+
+
Shares

कांग्रेस संस्थापनको निष्कर्ष: २१ फागुनको चुनावपछि मात्र महाधिवेशन

मंसिरभित्रै ‘नियमित वा विशेष महाधिवेशन’ भन्ने दबाबबीच दुई दिनसम्म चलेको कांग्रेसको संस्थापन पक्षीय भेलाले २१ फागुनको निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने धारणा तय गरेको छ।

केशव सावद केशव सावद
२०८२ कात्तिक १२ गते २३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन पक्षले २१ फागुनको निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्ने पक्षमा अडिग रहेको छ।
  • संस्थापन पक्षले धोविघाटमा दुई दिनसम्म भेला गरेर विशेष महाधिवेशनमा नजाने र वैशाखमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • केन्द्रीय कार्यसमितिको बैठक बिहीबारबाट पुनः सुरु हुँदैछ र सबै सदस्यलाई ११ मिनेट बोल्न छुट्टाइएको छ।

१२ कात्तिक, काठमाडौं। २१ फागुनको निर्वाचन पछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्नु पर्ने पक्षमा रहँदै आएको नेपाली कांग्रेसको संस्थापन पक्ष यसैमा अडिग देखिएको छ। ‘नियमित कि विशेष महाधिवेशन’ भन्ने विवाद चर्किंदै जाँदा दुई दिनसम्म चलेको संस्थापन पक्षको भेलाले यस्तो धारणा तय गरेको हो।

नेपाली कांग्रेसको संस्थापन पक्षले मंगलबार र बुधबार ललितपुरको धोविघाटस्थित होटल सिद्धार्थमा आफूपक्षधरको भेला आयोजना गरेको थियो। भेलाले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनै लागेकाले विशेष महाधिवेशनमा जान नसकिने पनि स्पष्ट गरेको छ।

केन्द्रीय कार्यसमितिको स्थगित बैठक बिहीबार बाट पुन: सुरु हुँदैछ। सो बैठकमा धारणा राख्न बाँकी संस्थापन पक्षका नेताहरूले विशेष अधिवेशनमा जान नसकिने, २१ फागुनका लागि तय भएको चुनावलाई प्राथमिकता दिने र आगामी वर्षको वैशाखमा १५औं महाधिवेशन गर्ने निर्णय लिनु पर्ने धारणा राख्ने समझदारी बनेको भेलामा सहभागी एक नेताले जानकारी दिए।

झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै निवेदन दर्ता गराएको अवस्था एकातिर र अर्कोतिर केन्द्रीय कार्यसमिति बैठकमै महामन्त्रीद्वयले आउँदो मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका नै पेश गर्ने दबाब बढाइरहेका बेला संस्थापनले छुट्टै भेला बोलाएको थियो।

सहभागी नेताहरू अनुसार शीर्ष नेताहरूले भेलामा भएको आन्तरिक समझदारी अनुसार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुन नेताहरू निर्देशन दिएका छन्। ‘समूहको तयारीबारे जानकारी गराइयो। कार्यसमिति बैठकमा कसरी निर्णय गराउने भन्नेबारे छलफल भयो,’ संस्थापन पक्षीय एक महिला केन्द्रीय सदस्यले भनिन्, ‘अब यही कुराहरू बोल्न बाँकी रहेका नेताहरूले बैठकमा बोल्ने भनिएको छ।’

केन्द्रीय सदस्य गुरू बरालले केन्द्रीय कार्यसमिति बैठक अगाडि साझा धारणा बनाउन धोविघाटमा भेला बोलाइएको बताए। उनले भेलामा धारणा राख्ने नेताहरूले नियमित अधिवेशनमा जानुपर्नेमा जोड दिएको जानकारी दिए।

‘भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने नै कुरा हो। साथीहरूले आ–आफ्नो ओपिनियन राख्नुभयो,’ बरालले भने, ‘नियमित अधिवेशन जानुपर्छ, नीतिहरूसहित आउनुपर्छ, निर्वाचनलाई पनि उपयोग गरेर जानुपर्छ भन्ने खालको मत आएको छ।’

पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण १ कात्तिकमा शोक प्रस्ताव पारित गर्दै १३ दिनका लागि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबारबाट फेरि सुरू हुँदैछ।

गत २८ असोजबाट सुरू भएको बैठकमा ३० असोजबाट एजेन्डासहित छलफल सुरू भएको थियो। विभिन्न १० वटा एजेन्डासहित छलफल सुरू भएको बैठक दुई दिनसम्म चलेको थियो।

बैठकमा पार्टीको १५औ‌ं महाधिवेशनबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका थिए। बिहीबारबाट सुरू हुने बैठकमा बाँकी नेताहरूले बोल्ने क्रम सुरू हुने कांग्रेसले जनाएको छ। बैठकमा बोल्न हरेक सदस्यलाई ११ मिनेटको समयावधि छुट्टयाइएको छ।

यसैबीच लामो समय स्थगित भएर फेरि बैठक सुरू हुने भएपछि कांग्रेसको संस्थापन पक्षले मंगलबार र बुधबार गरी दुई दिन आन्तरिक रणनीतिका लागि धोविघाटमा छुट्टै बैठक गरेको हो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसअघि सोही होटलमा २९ असोज र ८ कात्तिकमा संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका थिए।

२९ असोजमै ‘विशेष महाधिवेशन पक्षधर’ समूहले विशेष महाधिवेशनमार्फत् पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग अघि सार्दै १४ औँ महाधिवेशनका झण्डै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएको थियो। तर, केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको एजेन्डा भने पेस भएको छैन।

बिहीबारको भेलाको सुरूवातमा केन्द्रीय सदस्य विमलेन्द्र निधिले धारणा राखेका थिए। ‘सुरुवातै विमल दाइले गर्नुभयो। चुनावमा केन्द्रित हुनुपर्छ, वैशाखभन्दा अगाडि अधिवेशन गर्न सम्भव छैन भन्ने उहाँको कुरो थियो,’ एक पदाधिकारीले भने, ‘यसमा सबैको एक स्वर छ, यसमा कोही टसमस छैनन्।’

‘फुटेर होइन जुटेर जाऔं’

संस्थापन पक्षीय भेलामा केही नेताहरूले पार्टी गम्भीर मोडमा पुगेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। भेलामा केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले पार्टीमा सबैले जुटेर जानुपर्ने बेला आएकोमा जोड दिए।

‘पार्टीमात्रै होइन, देश नै गम्भीर मोडमा छ। यस्तो बेला हामी फुटेर होइन जुटेर जाऔं। विशेष महाधिवेशन भनेर साथीहरू आउनुभएको छ,’ भेलामा उनले भने, ‘उहाँहरूको बारेमा पनि सोचौं, छलफल गरौं। नियमित महाधिवेशनलाई पनि प्रयास गर्नुपर्छ, यतिकै मेरै गोरूको बाह्रै टक्का भनेर गुटै चलाएर तपाईंले के दिने हो?’

अर्का नेता दिलबहादुर पाख्रिनले पार्टीभित्र द्वन्द्व गरेर आउँदो चुनाव नजितिने धारणा राखे। ‘द्वन्द्व गरेर हुँदैन। पार्टी मिलाएर जानुस्, नत्र जितिँदैन। यतिकै चुनावमा गए कहाँबाट जितिने हो?,’ उनको प्रश्न थियो।

पूर्वमन्त्री दीपक खड्काले महाधिवेशन गर्ने कि चुनावमा जाने भन्नेबारे सुनिश्चित गरिनुपर्ने धारणा राखे। ‘चुनाव हो भने चुनावको तयारी गर्नु पर्‍यो। अधिवेशन हो भने अधिवेशनको तयारी गर्नुपर्‍यो,’ उनको भनाइ उद्धृत गर्दे ती नेताले भने, ‘हैन भने पेल्दै जाने, सुन्दै जाने कसरी सकिन्छ?’

