+
+
Shares
विद्याधर मल्लिकसँग वार्ता : :

‘जेनजी र दलहरूले चुनाव नभए अस्थिरताको भूमरी आउँछ भन्ने बुझ्नुपर्छ’

संसद नभएको बेलामा, एउटा विशिष्ट परिस्थितिमा एउटा मान्छे हटाएर अर्को मान्छे, अर्को मान्छे हटाएर तेस्रो मान्छे भन्नेतर्फ गइयो भने यसले आशंकाको भूमरी मात्र सिर्जना गर्छ । सङ्क्रमणकालमा सरकार बदल्ने कुरा झनै घातक हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १३:०८

जेनजी आन्दोलनको तीन महिनापछि सरकार र आन्दोलनकारी समूहबीच एउटा बृहत सहमति भएको छ । यो सहमतिले जेनजी आन्दोलनलाई संस्थागत गरेको छ । सरकार, दलहरू र जेनजीहरूबीच संवाद र छलफल गुणात्मक रुपमा अघि नबढिरहेका बेला सहजीकरणका लागि नागरिक समाजका केही अगुवाहरुले पनि भूमिका खेलका थिए । त्यसैमध्येका एक हुन् पूर्वमन्त्री विद्याधर मल्लिक । सरकार र जेनजीहरूबीच गत साता भएको सहमतिको हस्ताक्षर गर्ने समारोहमा समेत उपस्थित मल्लिकसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :   

सरकार र जेनजी आन्दोलनकारीबीच गत साता सम्झौता भयो । तपाईं सरकार र जेनजीका समूहहरूसँग एक प्रकारले सहजकर्ताको हिसाबले कुनै न कुनै भूमिकामा संलग्न हुनुहुन्थ्यो । खासमा यो सहमति कसरी बन्यो र त्यो सहमतिको भावना के हो ?

जहिले सरकार बन्यो त्यो बेलादेखि नै यस्तो सहमति चाहिन्छ भन्ने कुरा भइरहेको थियो । जेनजीका अगुवाले यो कुरा गर्दै गएका थिए । जेनजीका अगुवाहरूले नै सहमतिको एकसरो ड्राफ्ट गरेका थिए ।

उहाँहरूले सुरुमै सरकारले यसलाई आन्दोलनको रूपमा मान्यता देओस् भन्ने चाहनु भएको थियो । किनकी नेपालको इतिहासमा यो आन्दोलन अङ्कित होस् र त्यो अनुसारले हामी अगाडि बढ्न सकौं भन्ने उहाँहरूको चाहना थियो ।

भ्रष्टाचार न्यूनीकरण  र संवैधानिक सुधारका कुराहरू पनि उहाँहरुको थियो । जेनजीले अहिले संविधानलाई मानेर जानुपर्छ, संविधानको आधारभूत स्तम्भहरूलाई भत्काउँदाखेरि झनै देशमा समस्या बढ्छ, स्थिरता जान्छ, त्यो हुन नदिऊँ भन्ने कुरामा एकमत हुनुहुन्छ ।

७०–७५ प्रतिशत जेनजीका मुभमेन्टमा लागेकाहरु अहिले मध्यमार्गी धारमा हुनुहुन्छ । जेनजी एलायन्स, जेनजी फ्रन्ट, जेनजी काउन्सिल सबैले संविधानको आधारभूत मान्यताहरु मान्छौं भन्नुभएको छ । संविधानभित्र व्यापक सुधार गर्नुपर्ने कुरा पनि छ । समानुपातिक, पूर्ण समानुपातिक, समावेशीता कुराहरू पनि उठेका छन्  ।

सम्झौताले संविधानका आधारभूत के–के कुराहरूलाई स्वीकारेको छ ?

गणतन्त्र, पूर्ण लोकतन्त्र, समावेशी/समानुपातिक, सङ्घीयता, धर्मनिरपेक्षता  मान्ने कुरा यसमा छन् । राजा चाहिन्छ भन्ने जेनजी पनि छन् होलान् । तर करिब ७५ प्रतिशतले चाहिँ यही संविधानलाई मान्ने कुरा गर्नुभएको छ ।

यो सम्झौताले जेनजी आन्दोलनलाई ‘जनआन्दोलन’ भनेर  मान्यता दियो । किन जनआन्दोलन भनियो ?

