+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
४८ बलमा ९२ रन आवश्यक
चितवन राइनोज 2025
78/4 (11.6)
Shares

कोइराला परिवारमा नयाँ मेलमिलापको खोजी

१४ औं महाधिवेशनका बेला धेरैपल्ट चिया, खाजा र खानामा सँगै जुटे पनि शेखर, शशांक र सुजाता कोइराला आपसमा मिल्न सकेका थिएनन् । महाधिवेशन र आम चुनावमा हुन नसकेको कोइराला परिवारको मिलाप यसपल्ट कति सम्भव ?

केशव सावद केशव सावद
२०८२ मंसिर १८ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशन माघ मसान्तसम्मका लागि केन्द्रीय कार्यसमितिको म्याद थप गरी २६–२८ पुसमा गर्ने निर्णय भएको छ।
  • कोइराला परिवारका शशांक, शेखर र सुजाता एकताबद्ध भएर कांग्रेसको नेतृत्वमा अघि बढ्ने तयारीमा छन्।
  • शेखर र शशांकबीच सहकार्यका लागि संवाद जारी छ, तर शेखरले मिल्ने निर्णय समय अनुसार गर्ने बताउनुभएको छ।

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको इतिहास जति लामो छ, यस पार्टीभित्र कोइराला परिवारको विरासत त्यति नै लामो ।

अर्थात् ७८ वर्ष लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसमा त्यति नै समय कोइराला परिवारको दु:खसुख, संघर्ष, बलिदान, प्राप्ति सबै जोडिएको छ ।

तर पछिल्लो समय कांग्रेसमा सक्रिय राजनीति गरिरहेका कोइरालाका सन्तानहरू पार्टीमा त्यो पारिवारिक विरासत फर्काउन प्रयासरत छन्, जसबाट करिब डेढ दशकयता उनीहरु बन्चित रहे ।

गिरिजाप्रसाद कोइरालाको निधनसँगै त्यो विरासतवृक्ष बिस्तारै कमजोर बनेको आम जानकारीमै छ । नत्र त उनी आफैं छोरी सुजातालाई संकेत गर्दै भनिरहन्थे– नेपालमा छिटै महिला प्रधानमन्त्री बन्न सम्भव छ ।

सुजाता प्रधानमन्त्री बन्नु त परै जावस्, पिता गिरिजाप्रसादको बिदाइसँगै क्रमश: शक्ति राजनीतिबाटै टाढा धकेलिइन् । शशांक कोइराला र शेखर कोइराला कार्यकारी पदमा उदाउन कोसिस गरिहेरे पनि सफल हुन सकेका छैनन् ।

कोइराला परिवारका तीन हाँगामध्ये बीपीपुत्र शशांक, केशवपुत्र शेखर र गिरिजाप्रसादपुत्री सुजाता कांग्रेसको राजनीतिमा सक्रिय छन् । ती मध्यको डा. शेखर कोइराला पार्टीमा छुट्टै समूहको नेतृत्व गर्दै आएका छन् ।

शेखर मंसिर ०७८ मा सम्पन्न १४ औं महाधिवेशनमा पारिवारिक विरासत फर्काउने उद्देश्यका साथ सभापति पदका प्रत्यासी बनेका थिए ।

तर, ०७८ मंसिर २९ गते बिहान साढे २ बजे सम्पन्न मतगणनामा उनी मात्र ८७८ मतले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा पराजित हुन पुगेका थिए ।

कांग्रेसको सभापतिमा देउवा दोहोरिँदा कोइरालाले १८ सय ५५ मत प्राप्त गरेका थिए । कूल खसेको ४६ सय २३ मतमध्ये २७ सय ३३ मत ल्याएर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका थिए ।

देउवालाई शशांकले मौन समर्थन गरेका थिए भने सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । देउवा र शेखरबीच पार्टी सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा सभापतिमा देउवा र कोइरालासँगै विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याणकुमार गुरुङ उम्मेदवार थिए । कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि पुन: मतदान भएको थियो ।

पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि चयन भएको वर्तमान केन्द्रीय कार्यसमितको समयावधि अन्तिमतिर पुगेको छ ।

