News Summary
Generated by OK AI. Editorially reviewed.- लेनाक्यापाविर नामक इन्जेक्शनले एचआईभी सङ्क्रमण जोखिम ९६ प्रतिशतदेखि शतप्रतिशतसम्म घटाउने र वर्षमा दुईपटक मात्र प्रयोग गर्न सकिने छ।
- एमआरएनए प्रविधि र जर्मनीमा पत्ता लागेको सुपर एन्टिबडीले एचआईभीलाई पूर्ण निको पार्ने सम्भावना देखाएको छ।
३०-३५ वर्ष वर्षअघि एचआईभी संक्रमण पुष्टि हुनेबित्तिकै अब त्यो मान्छे मरिहाल्छ भन्ने ठानिन्थ्यो । अहिले त्यो अवस्था छैन । उपचार गरी भाइरसलाई नियन्त्रणमा राख्दा एचआईभी सङ्क्रमित व्यक्ति पनि सामान्य मानिस जस्तै लामो र स्वस्थ जीवन बाँचिरहेका हुन्छ ।
आज त्यो कुरा इतिहास भइसकेको यसमा खोज गरिरहेका विज्ञहरू बताउँछन् । विज्ञानले यति लामो फड्को मारेको छ कि कतिपय अवस्थामा त भाइरसलाई शरीरबाट पूरै हटाउने वा निको पार्ने सम्भावना पनि देखा परिसकेको छ ।
एचआईभी के हो ?
एचआईभी भनेको ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस हो । यो यस्तो भाइरस हो, जसले शरीरको रोगसँग लड्ने क्षमतालाई बिस्तारै कमजोर बनाउँछ । विशेषगरी यसले सेतो रक्तकोषिका (शरीरको मुख्य रक्षा सैनिक)लाई आक्रमण गरी नष्ट गर्छ । सीडी४ भनेको मानव शरीरको रोगसँग लड्ने मुख्य कमाण्डर हो । यो एउटा सेतो रक्तकोषिका हो, जसलाई टी-हेल्पर वा सीडी४पल्स टी सेल पनि भनिन्छ ।
यो प्रतिरक्षा प्रणालीको सबैभन्दा महत्वपूर्ण भाग हो । समयमा पहिचान र उपचार नभएमा एचआईभी भाइरसको संख्या वृद्धि हुँदै जान्छ । यसले सीडी४ नष्ट गर्छ । सामान्य रुघाखोकी, झाडापखाला जस्ता रोगसँग पनि हाम्रो शरीर लड्न सक्दैन । यो अवस्थालाई एड्स भनिन्छ ।
एड्स भएपछि सामान्य रोगले पनि ज्यान लिनसक्छ । उपचार नगरेमा एचआईभी सङ्क्रमण भएको ८–१० वर्षभित्रै एड्सको अवस्था आएर मृत्यु हुने सम्भावना धेरै हुन्छ ।
विश्वमा अहिले ४ करोड ८ लाख एचआईभी संक्रमित छन् । यो वर्ष मात्रै १३ लाख नयाँ केस पुष्टि भयो भने वर्षमा ६ लाख ३० हजारले एड्सकै कारण ज्यान गुमाउनुपर्यो ।
प्रत्येक वर्ष यो रोगको औषधि र उपचारबारे खोज भइरहेको हुन्छ, जसले केही न केही प्रगतिशील नतिजा देखाइरहेको छ ।
आजको मितिसम्म आइपुग्दा विज्ञहरू अब यसको उपचार विधि सहज भइरहेको ठोकुवा गरिरहेका छन् । अहिलेसम्म के कस्ता उपचार भइरहेका छन्, त ?
