+

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार

२०८२ जेठ  १३ गते १८:५४ २०८२ जेठ १३ गते १८:५४
Shares
अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा अकुपंचरको सचेतना र प्रयोग बढिरहेको छ, विश्वभर यसको प्रभावकारिता मान्यता प्राप्त हुँदैछ।
  • आधुनिक अनुसन्धानले पीडा निवारण र दीर्घकालीन रोग व्यवस्थापनमा यसको प्रभाव पुष्टि गरेको छ।

पछिल्लो समय नेपालमा अकुपंचर चिकित्साबारे सचेतना बढेको देखिन्छ । यही कारणले होला, अकुपंचर सेवा लिन आउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । नेपालमा मात्र होइन, विश्वभर स्वास्थ्य उपचारको प्रभावकारी विधिका रूपमा अकुपंचर चिकित्सा विधि स्थापित हुने संघारमा छ ।

शरीरका विशिष्ट विन्दुहरूमा सूक्ष्म सुईहरू प्रयोग गरेर गरिने यो प्राचीन चीनियाँ चिकित्सा पद्धति हो, अकुपंचर ।

आजको दिनमा यो केवल परम्परागत चिकित्सामा मात्र यो सीमित छैन । आधुनिक विज्ञानले यसको प्रभावकारिता र बहुआयामिक उपयोगितालाई प्रमाणित गर्दै अकुपंचरलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् १९८० मा ४३ र सन् १९९६ मा ६८ प्रकारका रोगहरूमा अकुपंचरको उपचारात्मक प्रभावलाई मान्यता दिएको थियो ।आज, यो संख्या झन् विस्तार भएको छ, जसमा दीर्घकालीन रोग व्यवस्थापनदेखि मानसिक स्वास्थ्य र कोभिड–१९ पछिका जटिलतासम्म समावेश छन् ।

त्यसयता, आधुनिक वैज्ञानिक अनुसन्धानसँगै अकुपंचरको ‘उपचार योग्यताको क्षेत्र’ निरन्तर विस्तार हुँदै गएको छ ।

दीर्घ दुखाइदेखि नसा सम्बन्धी रोगहरू, प्रतिरक्षा नियमन, दीर्घकालीन रोग व्यवस्थापन, अल्जाइमर, र कोभिड–१९ पछिका जटिलतासम्म यसको प्रभावकारिता फैलिएको छ ।
हाल आधुनिक विज्ञानको पनि अनुसन्धानको विषय बनेको छ। एक्युपंक्चरको सबैभन्दा प्रसिद्ध प्रभाव पीडा निवारण हो ।

ग्वाङ्झोउ परम्परागत चिनियाँ चिकित्सा विश्वविद्यालयका प्राध्यापक शु नेंग्गुईको ब्रिटिश मेडिकल साइन्समा प्रकाशित गरेको अनुसन्धान पत्रमा पहिलोपटक अकुपंचरको नैदानिक प्रमाण म्याट्रिक्स निर्माण गरेर आठ प्रकारका रोगमा यसको प्रभावकारिता पुष्टि गरेका छन्, जसमा चारवटा पीडासँग सम्बन्धित छन् ।

कसरी यसले कस्ता रोगमा काम गर्छ ?

चिनिँया चिकित्सा पद्दति अनुसार शरीरमा ३ सय ६१ बिन्दुहरूलाई लक्षित गर्री रोगअनुसार प्रयोग गरिन्छ । अनुभवी अकुपंचरिस्टले यीमध्ये ९० वटा बिन्दु छानेर उपचार गर्छन ।

रोग पहिचानपछि ‘फिलिफर्म’ सुईले ती बिन्दुहरूमा घोचिन्छ । यसले केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई उत्तेजित गर्छ । सुईले रक्तप्रवाह बढाउँछ र इन्डोर्फिन हार्मोन रिलिज गरी प्राकृतिक पीडा निवारकको काम गर्छ ।