कोइराला परिवारका तीन हाँगामध्ये बीपीपुत्र शशांक, केशवपुत्र शेखर र गिरिजाप्रसादपुत्री सुजाता कांग्रेसको राजनीतिमा सक्रिय छन् । ती मध्यको डा. शेखर कोइराला पार्टीमा छुट्टै समूहको नेतृत्व गर्दै आएका छन् ।

कार्यकाल सकिनै लाग्दा पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले २४ मंसिरबाट लागू हुने गरी माघ मसान्तसम्मका लागि केन्द्रीय कार्यसमितिको म्याद थप गरेको छ । ६ मंसिरमा बसेको सोही बैठकले २६–२८ पुसमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सर्वसम्मत पारित गरेको थियो ।

पार्टीले महाधिवेशनको कार्यतालिका पारित गरेकै भोलिपल्ट चितवन पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले उम्मेदवारीबारे पत्रकारहरूको जिज्ञासामा भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौं ।’

पार्टीभित्रको डेड महिना लामो रस्साकस्सीपछि महाधिवेशनको टुंगो लागेको भोलिपल्टै सभापतिको आकांक्षीमध्येका एक शशांकले अर्का आकांक्षी शेखरबारे मुख खोलेपछि कांग्रेसवृत्तमा कोइराला परिवार एक हुन लागेको लख काट्न थालिएको छ ।

यसअघि ४ साउन ०८१ मा शेखरको सम्पर्क कार्यालय विशालनगर पुगेर सुजाता कोइरालाले १५ औं महाधिवेशनमा शेखरलाई सहयोग गर्ने बताएकी थिइन् । कोइरालाहरू एकजुट नभए कांग्रेसको राजनीति नै संकटमा पर्ने उनको भनाइ थियो ।

‘हामी एकजुट भएर अघि बढेनौं भने कोही पनि नरहने स्थिति भयो । त्यसकारण सबैले केही न केही त्याग गर्नुपर्छ भन्ने लागेर म अब शेखर दा’सँग जोडिएको छु,’ सुजाताले भनेकी थिइन्,’ ‘उहाँ (शेखर) ले धेरै मेहनेत गर्नुभएको छ । अब उहाँलाई मेरो पनि साथ छ ।’

शशांक पनि शेखरसँगै मिल्ने सुजाताको दाबी थियो । ‘हामी मिलेर नै अघि बढ्छौं । हामी एकजुट हुनैपर्छ,’ उनको भनाइ थियो, ‘हाम्रो बुवाहरूले, हजुरबाहरूले जुन सपना देख्नुभएको थियो, हामीले त्यसलाई पूरा गर्नैपर्छ ।’

सुजाताको भनाई किन पनि अर्थपूर्ण छ भने त्यसअघि चाहे आम चुनावका बेला होस्, चाहे महाधिवेशनका बेला– उनीहरुले सँगै खाना, खाजा वा चिया खाइराखे पनि मिल्ती हुन सकेको थिएन । अझ विराटनगरस्थित कोइराला निवास, जो सधैं पर्खाल र बाररहित हुने गर्थ्यो, त्यहाँ सुजाताले अग्लो सिमेन्टको पर्खाल हालेसँगै जानकारहरुले भन्न थालेका थिए– यो भौतिक पर्खालमात्रै होइन, कोइरालाका सन्तानहरु मिल्न नसकेको सांकेतिक पर्खाल पनि हो ।

तिनै भौतिक र सांकेतिक पर्खाल तोड्न नसक्दा स्वयं शेखर र सुजाताले क्रमश: ०७४ र ०७९ मा आम चुनाव नै हार्न पुगेका थिए । यति बेला भने दाजुबहिनीहरु त्यो मनोमालिन्य तोड्न तयार देखिएका छन् ।

सुजाताको दाबी र शशांकको पछिल्लो अभिव्यक्ति के कोइराला परिवार मिलेर अगाडि बढ्न तयार भएको हो त ?

