+
+
Shares

महामन्त्रीद्वयले खड्कालाई भने : सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउनुस्

महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार भएको छलफलका क्रममा कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्रीहरूले कार्यवाहक सभापति खड्कालाई महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।
  • कार्यवाहक सभापति खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको र नेताहरूसँग छलफलमा रहेको बताए।
  • इतर समूहले आगामी पुस १६ मा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउन महामन्त्री थापा र शर्मालाई जिम्मा दिएको छ।

१४ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले दिएको जिम्मेवारीअनुरूप महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।

महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार भएको छलफलका क्रममा कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

‘सभापतिले तपाईंलाई अधिवेशन गराउने जिम्मेवारी दिनु भएको हो। अधिवेशन गर्ने वातावरण बनाउनुस्,’ महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कासँग भनेका छन् ।

जवाफमा कार्यवाहक सभापति खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको बताए । उनले पार्टीका नेताहरूसँग आफू छलफलमै रहेको पनि बताए । छलफलका क्रममा संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशन गर्न सहमत नरहेका पनि बताए ।

‘म पनि महाधिवेशन गराउने पक्षमा छु । साथीहरूको कुरा सुनिरहेका छु,’ खड्काको भनाइ उद्धृत गर्दै एक महामन्त्रीले भने, ‘उहाँहरूले मानिरहनु भएको छैन । साथीहरूसँग तपाईंहरू पनि कुरा गर्नुस्।’

कार्यवाहक सभापति खड्कासँगको छलफल अघि थापा र शर्माले इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासँग बैठक गरेका थिए । उनीहरूलाई नेता कोइरालाले आगामी पुस १६ मा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउन र कार्यवाहक सभापति खड्कासँग त्यसबारे छलफल गर्न भनेका थिए।

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्न महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मा दिएको छ।

यसअघि महामन्त्री थापाले बिहीबार पनि कार्यवाहक सभापति खड्कासँग महाधिवेशनको कार्यतालिकाबारे छलफल गरेका थिए । तर, दुई नेताबीच कुरो मिल्न सकेको थिएन।

कार्यतालिका पेस गर्ने अवस्था नदेखिएपछि महामन्त्री थापा बिहीबारको बैठकमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार शुक्रबारको बैठकमा पनि कार्यतालिका पेस हुने सम्भावना न्यून छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?