स्रोतका अनुसार नेता खड्काले महामन्त्री गगनकुमार थापाले संस्थापन पक्षीय नेतालाई ईंगित गरेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाए। ‘हिजो महामन्त्रीले अनलाइनखबरको अन्तर्वार्तामा ठालुवाद कसलाई भनेका हुन्?,’ उनले संस्थापन पक्षीय शीर्ष नेताहरूलाई प्रश्न गरे, ‘त्यति हुँदा पनि लाचार भएर तपाईं सुन्नेहरू कस्तो हो?’

‘शेखरको साथ पाइने आशा’

संस्थापन पक्षको भेलामा पार्टीमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको साथ पाइने विषय पनि ‘ब्रिफिङ’ भएको छ। कांग्रेसको भ्रातृ संगठनको नेतृत्व गरिसकेका एक केन्द्रीय सदस्यका अनुसार प्रवक्ता डा. प्रकाशशरण महतले त्यसबारे ‘ब्रिफिङ’ गरेका हुन्।

‘चुनावलाई प्राथमिकता दिने, अधिवेशन सारेर वैशाखमा लैजाने कुरामै हामीहरूको जोड हो। प्रवक्ताले हामी सबैलाई यही लाइनमा बोल्न निर्देशन दिनुभयो,’ ती नेताले भने, ‘अझ प्रवक्ताले त अर्को खुलाउनुभयो, त्यो के भने अन्तिममा शेखरजीहरूको पनि साथ मिल्छ भन्नुभयो।’

उठ्यो प्रतिकारको कुरो

भेलामा केही युवा नेताहरूले विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूको पक्षबाट ‘साइबर बुलिङ’ भइरहेको भन्दै प्रतिकारमा उत्रिनुपर्ने धारणासमेत राखेका छन्। तीमध्ये एक नेताले आफूले प्रतिकारमा उत्रिनुपर्ने कुरा भेलामा राखेको स्वीकार नै गरे।

‘हो, मैले भनेकै हो। कि त प्रतिकारमा उत्रिन पर्‍यो कि सरण्डर गर्नुपर्‍यो भनेको हुँ,’ ती नेताले भने, ‘सोसल मिडियामा अत्ति भयो। हामीले आफ्ना कुरा राख्नै नहुने ? झम्टिहाल्नुपर्ने ?’

अर्को पक्षले पेल्दै गए प्रतिकारमा पनि उत्रिनुपर्छ भन्ने शैलीमा धारणा राख्नुभएको हो ? भन्ने अनलाइनखबरले जिज्ञासामा अर्का युवा नेताले पनि स्वीकार गरे। ‘त्यो त हो। साह्रै भयो के। अत्यन्तै तल्लो स्तरमा झरेर प्रस्तुत हुन थाले के साथीहरू,’ उनले भने, ‘खरानी दस्ता भन्या छ। जाइफल झर्ला र खाउँला भन्या छ। यो त अशोभनीय कुरा हो नि त।’

उनले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थकले कुनै समय सामाजिक सञ्जालमार्फत् गर्ने ‘आक्रमण’ पनि स्मरण गराए।

‘हिजो रविका मान्छेहरू जसरी प्रस्तुत हुन्थे नि हो त्यसैगरी प्रस्तुत हुन थाले। अहिले रविका मान्छे कहाँ छन् ?,’ उनले प्रश्न गर्दै थपे, ‘सानो नेगेटिभ कुरा गर्दा बालेनका मान्छेबाट ज्यानै जोगाउन गाह्रो थियो नि होइन, अहिले कहाँ छन् ती ? हो ठ्याक्कै त्यही शैलीमा प्रस्तुत भइरहेका छन्, त्यसलाई प्रतिरोध गर्नुपर्छ भन्ने आशय हो।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?