शेखरसँग नजिक मानिने वुद्धिजीवीमध्येका एक पुरञ्जन आचार्य भन्छन्, ‘मैले जानेसम्म, थाहा पाएसम्म तीन जना मिलेर शेखर दाइलाई सहयोग गर्ने भन्ने कुराको निष्कर्षमा पुग्नुभएको छ । यो पारिवारिक सुत्रले नै भनेको हो, एकपल्ट होइन कि दुईपल्ट नै भनिसकेका छन् ।’

विराटनगर बस्दासम्म कोइराला परिवार एकदमै मिलेर बसेको जानकारी दिँदै उनले कोइराला परिवारको अभूतपूर्व एकताबाट नै नेपालको लोकतन्त्रलाई अहिलेको अवस्थासम्म पुगेको बताए । बीचमा सत्ता–शक्तिका कारण कोइराला परिवारमा केही गडबडी आएको आचार्यको भनाइ छ ।

‘उहाँहरूका बीचमा अहिले हामीलाई रिअलाइजेसन भएको छ भन्ने कुरा छ । यो कुरा शशांकले मिडियामा पनि भन्नुभएको छ । व्यक्तिगत तवरमा भन्दा पनि रिअलाइजेसन भएको छ, कांग्रेसलाई मिलाउन फेरि एकपल्ट हामी मिल्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहनुभएको छ,’ राजनीतिक विश्लेषक आचार्यले भने, ‘निरन्तर संवादमा पनि हुनुहुन्छ, सायद अब कोइराला परिवार मिल्लान् ।’

शेखर–शशांक–सुजाता मिल्नुको मुख्य कारण बाध्यता, आवश्यकता र ‘रिअलाइजेसन’ (विगतको गल्तीको महसुस) भएको उनको तर्क छ । ‘हेर्दा रिअलाइजेसन भएको, एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बाध्यता पनि आएको र आवश्यकता पनि परेको देखिन्छ,’ आचार्य भन्छन्, ‘मुख्य कुरो बाध्यता र आवश्यकता हो, त्यसमा रिअलाइजेसन पनि छ । परिवार मिलौं भन्ने छ, सायद मिलेर जानुपर्छ भन्ने तलको पुस्ताको पनि दबाब हुन सक्छ ।’

शेखरलाई पार्टी राजनीतिमा सहयोग पुर्‍याउँदै आएका अर्का एक बुद्धिजीवीका अनुसार उनी सबै कुरा एकातिर राखेर भाइ (शशांक) मिलाउनतिर भने लागिसकेका छैनन् । शशांकसँग मिल्दा राम्रो कि नमिल्दा राम्रो भन्नेमा शेखर ‘कन्फ्युज’ मै रहेका उनको भनाइ छ ।

‘मैले जानेसम्म, थाहा पाएसम्म तीन जना मिलेर शेखर दाइलाई सहयोग गर्ने भन्ने कुराको निष्कर्षमा पुग्नुभएको छ । यो पारिवारिक सुत्रले नै भनेको हो, एकपल्ट होइन कि दुईपल्ट नै भनिसकेका छन् ।’

‘सबै कुरा छाडेर भाइलाई मिलाउनतिर लाग्नुभएको छैन । मिलाउँदा राम्रो कि नमिलाउँदा राम्रो भन्नेमा उहाँ कन्फ्युज हुनुहुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘दुई भाइ मिलेर अगाडि बढ्दा शेरबहादुर देउवाले शेखर हुन्न, शशांक हुन्छ भनेको अवस्थामा छोड्नुपर्छ, त्यसो गर्दा शशांक हाबी हुन्छन् कि भन्ने आशंकामा हुनुहुन्छ । यसकारण मिल्ने कुरामा समय हेरेर निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।’

ती बुद्धिजीवीको भनाइअनुसार शेखरले आफूनिकटका व्यक्तिहरूलाई भाइ शशांकसँगको सहकार्यलाई लिएर अहिले नै नआत्तिनु पर्ने समय आइनसकेको बताउने गरेका छन् । ‘अहिले नै नआतिऔं । संवाद अगाडि बढाउँदा पोजिटिभ मात्रै हुन्छ भन्ने छैन,’ उनले शेखरको भनाइ उद्धृत गर्दै भने, ‘रियाक्सन पनि हुन सक्छ । महाधिवेशन नजिकिएपछि बल्ल यो काम अघि बढाउनुपर्छ ।’

जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हातमा गएपछि शशांकले आफ्नो राजनीतिक भविश्य सुरक्षित राख्न खोजेको शेखरनिकट एक नेताको बुझाइ छ ।

