+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

चुनावको चापमा कांग्रेस महाधिवेशन कति सम्भव ?

फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन छ । त्यस अगाडि पुस मसान्तमा कांग्रेसको १५ औं महाधिवेशन कति सम्भव ?

केशव सावद केशव सावद
२०८२ मंसिर १५ गते १०:५५

१५ मंसिर, काठमाडौं । लामो समयदेखि महाधिवेशनको तिथि, मितिको विवादमा अल्झिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) फेरि बस्दै छ ।

केन्द्रीय कार्यसमिति बैठकमा २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने शीर्ष नेताहरूको बीचमा समझदारी बनेको छ । आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकले महाधिवेशन कार्यतालिका ल्याउने मोटामोटी सहमति बनिसकेको नेताहरूको भनाइ छ ।

तर, सरकारले २१ फागुनका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसको महाधिवेशन सम्भावित कार्यतालिकाभित्रै सम्पन्न हुनेमा भने नेताहरूमा शंका छ ।

महामन्त्री गगनकुमार थापानिकट मानिने केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) कार्यतालिका आए पनि निर्वाचनअघि महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएका शीर्ष तहका नेताहरूबाट धकेल्ने प्रयास हुनसक्ने अनुमान गर्छन् ।

निर्वाचन अगावै नियमित हुन नसक्ने र विशेष महाधिवेशन गर्नै हुँदैन भन्दै आएका नेतानिकट रहेका जिल्लादेखि वडासम्मको कार्यसमितिको नेतृत्वले कार्यतालिकालाई उल्लासपूर्वक कार्यान्वयन नगरे महाधिवेशन सम्भव नहुने उनको बुझाइ छ ।

‘जुन व्यक्तिहरूले यो महाधिवेशन नियमित हुन सक्दैन, विशेष गर्नुहुन्न भनेर पार्टीभित्र यत्रो धेरै ठूलो हलचल भयो, उहाँहरूसँग जोडिएका जिल्लादेखि वडासम्मका सभापतिहरूले उल्लासपूर्वक फास्ट ट्रयाकबाट काम नगरेसम्म त महाधिवेशनलाई धकेल्ने प्रयास फेरि पनि हुन सक्छ नि,’ रसाइलीले अनलाइनखबरसँग भने ।

महाधिवेशन सुनिश्चितताका लागि निर्वाचनअगावै अधिवेशन हुन नसक्ने अडानमा रहेको पक्षसँग निकट रहेका नेताहरूले कार्यतालिका आइसकेपछि महाधिवेशनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

‘महाधिवेशनबारे नेगेटिभ प्रतिक्रिया दिनेभन्दा पनि सकारात्मक मनोविज्ञानले जानुपर्छ । महाधिवेशन एउटा पर्व हो,’ रसाइलीले भने, ‘चुनाव अघि नियमित अधिवेशन हुन सक्दैन, विशेष गर्नुहुन्न भन्ने पक्षका निकटस्थ तल्लो तहका नेताहरूले फास्ट ट्रयाकबाट काम गर्नुपर्छ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले शीर्ष तहमा भएको सहमतिअनुसार सोमबार आउने भनिएको कार्यतालिकालाई सकारात्मक रूपमा लिएर सबैले स्वागत गर्नुपर्ने बताए । उनले सबैभन्दा पहिले केन्द्रीय कार्यसमिति बैठकमा पुस महिनामा महाधिवेशन गर्नुपर्ने लिखित प्रस्ताव पेस गरेका थिए ।

पौडेलले १५औं महाधिवेशनको मिति तोक्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा लिखित रुपमै ल्याएको भए पनि पहिले त्यसलाई पूर्णरुपमा बेवास्ता गरिएकोप्रति असन्तुष्टि प्रकट गरे । पहिले इच्छुक नभई अहिले आएर निर्णय गर्दा पार्टीलाई समयको ठूलो चाप बढेको उनको भनाइ छ ।

समय कमीका कारण सम्भावित कार्यतालिकाअनुसार महाधिवेशन वास्तविक रूपमा सम्पन्न हुन्छ कि केवल घोषणामात्रै गरिने हो भन्ने आशंका आमकार्यकर्तामा बढेको कुरामा पौडेलले बताए ।

‘पहिले नमानेको कार्यतालिका अहिले आएर निर्णय गर्न लागियो । यसले गर्दा समयको चाप एकदमै धेरै पर्ने स्थिति भयो,’ उनले भने, ‘त्यसैले महाधिवेशन गर्नका लागि होइन, खाली घोषणामात्र हुन लागेको हो भनेर आशंका बढ्ने स्थिति बनेको हो ।’

समयमै महाधिवेशन सम्पन्न गर्नका लागि चापका बीच प्रक्रियालाई अगाडि बढाउन क्रियाशील सदस्यता वितरणसम्बन्धी सबै विषयहरू तत्काल टुङ्गो लगाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

