+
+
Shares

काभ्रेका किसानमाथि प्रकृतिको प्रहार, ७ सय रोपनीभन्दा बढी जग्गाको बाली नष्ट

गत वर्ष असोजको वर्षा र बाढीको क्षतिको घाउ निको नहुँदै यसै वर्षको वैशाख २९ गतेको बाढीले काभ्रेको पनौतीमा आलु, गोलभेँडा र मकै खेती नष्ट गरेपछि किसानहरु संकटमा परेका छन्।

कपिल कोइराला कपिल कोइराला
२०८२ जेठ ८ गते ६:१६
वैशाख २९ को बाढीले पुरेको आलु खोज्दै काभ्रेका किसानहरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको पनौती र धुलिखेलमा वैशाख २९ को बाढीले आलु, गोलभेँडा र मकै जस्ता कृषिजन्य बालीलाई ठूलो क्षति पुर्‍याएको छ।
  • कृषि विकास कार्यालयले प्रारम्भिक विवरण अनुसार ७ सय रोपनी जग्गामा लगाइएका बाली नष्ट भएको पुष्टि गरेको छ।
  • गत असोजको बाढी र वर्षापछि आएको क्षतिले किसानहरूलाई थप पीडा दिएको छ।

८ जेठ, काभ्रेपलाञ्चोक । पनौती ८ की कृषक सरस्वती बञ्जाराले भाडामा लिएको दुई रोपनी जग्गामा आलु र गोलभेँडा खेती गरेकी थिइन् ।

गोलभेँडाका बोटमा फूल खेल्दै थिए । आलु खन्न ठिक्क भएको थियो । परिश्रमको फल भित्राउन उनले खेतालासमेत खोजिसकेकी थिइन् । तर २९ वैशाख २०८२ मा आएको गेग्रानसहितको बाढीले आलु बारी नै पुरिदियो । १७ वटा टनेल बनाएर लगाइएका गोलभेँडाका बोट पनि सबै ओइलिए ।

‘मल, खेताला, टनेल गरेर एक टनेल बराबर करिब ४० हजार खर्च भएको थियो, बोटहरु पनि राम्रो सप्रिएको थियो, तर बाढीले सबै बिगारिदियो,’ सरस्वतीले अनलाइनखबरसँग भनिन्, ‘गोलभेँडाको ओइलिएको बोट ठिक हुन्छ की भनेर औषधि पनि हालेँ तर झन् ओइलिँदै गयो ।’

सरस्वतीका अनुसार पनौती ८ को शान्तिमार्ग र काफलमार्गमा मात्र ५ सय भन्दा बढी टनेल र त्यसमा लगाइएको तरकारी खेतीमा वैशाख २९ को बाढीले क्षति पुगेको छ ।

यस्तै क्षति व्यहोर्नेमा पनौतीकै महेश्वर बञ्जारा पनि एक हुन् । उनले लगाएको आलु पनि खन्ने बेला भएको थियो तर सबै लेदो सहितको बाढीले पुर्‍यो । धेरै त बगाएर लग्यो । कुनै फूल फूल्न लागेको र कतै भर्खरै गोड्ने बेला भएको गोलभेँडा पनि क्षति पुगेको उनले बताए ।

सिंचाइमा प्रयोग हुँदै आएको कुलोमा बाढीले बगाएर ल्याएको ढुंगागिट्टीसहितको लेदो माटो भरिएर पानीको निकास बन्द भयो । अनि बाढी उनको खेतमा सोझियो थियो ।

वैशाख २९ को बाढीले खेतबारीमा गेग्रान

गत असोजको बाढीले बगाएर ल्याएको ढुंगामाटोका कारण स्थानीय लिलावती खोलाको सतह बढेको तर त्यसलाई खार्न ध्यान नदिँदा वैशाख २९ को बाढी सबै खेतबारीमा पसेको उनको भनाइ छ । ‘लेदोमाटोसहितको बाढीले मेरो मात्र होइन अरु धेरै जनाको तरकारीमा क्षति भयो, यसमा सबैको ध्यान जाओस्’ महेश्वरले भने ।

गत असोजमा परेको वर्षापछि आएको बाढी पहिरोले पुर्याएको क्षतिको घाउ निको नहुँदै सरस्वती र महेश्वर जस्ता पनौतीका धेरै किसानहरु वैशाख २९ को बाढीबाट पनि पीडित भएका छन् ।

२०८१ साल असोज १० गतेदेखि १२ गतेसम्म भएको वर्षा, बाढी र पहिरोले काभ्रेको कृषि क्षेत्रमा मात्रै करोडौंको क्षति भएको थियो । कृषि विकास कार्यालय काभ्रेको तथ्यांक अनुसार काभ्रेका १३ वटै पालिकामा एक हजार ७८४ हेक्टर क्षेत्रफलमा लगाइएको ८ हजार ९८६ मेट्रिकटन धान, मकै, तरकारीलगायत बालीनाली नष्ट हुँदा ५६ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सान भएको थियो ।

कार्यालयका अनुसार सबैभन्दा धेरै तरकारी बालीमा ४५ करोड दुई लाख, धान बालीमा ७ करोड ३८ लाख र मकै बालीमा तीन करोड ४३ लाख मूल्य बराबरको क्षति भएको थियो ।

२०८२ साल वैशाख २९ गतेको वर्षा र बाढीले फेरि पनि आलु, टनेलमा लगाइएको गोलभेँडा, भर्खरै उम्रिएका मकै लगायतका तरकारी तथा अन्नबालीमा क्षति पुगेको छ ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले वैशाख २९ को वर्षा र बाढीले ७ सय रोपनी जग्गामा लगाइएका आलु र तरकारी तथा ३–४ सय रोपनी जग्गामा लगाएर भर्खर उम्रिएका मकै नष्ट भएको जानकारी दिए ।

‘पनौतीका सबै वडा तथा धुलिखेलका १० र १२ नं वडामा लगाइएको बालीमा बढी क्षति भएको प्रारम्भिक विवरण आएको छ,’ उनले भने । उनका अनुसार पालिकाहरुमा क्षतिको विवरण संकलन भइरहेको छ र केही दिनमा नै क्षतिको पूर्णविवरण आउने अपेक्षा छ ।

पनौती नगरपालिकाको कृषि शाखा प्रमुख सन्तोष पाण्डेले पनि क्षतिको विवरण संकलन जारी रहेको बताए । ‘क्षति धेरै नै भएको छ, तर कति मात्रामा भएको छ भन्ने अहिलेसम्म विवरण प्राप्त भएको छैन,’ उनले भने ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?