+

फिजियोथेरापिस्टले नामको अगाडि डाक्टर लेख्न मिल्ने कि नमिल्ने ?

२०८२ जेठ  १५ गते १३:४९ २०८२ जेठ १५ गते १३:४९
Shares
फिजियोथेरापिस्टले नामको अगाडि डाक्टर लेख्न मिल्ने कि नमिल्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा स्नातक फिजियोथेरापिस्टहरूले \'डाक्टर\' उपाधि प्रयोग गर्न सक्ने र यसका लागि स्पष्ट नीतिगत व्यवस्था आवश्यक छ।
  • अन्तर्राष्ट्रिय अभ्यास अनुसार, केही देशहरूमा फिजियोथेरापिस्टहरूले \'डाक्टर\' उपाधि प्रयोग गर्न सक्छन्, तर बिरामीको भ्रम रोक्न ध्यान दिनुपर्छ।

स्वास्थ्य सेवा क्षेत्रमा ‘डाक्टर’ उपाधिको प्रयोग सधैं एक संवेदनशील र बहसको विषय रहँदै आएको छ। विशेषगरी फिजियोथेरापी पेशामा यो उपाधि प्रयोग गर्ने वा नगर्ने भन्ने विषयले नेपालमा मात्र होइन, विश्वव्यापी रूपमै सैद्धान्तिक, नीतिगत र व्यावहारिक पक्षमा गहिरो छलफल हुने गरेको पाइन्छ। के फिजियोथेरापिस्टहरू डाक्टर हुन् ? उनीहरूले आफ्नो नामको अगाडि डा. लेख्न मिल्छ कि मिल्दैन ?

यस विषयमा अन्तर्राष्ट्रिय अभ्यास के छ र नेपालमा कस्ता नीतिगत सुधारहरू आवश्यक छन् ?

फिजियोथेरापी पेशाको परिचय र ‘डाक्टर’ उपाधिको अर्थ

फिजियोथेरापी स्वास्थ्य सेवाको एक महत्वपूर्ण चिकित्सकीय प्रणाली हो, जसले व्यक्तिहरूको चाल, क्षमता र जीवनको गुणस्तरलाई उजागर गर्न केन्द्रित हुन्छ ।

फिजियोथेरापिस्टहरूले चोटपटक, दुखाइ, रोग वा अन्य शारीरिक समस्याका कारण चाल र कार्यक्षमतामा आएको असरलाई सम्बोधन गर्छन् । उनीहरूले बिरामीको चाल, क्षमताको मूल्यांकन, निदान र उपचार गर्छन् ।

यसविधिमा शारीरिक व्यायाम, म्यानुअल थेरापी, विद्युतीय तथा तापीय उपकरणको प्रयोग र अन्य पुनर्स्थापनाका उपायहरू समावेश हुन्छन् । विश्व स्वास्थ्य संगठनले अनुमोदन गरेको र विश्व फिजियोथेरापीले घोषणा गरेअनुसार, फिजियोथेरापिस्टहरू स्वायत्त चिकित्सक हुन् । उनीहरूसँग बिरामीले अन्य स्वास्थ्यकर्मीको सिफारिसबिना नै सेवा लिन सक्छन्।

इतिहास हेर्दा ‘डाक्टर’ शब्द ल्याटिन शब्द docere बाट आएको हो, जसको अर्थ सिकाउन हुन्छ । मध्य युगदेखि नै विद्यावारिधि डिग्री धारण गर्ने विद्वानहरूका लागि ‘डाक्टर’ प्रयोग गरिन्थ्यो । यो प्रचलन अहिले पनि जारी छ ।

अहिले चिकित्सा शिक्षाको एमबीबीएस/बीडीएस, त्यो भन्दा माथिल्लो तह एमडी/एमएस, एमडीएस पास गरेपछि नामको अगाडि डाक्टर लेख्ने गरिन्छ । जसले रोगको निदान, औषधि सिफारिस र शल्यक्रिया गर्न सक्छन् ।