यो क्रान्ति नै हो । तर यो क्रान्तिको स्वरूप फरक हो । यो डिजिटल क्रान्ति हो, जुन पहिलाको पुस्ताले बुझेकै थिएन ।

संसारभर जेनजी आन्दोलन भएको छ । सबै ठाउँमा आन्दोलन भनिएको छ । सम्झौताका क्रममा प्रधानमन्त्रीले बोल्दाखेरि पनि एक प्रकारले नेपालमा जेनजी आन्दोलनले मान्यता पाएर एउटा गुरु राष्ट्र जस्तो बन्यो भन्नुभएको छ ।

यो वास्तवमा जनआन्दोलन हो । किनभने अहिलेसम्म हाम्रो सय वर्षकै प्रजातान्त्रिक आन्दोलनहरूमा रूपान्तरणकारी परिवर्तन गर्न खोजिएको छ । लोकतन्त्रकै कुरा गर्ने हो भने सात सालमै नेपालमा प्रजातन्त्र आइसकेको हो नि । नाममा लोकतन्त्र त आइसकेको हो ।

तर फेरि अपहरण गरियो, डेलिभरी भएन । लोकतन्त्रको डेलिभरी  भएन । लोकतान्त्रिक मूल्यको डेलिभरी भएन । लोकतन्त्र अक्षरमा आयो, कागजमा आयो, ब्ल्याक एन्ड ह्वाइटमा राम्रो संविधान बन्यो । संविधानलाई दुनियाँले कतिले माने पनि होलान्, मानेनन् पनि होला ।

अहिलेको यो आन्दोलनको मुख्य कारण नै व्यापक जननैराश्यता थियो । किनकी यहाँ नागरिकलाई समान रूपमा हेरिएन । सबैलाई बराबरी ठानिएन । राज्यका अङ्गहरूले आफूसँग ठोक्किन आएको नागरिकहरूलाई यदि बराबरी हेर्दैन भने कागजमा तिमीहरू बराबरी छौं भनेर लेखेर त पुगेन नि ।

सङ्घीयता कागजमा दिएर भएन । यो खर्चिलो, महँगो भयो भन्ने बहसले मात्र पुगेन । सङ्घीयताको अभ्यास नै राम्रो गरिएको छैन । तल्लो तहमा जुन लोकतान्त्रिक अभ्यास हुनुपर्‍थ्यो, जुन भूमिका उनीहरूले पाउनुपर्‍थ्यो, उनीहरूको आवाज मुखरित भएर जुन सुन्ने बानी बस्नुपर्‍थ्यो, त्यो सुन्ने बानी भएन । त्यसैले यो विद्रोह भयो ।

सम्झौताभित्र दुईवटा महत्वपूर्ण कुरा छन् । एउटा संविधान संशोधनका लागि एउटा आयोग बनाउने कुरा छ, अनि अर्को चाहिँ भ्रष्टाचारको छानबिन, सम्पत्ति छानबिन गर्ने कुरा छ । यो तत्काल गर्न सम्भव छ ?

सम्भव छ । राजनीतिक दल, नागरिक समाजमा चाहिँ यसलाई बढी चर्चामा ल्याएर छलफलमा जानुपर्छ । संविधान संशोधनका कुरा नेपाली कांग्रेस, एमालेले विगतमा गरेकै थिए । एउटा आयोग बनाउँछौं, गर्छौं वा एउटा कार्यदल बनाउँछौं भनेर उहाँहरूले भनिराख्नुभएको थियो ।

अहिले एउटा विज्ञहरूको समूह बनाएर काम प्रारम्भ गर्न सकिन्छ । त्यसलाई पछि चुनिएर आउने जनप्रतिनिधिहरूले पनि छलफल गरेर उपयुक्त कुराहरुको स्वामित्व लिई संविधानमा संशोधन गर्न सक्छन् ।

आयोग बनाउन चुनाव पछाडि कि चुनाव अगाडि ठिक हुन्छ ?

