
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय ट्रमा सेन्टरले आजदेखि ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ सुरु गरेको छ।
- ट्रेनिङमा २४ जना मेडिकल अधिकृत सहभागी भएका छन् र तीन दिनसम्म चल्नेछ।
- स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस तालिमले मानव जीवन जोगाउन मद्दत गर्ने बताए।
१४ जेठ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहयोगमा आयोजित तालीममा २४ जना मेडिकल अधिकृत सहभागी भएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री रिजालले मेडिकल अधिकृतलाई दिइने तालीम नेपालकै पहिलो भएको जानकारी दिए । तीन दिनसम्म चल्ने तालीममा मुख्यतः राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालका मेडिकल अधिकृत सहभागी छन् ।
केही संख्यामा ग्राण्डी अस्पताल र धुलिखेल अस्पतालका चिकित्सक सहभागी भएका छन् । ‘एमबीबीएस अध्ययन गरिसकेका मेडिकल अफिसर ट्रमा र इन्जुरी सम्बन्धित मानिसको ज्यान बचाउने आधारभूत सीप जान्नुपर्छ भन्ने उदेश्यका साथ यो तालिमको व्यवस्था गरेका हौं,’ डा. रिजालले अनलाइनखबरसँग भने, ‘ट्रमा पाइलट प्रोजेक्टको रुपमा सुरू गरेका छौं ।’
सेवामा चुस्तता र दक्षताका लागि तालीम आवश्यक रहेको उल्लेख गर्दै डा. रिजालले ट्रमा सेन्टरले नियमित रुपमा देशभरका मेडिकल अफिसरलाई तालिम दिने व्यवस्था गर्ने बताए । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका कार्यवाहक निर्देशक डा. माधव लम्सालले दुर्घटना र विपद्जस्ता आकस्मिक घटनाहरूमा कसरी काम गर्ने भन्ने विषयमा तालीम केन्द्रित हुने बताए ।
‘विपद्का बेलामा ट्रायज कसरी गर्ने र गम्भीर घाइतेको उद्धारमा जाँदा के–के कुरामा ध्यान दिने जस्ता कुराहरू सिकाइन्छ । फ्रन्टलाइनमा काम गर्ने मेडिकल अधिकृतहरूलाई दिइने यो खालको तालीमले मानिसको ज्यान जोगाउन ठूलो मद्दत गर्छ,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानव जीवन बचाउनका लागि यो खालको तालीम महत्वपूर्ण रहेको बताए ।
‘आकस्मिक तथा दुर्घटना पछि आउने क्यासल्टीको व्यवस्थापनका लागि यो तालीम फ्रन्टलाइनरहरूले लिनै पर्ने हुन्छ । ट्रमा सेन्टरमा यो कार्यक्रम सुरु गरेकोमा सम्बन्धित पक्षलाई धन्यवाद,’ उनले भने । उनले स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न यस्ता तालीम महत्वपूर्ण हुने बताए । अहिले पनि देशमा आवश्यकताअनुसार स्वास्थ्य जनशक्ति र पूर्वाधार नभएको भन्दै त्यसलाई बढाउन आफूले पहल गरिरहेको बताए ।
प्रतिक्रिया 4