२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५ औं महाधिवेशन केन्द्रित समीकरणलाई लिएर उनका लागि दुई बाटो रहेको विश्लेषण गर्थे । पहिलो, सभापति शेरबहादुर देउवाको समर्थन लिएर आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने । यो विकल्प नै उनका लागि सबैभन्दा उपयुक्त र बलशाली हुने नेताहरू बताउँदै आएका थिए ।
दोस्रो विकल्पमा कदाचित्, सभापति देउवाले साथ दिएनन् भने आफ्नै बलबुतामा नयाँ समीकरण गराएर प्रतिस्पर्धा गर्ने ।
पछिल्लो समय सभापति देउवालाई भेटेर फर्कने नेताहरूका अनुसार खड्काका लागि अहिले पहिला विकल्पको आधार खडा हुँदै गएको छ । देउवाले आसन्न महाधिवेशनमा खड्कालाई समर्थन गर्ने स्पष्ट पारेका छन् । केही दिनअघि महाराजगञ्जस्थित देउवा निवास पुगेर सभापतिलाँई भेटेका एक केन्द्रीय सदस्यले भने,‘सभापतिमा पूर्णबहादुरलाई सघाउन भन्नुभयो ।’
महाधिवेशनको नजिक विवादमा परिने भयले सभापतिले नेताहरूले औपचारिक रुपमा नाम खुलाउन भने चाहेका छैनन् । सामूहिक रूपमा भेट्ने वा सभापतिसँगै एक्लै भेटेका संस्थापन पक्षका नेताहरूले देउवाले कार्यवाहक सभापतिलाई सघाउन आग्रह गरेको बताउँछन् ।
संस्थापन पक्षबाट सभापतिका स्वभाविक उम्मेदवार खड्का हुन् । कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको पद उनले सम्हालिसकेका छन् । कार्यवाहक सभापति खड्काले सभापतिको उम्मेदवार हुने भनी औपचारिक रुपमा कहीँकतै मुख खोलेका छैनन् ।
उनले मुख नखोले पनि सभापति देउवाले जित्ने गरी तयारी गर्ने गरी खड्कालाई भनिसकेको संस्थापन पक्षका नेताहरू दाबी गर्छन् । खड्का निकटका एक नेताले भने,‘पार लाग्ने गरी तयारी गर्न पूर्णबहादुर दाइलाई सभापतिले भनिसक्नु भएको छ । पछिल्लो समय भेट्न जाने आफू पक्षीय नेताहरूलाई पनि पूर्णबहादुरलाई समर्थन गर्न आग्रह गर्नुभएको छ ।’
खड्काले सभापति उम्मेदवारको औपचारिक घोषणा नगरे पनि उनका समर्थकले प्रचार भने सुरु गरिसकेका छन् । सुझबुझ र निष्ठाको राजनीति गर्दै आएको भन्दै उनको प्रचार सामाजिक सञ्जालमा सुरु गरिएको छ । ‘सुझबुझ र निष्ठासहितको नेतृत्वको आधार, साझा र एकताका निष्कलंक सूत्रधार । अबको सभापति पूर्णबहादुरु खड्का’ नारा तय गरेर प्रचार गरिएको छ ।
कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सच्चा अनुयायी भएको बताउँदै आएका खड्काले सभापति देउवालाई कांग्रेस विभाजन अघिदेखि नै साथ दिँदै आएका छन् । कांग्रेस नेताहरूका अनुसार खड्का देउवाको सुखमा त साथ रहेन नै । देउवा समस्यामा रहेको बेला र उनले चालेको कदमको सधैं सारथी खड्का रहे ।
पार्टी वरीयतामा दोस्रो स्थानमा रहेका खड्का सभापति देउवा जेनजी आन्दोलनपछि उपचाररत हुँदा सबै भन्दा बढी उनी सम्पर्कमा रहेको नेताहरू बताउँछन् । २८ असोजमा उनै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर गए । चुनावअघि महाधिवेशन हुनुपर्ने र हुनै नहुने अडान हुँदा खड्कालाई दुवै पक्षकै कार्यतालिका प्रस्तुत गर्न दिए ।
महामन्त्री गगन थापाले पुसमा महाधिवेशन गर्ने प्रस्ताव सहितको कार्यतालिका ल्याए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव ल्याए । यद्यपि, कुनै कार्यतालिका पनि पारित हुने अवस्था केन्द्रीय समितिबाट बनेन ।

संस्थापन पक्षीय शीर्ष नेताहरूले सहमहामन्त्री यादवले पेस गरेको कार्यतालिकालाई बहुमतका पारित गर्न दबाब दिँदा समेत खड्काले अघि बढाएनन् । सहमति विपरितको प्रस्ताव उनले लान चाहेनन् । बैठक एक महिना बढी लम्बिदा समेत निकास निस्कन नसकेपछि खड्का माथि नै प्रश्न उठाउनेहरू भए ।
