News Summary
Generated by OK AI. Editorially reviewed.- छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ र यो शरीरको कुनै पनि भागमा हुन सक्छ।
- छाला चिलाउने मुख्य कारणहरूमा छाला सुक्खा हुनु, एलर्जी, कीराहरूको टोकाइ, छाला रोग, भित्री रोग र वातावरणीय कारणहरू पर्दछन्।
छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुनै एक भागमा वा धेरै भागमा एकै पटक पनि हुनसक्छ । कहिलेकाहीँ यो यति तीव्र हुन्छ कि यसले ठूलै समस्या निम्त्याउछ । निद्रा र दैनिक काममा बाधा पुग्छ । मानसिक तनाव बढाउँछ।
यो सबैलाई हुने एक आम समस्या हो । केही समयका लागि हुने यस्तो समस्यालाई एक्युट भनिन्छ । यदि ६ हप्ता भन्दा बढी समयसम्म शरीरको कुनै एक भागमा चिलाइरहने समस्या भयो भने यसलाई ‘क्रोनिक प्रुराइटस’ भनिन्छ ।
किन चिलाउँछ छाला ?
छाला चिलाउने कारण अनेकौँ हुन्छन् । कतिपय अवस्थामा कुन कारणले चिलाएको छ भनेर यकीन गर्न नसकिने पनि हुन्छ । आम व्यक्तिमा देखिन समस्याका आधारमा यसका कारणहरूलाई चर्चा गर्नुपर्ने हुन्छ । यी कारणहरूलाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ: छाला सम्बन्धी, भित्री रोग सम्बन्धी र बाहिरी कारकहरू।
१. छाला सुक्खा हुनु
चिलाउनुका मुख्य कारणमध्ये एक हो, छाला सुक्खा हुनु । यो सबैभन्दा सामान्य कारण हो । जाडो मौसममा हावामा आद्रता कम हुने, तातो पानीले नुहाउने, उमेर बढ्दै जाँदा वा कम पानी पिउँदा छाला सुक्खा हुन्छ । नेपालको कुरा गर्नुपर्दा जाडोको यो समस्या बढी देखिन्छ । चिसो हावाले छालाको प्राकृतिक तेल कम गर्छ । छाला सुक्खा हुँदा फुट्ने र चिलाउने सम्भावना धेरै रहन्छ ।
२.एलर्जी
व्यक्ति विशेषका आधारमा विभिन्न कुराको एलर्जी हुनसक्छ । छालामा कुनै वस्तुले छुँदा, धुलो, परागकण, पाल्तु जनावरको रौं आदिको एलर्जीले पनि छाला चिलाउँछ । कसैकसैलाई साबुन, कुने कस्मेटिक सामग्री तथा कसैलाई कुनै प्रकारका लुगाको एलर्जी पनि हुन सक्छ । कसै-कसैमा कुनै खानेकुराको एलर्जी भएर उक्त खानेकुरा खाँदा चिलाउने समस्या पनि हुन्छ ।
कसैमा कुनै औषधि तथा एन्टिबायोटिक्सहरूको एलर्जीले पनि छाला चिलाउने हुनसक्छ ।
३.कीराहरूको टोकाइ
विशेष गरी अरूको रगत चुसेर बाँच्ने परजीवी कीराहरूले टोक्दा छाला धेरै चिलाउँछ । यो सबैलाई हुने समस्या हो । जुम्रा, उपियाँ, लामखुट्टे, उडुस, जुका आदिले टोक्दा उनीहरूले टोकेको भागमा धेरै चिलाउँछ । परजीवी बाहेकका कुनै-कुनै कीराले टोक्दा, वा हाम्रो शरीरमा उनीहरूले छुँदा नै पनि छाला चिलाउन सक्छ ।
४.छाला रोगहरू
छाला सम्बन्धी रोगका कारण पनि छाला चिलाउँछ । सबैभन्दा धेरै छाला चिलाउने समस्याका लागि कुख्यात रोग हो लुतो । शरीरको सरसफाइमा ध्यान नदिँदा लाग्ने लुतो चिलाउने समस्याको पर्याय नै बनेको छ । फंगल संक्रमण, दाद, खटिरा वा सोरायसिस, डर्मेटाइटिस जस्ता छाला सम्बन्धी रोगहरू चिलाउने कारण बन्छन् ।
५. भित्री रोगहरू
मिर्गौला फेल हुने, कलेजो रोग हुने बिरामीलाई पनि छाला चिलाउने समस्या हुन्छ । ती अंगले राम्रोसँग काम नगर्दा रगतमा भएका विकारहरूलाई छानेर बाहिर निकाल्न कम हुन्छ वा बन्द हुन्छ । यसले छाला चिलाउने समस्या हुन्छ । डायलाइसिस गर्नेमा ९० प्रतिशत र कलेजो रोगीमा ८० प्रतिशतलाई चिलाउने समस्या हुन्छ ।
मधुमेह, थाइराइड, रक्तअल्पता वा कुनै कुनै क्यान्सरका कारणले पनि शरीरका विभिन्न भागमा चिलाउन सक्छ ।
६.वातावरणीय कारण
वातावरणीय प्रभावका कारण पनि चिलाउने समस्या हुन्छ । वायु प्रदूषण, दूषित पानीको सम्पर्क, कुनै चिलाउने वनस्पति तथा वस्तुहरू छुँदा चिलाउने समस्या हुन्छ । गर्मी भएर पसिना आउँदा पसिनाकै कारण छाला चिलाउने समस्या हुन्छ । धेरै गर्मी वा धेरै चिसोका कारण पनि कसैकसैलाई छाला चिलाउने हुनसक्छ । कसैकसैलाई गर्भावस्थामा पनि छाला चिलाउने समस्या हुनसक्छ ।
खासमा छाला चिलाउने ?
