१७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको चर्को बहस चलिरहेको कांग्रेसभित्र नियमित महाधिवेशन गर्नका लागि दुईथरी कार्यतालिकासहितका प्रस्ताव आएका छन् ।
फागुन २१ को चुनावअघि नै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूको समूहलाई काउन्टर दिन संस्थापन पक्षले मंगलबार वैशाख २७–३० मा महाधिवेशन गर्ने कार्यतालिका पेश गरेको छ ।
यता महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा राखेका छन् ।
चुनावअघि नियमित महाधिवेशन गर्न नसकिने भन्दै संस्थापन पक्षले चुनावपछिको कार्यतालिका ल्याएको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर महामन्त्री थापाले फागुनअघि नै महाधिवेशन गर्न सकिने भन्दै पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखे । पुसमा महाधिवेशन गर्न सकिने तर यो नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्ने उनको धारणा थियो ।
नियमित महाधिवेशन फागुनअघि नै गर्न नसकिने हो भने विशेष महाधिवेशन गर्नुपर्ने माग कांग्रेसभित्र चर्को छ । त्यसका लागि ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन भइसकेको नेताहरुले बताएका छन् ।
नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा रहेका महामन्त्री थापाले महाधिवेशन नगरी निर्वाचनमा जान नसकिने तर्क गरेका थिए । उनले २२ भदौ अघि र हालको नेपालको अवस्था एउटै नभएकाले यो कुरा बुझेर जानुपर्ने उल्लेख गरे ।
महाधिवेशन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाको थियो । राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यसपटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नुपरेको बताए ।
‘हामी एकैपटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’

मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन् भनेर पर्खेर नबसेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ । थापाले पार्टी नेताहरूप्रति प्रश्न गर्दै भने, ‘जनता हामीलाई भोट दिऔं भनेर आतुर भएर बसेका छन् । पार्टीका कमिटीहरू कुरेर बसेका छन् ।’
जेनजी आन्दोलन पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उनले उल्लेख गरे । सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको उनले सुनाए ।
देशका लागि थप तीन विकल्प रहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘थप हिंसामा देश जाने, जे छ त्यस्तै रहने, अहिले मुखरित भएको जनभावनालाई समेटेर त्यसको नेतृत्व गर्ने सम्भावनाहरू रहेको छ ।’
कतिपय आन्दोलनको संस्थागत नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गर्दै थापाले थपे, ‘यो अनिश्चततालाई सम्हाल्छ कसले ? यो अवस्थामा कांग्रेसले म छु, हामी छौं, हामीले सम्हाल्छौं भन्नुपर्ने पनि होइन ?’
महाधिवेशनमा दुई महामन्त्री उम्मेदवार हुन नपाउने शर्त राखे पनि त्यसका लागि तयार रहेको थापाले बताए। थापाले भने, ’कुनै पनि हालतमा पुसमा सक्दै सकिन्न भन्ने हो भने विशेष महाधिवेशन बाहेक विकल्प छैन। यो पटककf लागि तिमीहरू दुईजनाले अधिवेशनको रेसमा भाग लिन पाउँदैनौ भनेर महाधिवेशनतिर लैजाने हो भने पनि हामी तयार । त्यो कुराले गाँठो खुल्छ भनेर बाचाबन्धन गरेर जाउँ ।’

अहिले संस्थापन पक्षका नेताहरू महाधिवेशनतर्फ लागेमा चुनाव प्रभावित हुने भनिरहेका छन् । मंगलबार त संसद् पुनर्स्थापनाको माग राखिरहेका नेता कृष्ण सिटौलाले समेत चुनावमा जाने निर्णय गर्नुपर्ने प्रस्ताव राखे । जेनजी आन्दोलनपछि पहिलोपटक भौतिक रूपमा भएको कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकमा सिटौलाले पार्टीको प्रमुख मुद्दा संसद् पुनर्स्थापना हुनुपर्ने बताएका थिए । चुनावका कारणले महाधिवेशन गर्न सम्भव नहुने सिटौलाको निचोड थियो ।
सभापति शेरबहादुर देउवा उपचारको क्रममा रहेका बेला उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा त्यसदिन बैठक बसेको थियो ।
संसद् विघटन संविधानसम्मत नरहेको, अदालतले यसलाई परीक्षण गर्ने र चुनावमा जाने निर्णय गर्ने प्रस्ताव उक्त बैठकमा राखिएको थियो । त्यसअघि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा जानुपर्ने विचार राखेका थिए ।
त्यसबेला संसद पुनर्स्थापनाको मुद्दालाई जोड दिएका सिटौलाले आजको केन्द्रीय समिति बैठकमा भने चुनावको पक्षमा विचार राखेको बैठकमा सहभागी एक नेताले जानकारी गराए । बैठकमा सिटौलाको प्रश्न थियो,‘चुनावको निर्णय गर्न किन ढिलाइ भइरहेको छ ?’
सिटौलाले वर्तमान कार्यसमिति लिएर नै चुनावमा जानुपर्ने विचार राखेका थिए । महामन्त्री गगन थापाले द्रुत गतिमा महाधिवेशन गर्ने भनेर ल्याएको तालिका अनुसार अहिलेको समिति दौडिन नसक्ने सिटौलाको भनाइ छ ।
अब के हुन्छ ?
कांग्रेसमा महाधिवेशनका दुईथरी कार्यतालिका पेस भएपछि अब के हुन्छ भन्ने चासो छ । दुवै पक्षका नेताहरूका अनुसार अब दुवैथरी कार्यतालिकामा केन्द्रित रहेर बैठकमा छलफल हुन्छ । तर सहमहामन्त्री महेन्द्र यादवले ल्याएको प्रस्ताव आधिकारिक नहुने भन्दै इतर पक्षले प्रश्न उठाएको छ । किनकी महामन्त्रीले पेश गर्ने प्रस्तावलाई बैठकमा यसअघि आधिकारिकता दिने अभ्यास छ ।
यदि सहमहामन्त्री यादवको प्रस्तावले आधिकारिकता पाएमा केन्द्रीय समितिको बहुमतले पारित हुने सम्भावना रहन्छ । किनकी, केन्द्रीय समितिका बहुमत सदस्यहरू अहिले पनि संस्थापन खेमाका छन् ।
त्यस्तो भयो भने वैशाखको कार्यतालिका पास गरी फागुनको चुनावमा भाग लिने निर्णय गर्ने सम्भावना छ ।
चुनाव पछि महाधिवेशन गर्ने भन्ने निर्णय आयो भने करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरिरहेको विशेष महाधिवेशनको माग अझै चर्किन सक्छ । मंगलबारै पनि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका नेताहरूले काठमाडौंमा भेला गरी यसको पक्षमा केन्द्रीय समितिले छिटो निर्णय गर्नुपर्ने दबाब दिएका थिए ।
कांग्रेसको विधानमा केन्द्रीय समिति वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ । तर संस्थापन पक्षका केही नेताहरू महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरको प्रयोजन अब सकिएको समेत भन्न थालेका छन् । जसका कारण संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच तिक्तता चुलिएको छ ।
एक नेता भन्छन्– यदि विशेष महाधिवेशन गर्ने दिशामा संस्थापन पक्ष गयो भने पनि त्यसको एजेण्डा के हुने भन्नेमा अर्को विवाद हुनसक्छ। विशेष महाधिवेशनको विधि र एजेण्डा के हुने भन्ने विवादले पनि समय लिनसक्छ ।
प्रतिक्रिया 4