आफूप्रति प्रश्न उठाउनेहरूलाई खड्काले भने, ‘मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरूले गर्नुभएको जस्तो सुकै टिप्पणीहरूलाई मेरो सदा सम्मान छ । र, रहने छ । यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न । इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, हाम्रा विगतका गल्ती–कमजोरी स्वीकारी नेपाली जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।’
कांग्रेस नेताहरूका अनुसार संस्थापन पक्षबाट सभापतिको सर्वस्वीकार्य उम्मेदवार हुन खड्काका लागि चुनौती भने छ । पूर्व पदाधिकारीहरूको एउटा समूह उनलाई समर्थन दिने पक्षमा नरहेको नेताहरू विश्लेषण गर्छन् । पूर्व पदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रवक्ता डा. प्रकाशशरण महत लगायत उनीप्रति सकरात्मक नरहेको नेताहरू बताउँछन् । तीन दिन अघि सभापतिलाई भेटेका संस्थापन पक्षका एक नेताले भन्छन्, ‘कार्यवाहक उही हो । तपाईंहरू सबैले साथ दिनुस् भनेर सभापतिले भन्ने हो भने सात भाइले मानिहाल्छन् ।’
कांग्रेसको इतिहासमा कार्यवाहकको भूमिका पाएका नेताहरू सभापति बनेको इतिहास पनि छ । कृष्णप्रसाद भट्टराई, शुसिश कोइराला लगायत पहिले कार्यवाहक बनेर पछि सभापति बनेका थिए । ती नेताको दाबी अनुसार १५औं महाधिवेशनमा कार्यवाहक सभापति खड्का, महामन्त्री गगन थापा र संस्थापनइतरका नेता डा. शेखर कोइराला सभापतिका उम्मेदवार हुनेछन् ।
देउवाका विश्वासपात्र खड्का २०७५ बैशाखमा मनोनित महामन्त्री बने । १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री डा. शशांक कोइराला भन्दा पार्टी सञ्चालनमा उनी हाबी देखिए । गत महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि सभापतिमा प्रत्यासी हुँदा खड्काले सभापति देउवाको प्यानलबाट उपसभापतिमा जिते ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्रीमा डा. प्रकाशशरण महत पराजित हुँदा संस्थापनमा उनको शक्ति थप बढने अवस्था बन्यो । पार्टी वरियतामा देउवा पछिको स्थान उनकै छ । उपसभापतिमा निर्वाचित धनराज गुरुङका भन्दा पार्टीभित्र र बाहिर उनको क्रियाशीलतता प्रभावशाली देखिँदै आएको छ ।
कांग्रेस सत्तामा हुँदा खड्काले शक्तिशाली भनिएका मन्त्रालय सम्हाले । गृह, रक्षा र सञ्चारमन्त्री बनेका उनी कुनै अनियमितामा मुछिएनन् । सत्ताको बलमा शक्तिको दुरुपयोग नगर्ने नेताका रूपमा उनको पार्टीभित्र चित्रण हुँदै आएको छ । आर्थिक अनियमिततामा कहीँकतै मुछिएनन् । आर्थिक रूपमा इमान्दार पहिचान बनाएका खड्कालाई नेता कार्यकर्ता अलि खरो स्वभावको नेताका रूपमा व्याख्या गर्छन् ।
कांग्रेसभित्र समूहभित्र उपसमूह बनाउने प्रचलन पनि छ । यद्यपि, नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख समेत रहेका खड्काले संस्थापन समूहमा गुट निर्माण गर्ने कार्य नगरेको नेताहरू दाबी गर्छन् ।
राज्यसत्ता र पार्टी पदाधिकारीमा पटक-पटक पुगे पनि आफ्नो छुट्टै समूह बनाउन नलागेको उनको सबल पक्ष रहेको नेताहरू बताउँछन् । भ्रातृ संस्थामा समेत कार्यवाहक सभापति खड्काको पक्षमा खुल्नेहरू देखिन्नन् ।
कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे सभापति देउवाले व्यक्ति किटान गरेर अहिले नै कसैलाई वचन नदिएको बताउँछन् । घिमिरेले अनलाइनखबरसँग भने, ‘तिमीहरू लाग । आफू तयारी गर । जो बलियो हुन्छ उसले जित्छ भन्नुभएको होला । व्यक्तिको नाम लिएर कसैलाई अघि बढ भने जस्तो अहिले नै मलाई लाग्दैन ।’
प्रतिक्रिया 4