छाला चिलाउने संवेदना छालाको नसाबाट सुरु हुन्छ। जब कुनै उत्तेजक वा एलर्जी गराउने कारकले हिस्टामाइन जस्ता रसायन निकाल्छ, यो सिग्नल मस्तिष्कमा पुग्छ । अनि हामीलाई चिलाएको महसुस हुन्छ । अनि हामीलाई कन्याउन मन लाग्छ । हामीले कन्याएपछि छालामा क्षति हुन्छ र केही राहत महसुस हुन्छ । कतिपय अवस्थामा जति कन्यायो झनझन् कन्याउन मन लाग्ने हुन्छ । यो अवस्थालाई ‘इट्च-स्क्रयाच साइकल’ भनिन्छ । यो भनेको कन्याउने चिलाउने चक्र हो । यो चक्र निरन्तर चलेमा छाला बाक्लो हुने, दाग बस्ने र संक्रमित हुने जोखिम पनि रहन्छ ।
छाला चिलाउन नदिन के गर्ने ?
छाला चिलाउने समस्या पूर्ण रूपमा रोक्न सम्भव हुँदैन । तर हामीले छाला चिलाउने कारकहरूलाई ध्यान दिएर त्यसबाट बच्न सकेको खण्डमा छला चिलाएर दैनिक कामकाजमै असर गर्ने खालका समस्याबाट बच्न सक्छौँ । धेरैजसो अवस्थामा सरल उपायहरूले नै रोकथाम र नियन्त्रण गर्न सकिन्छ । मुख्य कुरा चिलाउने कारण पत्ता लगाउनु हो।
रोकथामका मुख्य उपायहरू:
१.छालालाई सुक्खा हुनबाट बचाउने
छाला सुक्खा हुन नदिएर चिलाउने समस्याबाट बच्न सकिन्छ । तेल तथा मोइस्चराइजरहरू प्रयोग गर्न सकिन्छ । नुहाएपछि तुरुन्तै लगाउँदा राम्रो हुन्छ।
चिसोको समयमा धेरै तातो पानी होइन, मनतातो पानीले नुहाउनुपर्छ ।
२.एलर्जी हुने कुराहरूबाट बच्ने
धुलोबाट बच्न मास्क लगाउने, तथा बाहिर निस्कँदा शरीर ढाक्ने खालको कपडा लगाउने । उन तथा सिन्थेटिकका कपडा भन्दा नरम कपडाहरू प्रयोग गर्ने । पाल्तु जनावरहरूलाई अनावश्यक रूपमा नचलाउने, उनीहरूको नजिक भएपछि हातखुट्टा राम्रोसँग धुने तथा सरसफाइमा ध्यान दिने ।
३.सरसफाइमा ध्यान दिने
चिलाउनुको मुख्य कारण मध्ये एक सरसफाइमा ध्यान नदिनु पनि हो । शरीर तथा लगाउने कपडाको सरसफाइ समय-समयमा नगर्दा शरीर चिलाउन सक्छ । सरसफाइकै कमीले उपिया, जुम्रा जस्ता परजीवीहरू उत्पन्न हुन्छन् र यिनले टोक्दा चिलाउने समस्या हुन्छ । शरीर फोहोर पानीले नुहाएमा लुतो आउने, शरीरमा घाउ-खटिरा देखापर्ने र चिलाउने हुनसक्छ ।
४.कीराहरूको टोकाइबाट बच्ने
चिलाउने समस्या निम्त्याउने जुम्रा, उपियाँ, लामखुट्टे, उडुस, जुका आदिको टोकाइबाट बच्नुपर्छ । त्यसका लागि सरसफाइ गर्ने देखि ती खालका कीराको संक्रमण हुन नदिन नियन्त्रणका उपायहरू अपनाउने, कुनै पनि जंगली कीराहरूलाई अनावश्यक नछुने तथा तिनको टोकाइबाट बच्ने गर्नुपर्छ ।
५.रोगहरूबाट सचेत रहने
छाला सम्बन्धी रोग लाग्ने कारकहरूबाट बच्नुपर्छ । यदि निरन्तर चिलाउने समस्या भइरह्यो भने कुने रोग लागेको शंका गरी चिकित्सकलाई देखाउनुपर्छ ।
६.खानपान र जीवनशैलीमा ध्यान दिने
फलफूल-सब्जी प्रशस्त खाने, एलर्जी हुने कुरा पहिचान गरी नखाने, नछुने गर्नुपर्छ । धेरै गर्मी र धेरै चिसोबाट बच्ने उपायहरू अपनाउनु आवश्यक छ । तनाव कम गर्न योग वा
शरीरमा साबुन तथा केमिकलजन्य सामग्रीको प्रयोग धेरै गर्नुहुँदैन ।
चिलाउने समस्याबाट तत्काल छुटकारा पाउने केही घरेलु उपाय
-चिलाएको ठाउँमा आइस प्याक वा चिसो पानीले सक्ने
-नीमको पातको लेदा बनाएर लगाउँदा पनि कहिलेकाँही चिलाएको कम हुन्छ ।
-नरिवल तेल वा एलोभेरा लगाउने ।
-यदि चिलाएको ठाउँमा घाउ छैन भने कागतीको रस लगाउन सकिन्छ ।
प्रतिक्रिया 4