।’

छत्तीसगढ प्रहरीले यस अपरेशनलाई ‘ऐतिहासिक विजय’ भनेको छ। अपरेशनमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का एक जवान पनि मारिएका छन्।

सरकारी तथ्यांकअनुसार, सन् २०२५ मा १८० भन्दा बढी माओवादी मारिएका छन्।

राज्यका गृहमन्त्री विजय शर्मा भन्छन्, ‘ओरछाको क्षेत्रमा करिब ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसमा २६ भन्दा बढी माओवादी मारिएका छन्। केही उच्च स्तरका नेता पनि मारिएको खबर आएको छ।’

उनले भने, ‘छत्तीसगढलाई ‘लाल आतंक’ बाट मुक्त गराउने हाम्रो सरकारको प्रतिबद्धता हो।’

गत १० दिनमा बस्तर र वरपरका क्षेत्रमा ५६ माओवादी मारेको दाबी गरिएको छ।

अघिल्लो १५ महिनामा, छत्तीसगढ प्रहरीले ४०० भन्दा बढी माओवादी मारिएको दाबी गर्दै तीव्र अपरेशन चलाएको छ।

तथ्यांक के भन्छन् ?

अघिल्लो साता सकिएको २१ दिन लामो अपरेशनमा ३१ जना माओवादी मरेको खबर छ। र अहिले नारायणपुरको भिडन्तमा २७ जना माओवादी मरेको दाबी गरिएको छ।

१७ अप्रिलदेखि ८ मेसम्म चलेको अपरेशनलाई माओवादीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेशन भनेर उल्लेख गरिएको छ।

केन्द्रीय र राज्य सुरक्षाबलहरूको आकलनमा, कर्रेगुट्टालु क्षेत्रका पहाड, खोँच र गुफाहरूमा ठूलो संख्यामा माओवादी लुकेका थिए, त्यसैले हजारौँ सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको थियो।

यस अपरेशनमा २१४ माओवादी अड्डा र बंकरहरू ध्वस्त, ४०० भन्दा बढी आईईडी, ठूलो संख्यामा विस्फोटक सामग्री र १२ हजार किलोभन्दा बढी खाद्यान्न बरामद गरिएको दाबी गरिएको छ।

यसै क्रममा प्रहरीले सन् २०२५ को पहिलो चार महिनामा ७०० भन्दा बढी माओवादीले आत्मसमर्पण गरेका जिकिर गरेको छ ।

यी तथ्यांकहरूले माओवादी आन्दोलन सन् १९७० पछि आफ्नो सबैभन्दा कमजोर चरणमा पुगेको संकेत गर्छ ।

बीजेपी सरकारको आक्रामक कारबाही

सन् २०२३ मा बीजेपी सत्तामा आएपछि माओवादी विरोधी अभियानहरू तीव्र भएका छन्, जसको आलोचना पनि भइरहेको छ।

डिसेम्बर २०२३ मा छत्तिसगढका गृहमन्त्री विजय शर्माले माओवादीसँग शान्ति वार्ताको प्रस्ताव राखे।

तर, अर्कोतर्फ राज्यमा सुरक्षाबलहरूले माओवादीविरुद्ध अपरेशन तीव्र पार्न थाले।

सरकारले वार्ताभन्दा पनि दमन गरेर माओवादी आन्दोलन दबाउने रणनीति लिएको केही घटनाहरूले संकेत गर्छन् । यीमध्ये एक हो वार्तालाई अस्वीकार गर्नु ।

भाकपा (माओवादी)ले भने ३ हप्ताअघि एक विज्ञप्ति निकालेर भाजपा सरकारले आफ्नो पार्टीका ठूला नेता मार्ने योजना बनाएको भन्दै वार्ताबाट समस्या सुल्झाउन अपिल गरेको थियो । यो पत्र भाकपा (माओवादी) को शान्ति वार्ताको लागि गरेको चौथो अनुरोध थियो ।

२०२४ मा संघीय गृह मन्त्री अमित शाहले ३१ मार्च २०२६ सम्म माओवादीलाई पूर्ण रूपमा समाप्त गरिने घोषणा गरेसँगै अभियानमा तीव्रता आएको हो।

डिसेम्बर २०२४ मा शाहले रायपुरमा भने, ‘२०२४ मा २८७ नक्सली मारिए, १ हजार पक्राउ परे र ८३७ ले आत्मसमर्पण गरे।’ साथै बस्तरमा २८ वटा नयाँ सुरक्षाक्याम्पहरू स्थापना गरिएको बताए।

