+
+
Shares
कांग्रेस विवाद :

संस्थापन गर्दैछ सहमतिको प्रयास, असन्तुष्ट समूह थाल्दैछ प्रदेश भेला

विशेष महाधिवेशनको म्यान्डेटभित्र रहेर अधिकतम लचिलो हुने नीति अपनाउँदै संस्थापनले केन्द्रीय कार्यसमिति, विभाग र पार्टीका अन्य संरचनाहरूमा असन्तुष्ट समूहलाई समावेश गरेर विवाद समाधान गर्न खोजिरहेको छ । यता देउवा समूह भने प्रदेशस्तरिय भेलाको तयारीमा छ

केशव सावद केशव सावद
२०८३ वैशाख २४ गते १६:३९

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि चर्किएको विवाद समाधानका लागि संस्थापन पक्षले असन्तुष्ट पक्षसँग संवाद र मेलमिलापको प्रयास गरिरहेको छ ।

विशेष महाधिवेशनको म्यान्डेटभित्र रहेर अधिकतम लचिलो हुने नीति अपनाउँदै संस्थापनले केन्द्रीय कार्यसमिति, विभाग र पार्टीका अन्य संरचनाहरूमा असन्तुष्ट समूहलाई समावेश गरेर विवाद समाधान गर्न खोजिरहेको छ ।

सभापति गगनकुमार थापालगायतका नेता आपसी मतभेद सुल्झाउँदै पार्टीलाई एकढिक्का बनाउने ‘रोडम्याप’ तयार गर्न आन्तरिक छलफलमा जुटेका संस्थापन पक्षीय नेताहरू बताउँछन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेल आसन्न १५ औं महाधिवेशनलाई निष्पक्ष र पूर्वाग्रहरहित बनाउन विधानको परिधिभित्र रहेर जिम्मेवारी बाँडफाँड गर्ने योजना पार्टीको रहेको बताउँछन् ।

उनी पार्टीको केन्द्रीय कार्यसमिति र विभिन्न विभागहरू खाली राखिनुलाई संस्थापनले असन्तुष्ट पक्षलाई पर्खेर बसेको स्पष्ट संकेतका रूपमा अर्थ्याए ।

‘यति लामो समयसम्म केन्द्रीय समितिलाई पूर्णता नदिनु, विभागहरूलाई पूर्णता नदिनु भनेको उहाँहरू (असन्तुष्ट पक्ष) लाई पर्खेर बसेको स्थिति हो,’ महामन्त्री पौडेलले भने ।

उनले विशेष महाधिवेशनको म्यान्डेट भित्र रहेर असन्तुष्ट पक्षलाई सँगसँगै लैजान सभापति थापा तयार रहेका पनि बताए । ‘विशेष महाधिवेशनको म्यान्डेटभित्र उहाँहरूलाई सँगै लैजाने कुरामा सभापतिज्यूसहित हामी सबै तयार छौं,’ पौडेलले भने ।

महामन्त्री प्रदीप पौडेल

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीलाई एकताबद्ध बनाउने विषयमा नेताहरूसँग छलफल भइरहेको बताए । ‘हामी असन्तुष्ट पक्षलाई मिलाउने प्रयासमा छौं । पार्टी एकतालाई प्राथमिकतामा राखेर काम गर्दै छौं,’ उनले भने ।

संस्थापन पक्षले असन्तुष्ट नेताहरूलाई केन्द्रीय कार्यसमितिमा मात्र नभएर महत्वपूर्ण संरचनाहरूमा समेत जिम्मेवारी दिने मनस्थिति बनाएको छ ।

सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समितिमा समेत उनीहरूलाई समावेश गरेर महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र पूर्वाग्रहरहित बनाउने योजना संस्थापनको छ ।

प्रवक्ता चालिसेले असन्तुष्ट पक्षलाई केन्द्रीय कार्यसमितिसँगै सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति, निर्वाचन समितिमा सहभागी गराएर पार्टीमा मेलमिलाप गरिने बताए ।

‘अधिवेशनको निष्पक्षताका लागि सबैभन्दा महत्त्वपूर्ण सदस्यता व्यवस्थापन हो । त्यसका लागि सदस्यता समितिमा उहाँहरूलाई राख्छौं,’ उनले भने, ‘अनुशासन समितिमा पनि सहभागी गराउँदा निष्पक्षताको ज्ञारेन्टी हुन्छ ।’

