+
+
Shares

जापानिज इन्सेफलाइटिस : ३६ जिल्लामा फैलियो, २३ जनाको मृत्यु

५० प्रतिशतलाई स्नायु प्रणालीमा दीर्घकालीन असर

तराईका ३६ जिल्लामा फैलिएको जापानिज इन्सेफ्लाइटिसले २३ जनाको ज्यान लिइसकेको छ भने १०० बढी संक्रमित भइसकेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ भदौ १६ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तराईका ३६ जिल्लामा जापानिज इन्सेफलाइटिस संक्रमण फैलिँदा ११३ जनामा देखिएको र २३ जनाको मृत्यु भएको छ।
  • ४० वर्षमाथिका संक्रमितमा मृत्यु बढी देखिएको छ र अधिकांश मृतकले खोप लगाएका थिएनन्।
  • लामखुट्टे नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

१६ भदौ, काठमाडौं । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । ३६ जिल्लाका ११३ जनामा संक्रमित फैलिँदा २३ जनाको ज्यान गएको छ ।

परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।

विगतका वर्षमा जेई संक्रमण देखिए पनि मृत्युदर उच्च थिएन । हाल भने मृत्यु संख्या ह्वात्तै बढेको छ । ‘अघिल्लो वर्षमा संक्रमितमध्ये २९ प्रतिशतको मृत्यु भएको थियो । यस वर्ष पनि उही अनुपातमा मृत्यु भइरहेको छ,’ डा. गौतमले अनलाइनखबरसँग भने ।

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् ।

पछिल्लो तथ्यांकअनुसार जेई ३६ जिल्लामा फैलिसकेको छ । जसमध्ये लुम्बिनीमा ३७, बागमतीमा १८, कोशीमा १७, मधेशमा १४, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णालीमा २ जनामा संक्रमण देखिएको छ ।

बर्दिया, कावासोती, रत्ननगर, कालिका, राप्ती, कपिलवस्तु, माडी, कृष्णनगर, हरिवन, लहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये ६३ महिला र ५० पुरुष छन् ।

२३ जनाको मृत्यु, ४० वर्ष नाघेकालाई बढी असर

महाशाखाको तथ्यांकअनुसार मृत्यु हुने सबैभन्दा बढी लुम्बिनी प्रदेशका छन् । नवलपरासी पश्चिममा २, अर्घाखाँची, रुपन्देही, प्युठान, दाङ, बाँके र बर्दियामा १-१ जनाको मृत्यु भएको छ ।

गण्डकी र बागमतीमा ४-४ जनाको मृत्यु भएको छ । चितवनमा ३, नवलपरासी पूर्वमा ३, सिन्धुली र स्याङ्जा १-१ जनाको संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशीको रौतहटमा २, झापा, मोरङ र तेहथुम १-१ जना र सुदुरपश्चिको कैलालीमा १ जना संक्रमितको मृत्यु भएको छ ।

जेईले सबैभन्दा बढी ४० वर्ष माथिका असर गरेको छ । तथ्यांकअनुसार ४० वर्षभन्दा माथिका १८ जनाको र ३९ वर्ष मुनिका ५ जना संक्रमितको मृत्यु तथ्यांक छ ।

नेपालमा जापानिज इन्सेफ्लाइटिसको प्रकोपले लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती प्रदेशलाई बढी प्रभावित बनाएको छ । यो वर्ष ३६ जिल्लामा फैलिसकेको छ ।

खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्नुले खतराको संकेत गरेको विज्ञ बताउँछन् ।

गौतमका अनुसार जेई संक्रमण नेपालमा अन्य देशभन्दा फरक जोखिम देखिएको छ । सामान्यतया १५ वर्षमुनिका बालबालिकामा बढी देखिने जेई नेपालमा भने पछिल्लो समय ४० वर्षमाथिका मानिसमा मृत्यु र संक्रमण देखिएको छ ।

४० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुनुको कारणबारे डा. गौतम भन्छन्, ‘मृत्यु हुने अधिकांशले खोप लगाएका थिएनन् ।’

भाइरसमै केही प्रकारको परिवर्तन भएको हुनसक्ने उनको आशंका छ । तर त्यसबारे ठ्याक्कै निष्कर्ष भने अहिलेसम्म आइसकेको छैन ।

‘हामी थप अध्ययन गरिरहेका छौं । अन्य रोगहरूसँगको संयोजन (जस्तै स्क्रब टाइफस) को कारणले पनि मृत्युदर बढेको हुनसक्छ,’ डा. गौतमले भने ।

तराईबाट सुरु भएको जेई पहाडसम्म

नेपालमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुरानो भए पनि आधिकारिक रूपमा निगरानी गर्न सुरु गरिएको समय धेरै पछाडि हो ।

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

डा. गौतमका अनुसार भारतको गोरखपुरमा सन् १९९० को दशकमा ठूलो प्रकोप देखिए पनि नेपालमा यस रोगको इतिहास अझै पुरानो छ ।

‘सन् १९७८ तिर रुपन्देहीमा संक्रमण भएको देखिन्छ । त्यतिबेला प्रमाणित गर्ने प्राविधिक सुविधा थिएन, तर लक्षणहरूका आधारमा जई नेपालमा देखिएको अनुमान लगाइएको छ,’ डा. गौतम भन्छन् ।

सन् २००३ देखि आधिकारिक परीक्षण सुरु भयो । त्यसबेला ढाडबाट पानी र रगतको नमुना परीक्षणमार्फत जई संक्रमण पुष्टि भयो ।