अटोनोमिक नर्भस सिस्टममार्फत नसा, रक्तचाप र प्यारा–सिम्प्याथेटिक प्रवाह सन्तुलनमा राख्छ । यसले रोगसँग लड्ने प्रतिरक्षा क्षमता वृद्धि गर्छ । साथै, साइकोलोजिकल प्रभाव बढाएर दिमागले उत्पादन गर्ने रसायनलाई सन्तुलन गर्छ ।

माइग्रेन, बाथ रोग वा शल्यक्रिया पछिको पीडामा अकुपंचरले अकुविन्दुहरूलाई उत्तेजित गरेर एन्डोर्फिनजस्ता प्राकृतिक पीडा निवारक हर्मोन स्राव गराउँछ, जसले औषधिमा निर्भरता घटाउँछ ।

दाँत दुखाइ वा एक्युट अनुहारको दुखाइमा पनि अकुपंचर गरेमा विस्तारै लक्षणहरू कम गर्न सक्छ । खेलकुद प्रतियोगिताहरूमा, खेलाडीहरूले अकुपंचरलाई ‘गोप्य हतियार’को रूपमा प्रयोग गरेर छिटो पुनप्र्राप्ति गर्ने गरेको पाइन्छ ।

बाइहु, ताझुईजस्ता अकुविन्दुहरूमा सूई घुसाएर मस्तिष्कको रक्त प्रवाह पुनर्संरचना गर्न सकिन्छ, जसले बोलीमा स्पष्टता र अङ्ग पक्षघातमा सुधार ल्याउन सहयोग पुर्‍याउँछ ।

सन् २०२४ जुलाईमा प्रकाशित एक मेटा–विश्लेषण अनुसार थकान, अनिन्द्रा, ब्रेन–फगजस्ता लक्षणहरूमा अकुपंचरको प्रभावकारिता प्रमाणित भएको छ। यस अनुन्धानमा ८ हजार ५१४ लङ कोभिड बिरामीहरू संलग्न थिए ।

सो अध्ययनमा औषधि वा ‘शाम’ भनिने उपचार पद्धतिको तुलनामा, अकुपंचरले औसत थकान स्कोर दुई अंक र डिप्रेसन स्कोर झण्डै नौ अंकले घटाएको देखिएको छ ।

दुखाइ मात्र होइन, दीर्घ रोग व्यवस्थापन पनि

अकुपंचर दुखाइ निवारक मात्र होइन, यो दीर्घकालीन रोग व्यवस्थापनको बहुआयामी उपकरण हो । एलर्जिक राइनाइटिसजस्ता एलर्जी सम्बन्धी रोगहरूमा यसले नाक बन्द हुनु र नाक बग्ने लक्षणहरूमा उल्लेखनीय सुधार ल्याउँछ ।

पेटको क्यान्सरको शल्यक्रियापछि ग्यास्ट्रोइन्टेस्टाइनल प्रणाली पुनः सक्रिय गराउन गरिएको एक अनुसन्धानमा ‘इलेक्ट्रो–अकुपंचर’ प्रयोग गरिएको थियो, जसमा एचआरभी मोनिटर र बाउल साउन्ड अडियो–लगरजस्ता डिजिटल उपकरणहरू प्रयोग गरेर बिरामीको अवस्था मूल्यांकन गरिएको थियो ।

सो अध्ययनमा इलेक्ट्रो-अकुपंचर प्रयोग भएका बिरामीहरूमा पाचन गति, खाना खान सक्ने अवस्था र अस्पताल बसाइँमा उल्लेखनीय सुधार देखिएको थियो ।

मानसिक स्वास्थ्यको खुराक

मानसिक स्वास्थ्यको सन्दर्भमा पनि अकुपंचरले आफ्नो प्रभाव देखाएको छ । चिन्ता र अनिन्द्राको उपचारका लागि कानको अकुप्वाइन्टहरूमा सूई लगाउने ‘इयर–अकुपंचर’ विधि प्रभावकारी ठहरिएको छ । हालै संघाइमा सुरु गरिएको एक अनुसन्धानले आठ हप्तासम्मको उपचार सत्रपछि निद्रा गुणस्तर र मानसिक स्वास्थ्यमा सुधार हुने अपेक्षा व्यक्त गरेको छ ।