सन् २०२५ मा पनि छत्तीसगढको बस्तर क्षेत्रमा माओवादी विरोधी अपरेशन तीव्र रूपमा जारी छ।

नक्कली मूठभेड र राज्य-आतंक

भाजपा नेतृत्वविरुद्ध माओवादी लक्षित आक्रमणमा अपनाइएका विधिप्रति प्रश्नहरू पनि उठिरहेका छन् । सामाजिक आन्दोलनमा संलग्न धेरै मानिसहरू पक्राउ, आदिवासीहरूलाई यातना, नक्कली मुठभेडका घटनाहरू लगायतका गम्भीर प्रश्नहरू उठिरहेका हुन्।

बीबीसी हिन्दीका अनुसार सन् २०२२ मा चर्चित नक्कली भिडन्तको एक घटना सार्वजनिक भएको थियो।

जनवरी २०२२ मा नारायणपुरमा २६ वर्षीय मनुराम नुरेतीलाई माओवादी भन्दै मारेको थियो। तर एक हप्तापछि प्रहरीले उनी माओवादी होइनन् भन्ने स्वीकार गरेको थियो।

यसरी माओवादी विरोधी अपरेशनमा सुरक्षाबलहरूलाई पनि ठूलो क्षति भएको छ। जनवरी २०२५ मा बीजापुरमा माओवादीद्वारा राखिएको आईईडी विस्फोटमा ८ सुरक्षाकर्मी र १ सर्वसाधारण मारिएका थिए।

अघिल्लो ठूलो विस्फोट अप्रिल २०२३ मा दन्तेवाडामा भएको थियो, जसमा १० डीआरजी जवान र एक चालक मारिएका थिए।

के माओवादी साँच्चिकै कमजोर भएका छन् ?

कम्युनिष्टहरू केही नेता र कार्यकर्ताको क्षति हुँदैमा आन्दोलन नसकिने तर्क गर्छन् । भारतमा माओवादीका विषयमा गहिरो जानकारी राख्ने विज्ञ र पत्रकारहरू भने अहिले नै भारतमा माओवादी आन्दोलन समाप्त भएको ठहर गर्नु अझै हतारको निर्णय हुने टिप्पणी गर्छन् ।

बस्तरका पत्रकार विकास तिवारी भन्छन्, ‘माओवादी संगठन साँच्चिकै कमजोर भएको छ। धेरै शीर्ष नेताहरू मारिएका छन्, सुरक्षाबलहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएका छन्। तर माओवादी आन्दोलन पूर्णतः समाप्त भएको भन्नु सही होइन। यो एक संगठित संरचना हो, जहाँ एक जना गयो भने अर्को आउँछ।’

सरकारी तथ्यांकअनुसार, माओवादी प्रभावित जिल्ला सन् २०१८ मा १२६ बाट घटेर ९०, जुलाई २०२१ मा ७० र अप्रिल २०२४ मा घटेर मात्र ३८ बाँकी छन्।

‘अपरेशन ब्ल्याक फरेस्ट’

सन् २०२५ मै भाजपा सरकारले बसवराजूको अन्त्यको पृष्ठभूमि तयार गरिसकेको थियो । अप्रिल महिनामा बस्तरको जंगलमा सुरक्षाबलहरूको संयुक्त टोलिले अपरेशन ब्ल्याक फरेस्ट सुरु गर्‍यो। यसमा भारतीय वायुसेनाको पनि साथ थियो। अपरेशनको क्षेत्र थियो— छत्तीसगढ–तेलंगाना सिमानामा पर्ने करेगुट्टा पहाडी क्षेत्र।

सुरक्षाबलहरूलाई सूचना प्राप्त भएको थियो कि माओवादीहरूका शीर्ष नेताहरू यही आसपास बसिरहेका छन्। २८ हजारभन्दा बढी सुरक्षाकर्मीहरू एकसाथ परिचालन गरिएको थियो ।

२१ अप्रिलमा माओवादीहरूको सबैभन्दा खतरनाक इकाई पिपुल्स लिबरेशन गुरिल्ला आर्मी (पीएलजीए) को बटालियन वनसँग भिडन्त सुरु भयो। २१ दिनसम्म चलेको यस अपरेशनमा ३१ माओवादी मारिए।

सूचनाअनुसार अपरेशनका बेला बसवराजू पनि त्यही क्षेत्रमा थिए। हमला सुरु भएपछि उनी आफ्नो टोली लिएर भागे र बोटेरको जंगलमा १० दिनदेखि लुकेका थिए। यो सूचना पाएसँगै सरकारी सैन्य शक्तिले पूरा शक्ति लगाएर आक्रमणलाई बोटेरको जंगलमा केन्द्रित गर्दै भाकपा (माओवादी) का प्रमुख नेताविरुद्धको कारबाही सफल बनायो ।

को हुन् बसवराजू ?

