News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूले १५औं महाधिवेशनको मिति लिएर दुई फरक समूहमा ललितपुर र काठमाडौंमा भेला भएका छन्।
- निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएर लबिइङ गर्ने निर्णय गरेको छ।
- निर्वाचनपछि महाधिवेशन गर्ने पक्षले बहुमतबाट निर्णय गर्ने रणनीति बनाउँदै निर्वाचनलाई पहिलो प्राथमिकता दिने बताएका छन्।
३ मंसिर, काठमाडौं । १५औं महाधिवेशनको विषयमा दुई धारमा विभाजित नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूले बुधबार फरक–फरक भेला गरेका छन् ।
२१ फागुनको निर्वाचनअघि महाधिवेशन हुनुपर्ने पक्षमा रहेका र निर्वाचनपछि गर्नुपर्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूले ललितपुर र काठमाडौंमा छुट्टाछुट्टै भेला गरेका हुन् ।
निर्वाचनअघि नै नियमित महाधिवेशन हुनुपर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका २४ जना केन्द्रीय सदस्यहरूको भेला ललितपुरको कुपण्डोलमा बसेको हो ।
यस्तै, निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका शीर्ष नेतासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरू काठमाडौंको नयाँ बानेश्वरमा भेला भएका थिए ।
कुपण्डोल भेलाले चुनाव अगावै नियमित महाधिवेशनको माग कार्यान्वयनका लागि सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूलाई भेटेर ‘लबिइङ’ गर्ने निष्कर्ष निकालेको छ ।
‘हाम्रा इस्युहरू कार्यान्वयन गर्नका लागि लबिइङ गर्ने कुरा भएको छ,’ भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि हामी सभापतिज्यूसँगै अन्य नेताहरूसँग भेटघाट गर्छौं ।’
ती नेताका अनुसार भेलाले आगामी दिनमा फेरि छलफल गर्ने र संस्थापन पक्षका नियमित महाधिवेशन पक्षधरलाई समूहमा सहभागी गराउने पनि निष्कर्ष निकालेको छ ।
कुपण्डोल भेलामा सहभागी अर्का केन्द्रीय सदस्यका अनुसार चुनाव अगावै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा थप तीन जना खुलेका छन् । बुधबारको भेलामा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ, तारामान गुरूङ र जानकी सिंह पनि सहभागी भएका हुन् ।
केन्द्रीय सदस्य आङगेलु शेर्पाले संस्थापन पक्षबाट नियमित महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्यहरूको संख्या थप बढ्दै गएको दाबी गरे । ‘आज हामी २६ जनाले बैठक गर्यौं । यो संख्या ३०/३१ पुग्ने देखिन्छ,’ शेर्पाले अनलाइनखबरसँग भने ।
२४ जनाको समूहले २८ कात्तिकमा आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गर्दै कार्यवाहक सभापति खड्कालाई मागपत्र बुझाएको थियो ।
‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्ने,’ मागपत्रमा भनिएको थियो ।
मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला रहेका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरू धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।
मागपत्रमा केन्द्रीय सदस्य नारायणबहादुर कार्कीको नाम पनि समावेश थियो । मागपत्रमा उनको नामका पछाडि ‘मौखिक सहमति’ लेखिएको थियो । उनीहरू सबै १४औं महाधिवेशनमा सभापति देउवाको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू हुन् ।
यता, नयाँ बानेश्वरको आनन्दभूमि इभेन्ट्समा संस्थापन पक्षका शीर्ष नेतासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू भेला भएका थिए । उनीहरूले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएका छन् ।
पार्टीको १५औं महाधिवशेन २१ फागुनको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने रस्साकस्सी चलिरहेका बेला २९ कात्तिकमा बसेको संस्थापन पक्षीय भेलाले इतर समूह सहमतिमा नआए बहुमतबाट निर्णय गर्ने रणनीति बनाएको थियो ।
बुधबार पनि शीर्ष नेताहरूसहित केन्द्रीय सदस्यहरू भेला भएर आन्तरिक छलफल गरिएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । ‘हामी बेला–बेला छलफल गर्दै आएका छौं । यसअघि अस्ती शनिबार भएको छलफललाई सजिलो बनाउने उद्देश्यले बसेका हौं,’ उनले भने ।
नेता बरालले बुधबारको छलफलमा पनि निर्वाचनलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने विषयले प्राथमिकता पाएको जानकारी दिए ।
‘अहिलेको डिरेल प्रोसेसलाई ट्र्याकमा ल्याउनका लागि निर्वाचित जनप्रतिनिधि र संसद् नै पहिलो हो । त्यसैले निर्वाचनलाई पहिलो प्राथमिकता दिएर केन्द्रित हुने कुराकानी भयो,’ उनले भने, ‘त्योभन्दा अगाडि अभियानका रूपमा क्रियाशील सदस्यता नवीकरण गर्ने र हामीले वैशाखमा प्रस्ताव गरेको मितिमा अधिवेशनमा जाने । त्यसका लागि आवश्यक पूर्वाधार समितिहरूलाई पूर्णता दिने कुरा भयो ।’
प्रतिक्रिया 4