+
+
Shares

कांग्रेसमा ‘नयाँ कांग्रेस’को बहस

सभापति देउवालाई नेतृत्वमा राखेर वा कुनै टालटुले सुधार गरेर निर्वाचनमा जान नसकिने मतहरु कांग्रेसमा बढ्दै गएको छ । देउवाको प्रवृत्ति र शैली पछ्याउने दोस्रो व्यक्ति मूल नेतृत्वमा आउँदा समेत आन्तरिक जीवनमा परिर्वतन नहुने मत पार्टीमा छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ असोज १ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा सभापति देउवा नेतृत्वमा परिवर्तन र पार्टी पुनर्गठनको माग उठेको छ।
  • महामन्त्री गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनका लागि पदाधिकारीले राजीनामा दिएर नयाँ संयोजक तोक्नुपर्ने प्रस्ताव राखेका छन्।
  • पार्टी विधान अनुसार ४० प्रतिशत प्रतिनिधिको लिखित अनुरोधमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

१ असोज, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरूमा दल पुनर्गठनको माग उठ्न थालेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मूल नेतृत्वमा परिवर्तन हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

पुराना राजनीतिक दलहरुमा कांग्रेसमा पुर्नगठनको विषय प्रारम्भ महामन्त्री गगन थापाले उठाएका थिए । पार्टी सुधार गरेर अघि बढ्नका लागि कांग्रेसभित्र मूलतः चार विकल्पमा बहस सुरु भएको छ ।

पहिलो : पार्टी सभापति शेरबहादुर देउवामाथि परेको संकटको बेला नेतृत्वलाई बचाएर जाने ।

दोस्रो : सभापति देउवाले कार्यवाहक सभापतिका रुपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी प्रदान गर्ने ।

तेस्रो : सबै पदाधिकारी एवं केन्द्रीय सदस्यले राजीनामा दिएर एक जनालाई संयोजक बनाएर चुनावमा जाने ।

चौथो : विशेष महाधिवेशन ।

कांग्रेस नेताहरुका अनुसार सभापति देउवालाई संकटको बेलामा बचाएर जानुपर्ने विचार उनी पक्षीय नेताहरूले राखेका छन् ।

प्रदर्शनकारीले दोस्रो दिन देउवा निवास बुढानीलकण्ठमा आगजनी र तोडफोड गरी देउवा दम्पत्ति माथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते बनेका देउवा दम्पत्तिको सेनाको रेखदेखमा उपचार भइरहेको छ । सभापति उपचाररत रहेकै बेला पार्टीका कुन रुपमा अघि बढ्ने भनेर अहिले नै चर्चा गर्न आवश्यक नहुने उनी पक्षीय नेताहरुको छ ।

सुदूरपश्चिमका सभापति एवं देउवा निकट नेता वीरबहादुर बलायर पार्टी अघि कसरी बढ्ने अहिले चर्चा गरिसक्ने बेला नभएको बताउँछन् । उनी भन्छन्,‘सभापतिले उपचार गरिरहनु भएको छ । उपचारबाट निस्केपछि उहाँको कुरा पनि सुन्नुपर्‍यो । उहाँको विचार सुनेपछि के गर्नेबारे छलफल बल्ल सुरु हुन्छ ।’

पार्टी नेताहरुका अनुसार दोस्रो विकल्पका रुपमा उपसभापति खड्कालाई सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने विचारहरु पनि आएका छन् ।

म नागरिकले तीन दलका मूल तीन नेता नचाहेको हुँदा व्यक्ति परिवर्तन हुँदा त्यसले एउटा सन्देश दिन सकिने उक्त पक्षधरको धारणा रहेको नेताहरु बताउँछन् ।

पहिलो र दोस्रो विकल्पले परिवर्तित कांग्रेस हुन नसक्ने पार्टीभित्र छ । पार्टी पुर्नगठनको मुद्धालाई अघि बढाएका नेताहरु अहिले बहसमा आएका पहिलो र दोस्रो विकल्पमा जान नसकिनेमा एक मत छन् ।

महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्मा साथै नेता प्रदीप पौडेल टालटुले सुधारले मात्रै नहुने निर्क्यौलमा पुगेका छन् ।

महामन्त्री थापा निकट एक नेता भन्छन्,‘सभापतिका लागि मानवीयता हिसाबले सोच्ने एउटा पाटो हो । तर, पुर्नगठनका लागि उहाँको नेतृत्वमा राखेर वा अरु टालटुले सुधारले अघि बढ्न सकिन्न ।

जेनजीले चाहेको सुधार गर्छौं भनेका छौं । त्यसका लागि पुरानै मानसिकता बोकेकालाई नेतृत्वमा राख्न सकिन्न ।’

नेता प्रदीप पौडेलले पार्टी पुनर्गठनका लागि पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यले राजीनामा दिएर एक जना संयोजक तोकेर निर्वाचनमा जान सकिने प्रस्ताव अघि सारेका छन् । अहिलेको मूल नेतृत्वबाट कांग्रेस अब अघि नबढ्ने निष्कर्षमा पुगेको बताउँदै पौडेलले अन्य नेताहरुसँग यो प्रस्तावमा छलफल अघि बढाएको सुनाए ।

