एक बयस्क बिरामीलाई जाडो लाग्ने, ज्यान दुख्ने, पसिना आउने समस्याले हप्तौंसम्म छोडेन। उहाँको रगतमा प्लेटेलेट्सको संख्या पनि खस्किएको थियो। तसर्थ डेंगुको शंकासमेत गरियो।
बिरामी तराईमा बस्ने भएकोले प्रारम्भिक उपचार त्यहीँ गरियो । तर लक्षणका साथै रगतमा प्लेटेलेट्सको संख्यामा सुधार आएन। निको हुन नसकेपछि थप उपचारको लागि काठमाडौं ल्याइयो ।
काठमाडौंमा उपचार गर्दा पनि माथि उल्लेखित स्वास्थ समस्या अनि रगतमा प्लेटलेट्सको संख्यामा सुधार नआएपछि उहाँ टेकु अस्पताल आइपुग्नुभएको थियो। टेकुमा परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भयो।
मेरा एक समकक्षी चिकित्सकका अनुसार तराईबाट धेरैले रगतमा प्लेटलेट्सको संख्यामा कमी हुने समस्या देखिएको र जाडो/चिसो हुने तथा ज्यान दुख्ने समस्या रहेको जानकारी उहाँ आउने गरेको थियो ।
ती बिरामीमा स्क्रब टाइफस पुष्टि भएपछि अन्य केहीलाई तत्काल सम्पर्क गरी स्क्रब टाइफस परीक्षण गर्न सल्लाह पनि दिएका थियौं। यसबाट तराईमा कतै स्क्रब टाइफस फैलिरहेको त छैन भन्ने प्रश्न उठेको छ ।
स्क्रब टाइफस के हो ?
स्क्रब टाइफस ‘ओरियनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ। यो संक्रमण चिगर माइट नामक संक्रमित किर्नाको टोकाइबाट सर्छ । यो किर्ना विशेषत: मुसामा देखिने गर्छ।
सन् २०१७ मा नेपाल स्वास्थ अनुसन्धान परिषद्ले नेपालमा गरेको एक अनुसन्धानमा १२ मध्ये ३ मुसामा यो किर्ना भेटिएको उल्लेख छ।
अस्पतालको तथ्यांक हेर्ने हो भने स्क्रब टाइफस विशेषत: मनसुन सिजनमा बढी देखिने गरेको पाइन्छ। तर हाल तराई क्षेत्रतिर मनसुन सकिए लगत्तै यो संक्रमण फैलिएको देखिन्छ। यसको लक्षण अरू संक्रमणहरूसँग पनि मिल्ने भएकोले परीक्षण अति महत्वपूर्ण हुन्छ ।
नेपालमा सन् २०१५ मा केही बालबालिकाको मृत्यु भएपछि यो रोगको बारेमा बहस सतहमा आएको थियो। हाल हरेक वर्ष दर्जनौं मानिस स्क्रब टाइफसबाट संक्रमित हुने गरेको सरकारी तथ्यांकहरूले देखाउँछन्।
कस्ता लक्षण देखिन्छन् ?
संक्रमण भएको झन्डै ५ देखि २० दिनमा स्क्रब टाइफसका लक्षणहरू देखिने गर्छ।
उच्च ज्वरो आउनु, पसिना आउनु, टाउको दुख्नु, आँखाको सेतो भाग रातो हुनु, लिफ ग्रन्थी सुन्निनु, कसैकसैमा शरीरमा बिबिरा देखिनु, कानमा कृत्रिम आवाज सुनिनु, सास फेर्दा केही असहज महसुस हुनु र शरीरमा किर्नाले टोकेपछि घाउ बनेर पाप्रो देखिनु (जसलाई ‘इस्कार’ भनिन्छ) यसका मुख्य लक्षणहरू हुन्।
रगत परीक्षण गर्दा के फरक देखिन्छ ?
रगतमा प्लेटलेट्सको संख्या घट्ने तर कलेजोको एन्जाइमहरू भने बढेको देखिन्छ। माथि उल्लेखित बिरामीमा यी दुवै समस्या देखिएको थियो।
स्क्रब टाइफस र डेंगु वर्षेनी विशेषत: मनसुन समयमा देखिने र दुवैमा प्लेटलेट्सको संख्या घट्ने हुँदा कहिलेकाहीं स्वास्थकर्मीहरूलाई पनि छुट्याउन गाह्रो हुन्छ । तर स्क्रब टाइफसको परीक्षण किट उपलब्ध भएकोले यो संक्रमण सहजै पत्ता लगाउन भने सकिन्छ। यद्यपि, यसको उपलब्धता भने नेपालका सबै ठाउँमा नहुन पनि सक्छ।
हाल तराईमा पनि स्क्रब टाइफस परिक्षण नगर्दा/नहुँदा यो संक्रमणले अज्ञात रोगको दर्जा पाएको देखिन्छ।

कस्तो जटिलता देखिन सक्छ ?
लामो समयसम्म पहिचान गरी उपचार नगरे/गर्न नसके संक्रमण जटिलतातिर जान सक्छ।
विशेषत: बिरामीमा निमोनिया हुने गरेको देखिन्छ। यो बाहेक मुटु, पेट र मस्तिष्कमा पनि जटिलता निम्त्याउन सक्छ।
उपचार छ ?
समयमा पहिचान गरी औषधिको मात्रा (एन्टिबायोटिक) पूरा गरेमा बिरामी पूर्ण रूपमा निको हुन्छ । अझ अधिकांश बिरामीमा औषधि लिएको ४८ घण्टामा नै स्वास्थमा उल्लेखनीय सुधार भएको देखिन्छ।
एन्टिबायोटिक सहजै बजारमा उपलब्ध हुने भएकोले चिकित्सकको सिफारिसमा किनेर वा स्वास्थ केन्द्रमा नि:शुल्क पनि पाउन सकिन्छ। तर यो संक्रमणविरुद्ध खोपको विकास भने भइसकेको छैन।
कसरी बच्ने ?
स्क्रब टाइफस संक्रमणको जोखिममा विशेषत: किसानहरू बढी देखिने गरेको पाइन्छ। यद्यपि, जोकोहीलाई पनि संक्रमण भने हुनसक्छ।
अग्ला झाडी वा घाँसमा चिगर माइट किर्ना हुने भएकोले नटोकुस् भन्नाको लागि शरीर पूरा छोपिने गरी कपडा लगाउनुपर्छ। मुसा आउने वातावरण सिर्जना नहोस् भनेर घर भित्र तथा बाहिर सरसफाइमा ध्यान दिनुपर्छ।
अन्त्यमा, यो लेखको मुख्य उद्देश्य भनेको हाल तराईमा फैलिरहेको स्क्रब टाइफसको बारेमा जानकारी दिनु हो।
हुन त, नेपालमा वर्षेनी यो संक्रमण देखिने गर्छ। यो वर्ष दशैं अगाडिसम्म काठमाडौंमा पनि स्क्रब टाइफसको प्रकोप नै देखिएको थियो । तर दशै लगत्तै तराईतिर फैलिएको र परीक्षणको अभावमा अज्ञात रोगको उपनाम पाएको देखिन्छ।
के तपाईं हाल तराईमा हुन्नुहुन्छ अनि चिसो वा जाडो अनुभव गरेको /ज्वरो आएको हप्तौं भइसकेको छ ? र, सँगसँगै रगतमा पनि निरन्तर प्लेटलेट्सको संख्यामा कमी (सामान्यभन्दा घटेको) देखिएको हप्तौं भइसकेको छ ? यो स्क्रब टाइफस पनि हुनसक्छ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4