आधुनिक चिकित्सक बाहेक आयुर्वेद, होमियोप्याथी, युनानी, प्राकृतिक चिकित्सकले पनि यसको प्रयोग गरेको देखिन्छ । तर, हाल यो शब्द अन्य डिग्रीहरू जस्तै डीपीटी, पीएचडी, फर्मा डी, साइकोलोजी.डी आदि धारण गर्ने व्यक्तिहरूले पनि नामका अगाडि डा.लेख्ने गर्छन्, जसले आम व्यक्तिमा भ्रम सिर्जना गरेको छ ।

नेपालमा ‘डाक्टर’ वा डाक्टर साब भनिनु सामाजिक प्रतिष्ठासँग जोडिएको छ । यहाँ स्नातक डिग्री प्राप्त फिजियोथेरापिस्टहरूले पनि यो उपाधि प्रयोग गर्ने गरेको पाइन्छ । एमबीबीएस/बीडीएस गरेपछि उनीहरूको दर्ता नेपाल मेडिकल काउन्सिलमा गरिएको हुन्छ ।

फिजियोथेरापिस्टहरूलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले चिकित्सक भन्दा फरक वर्गमा दर्ता गर्ने गरेको छ । स्पष्ट नीतिगत व्यवस्थाको अभावले अनौपचारिक फिजियोथरापिस्टले नामका अगाडि डाक्टर लेख्ने विषयमा भ्रम र गुनासो धेरै छ ।

के छ अन्तर्राष्ट्रिय अभ्यास ?

फिजियोथरापिस्टको ‘डाक्टर’ उपाधिको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरू देशअनुसार फरक-फरक छन् ।

संयुक्त राज्य अमेरिकामा फिजिकल थेरापिस्टका लागि प्रवेश-स्तरको शिक्षा डक्टर अफ फिजिकल थेरापी (डीपीटी) डिग्री हो । डीपीटी डिग्री धारकहरूले ‘डाक्टर’ उपाधि प्रयोग गर्न सक्छन्, तर उनीहरूले आफू चिकित्सक हुँ भन्ने भ्रम नहोस् भनी आफ्नो डिग्री र इजाजतपत्र स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ । यसले शैक्षिक उपलब्धिको कदर गर्दै बिरामीमा भ्रम कम गर्ने प्रयास गर्छ ।

बेलायत र क्यानडामा ‘डाक्टर’ उपाधिको प्रयोगमा कडा प्रतिबन्ध वा निरुत्साहन छ । क्यानडामा नियामक निकायहरूले फिजियोथेरापिस्टहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दा वा सार्वजनिक रूपमा स्वास्थ्य सेवाहरू प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका कार्यहरू वा अन्तर्क्रियाहरूमा ‘डाक्टर’ उपाधि वा ‘डा’ उपसर्ग प्रयोग नगर्नू भनी स्पष्ट रूपमा निर्देशन दिएका छन् । यसको प्राथमिकता बिरामीको भ्रम रोक्नलाई भन्ने बुझाइ छ।

अष्ट्रेलियामा, यदि कुनै फिजियोथेरापिस्टसँग अष्ट्रेलियन योग्यता फ्रेमवर्कको स्तर १० (पीएचडी वा व्यावसायिक डक्टरेटको बराबर) को अनुभव र ज्ञान छ भने, उनीहरूले आफूलाई डाक्टर भन्न सक्छन्, तर चिकित्सा डाक्टर भएको संकेत गर्न निषेध गरिएको छ ।

भारतमा पनि यस सम्बन्धी अन्योलता थियो । तर हालै (९ अप्रिल २०२५ देखि) नेशनल कमिशन फर अलाइड एण्ड हेल्थकेयर प्रोफेसनले फिजियोथेरापिस्टहरूलाई ‘डाक्टर’ उपाधि प्रयोग गर्न औपचारिक रूपमा सिफारिस गरेको छ । फिजियोथेरापी सम्बन्धित विषयमा एकरूपताका लागि अनुमोदन भएको सो दस्तावेजमा देशभर एउटै पाठ्यक्रम, पदोन्नति मापदण्ड, पदनाम, आदि समावेश छन् ।