‘अब महाधिवेशन नहुँदासम्म पार्टीको संयोजक तोकेर पार्टी पुनर्गठन गर्नुपर्छ । यथास्थितिको नेतृत्वमा अब पार्टी अघि बढ्न सक्दैन,’ पौडेल भन्छन्,‘यसका लागि सबैले पदबाट राजीनामा गरेर एउटा नेतालाई संयोजन तोक्ने र सबै सदस्य भएर काम गर्नुपर्छ ।’

अब महाधिवेशन नहुँदासम्म पार्टीको संयोजक तोकेर पार्टी पुनर्गठन गर्नुपर्छ । यथास्थितिको नेतृत्वमा अब पार्टी अघि बढ्न सक्दैन

पार्टी पुर्नगठन हुने उपयुक्त विकल्प विशेष महाधिवेशनको बाटो रहेको नेताहरु बताउँछन् । महामन्त्री थापा र शर्मा सहित संस्थापनइतरका नेता डा. शेखर कोइराला विशेष महाधिवेशन मार्फत् पार्टी पुर्नगठन गर्न सकिने आधार देखाउँदै पार्टीभित्र आन्तरिक छलफल गरिरहेका छन् । कांग्रेसको ७५ वर्ष भन्दा लामो इतिहासमा विशेष महाधिवेशन एक पटक मात्र भएको छ ।

२०१२ सालमा भएको छैटौं महाधिवेशनबाट सभापतिमा सुवर्णशमशेर राणा चयन भएका थिए । त्यसको दुई वर्षमै २०१४ सालमा विशेष महाधिवेशन गरेर बीपी कोइराला सभापति चयन भएका थिए ।

कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आह्वान गर्न सकिने प्रावधान छ । विधानको दफा १७ को उपदफा २ मा ‘केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा’ विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

विशेष महाधिवेशनका लागि प्रतिनिधि अघिल्लो महाधिवशेनकै हुनेछन् ।

विशेष महाधिवेशन आह्वानका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पुर्‍याउन कठिन देखिँदैन । विशेष महाधिवेशन बोलाउने यो विकल्प देउवाले चाहेर पनि रोक्न नसक्ने अवस्था छ ।

गत महाधिवेशनमा सभापतिमा डा. कोइरालाले प्राप्त गरेको मतको आधारमा ४० प्रतिशत प्रतिनिधि पुग्ने देखिन्छ ।

गत महाधिवेशनका प्रतिनिधि चार हजार ७४३ जना थिए । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले दुई हजार ७३३ मत पाएका थिए ।

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

प्रतिस्पर्धी कोइरालाले १ हजार ८५५ मत पाएका थिए । कूल महाधिवेशन प्रतिनिधिबाट ४० प्रतिशतको हस्ताक्षर पुर्‍याउन १ हजार ८९७ जना आवश्यक पर्दछ ।

नेताहरुको दाबी अनुसार विशेष महाधिवेशन माग गर्न प्रतिनिधिहरुको हस्ताक्षर संकलन गर्न सुरु गरियो भने अधिकांश नेतृत्वको परिवर्तनका पक्षमा देखिने छन् ।

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

केन्द्रीय सदस्य दिनेश कोइराला विशेष महाधिवेशन गर्नुपर्ने विषय उठिरहेपनि उपयुक्त माध्यममा केन्द्रीय समितिका सबैले राजीनामा दिएर एक जना संयोजक तोकेर चुनाव जान उपयुक्त हुने बताउँछन् ।

‘पदाधिकारी र केन्द्रीय सदस्य सबैले राजीनामा गरेर एक जना संयोजक तोकेर चुनाव जान ठीक हुन्छ, कोइराला भन्छन्,‘पार्टी यो अवस्थामा पुगेको मुख्य जिम्मेवारी सभापतिले लिएर उहाँले पद छोड्नु पर्दछ । विगतमा पटक-पटक मन्त्री र पदाधिकारी भएकाहरु अभिभावकीय जिम्मेवारीमा बस्नुपर्दछ ।’

महामन्त्री थापा निकटका नेताहरुका अनुसार सानो तिनो सुधार गरेर अघि बढ्न नसकिने निष्कर्षमा उनी पुगेका छन् ।

जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि मुद्दा र शैली परिवर्तन गर्न जरुरी रहेको उनले बताएका छन् ।

निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ नहुने उल्लेख गर्दै पद उनले महामन्त्री पद छोड्न तयार रहेको बताएका छन् ।

उनी भन्छन्,‘पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ । यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं । स्वीकार गरौं–गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममूल्याङ्कन र आत्मसंकल्प गरौं ।’

नेताहरुका अनुसार सभापति देउवा उपचारकै क्रममा रहेकाले कुन विधिबाट पार्टीलाई पुर्नगठन गर्नेबारे छलफलले ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

देउवा उपचारबाट फर्कन थप एक साता लाग्ने कांग्रेस नेताहरुले जानकारी गराएका छन् । पार्टीभित्रको अहिलेसम्मको गति र मतिको निर्मम समीक्षा गरेर अघि बढ्ने नेताहरुले बताएका छन् ।