चुनाव अगाडि बन्नु राम्रो हुन्छ । आयोग जति छिटो बनाउन सक्यो, त्यति राम्रो हुन्छ । आयोगका लागि चुनाव पर्खिनु पर्दैन ।

यो आयोगले आफ्नो काम गर्दै गर्छ । यसले सुझाव लिँदै गर्छ । सुझावहरू लिँदै जाँदाखेरि राजनीतिक दलहरूलाई पनि फाइदा छ ।  दलहरुलाई पनि जनतामा जान एजेन्डा चाहिएको छ, घोषणापत्रमा राख्ने संवैधानिक सुधारका कुराहरु चाहिएको छ ।

घोषणापत्रमा अब खाली सर्भिस डेलिभरी, गुड गभर्नेन्सको कुरा मात्रै दिएर त नपुग्ला । संविधानमा संशोधनको कुरा पनि चाहिएला । दलहरु र आम जनताले चाहेका साझा सुधारका कुराहरु राखि छिटै संवैधानिक सुधार गर्न सम्भव हुन्छ ।

भ्रष्टाचार, सम्पत्ति छानबिनको विषय पनि सहमतिमा छ । त्यो काम कसरी अगाडि बढ्न सक्ला ?

स्थायी प्रकृतिको आयोग बनाउने कुरा छ । त्यसलाई संविधान सुधार सुझावको कुरासँग पनि जोडेर हेर्न सकिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सरकारसँग भएका अन्य निकायहरूलाई पनि कसरी राख्ने भन्ने कुरा गर्न संवैधानिक सुधारका बखत गर्न सकिन्छ ।

मुख्यकुरा सदाचार पद्दतीलाई मुलुकका सबै निकायमा कायम गराउन जरुरी छ । समग्र प्रशासन संयन्त्रमा सुशासन स्थापना गर्नु जरुरी छ । अहिले त्यसका लागि एउटा ‘ब्लुप्रिन्ट’ बन्यो भने भोलिपर्सि त्यसलाई आधार बनाएर निर्वाचित सरकारले काम गर्न सक्छ ।

अहिलेको यो सरकारले त आफूसँग भइराखेको मेसिनरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कुरा गरेर जति छिटो भ्रष्टाचार नियन्त्रणतर्फ डेलिभरी गर्न सकिन्छ । नयाँ आयोग बनाएर अहिले नै सबै काम गर्न सक्ने समय अहिलेको सरकारसँग छैन ।

यो सहमतिमा एउटा जेनजी काउन्सिल बनाउने कुरा पनि छ । त्यो चाहिँ चाँडो बन्नुपर्छ । त्यो बन्यो र जेनजी उमेर समूहका युवाहरुका ऊर्जालाई समाजले सकारात्मक रुपमा उपयोग गर्न सक्यो भने युवाशक्तिको ऊर्जा प्रयोग गर्ने एउटा ठूलो आधार तय हुन्छ । उनीहरूका आवाज सुन्ने निकाय पनि हुन्छ । अहिले जसरी बाहिर छरपस्ट भएर बस्नु पर्दैन ।

यसले राजनीतिक दलहरूलाई नै संवादका लागि सहयोग गर्छ । पार्टीहरूकै युवाहरूमा पनि फरक–फरक समूह छन् । ती समूहलाई पार्टीभित्र बोल्न पनि दिइएको छैन । उनीहरुले पनि आफ्ना कुरा राख्ने ठाउँ हुनुपर्छ  ।

जेनजी काउन्सिल चाहिँ चुनाव अघि कि पछि बनाउनु उपयुक्त हो ?

जेनजी काउन्सिल तत्काल बनाइहाल्नु उपयुक्त हो । सरकारले चाँडै यो काम गर्नुपर्छ । बनाउनु अघि काउन्सिलमा को बस्ने, कसरी बस्ने, उहाँहरूको कार्यादेश के हुने भन्ने तय गर्नुपर्छ ।

जेनजीसँगको यति ठूलो सहमति भइराख्दा पनि यसलाई किन दलहरुमाझ ल्याएर बृहत सहमतिको दस्तावेज बनाउन सकिएन ?

म एउटा स्वतन्त्र व्यक्तिको रूपमा के देख्छु भने, यो सहमति गर्ने भनेर धेरै तयारी गरिएको थियो र सरकारको पनि धेरै समय यस कार्यमा खर्च भइसकेको थियो । कहिँ न कहिँ अनौपचारिक ढङ्गले दलहरूसँग उहाँहरूले कुरा गर्नु भएको पनि थियो होला ।

दलका शीर्ष नेतृत्वहरूसँग कुनै औपचारिक नभए पनि, कहिँ न कहिँ अनौपचारिक भेटघाटहरुमा यो विषय आएको थियो होला । यो कुनै सरप्राइज इभेन्ट चाहिँ होइन ।

दलहरू, जेनजी, सरकारका प्रतिनिधि सबै एकै ठाउँमा बसेर औपचारिक वार्ताहरू पनि गर्न भ्याएको भए यसको स्वामित्व चाहिँ विस्तार हुन्थ्यो ।

जेनजी आन्दोलनको सहमतिलाई सफल कार्यान्वयन गर्नका लागि सरकार र जेनजी दुवै पक्षले के–केमा मुख्य ध्यान दिनुपर्छ ?