पछिल्ला वर्षहरूमा ५जी, ब्लुटुथ र स्मार्ट सेन्सरहरूको प्रयोगसँगै ‘डिजिटल मेरिडियन म्यापिङ’ र ‘इ–अकुप्याच’ जस्ता प्रविधिहरूको विकास भएको छ । जसले अकुपंचरलाई घरमै बसेर पनि अपनाउन सक्ने अवस्था निर्माण गरिरहेको छ ।

कल्पना गरौँ-तपाईंको हातमा रहेको सानो स्मार्टफोनले शरीरको कुनै एक बिन्दुमा टाँसिएको माइक्रोप्याचमा सूक्ष्म विद्युत् तरंग पठाएर घुँडाको लामो समयदेखिको पीडा तुरुन्तै कम गरिदिन्छ ।

एउटै सूईले हजार वर्ष पुरानो पूर्वीय दर्शन र एआई–नियन्त्रित आधुनिक सेन्सरहरूलाई एकै ठाउँमा जोडिदिएको यही नै आजको अकुपंचरको यात्रा हो ।

अबको केही वर्षमा, के हाम्रो स्मार्ट घडीले ‘किमोथेरापीपछिको थकान’ स्तर उच्च छ भनेर संकेत गरेपछि शरीरमा पहिल्यै टाँसिएको डिजिटल सूई स्वतः सक्रिय भएर पीडा कम गर्न थाल्छ त ? यो अब केवल कल्पना होइन, अनुसन्धानको दायरामा परेको एउटा सम्भावना हो ।

हजारौं वर्ष पुरानो यो चिकित्सा प्रणालीले भविष्यको स्वास्थ्य संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । ह्वाङ दी नेइ जिङले भनेझैं, ‘यसले रोग लागेपछि मात्र होइन, भइपरी आउन सक्ने स्वास्थ्य समस्याको पनि रोकथाम गर्छ ।’

यसले पूर्वीय चिकित्सा विज्ञानको गौरवपूर्ण कथा अझ नयाँ अध्यायसहित लेखिरहेको छ ।

अकुपंचर चिकित्सा विज्ञान सुई
डा. नरेन्द्र लामिछाने
लेखक
डा. नरेन्द्र लामिछाने
अकुपञ्चर विशेषज्ञ

अकुपञ्चर विशेषज्ञ डा. लामिछाने हाल ललितपुरस्थित ब्लु लोटस अस्पतालमा कार्यरत छन्। अकुपञ्चरमा एमडी गरेका उनको नेपाल आयुर्वेद मेडिकल काउन्सिल दर्ता नम्बर ६६६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार

किन बिहानको समयमा हृदयाघातको जोखिम बढी हुन्छ ?

किन बिहानको समयमा हृदयाघातको जोखिम बढी हुन्छ ?

मधुमेहका बिरामीको खुट्टामा किन घाउ हुन्छ ?

मधुमेहका बिरामीको खुट्टामा किन घाउ हुन्छ ?

कपाल सुख्खा हुने समस्याबाट छुटकारा पाउने ७ उपाय

कपाल सुख्खा हुने समस्याबाट छुटकारा पाउने ७ उपाय

पुरुष भन्दा महिलालाई धेरै देखिने थाइराइड रोगबारे विस्तृतमा जानौं

पुरुष भन्दा महिलालाई धेरै देखिने थाइराइड रोगबारे विस्तृतमा जानौं

४ प्रकारका हुन्छन् छाला, कुनको हेरचाह कसरी गर्ने ?

४ प्रकारका हुन्छन् छाला, कुनको हेरचाह कसरी गर्ने ?