News Summary
Generated by OK AI. Editorially reviewed.- अनुराधाले आफ्नी भान्जीको विवाहको तयारी र परम्परागत संस्कारको बीच आफ्नो पीडा र सोच व्यक्त गरेकी छिन्।
- उनीले महिनावारीलाई अपवित्र नमान्ने र नारीको स्वाभाविक प्रकृतीको सम्मान गर्नुपर्ने अभियान सुरु गर्न चाहन्छिन्।
- उनले आफ्नो डायरीमा लेखिन्, 'अब मेरो घरमा ’मर्यादित महिनावारी’ हुनेछ । जहाँ रगत अपवित्र होइन, जहाँ माया स्पर्शहीन होइन।'
अनुराधाको आँखा बिहान साढे ३ बजे खुलेको थियो । बाहिर हल्का शीत परेको थियो, तर उनको मनमा घाम लागिरहेको थियो । आज उनकी प्यारी, एक्ली भान्जीको विवाह।
ती भान्जी, जसलाई उनले पहिलो पटक काखमा राखेकी थिइन् । हात समाएर विद्यालय जान सिकाएकी थिइन्, जो ‘माइजू’ भन्दै छातीमा टाँसिन्थी ।
आज त्यो बच्ची बेहुली बन्ने दिन थियो ।
आफ्नै छोरी जस्तै भान्जीको विवाह अनुराधाका लागि सपनाजस्तै थियो । ‘सुनौलो घाम लाग्ने बिहान, घुँघुर बज्दै बेहुली सिँगारिदिने क्षण, हातमा सिन्दूर, कानमा झुम्का र हर्षका आँसु । अनुराधाले वर्षौं यी दृश्यहरूको कल्पना गरेकी थिइन् । उनको कल्पनामा रहेको त्यो दिन आजै थियो ।
भान्सामा पक्दै गरेका अनरसा, भुट्दै गरेका फिनी र घिउको बास्नाले घर गम्किएको थियो । छोरीहरूले चुलो पुछिरहेका थिए, नातेदारहरू चिया कपमा रमाइरहेका थिए ।
हुनत हिजोको हल्दी र मेहन्दी कार्यक्रमको थकाइ मेटिएको थिएन । तर आज उनलाई थकाइ छैन । विहेको कल्पना र कामले हतार थियो । तर उनको हतारोमा पनि एउटा लय थियो । धेरै दिनदेखि कुर्दै आएको उत्सव, सपना जस्तै लाग्ने यो दिन । जुन उनले आफ्नै रंगले सजाएकी थिइन् । हातमा मेहेन्दी, मनमा उमंग थियो ।
उज्यालो हुन नपाउँदै उनले लुगाहरू मिलाइन्, साडी निकालिन्, सुनका झुम्का बाकसबाट झिकिन् । गलाको नेकलेस्, कानमा झुम्का अनि शीरमा टीका र चन्द्रमा । उनी आफैँ बेहुली भन्दा कम देखिएकी थिइनन् ।
तर बिस्तारै, उनको पेटमा एउटा चिसो तन्काहट अनुभव भयो । अलिक असहज भयो । बाथरूम छिर्दा, रगतको पहिलो थोपा देखिन् । रगतको सानो चिह्न, जुन आफैँमा कुनै अपराध थिएन, तर संसारको नजरमा त्यो सारा दिनको पवित्रता बिगार्ने कारक थियो ।
आजको दिन ?
कोठामा फर्किएर क्यालेण्डर पल्टाइन् । भर्खर २२ दिन पुग्दै थियो । अझ केहि दिन बाँकी थियो नि…।
उनको भित्री स्वर फुसफुसायो ।
अझ हिजो-हल्दी लगाउँदा भान्जीले कति आग्रह गरेकी थिइ । ‘माइजू, तपाईं नभई रमाइलो नहुने नि !’ तर आज त्यो हात छुन नपाउने भयो । शरीर चिसो भयो । मन त्यस भन्दा बढी ।
भित्तामा झुन्डिएको घडीको टिकटिक, झ्याल बाहिरको हल्का संगीतको धुन, भान्सा तिर मिठाइको मगमग बासना ती सबैले अनुराधाका लागि अब खल्लो महसुस हुन थालेका थिए।
‘माइजु, तयार हुनु भएको छैन ?’ भान्जीको यो प्रश्नले उनलाई अत्यायो अब के जवाफ दिने ?