पार्टी शुद्धीकरण गर्न आफू प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि नेता कार्यकर्ताको साथ दिनुपर्ने विचार महामन्त्री थापाले राखेका छन् ।

जेनजीको आन्दोलनसँग जोडिएर कांग्रेसभित्र आएको अर्को मुद्धा हो– सुधारको नाममा उस्तै प्रवृत्ति र नीति लिने नेतृत्व आयो भने नयाँ पुस्ताबाट नेतृत्व आउनुपर्ने र पुरानो उमेर समूहबाट पार्टी सुधार हुनै नसक्ने मत बलियो हुँदै गएको छ ।

अहिलेको पार्टी संरचनाबाट सम्भव छैन । अहिलेको शैलीबाट सम्भव छैन । नेतृत्व, विधान, पार्टीको काम गर्ने तरिका बदल्ने हो ।-गगन थापा, महामन्त्री

सभापति देउवाले छोड्दा उनकै प्रवृत्ति पछ्याउने व्यक्ति जिम्मेवारीमा आउँदा तात्विक अन्तर नपर्ने बुझाई थप विकसित भएको छ । महामन्त्री थापा भन्छन्,‘ अहिले पार्टी जसरी चलिरहेको छ, यसरी नै चलाउँछु भनेर चल्दैन । एउटा क्रमभङ्ग नगरी हुँदैन । अहिलेको पार्टी संरचनाबाट सम्भव छैन । अहिलेको शैलीबाट सम्भव छैन । नेतृत्व, विधान, पार्टीको काम गर्ने तरिका बदल्ने हो ।’

सुधारका मुद्धा उठाएपनि विगतमा आफ्नो लाइनमा पार्टीलाई ल्याउन नसकेको आरोप दुवै महामन्त्रीले खेप्दै आएका छन् । त्यसलाई दुवै महामन्त्रीले स्विकारेका पनि छन् । विगतमा प्रयत्न गरेपनि परिणाम दिन नसकेको महामन्त्रीद्धयले स्वीकारेका छन् ।

‘यो तरिकाले पार्टी र सरकार चलाएर हुँदैन भनेर उहाँहरुले निरन्तर भनिरहनु भएको हो । तर, आफ्नो बोली कार्यान्वयन गराउन सक्ने अवस्था बनेन । बोल्ने तर कार्यान्वयन नहुँदा अरुलाई के लाग्यो भने उनीहरु त्यसैका अंग हुन्,’ महामन्त्री निकट एक नेता भन्छन्, ‘अब त्यस्तो हुँदैन । जेनजीले खोजेको पार्टीभित्रको अवस्था परिवर्तन पनि हो । त्यसका लागि उहाँहरुले अब सम्झौता गर्नुहुन्न् ।’

उनका अनुसार पुरानै प्रवृत्ति र उही शैलीका नेतालाई स्विकार गरेर पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा दुवै महामन्त्री पुगेका छन् । जनताका लागि नयाँ कांग्रेसको आभास दिने गरी कांग्रेस चुनावमा जाने ती नेता दाबी गर्छन् ।

महामन्त्री शर्माको बुझाईमा उनको प्रस्तावलाई महासमितिबाट पारित गराउन सकेको भए आजको संकट आउने थिएन ।

उनले प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने प्रस्ताव अघि सारेका थिए । उक्त प्रस्ताव पारित हुन भने सकेन ।

सभापति देउवा पुनः प्रधानमन्त्री हुने बाटो रोकिदिएसँगै नागरिकको पुराना दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिर्वतन हुने उनको बुझाइ थियो ।

राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीन पटकभन्दा बढी समय हुन नपाउने व्यवस्थाको उनले वकालत गर्दै आएका छन् ।

उनी भन्छन्,‘कांग्रेसको सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री हुन्न भनेको भए स्वाभाविक रुपमा माओवादी र एमालेको अध्यक्षलाई दबाब पर्ने थियो । मैले बोलें तर त्यसलाई पार्टीको सम्पत्ति बनाउन सकिनँ ।’

सभापति देउवाको नियमित कार्यकाल आगामी मंसिरमा सकिँदैछ । विधान अनुसार कार्यकाल एकवर्ष सकिने व्यवस्था छ । तर, तेस्रो उमेर समूहका नेताहरु कार्यकाल थपेर वा झारा टार्ने प्रकृतिले सुधार गरेर हुँदैन भन्ने पक्षमा एकमत छन् ।

नेता प्रदीप पौडेल कांग्रेसको सिद्धान्त, नेतृत्व चयन र शासकीय दृष्टिकोणमा पुर्नविचार गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्,‘नयाँ पुस्ता अटाउन र परिवर्तित समयसापेक्ष माग अनुरुप पार्टी संगठन र संरचना पुनःनिर्माण गर्नुपर्दछ । त्यसका लागि सभापतिले तत्काल राजीनामा दिनुपर्दछ ।’ अर्का नेता एनपी साउद एकताका आधारमा पार्टीलाई पुर्नसंगठित गर्नुपर्ने विचार राख्छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?