अहिले अन्तरपुस्ता संवादको समस्या थियो । राजनीतिक पार्टीहरूमा पनि जेनेरेसन ग्याप थियो । अब पुराना नेताहरू पनि जेनजीका कुरा बुझ्ने भएका छन् । जेनजीहरूले पनि कुरा बुझ्नुभएको छ । सरकारका सीमितता पनि जेनजीले बुझ्न थालेका छन् । जेनजीका कुरा पनि अरुले बुझेका छन् । त्यसैले सहमति कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्छ ।

जेनजी पुस्ताका नवयुवाहरूलाई आफ्नो बनाउनलाई उहाँहरूको भाषाको, श्रवण संवाद गर्ने शैली आफूले पनि सिक्नु पर्छ । आफूहरूको अनुभव उहाँहरूसँग सेयर गर्नुपर्छ ।

‘पेट्रनाइज’ गर्ने होइन, बा–आमा बन्ने होइन । तर आफूसँग भएका क्षमताहरू, भूराजनीतिमा जेलिएको विशिष्ट अवस्था लगायतका विषयमा ज्ञान साझा गर्नुपर्छ ।

जेनजीहरूले संविधानमा त टेक्नु पर्दो रहेछ, यो संविधान सभाबाट बनेको संविधान ल्याउनका लागि फेरि गाह्रो पर्छ भन्ने बुझ्नु भो, यो ठूलो कुरा हो । सहमति हुने क्रममा केही युवाहरूले एग्रेसन पनि देखाउनुभयो तर यो सम्झौताको आत्मामा र नेपालको संवैधानिक लोकतन्त्रको विकासप्रति सबैको समर्थन र साझा दृष्टिकोण छ भन्ने कुराप्रति सबैले ख्याल गर्नुपर्छ ।

अहिले चुनाव हुने कि नहुने भन्ने हल्ला पनि चलिरहेका छन् । यो सहमतिले चुनावलाई कति सहज पारेको छ ?

यो सहमतिले चुनावको प्रक्रियालाई त्यति डिस्टर्ब नगर्ला । किनभने, यसमा केही आयोग बनाउने कुरा छन् । ती दीर्घकालीन सुधारका छन् ।

जेनजीहरूले अहिले तत्कालै गर्नुपर्ने सुधार अन्तर्गत अन्तर क्षेत्र निर्वाचनमा भोट दिन पाउने व्यवस्था गर्नुपर्‍यो भन्ने छ । त्यस बाहेक विदेशमा बस्नेले भोट दिन पाउने कुरा पनि छन् ।

यो सम्झौतामा भएका कुराले चुनावलाई असर पार्ने कुनै सम्भावना छैन त ?

चुनावलाई यसले डिस्टर्ब गर्दैन । एउटा अध्यादेश चाहिँ निर्वाचन गराउनकै लागि सहज हुने गरी तयारी अवस्थामा भए जस्तो लाग्छ । निर्वाचन आयोगले चुनाव गराउन सक्छु भनेको भन्यै छ । त्यसैले अब चुनावमा कुनै असर पर्दैन जस्तो लाग्छ ।

यदि चुनावमा असर पर्‍यो र भएन भने हामी कहाँ पुग्छौं ? त्यो सबैले ख्याल गर्नुपर्छ । समयमै चुनाव गरेर निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न सबैले सहयोग गर्नैपर्छ ।

एउटा कुरा के हो भने यदि यो सरकारले चुनाव गराउन सकेन भने अन्य कुनै सरकारले पनि सक्दैन । त्यसैले सरकार बदलिने लगायतका अनेक हल्लाहरु बेकार हुन् । यस्ता कुराहरूको पछि लाग्दा त्यसले देशलाई झनै अस्थिरताको भूमरी र जालझेलमा फसाउँछ ।

समयमा चुनाव नहुने कुरा कहाँबाट आइरहेको छ ?

