+
+
Shares

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालन गर्ने भारत-चीनको सहमतिप्रति कांग्रेसको आपत्ति

लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने सहमति गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत-चीनको सहमतिप्रति आपत्ति जनाउँदै सरकारले पठाएको कूटनीतिक नोटप्रति सकारात्मक लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भारत र चीनबीच लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ।
  • कांग्रेसले लिपुलेक, लिम्पियाधुर र कालापानी नेपाली भूमि भएको स्पष्ट धारणा राख्दै कूटनीतिक नोटलाई सकारात्मक लिएको छ।
  • कांग्रेसले सीमा विवादलाई कूटनीतिक र राजनीतिक तबरले समाधान गर्नुपर्ने र दलगत विभाजन नहुने बताएको छ।

२१ वैशाख, काठमाडौं । लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने सहमति गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत-चीनको सहमतिप्रति आपत्ति जनाउँदै सरकारले पठाएको कूटनीतिक नोटप्रति सकारात्मक लिएको हो ।

सहमहामन्त्री उदयशमशेर जबराले बैठकपछि भने, ‘नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीन बीच भएको सहमतिप्रति नेपाली कांग्रेसको गभ्भीर ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुर र कालापानी नेपाली भूमि हो। यसबारे नेपाली कांग्रेसले स्पष्ट धारणा राख्दै आएको छ । सरकारको कूटनीतिक नोटलाई सकारात्मक लिएका छौं ।’

उनले यसअघि ०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि यसबारे कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको स्मरण गराए । कांग्रेसले सीमा विवादलाई कूटनीतिक र राजनीतिक तबरले नै समाधान गर्नुपर्ने भनेको छ । ‘यसलाई समाधानको रुपमा हामीले कूटनीतिक तबरबाट समाधान गर्नुपर्छ,’ उनले थपे, ‘सुगौली सन्धिदेखि अरु विभिन्न तर्कसहित भारत र चीनसँग वार्ता गर्नुपर्छ । यसलाई हल गर्नुपर्छ ।’

राजनीतिक दलहरू अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा विभाजन हुन नहुने पनि कांग्रेसको निष्कर्ष छ । ‘अन्तर्राष्ट्रिय सन्दर्भमा दलगत रुपमा विभाजित हुनुहुँदैन । हामी अन्तर्राष्ट्रिय सन्दर्भमा हामी सरकारसँगै हुन्छौँ,’ उनले भने, ‘सरकारले पनि सबै दलसँग यसबारे कुराकानी गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?