यसरी ‘डाक्टर’ उपाधि प्रयोग गर्दा नामका पछिल्तिर पीटी जोड्न अनिवार्य गरिएको छ । जस्तै ‘डा. रामबहादुर पीटी’ लेख्न अनिवार्य गरिएको छ ।

पक्ष र विपक्षमा तर्कहरू

पक्षमा तर्क

उच्च शैक्षिक योग्यताको सम्मान

फिजियोथेरापी स्नातकमा अध्ययन गर्नुपर्ने विषयहरू चिकित्सा विषयजत्तिकै गहन, क्लिनिकल अभ्यास सहित र लामो अवधि( ५ वर्ष) को स्नातक र २ वर्षको स्नातकोत्तर हुन्छ ।
यही कारणले समान दृष्टिकोणले हेरिनुपर्छ भन्ने मत पक्षमा तर्क गर्नेहरूको छ ।

पीएचडी वा डीपीटी जस्ता विद्यावारिधि डिग्री प्राप्त गरेका फिजियोथेरापिस्टहरूले आफ्नो कठोर शैक्षिक प्रशिक्षण र उन्नत क्लिनिकल सीपको मान्यताका लागि ‘डाक्टर’ उपाधि प्रयोग गर्न पाउनुपर्ने तर्क गर्छन् ।

बिरामीको विश्वास र प्रत्यक्ष पहुँच

‘डाक्टर’ उपाधिले बिरामीको विश्वास र विशेषज्ञताको धारणा बढाउन सक्छ, जसले उनीहरूलाई फिजियोथेरापिस्टको सेवा सिधै लिन इच्छुक बनाउछ । फिजियोथेरापिस्टहरू पहिलो सम्पर्क चिकित्सकको रूपमा कार्य गर्न सक्षम भएकाले यो उपाधिले उनीहरूको अधिकारलाई तत्काल स्थापित गर्न मद्दत गर्छ ।

अन्य स्वास्थ्य पेशाकर्मीहरूसँगको समानता

काइरोप्र्याक्टर, आँखा चिकित्सक, फार्मासिस्ट र आयुर्वेद तथा वैकल्पिक चिकित्सक जस्ता अन्य स्वास्थ्य पेशाकर्मीहरूलाई पनि विद्यावारिधि डिग्री आवश्यक पर्छ । तर, उनीहरूले सामान्यतया ‘डाक्टर’ उपाधि प्रयोग गर्छन् । फिजियोथेरापिस्टहरूको समान शैक्षिक योग्यता भए पनि आफूलाई उपाधिबाट वञ्चित गरिनु भेदभावपूर्ण हुने तर्क गरिन्छ ।

विपक्षमा तर्क

पेशागत कार्यक्षेत्रको गलत बुझाइ

फिजियोथेरापिस्टहरू चाल विशेषज्ञ हुन् जसले कुनै पनि व्यक्तिको शारीरिक अवस्थाको मूल्यांकन गरी दुखाइ व्यवस्थापन र कार्याक्षमता अभिवृद्धिका उपायहरू सुझाउन सक्दछन्। स्पष्ट सन्दर्भबिना ‘डाक्टर’ प्रयोग गर्दा उनीहरूको पेशागत क्षमता र सीमानाहरूको गलत धारणा निम्त्याउँछ ।

अन्तर-पेशागत सम्बन्धमा चुनौती

‘डाक्टर’ उपाधिको प्रयोगले अन्य स्वास्थ्य सेवाका पेशेवरहरू, विशेष गरी चिकित्सा डाक्टरहरूमा असन्तुष्टि उत्पन्न गर्न सक्छ । यसले अन्तरविषय दृष्टिकोणमा बाधा पुर्‍याउन सक्छ ।