‘जेनजी आन्दोलनपछि सभापतिले कार्यवाहक दिइसकेपछि शशांक डराउनुभएको छ । आन्दोलन अघिसम्म शेरबहादुरले सहयोग गर्नेमा आशावादी देखिए पनि अब पाउन्न भन्ने लागेको देखिन्छ, ती नेताले भने, ‘उहाँलाई मेनस्ट्रिमको पोलिटिक्सबाट बाहिरिनुहुन्न भन्ने प्रेसर पनि छ, आफ्नो इच्छा पनि छ । त्यसकारण अब पहिले जसरी शेरबहादुरको आशिर्वादमात्रै नभएर दाइतिरबाट पनि सुरक्षित हुन सकिन्छ कि भनेर त्योबाटो तय गर्नुभएको हो ।’

शेखरनिकट कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल १५ औं महाधिवेशनमा कोइराला परिवार मिलेरै जाने बताउँछन् । ‘कांग्रेस गलत ट्रयाकमा जान लाग्यो, दर्शन विचारभन्दा पनि मसल र पैसा हाबी भयो भन्ने चिन्ता छ,’ उनले भने, ‘उहाँहरू मिलेर नै जानुहुन्छ ।’

पूर्वमहामन्त्री शशांकनिकट केन्द्रीय सदस्य दिपक गिरीले कोइराला परिवार मिलेरै १५ औं महाधिवेशनमा जाने प्रतिक्रिया दिए । ‘शशांक डाक्सापले चितवनमा कुरो घुमाएर भन्नु खोज्नुभएको हो । उहाँहरू शतप्रतिशत मिलिसक्नुभएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘महाधिवेशनमा एकसाथ मिलेर जानुहुन्छ ।’

शेखर–शशांक–सुजाताबीच हुन नसकेको त्यो मिलन

१४ औं महाधिवेशन अघि कोइराला परिवार मिलाउन शुभचिन्तकहरू प्रयासरत देखिन्थे । शशांकले सभापतिमा शेखरलाई सघाउने अभिव्यक्तिसमेत दिएका थिए । उनले सर्लाहीको हरिवनमा आयोजित एक कार्यक्रममा सभापतिमा शेखरलाई सघाउने संकेत गरेका थिए ।

त्यसको दुई दिनपछि (३० कात्तिक २०७८) शशांक र शेखरबीच छलफल भएको थियो । छलफलमा भोलिपल्ट महाराजगञ्जस्थित निवासमा शशांकले पत्रकार सम्मेलनमार्फत् शेखरलाई समर्थन गर्ने सहमति जुटेको थियो ।

तर, पत्रकार सम्मेलनका लागि तय भएको दिन (१ मंसिर २०७८) मा संखुवासभा पुगेर आफैं सभापतिमा उठ्ने उद्घोष गरे । शशांकलाई नेता दीपक खड्काले हेलिकप्टपरमार्फत् संखुवासभा पुर्‍याएका थिए ।

शशांक–शेखर आपसमा मिल्दा सुजाताले पनि सघाउने र दोस्रो कार्यकाल सभापति बन्न नपाइने आकलन गरेर देउवाले नै खड्काको उपयोग गरेको तत्कालीन समयमा चर्चा भएको थियो ।

१४ औं महाधिवेशनमा पराजित भएपछि शेखरले परिवार मिलाउन नसकेको प्रतिक्रिया दिएका थिए । आफूलाई भाइ–बहिनीले धोका दिएको उनको गुनासो थियो ।

त्यसअघि फागुन २०७२ मा सम्पन्न १३ औं महाधिवेशनमा बीपीपुत्र शशांक महामन्त्रीमा निर्वाचित भएका थिए । रामचन्द्र पौडेलको समूहबाट शशांक महामन्त्रीको उम्मेदवार बन्दा शेखरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । १३ औं महाधिवेशनमा दुवै भाइ विजयी भएका थिए ।

झण्डै पाँच वर्ष महामन्त्रीको हैसियतमा पार्टी सञ्चालन गरेका शशांक १४ औंमा सभापतिका आकांक्षी थिए । शेखर प्यानलसहित सभापतिका लागि प्रतिष्पर्धामा उत्रिएपछि उनी केन्द्रीय सदस्यको उम्मेदवार बने ।

शशांकले सभापतिमा कसैलाई पनि खुलेर समर्थन गरेनन् । १४ औंमा उनी सर्वाधिक (३८ सय ३६) मतसहित केन्द्रीय सदस्यमा विजयी भए । सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । तर, गिरिजाप्रसादपुत्री सुजाताका लागि १४ औं महाधिवेशन सुखद रहेन ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?