उनको आत्मा चिच्याइरहेको थियो-‘म अपवित्र छैन !’
तर ओठ सुक्खा थिए । उनी नाजवाफ भएर मौन बसिन् ।
माथि झ्यालबाट देखिने आकाश खुला थियो, तर भित्र मन बन्द थियो ।
‘अब म पूजा गर्न सक्दिन। बेहुलीलाई सिँगार्न सक्दिन । खाना पकाउन सक्दिन । उफ ! अब म विवाहमै सामेल हुन पाउँदिन ।’
सायद संस्कारको साँचो उनकै हातमा थिएन, त्यो त पुस्तौंदेखि थमाइएको एउटा साङ्गलो थियो । जसको बन्धन उनी आज मात्र होइन, १३ वर्षको उमेरदेखि महसुस गरिसकेकी थिइन् ।
उनी फेरि एक पटक १३ वर्षकी सानी अनुराधा बनिन् । जब उनको पहिलो महिनावारी भएको थियो र आमाले भन्नुभएको थियो, ‘अबदेखि यो ४ दिन तिमीले भान्सा नछिर्नू, पूजा कोठा, मन्दिर नजानू । जोकोहीलाई नछुनू ।’
त्यही दिन उनले पहिलो पटक ‘छुने–नछुने’ को पाठ पढेकी थिइन् ।
त्यही दिन उनले थाहा पाइन् । नारी हुनु केवल गर्वको कुरा होइन, समाजका लागि सर्तसहितको अस्तित्व हो ।
उनले महिनावारीका बारेमा पढिन् । चिकित्सकहरूसँग कुराकानी गरिन् । किताबहरू पल्टाइन् । सबैले भने-‘महिनावारी स्वाभाविक हो । अपवित्र होइन ।’
तर समाजमा ?
पढेलेखेका ठूला मान्छेहरू, धर्मकर्ममा रमाउने महिला समूहका अगुवा, डाक्टर–इन्जिनियर बनिसकेका आफन्तहरू, सबैको एकै मत-महिनावारी भएको छ भने परै बस्नू । पूजा नगर्नू । भान्सा नछिर्नू ।’
अनुराधाले सोचेकी थिइन्, यस्तो सोच अब फेरिएको होला ।
तर आज, आफ्नै भान्जीको बिहेको दिन ।
उनको नन्द आइन् र सिधा भनिन्, ‘भाउजू, आज तपाईं छुट्टै बस्नुहोस् । मैले छोरीलाई पनि भनिदिन्छु, तपाईंलाई नछुनू भनेर ।’
अनुराधाले केही भन्न सकिनन् । शब्दहरूले घोचिरह्यो मन भने चिच्याइरहेको थियो, ‘किन नछुनू ? किन आशीर्वाद दिन नपाउनू ?’
आकाश खुल्ला थियो, मन चाहिँ बन्द । घामको चमक थियो, तर अनुराधाको मनमा अँध्यारो । उनको आँखामा आँसु त थिएन, तर सांगितिक बाजा बीचमा पनि सन्नाटा थियो । बिस्तारै उनी झ्यालबाट हेर्न थालिन् । बाहिर बाजा–गाजा बजिरहेका थिए ।
माहोल रमाइलो थियो । सबै खुसी थिए । बिहेको नाचगानमा छिमेकी दिदी, फुपू, कान्छी, भदै नाचिरहेका थिए । प्यारी भान्जी बेहुली बन्दा परी जस्तै सजिएकी थिइन् । कसले सजाए कुन्नी ? अनुराधाले चाहि पत्तै पनि पाइनन् ।
तर त्यो घरको कुनामा एउटी नारी थिइ—भित्रको भित्तामा टेकेर बसेकी थिइन् । उनी झ्यालको पर्दा च्यात्न चाहन्थिन् । उफ्रेर भान्जीलाई अँगाल्न चाहन्थिन् । तर मनको भित्रबाट आवाज आउँथ्यो,“नछु, नछु !”