बुधबार मारिएका भनिएका भारतीय कम्युनिस्ट पार्टी–माओवादी (सीपीआई–माओवादी) का महासचिव नंबाला केशव राव उर्फ बसवराजू भारतीय माओवादी आन्दोलनका शीर्ष नेता हुन् ।

भारत सरकारले दाबी गरेजस्तै कारबाहीमा उनको मृत्यु भएको हो भने भारतको माओवादी आन्दोलनले एउटा वैचारिक नेतृत्व, आन्दोलनको रणनीतिकार, सैन्य नेतृत्व त गुमाएको छ नै । सँगै एउटा गम्भीर मनोवैज्ञानिक धक्का पनि व्यहोरेको छ ।

उनलाई भारतीय माओवादी आन्दोलनको एक शक्तिशाली मष्तिष्क मानिन्छ । बसवराजूका साथै उनलाई गगन्ना, प्रकाश, कृष्णा, विजय, केशव, बीआर, दरपु नरसिंहा रेड्डी, नरसिंहा र बसवराजू भनेर पनि चिनिन्थ्यो।

उनको जन्म आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको जियन्नापेट गाउँमा भएको हो। बसवराजू कबड्डी र भलिबलका राष्ट्रिय स्तरका खेलाडी थिए। उनले वारंगलस्थित क्षेत्रीय इन्जिनियरिङ कलेजबाट बीटेक डिग्री प्राप्त गरेका थिए। यही कलेज पछि गएर नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) मा परिणत भएको हो।

कलेजको समयमा नै बसवराजू वामपन्थी राजनीतिप्रति आकर्षित भए। उनले कम्युनिस्ट पार्टी अफ इन्डिया (एमएल) को पिपुल्स वार समूहमा आबद्धता जनाए।

सन् १९८० मा श्रीकाकुलममा पिपुल्स वारको विद्यार्थी संगठन रेडिकल स्टुडेन्ट्स युनियन (आरएसयू) र अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) बीच झडप भयो। झडप हिंसात्मक बन्यो। आरएसयूका तर्फबाट बसवराजू पनि सहभागी थिए। उनलाई प्रहरीले पक्राउ गर्‍यो। त्यसबेलादेखि लिएर अहिलेसम्म बसवराजू फेरि प्रहरीको नियन्त्रणमा कहिल्यै परेनन्।

त्यसै समयदेखि बसवराजूले माओवादी आन्दोलनको आश्रय लिए। उनले हतियार उठाए। सन् १९८७ मा पिपुल्स वारले उनलाई बस्तरको जंगलमा पठाएसँगै श्रीलंकाको सशस्त्र समूह लिबरेशन टाइगर्स अफ तमिल इलमले छापामार तालिम दियो । पछि उनी संगठनका विस्फोटक तथा सैन्य रणनीति विज्ञका रूपमा चिनिन थाले।

नंबाला केशव राव मध्यमवर्गीय परिवारबाट आएका थिए। विज्ञानमा स्नातक गरेका उनले सुरुमा शिक्षकको रूपमा काम गरेका थिए। तर, सन् १९८० को दशकदेखि उनले पूर्णकालीन रूपमा भूमिगत जीवन सुरु गरेका थिए ।

माओवादी आन्दोलनका प्रभावशाली विचारक र योजनाकारका रूपमा छिट्टै उदाएका उनले संगठनभित्र ‘सैद्धान्तिक प्रशिक्षण’, रणनीतिक योजना र गुप्त सैन्य अपरेसनहरूमा नेतृत्व गरेका थिए।

सन् २००४ मा पीपुल्स वार ग्रुप र एमसीसी गाभिएर बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का उनी संस्थापक नेता थिए।