समयमा चुनाव नहुने कुनै कुरा सरकारबाट आएको छैन । प्रधानमन्त्री लगायत, गृहमन्त्री, निर्वाचन आयोग, सुरक्षा निकाय—जोसँग बुझे पनि, सरकारमा भएका मान्छेहरू चुनावमै छन् । उनीहरूले पारदर्शी ढंगले नै आफ्ना योजनाहरू बाहिर ल्याइरहेका छन् ।

चुनावको माहोल यदि बन्न सकिराखेको छैन भने त्यो सरकारको कारणले होइन । चुनावको मिति सर्‍यो भने दलहरूका कारणले सर्छ ।

अहिलेको परिस्थितिमा शान्ति सुरक्षासँगै त्यत्रो ठूलो धनजन, प्रहरी चौकीहरूको क्षति हुँदाखेरिको परिप्रेक्ष्य र त्यसमा जनता आफैँले सहयोग गरेर प्रहरीको बिटहरू बनाइदिएको सकारात्मक कुरा छ । जनताको सहयोग त छ नि प्रहरीलाई, हैन ?

प्रहरीको मनोबल बढाउन जनताको सहयोग नभईकन दलहरूको सहयोग नभइकन पनि त मनोबल बढ्दैन । त्यो दुइटैको पनि सहयोग आवश्यक छ । त्यसकारणले प्रहरी पनि चुनाव गराउन शान्तिसुरक्षाका दृष्टिले सक्षम हुनेछ ।

निर्वाचन आयोगमा त सदस्यहरू थपिए नथपिए पनि केही फरक परेको छैन । राम्रो दिशामा गइरहेको छ ।

समस्याको जड कहाँ छ त ?

समस्या सरकारमा छैन, सरकार बाहिरका पक्षहरूमा छ । हाम्रोमा एकथरी हल्ला चल्ने र त्यो हल्ला पत्याएर हिँड्ने जमात पनि छ । त्यसैले चुनाव हुँदैन चुनाव सर्छ है भन्ने भाष्य पनि खडा गर्छ ।

चुनावको माहोल यदि बन्न सकिराखेको छैन भने त्यो सरकारको कारणले होइन । सरकारले त प्राविधिक तयारी गरेर इन्गेज गराइदिने हो । बाँकी मत माग्न जानेहरूले नै चुनावको माहोल सिर्जना गर्नु पर्‍यो । पार्टीहरूले महाधिवेशन गरिराखेका छन् । राजनीतिक दलको महाधिवेशन हुनु भनेकै चुनावी माहोलको लागि एउटा कदम हो, हैन ?

त्यो मानेमा नेकपा एमाले, नेपाली कांग्रेस लगायत जस–जसको महाधिवेशनहरू आसन्न छ वा हुँदै गरेको छ, उहाँहरू सबैले चुनावी माहोल बनाउनलाई मद्दत नगर्नु भएको पनि होइन । त्यसैले सरकारले चुनाव पनि गराउँछ, राजनीतिक दलहरूले भाग पनि लिनुहुन्छ ।

छुट्टै व्यक्ति र राजनीतिक दलले रुचाएका मन्त्रीहरू राखेर सरकार बनाए मात्र चुनाव हुनसक्ने कुरा पनि सुनिन्छ यसबारे तपाईंको धारणा के छ ?

मेरो विचारमा यो खालको कुराले सहयोग गर्दैन । यो कोर्समा जानु एकदमै सरासर बेठिक छ । यो कुराहरू जसले भन्दैछ त्यो उसले आफ्नो स्वार्थका लागि भनेको हो । देश यतिका वर्ष स्वार्थहरूको भूमरीमा रुमलियो । अहिले पनि त्यही चिजलाई फेरि फर्की–फर्की आउन दिनु हुँदैन । यतातर्फ गयो भने फेरि हिंसा पनि बढ्छ, चुनाव हुन पनि गाह्रो हुन्छ । समाजलाई एकै ठाउँमा, एक ढिक्का भएर आफ्नो भविष्य सोच्नलाई यसले चाहिँ झनै गाह्रो पार्छ ।

राम्रो चाहिँ यो सरकारले चुनाव गरेर सर्लक्क छोड्ने हो । चुनाव गराएर जनताका प्रतिनिधिलाई छोडिदिएपछि बाँकी द्वन्द्वको व्यवस्थापन उहाँ दलहरु आफैंले पछि गर्नु जाति हो ।

संसद नभएको बेलामा, एउटा विशिष्ट परिस्थितिमा एउटा मान्छे हटाएर अर्को मान्छे, अर्को मान्छे हटाएर तेस्रो मान्छे भन्नेतर्फ गइयो भने यसले आशंकाको भूमरी मात्र सिर्जना गर्छ । सङ्क्रमणकालमा सरकार बदल्ने कुरा झनै घातक हुन्छ ।

चुनावको निर्धारित मिति तलमाथि हुने हो कि भन्ने पनि सुनिन्छ नि ?