“माईजु, तपाईं कहाँ हुनुहुन्छ ? छिट्टै आउनुहोस् है !” मोबाइलको स्क्रिनमा त्यो म्यासेज चम्किरह्यो । विवाहको हतारमा घरभरि दौडिरहेकी सानीले दिएकी म्यासेज थियो । उनी टोलाइरहिन् । जवाफ लेख्न सकिनन् । आँखा रसाए, अनुहार थकित थिए । शिर भारी भयो, पेट गह्रौं भएको थियो ।
आफ्नो नजिकको मान्छेलाई “नछुनु पर्ने” । कस्तो संस्कार थियो, जहाँ माया र सम्मान पनि सर्तमा बाँधिएको थियो ? “यो कस्तो प्रेम?” उनले मनमनै भनिन् । “जहाँ मायाको स्पर्शभन्दा धर्मको भय ठूलो ठहरिन्छ ?’
बिस्तारै उनले झ्यालको पर्दा तानेर हेर्न थालिन् । बिस्तारै तेज हुँदै गएको घाम साक्षी थियो ‘नारीको यो पीडा र समाजको संकीर्ण सोचको’ ।
किन हामीले यस्ता नियम बनायौं ? अनि किन हामीले तिनलाई प्रश्न गर्न सकेनौं ? नारीलाई पूजा गर्छौं, तर उही नारीको शरीरबाट निस्किने प्राकृतिक प्रक्रियालाई अपवित्र मान्छौं । हामी पृथ्वीलाई माता भन्छौँ, त्यसकै छातीमा पाइला टेक्छौं, तर आफ्नै छोरीलाई रजस्वला भएपछि भान्सा छुन नदिने परम्परा अँगाल्छौं । यो द्वन्द्व कहिलेसम्म ?
अनुराधाले मनमनै अठोट गरिन्, ‘अब म चुप बस्दिन । अब म यो पीडा दोहोरिन दिने छैन । कम्तीमा मेरो घरमा यस्तो हुने दिन्न ।’
उनले झ्यालको छेउको कुर्सीमा बसेर डायरी खोलिन् ।
कलम समाइन्, र पहिलो लाइन लेखिन्-म अपवित्र होइन । म जीवनको वाहक हुँ ।
त्यसपछि लेखिरहिन्, ‘महिनावारी मेरो कमजोरी होइन, शक्ति हो । म रक्तदान गर्न सक्छु, जीवन दिन सक्छु र तैपनि म अछुत ठहरिन्छु किन ?
दिन ढल्दै थियो । बिहे सक्कियो । बेहुलीको विदाइकोको माहोल बन्दै थियो । छोरीको विदाइ, साच्चै गार्हो हुनेरहेछ । संगीतको धुन पनि फरिएको थियो ।
तर अनुराधाको मनमा एक नयाँ सूर्य उदाउँदै थियो, पारम्परिक अँध्यारो हटाउने, भोलिका छोरीहरूलाई स्वतन्त्र बनाउने सूर्य । नन्दसँग मगाएको नयाँ प्याड फेरिन् । यो प्याड उनलई एउटा हतियार जस्तो लाग्यो । एउटा क्रान्तिको प्रतीक जस्तो लाग्यो ।
बाहिर निस्कदा, उनले आफ्नो पेटमा केही दुखेको महसुस गरिन् । तर उनी रोकिनन् । आप्नो प्यारी, बेहुली, भान्जीलाई च्याप अङ्गालिन् । उसको निधारमा आशीवार्दले चुमिन् । ‘यो रगत नै हाम्रो शक्ति हो, प्यारी’ कानमा फुस्फुसाइन् । ‘यसको कारण कहिल्यै नडराउ’ उनले थपिन् ।
घरको कोठामा फर्कँदा, अनुराधाले आफ्नो डायरी खोलिन् । उनले त्यो दिनको डायरीको अन्तिम लाइनमा लेखिन् । ‘अब मेरो घरमा ’मर्यादित महिनावारी’ हुनेछ । जहाँ रगत अपवित्र होइन, जहाँ माया स्पर्शहीन होइन, जहाँ छोरीहरूले आफ्नो शरीरसँग डराउनुपर्दैन ।’
प्रतिक्रिया 4