महामन्त्री पौडेलले पार्टीको एकताका लागि केन्द्रीय कार्यसमितिको बाँकी रहेका पदमा असन्तुष्ट पक्षबाट ९० प्रतिशत नेताहरू राखिने बताए ।

प्रवक्ता देवराज चालिसे

‘केन्द्रीय कार्यसमितिमा ९० प्रतिशत साथीहरू समेटेर जाने कुरो भएको छ,’ उनले भने, ‘योबारे सभापतिजीले पनि प्रष्टै भन्नु भएको छ ।’

प्रवक्ता चालिसेले असन्तुष्ट पक्षीय नेताहरूलाई विश्वासमा लिएर आफूहरू केन्द्रीय कार्यसमिति विस्तार गर्न तयार रहेको बताए । असन्तुष्ट पक्षका नेताहरूले ‘ग्रिन सिग्नल’ दिएलगत्तै केन्द्रीय कार्यसमिति विस्तार हुने उनको भनाइ छ ।

‘केन्द्रीय कार्यसमितिमा उहाँहरूले ग्रिन सिग्नल दिएको भोलिपल्टै एक घण्टामा मनोनित हुन्छ,’ चालिसेले भने, ‘लगभग–लगभग धेरै साथीहरू तम्तयार छन् । तर, त्यसरी गर्नुभन्दा नेताहरूलाई विश्वासमा लिएर गरेको राम्रो हुन्छ भनेर भनेका छौं ।

विधानभित्रै अधिकतम लचकता

मेलमिलापका नाममा विधान र कानुनी प्रावधानभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने संस्थापन पक्षीय नेताहरूको भनाइ छ । प्रवक्ता चालिसेले पार्टी मिलाउने नाममा विधानभन्दा बाहिर गएर भने कुनै काम नहुने बताए ।

‘कानुनी शासन मान्छु भन्ने मान्छेहरूले कानुनको उल्लंघन गर्न मिल्दैन,’ प्रवक्ता चालिसेले भने, ‘विधानले नचिन्ने संरचनामा जान सकिँदैन ।’ उनको यो भनाइ महाधिवेशन आयोजक समिति गठनका लागि असन्तुष्ट पक्षले गरिरहेको मागतिर लक्षित देखिन्छ ।

महामन्त्री पौडेलले पनि विशेष महाधिवेशनको म्यान्डेट बाहिर जान नसकिने प्रष्ट्याए । पार्टीमा मेलमिलापका लागि विधानभित्र रहेर अधिकतम लचता अपनाउने कोसिसमा आफूहरू रहेको उनको भनाइ छ ।

महामन्त्री पौडेलले भने, ‘विशेष महाधिवेशनको म्यान्डेट बाहिर जानसक्ने स्थिति छैन । त्यसभित्र बसेर बाँकी सबै कुरामा उहाँहरूलाई समावेश गर्ने गरी अधिकतम लचकता अपनाउने कोसिस गरिरहेका छौं ।’

पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले असन्तुष्ट पक्षीय शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । उनले मंगलबार बिहान डा. शेखर कोइराला र बुधबार दिउँसो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वार्ता गरेका थिए ।

‘मेलमिलापका लागि हामी सबै सभापतिजी समेत संवाद गर्नलाई लागिरहेको स्थिति छ । बाहिर मिडियामा पनि यो कुरा आइरहेकै छ,’ महामन्त्री पौडेलले भने, ‘हामीले आफ्नो तर्फबाट गर्नसक्ने कुरा के हो, त्यो पनि प्रस्ट भनेका छौं ।’

देउवा समूहको बागमती प्रदेशस्तरीय भेला

संस्थापन पक्ष पार्टी मेलमिलापका लागि प्रयासरत रहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बागमती प्रदेशस्तरीय भेलाको तयारी गरेको छ ।

नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बुधबार बसेको बागमतीका अगुवा नेता–कार्यकर्ताको छलफलले भेला बलाउने निर्णय गरेको हो ।

चाक्सीबारी अगुवा नेता–कार्यकर्ताको छलफल

देउवा समूहको बागमती प्रदेशस्तरीय भेला ३० वैशाखका लागि तय गरिएको नेताहरूले बताएका छन् । उनीहरूका अनुसार भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

देउवा पक्षीय नेताहरूले पार्टीलाई एकताबद्ध बनाउनका लागि बागमती प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय भएको पनि बताएका छन् । यसअघि निवर्तमान कार्यवाहक सभापति खड्काले १५ वैशाखमा दुई दिने भेला बोलाएका थिए ।

भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू सहभागी थिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?