चुनाव निर्धारित मितिमै हुने अवस्था छ । किनकी अब नेकपा एमालेको महाधिवेशन सकिन लाग्यो त्यसपछि उसले एउटा कोर्स लिन्छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको महाधिवेशन बाँकी छ । महाधिवेशनको मिति तोक्नलाई नै उहाँहरूले महिनौं लाउनुभयो ।  जब कि कानुनत: उहाँहरूको यो म्यान्डेटरी व्यवस्था हो, गर्नैपर्ने थियो नि त महाधिवेशन, हैन ? अब उहाँहरूले यसलाई चाहिँ पहिला ढिला गर्नुभयो, पछि चुनावसम्म ठोकाउनुभयो ।

जेनजीले चुनावको लागि भयरहित वातावरण बनाउन र निश्पक्ष धाँधलिरहित आमजनताको व्यापक सहभागितामा चुनाव तोकिएको मितिमै सम्पन्न गर्न मद्दत गर्नु पर्दछ ।

चुनावसम्म ठोकाउँदाखेरि पनि अब यति समय लगाइदिनुभयो कि, त्यो समयलाई प्रयोग गरेको भए अहिलेसम्म महाधिवेशन भइनै सक्थ्यो । एमालेको जस्तै अर्को एक–दुई हप्तामा भइसक्थ्यो । त्यो पनि हुन दिनु भएन । आपसी खिचातानी भयो ।

त्यसले समस्या चाहिँ ल्यायो । अब महाधिवेशन हुन्छ कि विशेष महाधिवेशनमा जान्छ भन्ने विवाद अझै जारी छ । तर उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाउन कांग्रेसले भनिसकेको छ । त्यो भएर उहाँहरूले निर्वाचनलाई कुनै अलमलाउने, ढिला गर्न अहिलेसम्मको चाहना हो जस्तो देखिएन । नेपाली कांग्रेस पार्टी चुनाव लड्ने पार्टी हो ।

त्यसैले फागुन २१ कै मितिलाई असर नपार्न पनि सक्छ, तर त्योभन्दा अगाडि मनोनयन दाखिला गर्ने निर्वाचन तालिकाहरू चाहिँ तलमाथि गर्ने अनुरोध आउन सक्ला ।

चुनावको मिति सर्‍यो भने दलहरूका कारणले सर्छ । तर एउटा दलले मात्र भनेर हुँदैन । दलीय आपसी सहमति चाहिँ तोकिएकै मितिमा चुनाव गर्नेमा हुनुपर्छ, थप समय चाहिने हो भने पनि दलहरुले आपसि सहमतिमा राष्ट्रपतिलाई अनुरोध गर्नु दलहरुका लागि उपयुक्त बाटो हुन सक्छ ।

निर्वाचन आयोग र प्रधानमन्त्रीले चुनाव सार्ने कहिँ पनि सङ्केत दिनुभएको छैन । उहाँहरूले चुनाव गर्न पारदर्शी प्रक्रिया नै अपनाउनुभएको छ त्यसैले चुनाव त हुन्छ ।

चुनावका लागि जेनजीहरूले चाहिँ के गर्नुपर्छ ?

जेनजीले चुनावको लागि भयरहित वातावरण बनाउन र निश्पक्ष धाँधलिरहित आमजनताको व्यापक सहभागितामा चुनाव तोकिएको मितिमै सम्पन्न गर्न मद्दत गर्नु पर्दछ । अब संविधानको सीमाभित्र बसेर मुलुकलाई छिट्टै निकास दिने कुरामा जेनजीहरूको महत्वपूर्ण भूमिका हुनुपर्छ । जेजनीहरूकै कारण यति ठूलो परिवर्तन भएकाले अब यो परिवर्तनले खोजेका कुराहरूलाई लयमा लैजाने वैधानिक काम भने निर्वाचन र त्यसपछि बन्ने संसद्ले मात्र गर्नसक्छ । त्यसैले चुनावका लागि जेनजीहरूले सहयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?