अब्बल गुरिल्ला हुँदै पार्टी नेतृत्व कब्जा

सन् १९९२ मा पिपुल्स वारको केन्द्रीय समिति गठनको निर्वाचनमा उनी केन्द्रीय सदस्य चुनिए । सोही बेला उनका साथी मुपल्ला लक्ष्मण राव उर्फ गणपति समितिका सचिव बनेका थिए ।

उनको पार्टीभित्रको प्रभाव क्रमशः बढ्दै गयो। उनले विभिन्न क्षेत्रहरूमा छुट्टाछुट्टै साना–ठूला नक्सली समूहहरूलाई एकीकरण गर्न थाले । सन् २००४ मा भाकपा (माओवादी) गठनमा उनको पनि महत्वपूर्ण भूमिका रह्यो ।

पार्टीको सैन्य कमिटी अर्थात् सीएमसीको उनले नेतृत्व सम्हाले ।गुरिल्ला नक्सलीहरूलाई छापामार हमलाको तालिम दिनु र अपरेशनको योजना बनाउनु उनको काम थियो।

गणपति र बसवराजू भारतमा माओवादी आन्दोलनका दुई प्रमुख नाम थिए। गणपति वैचारिक मोर्चामा सक्रिय थिए, भने बसवराजू कारबाहीका मोर्चामा। सन् २०१३ मा प्रतिबन्धित पत्रिका पिपुल्स वारमा लेखेका थिए, ‘यदि हामी हाम्रो देशमा भूमिसम्बन्धी समस्याको पूर्ण समाधान गर्न किसानहरूलाई ठूलो मात्रामा र क्रान्तिकारी ढंगले सशस्त्र कृषि क्रान्तिमा संगठित गर्न सक्यौं भने, हामी हाम्रा सबै दुश्मनहरूलाई हराउने र नयाँ जनवादी क्रान्ति पूरा गर्ने आधारभूत शर्तहरू पूरा गर्न सक्नेछौं।’

बसवराजू किसान र मजदूरहरूलाई हातहतियार उठाउन आह्वान गरिरहेका थिए । छत्तीसगढमा सरकारी आक्रमणको प्रतिरोध गर्नेक्रममा सन् २०१७ मा उनी पार्टीमा हाबी हुन थाले र सन् २०१८ मा त उनी महासचिव नै बने । भारतीय सञ्चार माध्यमका अनुसार उनी वैचारिक नेता, सैन्य नीति निर्माता र सशस्त्र संघर्षका योजनाकार थिए । पार्टीका लागि देशभर सशस्त्र युनिटहरू सञ्चालन गर्ने सेन्ट्रल मिलिटरी कमिसनका उनी महत्वपूर्ण हिस्सा थिए ।

योसँगै छापामार युद्धमा महत्वपूर्ण मानिने कोडेड सञ्चार प्रणाली र भूमिगत कार्यशैलीका उनी ज्ञाता थिए । उनीविरुद्ध भारतको सबैजसो सैन्य निकायले वर्षौंदेखि खोजी अभियान चलाएका थिए ।

भारतीय सुरक्षाकर्मीहरूका लागि ‘मोस्ट वान्टेड’ रहेका उनको टाउकाको मूल्य पनि तोकिएको थियो । उनीसँग माओवादीहरूलाई एकीकृत राख्न संगठनात्मक नेतृत्व दिनसक्ने क्षमता रहेको सुरक्षा निकायको निष्कर्ष छ ।

भारत सरकारले दाबी गरेजस्तै कारबाहीमा उनको मृत्यु भएको हो भने भारतको माओवादी आन्दोलनले एउटा वैचारिक नेतृत्व, आन्दोलनको रणनीतिकार, सैन्य नेतृत्व त गुमाएको छ नै । सँगै एउटा गम्भीर मनोवैज्ञानिक धक्का पनि व्यहोरेको छ ।

बसवराजूको मृत्यु भारतीय माओवादी आन्दोलनका लागि सन् २००४ पछि आएको सबैभन्दा ठूलो क्षति हो। वैचारिक, सैन्य र संगठनात्मक दृष्टिले उनी शीर्षस्थ नेता मात्र होइनन्, आन्दोलनका लागि प्रेरणा र नियन्त्रण शक्ति पनि थिए। त्यसैले उनको मृत्युले माओवादी आन्दोलनलाई ठूलो वैचारिक, सैन्य र मनोवैज्ञानिक धक्का पुग्नेछ।

(बीबीसी हिन्दी लगायत भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?