नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै पहिलोपटक उपाधि जित्यो। यो सिजनमा धेरै उदयी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउने बलियो दाबेदारी प्रस्तुत गरे ।
शेर मल्ल
लुम्बिनी लायन्सका मिस्ट्री स्पीनर शेर मल्ल यो सिजनका सबैभन्दा चर्चित खेलाडी बने । १० खेलमा १७ विकेट लिएर संयुक्त रूपमा सर्वाधिक विकेटटेकर बन्दै इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट भए । फाइनलमा पनि ३ विकेट लिए । यू-१९ र नेपाल 'ए' बाट खेलिसकेका उनले राष्ट्रिय टोलीमा चाँडै डेब्यू गर्ने सम्भावना प्रबल देखिन्छ ।
बसिर अहमद
विराटनगर किङ्सबाट लगातार दुई सिजन एनपीएल खेलेका बसिरले हालै सम्पन्न एनपीएलमा ९ खेलमा १९१ रन बनाए । कर्णाली याक्सविरुद्ध संघर्षपूर्ण अवस्थाबाट नटआउट ६२ रन प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिलाए। संकटबाट टिम उकास्ने क्षमता देखाएका बसिरले कन्सिस्टेन्सी कायम राखे राष्ट्रिय टोलीमा चाँडै पुनरागमन गर्न सक्छन् ।
विनोद भण्डारी
अनुभवी विकेटकिपर-ब्याटर विनोदले सुदूरपश्चिम रोयल्सका लागि ९ खेलमा २६४ रन बनाए, समग्रमा तेस्रो सर्वाधिक रनस्कोररमा उनी परे । २०१४ टी-२० विश्वकप खेलेका भण्डारी पछिल्लो समय राष्ट्रिय टोलीबाहिर छन्, तर यो प्रदर्शनले फेरि मौका पाउने सम्भावना बढाएको छ ।
अविनाश बोहरा
सुदूरपश्चिमका अविनाशले ९ खेलमा १७ विकेट लिएर संयुक्त सर्वाधिक विकेटटेकर बने । डेथ ओभर स्पेसलिस्टका रूपमा चिनिएका बोहरा विश्वकपपछि टोलीबाहिर थिए, तर यो लयले फर्कने ढोका खोलेको छ ।