लेनाक्यापाविर : वर्षमा दुई पटक मात्र इन्जेक्शन
यसलाई चिकित्सा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘ब्रेकथ्रु’ भनिएको छ । अमेरिकी कम्पनी गिलियड साइन्सेजले बनाएको लेना क्यापाविर नामको यो औषधिले एचआईभी रोकथामको खेल पूरै बदलदिएको दावी खोजकर्ताको छ ।
सन् २०२५ मा प्रकाशित दुईवटा ठूला अध्ययन (प्रपोज १ र प्रपोज २ ले देखाए अनुसार यो इन्जेक्शनले एचआईभी सङ्क्रमणको जोखिम ९६ प्रतिशतदेखि शतप्रतिशतसम्म घटाउँछ ।
सो सुई प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिइसकेको छ । ‘एड्सलाई अन्त्य गर्ने हामीसँग अस्त्र र ज्ञान दुवै छ, ‘डा. मेग डोहर्टी भन्छन्, ‘अब हामीले मात्र यसबारे जागरुकता बढाएर यसलाई उपलब्ध गराउन सहज बाटो खोज्नु पर्नेछ।’
डा. मेग डब्लुएचओका ग्लोबल एचाईभी, हेपटाइटिस एण्ड एसटीआई प्रोग्रामका निर्देशक हुन् । पहिले नै बजारमा आएको दैनिक चक्की खानुपर्ने ट्रुभाडा वा डेस्कोभीभन्दा यो धेरै गुणा प्रभावकारी छ । सबैभन्दा राम्रो पक्ष भनेको यो वर्षमा हरेक ६-६ महिनामा गरी वर्षमा दुईपटक मात्र सुई लगाए पुग्छ ।
अफ्रिकी युवती, ट्रान्सजेन्डर र उच्च जोखिममा रहेका समूहमा यो सुई लगाउँदा सकारात्मक नतिजा देखिएको विज्ञको दावी छ । अमेरिका, युरोप र दक्षिण अफ्रिकामा यो औषधि स्वीकृत भइसकेको छ भने एशियाली मुलुकमा चाँडै उपलब्ध हुने सम्भावना छ ।
एमआरएनए टेक्नोलोजीबाट लुकेको भाइरसलाई बाहिर निकाल्ने नयाँ तरिका
कोरोना खोपले विश्वभरि चर्चा कमाएको एमआरएनए प्रविधि अब एचआईभी पूर्णनिको बनाउने बाटोमा पनि प्रयोग भइरहेको छ । एचआईभीको सबैभन्दा ठूलो समस्या भनेको भाइरस शरीरका केही सेता रक्तकोषिकाभित्र लुकेर बस्छ र औषधिको पहुँचभन्दा बाहिर रहन्छ ।
सन् २०२५ को जुन महिनामा नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित एक अध्ययनले पहिलो पटक देखाए अनुसार एमआरएनएको मद्दतले ती लुकेका कोषिकाहरूमा औषधि पुर्याउन सकिन्छ ।
अब वैज्ञानिकहरू त्यहीँ पुगेर भाइरसलाई मार्ने वा निष्क्रिय पार्ने अर्को चरणमा काम गरिरहेका छन् । यो सफल भए एचआईभीको स्थायी उपचार सम्भव हुने दावी विज्ञहरूको छ।
जर्मनीमा पत्ता लागेको ‘सुपर एन्टिबडी’
जर्मनीको कोलोन युनिभर्सिटी हस्पिटलका वैज्ञानिकहरूले सन् २०२५ मा एउटा यस्तो एन्टिबडी पत्ता लगाए, जसले एचआईभी भाइरसलाई कोशिकासँग जोडिनै दिँदैन । कुनै औषधिबिना नै ३२ जना यस्ता बिरामीको रगत जाँच गर्दा उनीहरूले आफैं यो शक्तिशाली एन्टिबडी बनाएका थिए ।
तीमध्ये सबैभन्दा प्रभावकारी एन्टिबडी (०४–ए०६) लाई अलग्याएर अब यसलाई औषधिको रूपमा विकास गर्ने काम भइरहेको छ । यो सफल भए भविष्यमा एक पटकको सुई वर्षौंसम्म एचआईभीबाट बचाउन सकिनेछ ।
एआरटी : आजको सबैभन्दा भरपर्दो उपचार
एण्टीरेट्रोभाइरल थेरापी आज पनि एचआईभीको सबैभन्दा मुख्य र प्रभावकारी उपचार हो । एकपटक यो औषधि सुरु गरेपछि भाइरसको मात्रा कम भई रगत जाँच्दा पनि पत्ता लाग्दैन । अर्थात्, यस्ता व्यक्तिबाट अरूलाई एचआईभी सर्ने सम्भावना शून्य हुन्छ । नेपालमा पनि निःशुल्क एआरटी उपलब्ध छ र हजारौं मानिसहरू यसैको मद्दतले सामान्य जीवन बाँचिरहेका छन् ।
नेपालको अवस्था र आशा
नेपालमा सन् २०२५ सम्म करिब ३४ हजार मानिसमा एचआईभी संक्रमण रहेको अनुमान छ । नयाँ सङ्क्रमणको दर घट्दो छ । लेना क्यापाविर जस्ता नयाँ औषधि र एमआरएनए तथा एन्टिबडी अनुसन्धानका काम सफल भएमा आउँदो दशकभित्रै एचआईभीलाई पूर्णरूपमा नियन्त्रणमा ल्याउन सकिने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।
प्रतिक्रिया 4