नेपालमा आवश्यक नीतिगत सुधार र भावी मार्गचित्र

नेपालमा फिजियोथेरापी पेशाको विकास र सार्वजनिक स्वास्थ्यमा यसको योगदानलाई उजागर गर्नका लागि निम्न नीतिगत सुधारहरू अविलम्ब आवश्यक छन्

प्रवेश-स्तरको योग्य फिजियोथेरापिस्टहरूका लागि लाई ‘डाक्टर’ को उपाधि औपचारिक रूपमा प्रयोग गर्न अनुमति दिनुपर्छ। सो का लागि स्पष्ट कानूनी व्यवस्था गर्नुपर्छ । तर, चिकित्सा डाक्टरसँगको भिन्नता छुट्याउनका लागि नामका पछाडि ‘पीटी’ वा ‘फिजियोथेरापिस्ट’ जस्ता प्रत्यय जोड्नुपर्छ ।

डीपीटी वा फिजियोथेरापीमा पीएचडी गरेकाहरूका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले योग्यता खुल्नेगारी विशेष पादनामको सिर्जना गर्नुपर्छ ।यद्यपी हालसम्म नियमन नभएका यस्ता डिग्रीका हकमा त्यसको गुणस्तर, औचित्य र अध्यापन विधिको मापदण्ड तोकिनुपर्दछ।

सबै सार्वजनिक सामग्रीहरू (साइनबोर्ड, व्यापार कार्ड, वेबसाइट, सामाजिक सञ्जाल, परिचय) मा फिजियोथेरापिस्टहरूले आफ्नो नामपछि तुरुन्तै आफ्नो पेशागत उपाधि र विशिष्ट योग्यता जस्तै पीडी, डीपीटी वा फिजियोथेरापिस्ट उल्लेख गर्नुपर्नेछ ।

क्लिनिकल सेटिङहरूमा मौखिक परिचय प्रोटोकल विकास गर्नुपर्छ, जसमा ‘डाक्टर’ प्रयोग गरे पनि उनीहरूको भूमिका ‘फिजिकल थेरापिस्ट’ को रूपमा जोड दिनुपर्छ ।

जनतालाई फिजियोथेरापी, चिकित्सा डाक्टर र अन्य विशेषज्ञहरू सहित विभिन्न स्वास्थ्य सेवा पेशेवरहरूको विशिष्ट भूमिका र कार्यक्षेत्रबारे शिक्षित गर्न राष्ट्रिय अभियानहरू सुरु गर्नुपर्छ ।

फिजियोथेरापिस्टहरूलाई चाल विशेषज्ञ र कार्यात्मक समस्याहरूका लागि पहिलो सम्पर्क चिकित्सकको रूपमा उनीहरूको विशेषज्ञतामा जोड दिनुपर्छ ।

पेशागत मान्यता महत्वपूर्ण भए पनि, यसलाई सार्वजनिक स्पष्टता, बिरामीको सुरक्षा र प्रभावकारी अन्तर-पेशागत सहकार्यको सर्वोपरि आवश्यकतासँग सन्तुलनमा राख्नुपर्छ । यी सुधारहरूले नेपालमा फिजियोथेरापी पेशाको गरिमा बढाउनुका साथै सार्वजनिक विश्वास र बिरामीको सुरक्षा सुनिश्चित गर्नेछ।

फिजियोथेरापी
बिनय कँडेल
लेखक
बिनय कँडेल
सह-प्रमुख फिजियोथेरापिस्ट

बिनय कँडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको  फिजियोथेरापी युनिटको प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फिजियोथेरापिस्टले नामको अगाडि डाक्टर लेख्न मिल्ने कि नमिल्ने ?

फिजियोथेरापिस्टले नामको अगाडि डाक्टर लेख्न मिल्ने कि नमिल्ने ?

के कारण लाग्छ झाडापखला, किन खाइन्छ जीवन जल  ?

के कारण लाग्छ झाडापखला, किन खाइन्छ जीवन जल ?

महिनावारीको समयमा प्याड वा कप प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

महिनावारीको समयमा प्याड वा कप प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

रगतको मर्यादा

रगतको मर्यादा

थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार

अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार