+
+
Shares
विचार :

नेपालमा जापानिज इन्सेफलाइटिसको कमब्याक

यसै वर्ष पनि ११३ जनामा भाइरस पुष्टि भइसकेको तथ्यांक सार्वजनिक भएको छ। अर्थात्, नेपालमा प्रत्येक महिना दर्जनभन्दा बढीलाई जेई भाइरसले संक्रमित गरेको छ।

डा. शेरबहादुर पुन डा. शेरबहादुर पुन
२०८२ भदौ २२ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सन् २०२० यता जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ४ गुणाले बढेको छ र यस वर्ष ११३ जनामा भाइरस पुष्टि भइसकेको छ।
  • जेई भाइरसको मृत्युदर २० प्रतिशतभन्दा बढी पुगेको छ र हालसम्म २३ जनाको मृत्यु भइसकेको छ भने यो सबैभन्दा घातक कीटजन्य रोग हो।
  • जेई भाइरस तराईबाट पहाडी क्षेत्रतिर फैलिँदै गर्दा जनचेतनामूलक कार्यक्रम र खोपको सहज पहुँच बढाउन आवश्यक छ।

नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमितको संख्या प्रत्येक वर्ष बढ्दो छ । सन् २०२० यता संक्रमितको संख्या ४ गुणाले बढेको तथ्यांकले देखाउँछ । यो अत्यासलाग्दो तथ्यांक हो ।

यसै वर्ष पनि ११३ जनामा भाइरस पुष्टि भइसकेको तथ्यांक सार्वजनिक भएको छ। अर्थात्, नेपालमा प्रत्येक महिना दर्जनभन्दा बढीलाई जेई भाइरसले संक्रमित गरेको छ।

यो भाइरस अक्टोबर महिनासम्म देखिन सक्ने भएकोले संक्रमितको संख्या अझै बढ्न सक्ने सम्भावना छ । प्रश्न उठ्छ, नेपालमा जेई भाइरसले कमब्याक गरेको हो ? के आगामी वर्ष भाइरस थप आक्रामक/घातक होला ? हामी कति सुसूचित र तयारी अवस्थामा छौं ?

नेपालमा मनसुन सुरु भएसँगै विभिन्न प्रकारका कीटजन्य रोग देखिने गर्छ। डेंगु, स्क्रब टाइफस, मलेरिया, चिकुनगुनिया जस्ता संक्रमणको लर्को नै लाग्छ । यीमध्ये कुन संक्रमणले प्रकोपको रूप लिन सक्छ भन्ने अनुमान गर्ने गरिए तापनि निश्चित भने हुँदैन ।

यो वर्ष जेई भाइरस पुष्टि हुनेको संख्या ११३ पुगे पनि अधिकांश संक्रमितमा कडा लक्षण नदेखिने वा लक्षणविहीन हुने हुँदा संक्रमितको संख्या यो भन्दा (सार्वजनिक गरिए) भन्दा कयौं गुणा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ।

पछिल्लो समय डेंगुको सम्भावित प्रकोपलाई सम्बोधन गर्ने प्रयासप्रति हामी बढी केन्द्रित भइरहेका छौं । तर यसैबीच हाल अर्को कीटजन्य रोग जापानिज इन्सेफलाइटिस भाइरस आक्रामक ढंगले अघि बढेको छ।

यो वर्ष जेई भाइरस पुष्टि हुनेको संख्या ११३ पुगे पनि अधिकांश संक्रमितमा कडा लक्षण नदेखिने वा लक्षणविहीन हुने हुँदा संक्रमितको संख्या यो भन्दा (सार्वजनिक गरिए) भन्दा कयौं गुणा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ।

सन् २०२० यता जेई संक्रमण पुष्टि हुने क्रम वर्षेनी बढ्दै गर्दा भाइरसले नेपालमा कमब्याक गरेको प्रष्ट संकेत देखाउँछ। तसर्थ यस भाइरसको कमब्याक नेपालमा किन हुँदैछ भन्ने कुराको सघन विश्लेषण हुनु जरुरी छ। नत्र आगामी वर्षहरू घातक जेई भाइरस महामारीको रूपमा परिणत नहोला भन्न सकिँदैन।

यो वर्ष कीटजन्य रोगहरूमध्ये जेई सबैभन्दा घातक देखिएको छ। हालसम्म २३जनाको मृत्यु भइसकेको सार्वजनिक भएको छ । अर्थात्, मृत्युदर २० प्रतिशतभन्दा बढी पुगिसकेको छ। यो भाइरसको मृत्युदर ३० प्रतिशतसम्म पुग्ने गर्छ।

जेई संक्रमितको संख्या वर्षेनी उकालो लाग्दै गरेको भए तापनि बढ्नुको कारणप्रति अझै पर्याप्त विश्लेषण वा बहस र जनचेतनामूलक कार्यक्रम हुन सकेको देखिँदैन ।

गत वर्ष नै मैले जेई भाइरसको सम्भावित कमब्याकको अनुमानसँगै सन् २०२५ मा जोखिम क्षेत्रको पहिचान गरी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र खोपको सहज पहुँच बढाउनुपर्ने धारणा व्यक्त गरेको थिए ।

गत वर्ष काठमाडौँमा नै जटिल जेई संक्रमणको कारण एकजनाको मृत्यु भएको थियो । २५० संक्रमितमध्ये एकजना बिरामीमा जेई भाइरस जटिल हुने गर्छ।

यसको अर्थ काठमाडौँमा पनि जेईको संक्रमण व्यापक छ भन्ने स्पष्ट संकेत गर्छ। तर नेपालमा सामान्य ज्वरो देखिए स्वस्थाकर्मीकहाँ गएर जाच गराउने चलन छैन। जसले गर्दा संक्रमण सो समय र स्थानमा फैलिए/नफैलिए थाहा पाउन कठिन हुने गर्छ।

काठमाडौँ जनघनत्वको आधारमा नेपालको ठूलो शहर पनि हो। यसर्थ काठमाडौँमा पनि जेई भाइरसले ढिलो चाडो प्रकोपको रूप नलेला भन्न सकिँदैन।

कुनै समय नेपालका तराईमा बढी देखिने जेई भाइरस हाल काठमाडौँलगायत विभिन्न पहाडी इलाकामा देखिन थालेसँगै बिरामीको संख्या बढ्न सक्ने वा भाइरस आक्रामक देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। प्रकोपको रूप नै लिए धेरैको ज्यान समेत जान सक्नेछ। किनभने, यसको सटिक/विशेष औषधि वा एन्टी-भाइरल औषधि छैन भने लक्षणमा आधारित उपचारमा भर पर्नुपर्ने हुन्छ।

जेई भाइरस तराईबाट विस्तार हुँदै पहाडी क्षेत्रतिर फैलिँदै जाँदा जनचेतनामूलक कार्यक्रमहरू पनि ती क्षेत्रमा व्यापक गर्दै लैजानुपर्ने आवश्यकता देखिन्छ।

पछिल्लो तीन वर्षयता जटिल जेईको कारण बिरामीले मृत्युवरण गर्नु परेको तथ्यांक क्रमश: बढ्दो छ। संक्रमण बढ्दा त्यसको अनुपातिक मृत्यु पनि स्वाभाविक रूपमा बढ्ने हुन्छ। तर मृत्युलाई रोक्न वा कम गर्नको लागि एक मात्र उपाय/विकल्प भनेको खोप नै हो।

विगतमा हामीले जेई प्रकोप क्षेत्रमा खोपको प्रयोग व्यापक गर्दा पाएको सफलतालाई ‘लेसन लर्न’ को रूपमा लिनु पर्छ । जेई भाइरस तराईबाट विस्तार हुँदै पहाडी क्षेत्रतिर फैलिँदै जाँदा जनचेतनामूलक कार्यक्रमहरू पनि ती क्षेत्रमा व्यापक गर्दै लैजानुपर्ने आवश्यकता देखिन्छ। जेई भाइरस सम्बन्धित कार्यक्रमले निरन्तरता पायो भने मात्र सम्भावित नयाँ क्षेत्रमा देखिन सक्ने प्रकोपलाई समयमा नै मत्थर पार्न सकिने छ।

अन्त्यमा, जेई अर्थात् जापानिज इन्सेफलाइटिसले यो वर्ष प्रत्येक महिना कम्तीमा एक दर्जनको हाराहारीलाई संक्रमित गर्दै लगेको छ। गत वर्ष पनि यस्तै अवस्था थियो।

यदि जेईविरुद्ध प्रभावकारी कदम चालिएन वा योजना बनाइएन भने संक्रमणको रफ्तार अर्को वर्ष पनि रोकिने अवस्था देखिँदैन।

गत वर्ष र यो वर्षको अहिलेसम्म जेई संक्रमणको मृत्युदर २० प्रतिशतभन्दा बढी नै पुगेको छ। यो कुनै पनि कीटजन्य रोगहरूको मृत्युदरभन्दा अत्यधिक बढी हो। अर्थात्, हाल नेपालको सबैभन्दा घातक किटजन्य रोग जेई भाइरस नै हो। यसको कमब्याकको कारण पत्ता लगाएर प्रभावकारी सम्बोधन गर्नु आजको आवश्यकता हो ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

लेखक
डा. शेरबहादुर पुन

लेखक सरुवा रोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?