‘अब साच्चै नै गर्न खोजिएको हो भने महाधिवेशन हुन सक्छ । तर, निर्वाचन अगाडि अधिवेशन गर्न हुँदैन भन्ने फरक मत पनि छ नि । फरक मत यथावत रहे सहयोग हुन्न होला,’ पौडेलले भने, ‘सदस्यता वितरणको मिति जहिलेसम्म राखिन्छ नि, त्यहाँसम्म सदस्यताको कुरो टुंगियो भने अधिवेशन हुन्छ । नत्र आशंका छ ।’

कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट केन्द्रीय सदस्य सरिता प्रसाईं देशलाई सही निकास दिन पनि निर्वाचन अगावै अधिवेशन गर्नुपर्नेमा जोड दिन्छिन् । सोमबार आउने भनिएको कार्यतालिकाअनुसार पार्टी साँच्चै लागिपर्ने हो भने डेढ महिनाभित्र महाधिवेशन सम्भव रहेको उनको दाबी छ ।

‘देशलाई निकास दिन नेपाली कांग्रेसजस्तो पार्टीले महाधिवेशन गरेर जानुपर्छ भन्ने नै हाम्रो धारणा हो । कांग्रेसजस्तो पार्टीले चाह्यो भने डेढ महिनामा अधिवेशन गर्न सकिन्छ,’ नेतृ प्रसाईंले भनिन्, ‘अलिकति दह्रो गरी लाग्नु पनि पर्‍यो । अप्ठ्यारो परिस्थिति आउँदा निकास दिनका लागि सवै एकजुट हुनुपर्छ ।’

यथावस्थामै कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा जाँदा जनताको ‘रियाक्सन’ पार्टीप्रति बढी हुन सक्ने उनको भनाइ छ । ‘फागुन २१ गते जुन चुनाव घोषणा भएको छ, त्यसका लागि हामीले पार्टीको महाधिवेशन गर्नुपर्ने जरूरी छ,’ प्रसाईंले भनिन्, ‘एमालेको अधिवेशन हुने भइसक्यो, माओवादीको पनि भइसक्यो । कांग्रेस यथावस्थामा चुनावमा जाँदा जनताको रियाक्सन अलि बढी हुन सक्ने देखिन्छ ।’

सभापति शेरबहादुर देउवानिकट मानिने केन्द्रीय सदस्य नैनसिंह महर सबै मिलेर एकतावद्ध भएर गए चुनावको चापका बीच पनि कांग्रेसको महाधिवेशन पुसमा सम्भव रहेको बताउँछन् ।

‘महाधिवेशनका लागि आज पुसको कार्यतालिका आउने कुरा छ । पार्टी महाधिवेशनमा लाग्दा चुनावका लागि समय कम हुन्छ कि भन्ने पनि छ,’ उनले अनलाइनखबरसँग भने, ‘समयको चाप भए पनि सबैले मिलेर गए आउने कार्यतालिकाअनुसार महाधिवेशन सम्भव छ ।’

नेता महरले कांग्रेस एकताबद्ध बनाउन केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका लागि सर्वसम्मत कार्यतालिका ल्याउनुपर्नेमा पनि जोड दिए । ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय अहिलेको आवश्यकता हो,’ उनले भने, ‘कांग्रेस एकताबद्ध चाहिन्छ । केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेर एकताबद्ध भएर जाने वातावरण बनेको राम्रो हो ।’

केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी, देश र जनतालाई पनि कमजोर हुन नदिने गरी कांग्रेस अगाडि बढ्ने बताए । ‘हामी कार्यतालिकाबारे आज छलफल गर्छौं,’ उनले भने, ‘पार्टीलाई कमजोर हुन दिँदैनौं । देश र जनतालाई पनि कमजोर हुन नदिने गरी हामी अगाडि बढ्छौं ।’

नेपालको राजनीतिमा एकाएक सिर्जना भएको विशेष परिस्थितिबाट पार्टीलाई निकास दिन जरूरी रहेकोमा उनले जोड दिए । ‘नेपालको राजनीतिमा एकाएक विशेष परिस्थिति सिर्जना भयो । हामीले तत्काल नसोचेको परिस्थिति सिर्जना भयो । यसबाट पार्टीलाई निकास दिन जरूरी छ,’ नेता खतिवडाले भने ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरी सबै पक्षले चाहे चुनाव अघि पनि महाधिवेशन सम्भव रहेको बताउँछन् । पुस अन्तिम साताको कार्यतालिकालाई कुनै व्यक्तिको हार र जितको रुपमा लिनुभन्दा कांग्रेस बलियो बनाउने गरी कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ । ‘एउटा व्यक्तिले चाहेर मात्र महाधिवेशन हुँदैन । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरियो भने चुनाव अघि नै महाधिवेशन गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु,’ चौधरीले भने, ‘यसमा छलछाम छ कि भनेर शंका गर्ने र अनादर गर्ने हो भने त्यो राजनीतिक बेइमानी हुन्छ ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?