डा. अभियान गौतम/फाइल तस्वीर

डा. गौतम भन्छन्, ‘बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका क्षेत्रहरूमा पश्चिमतिर र पूर्वतिर पनि झापा, मोरङ, उदयपुर लगायतका ठाउँहरूमा पनि संक्रमित देखिन थाले । सबैभन्दा बढी तराई क्षेत्र प्रभावित भयो ।’

संक्रमण नियन्त्रणका लागि सन् २००६ देखि जोखिम क्षेत्रका एक वर्षमाथि बालबालिकालाई खोप दिन सुरु गरियो । सन् २००६ देखि २००९ सम्म बिस्तारै सबै प्रभावित क्षेत्रमा खोप कार्यक्रम विस्तार भयो ।

त्यसपछि ती क्षेत्रमा संक्रमण घटेको देखियो । खोपले काम गर्छ भन्ने प्रमाणित गर्‍यो ।

तर, लामखुट्टेको वृद्धिविकास र मानिसको आवतजावतसँगै जेई पहाडसम्म नै फैलिन थाल्यो ।  त्यसपछि सन् २०१५ मा राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरी बाँकी ४४ जिल्लामा १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने निर्णय गरियो ।

सन् २०१५ मा १५ वर्षसम्मका सबैलाई दिइएको खोप दिइयो । अहिले जेई खोपलाई नियमित खोपको रूपमा लागु गरिएको छ ।

पछिल्ला वर्षमा संक्रमित र मृत्यु दुवै बढे

महाशाखाको तथ्यांकअनुसार सन् २०१५ मा जेइबाट ५० जना संक्रमित भएका थिए । यस्तै सन् २०१६ मा ९४, सन् २०१७ मा ८१ जना संक्रमित हुँदा एक जनाको मृत्यु भयो ।

सन् २०१८ मा ५८, सन् २०१९ मा ७०, सन् २०२० मा २४, सन् २०२१ मा २८, सन् २०२२ मा ७९ संक्रमित भएका छन् ।

यस्तै सन् २०२३ मा नेपालमा १०७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । सन् २०२४ मा भने ८६ जना संक्रमित हुँदा २५ जनाको मृत्यु भयो । जुन संक्रमित मध्ये २९ प्रतिशतको मृत्यु भएको छ ।

लामखुट्टेजन्य रोगको स्वरूप जलवायु परिवर्तनसँगै बदलिँदै पहाडसम्म चढेका कारण संक्रमित संख्या र मृत्यु पनि बढ्दै डा. गौतम बताउँछन् ।

५० प्रतिशतलाई स्नायु प्रणालीमा दीर्घकालीन असर

जापानिज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूहअन्तर्गत पर्छ । यो क्युलेक्स जातको लामखुट्टेले फैलाउने गर्छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार लक्षण सहितका संक्रमितहरु एसियामा झन्डै एक लाखको हाराहारीमा वर्षेनी देखिने गर्छ । यसको मृत्युदर अधिकतम ३० प्रतिशत छ ।

त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।

डा. गौतमका अनुसार जापानी इन्सेफलाइटिस प्राय: धान खेती हुने ठाउँ, स्थिर पानी जम्ने क्षेत्र, सुँगुर र हाँस पालन हुने स्थानमा बढी देखिन्छ ।

‘धानखेतमा पानी जम्मा हुने भएकाले लामखुट्टे प्रजनन गर्न सजिलो हुन्छ । त्यस्तै, सुँगुर र हाँसलाई संक्रमित लामखुट्टले टोक्दा भाइरसलाई हजारौं गुणा बढाइदिन सक्छन्,’ डा. गौतम भन्छन् ।

उनका अनुसार संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस ती जनावरभित्र तीव्र रूपमा बढ्छ । त्यही भाइरस अर्को लामखुट्टेमा सरेपछि फेरि मानिसलाई पनि संक्रमित गर्नसक्छ । तर मानिसभित्र भने भाइरस त्यति धेरै गुणा बढ्दैन, जसका कारण मानिसबाट अर्को मानिसमा संक्रमण सर्दैन ।

डा. गौतमले कृषि क्षेत्रसँग आबद्ध समुदायलाई विशेष सतर्क रहनुपर्ने बताए । उनका अनुसार पछिल्ला तथ्यांकले  ७० प्रतिशत संक्रमित कृषिमा संलग्न वा धानखेती तथा पशुपालन गर्ने वर्गका व्यक्तिहरू हुने देखाएको छ ।

विशेषगरी यो भाइरसबाट १५ वर्षमुनिका बालबालिकाहरु बढी प्रभावित हुने गर्छन् । अधिकांशमा संक्रमितमा लक्षण सामान्य वा देखिँदै देखिँदैन । तर २५० संक्रमितमध्ये एकजनामा भने लक्षणले कडा रूप (स्नायु प्रणालीमा जटिल समस्या आउने) लिने गर्छ ।

संक्रमितमध्ये करिब २९ प्रतिशतको मृत्यु र आधाभन्दा बढीमा दीर्घकालीन स्नायु प्रणालीको असर देखिँदा खोपसँगै सामुदायिक सतर्कता र एकीकृत लामखुट्टे नियन्त्रण रणनीति अपरिहार्य देखिएको विज्ञहरूको निष्कर्ष छ ।

संक्रमितमध्ये ३० प्रतिशतको मृत्यु हुन्छ । ५० प्रतिशतसम्ममा प्यारालाइसिस वा अन्य न्युरोलोजिकल समस्या हुन्छ । जेई भाइरस उच्च घातक मात्र होइन, यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपांगता पनि गराउन सक्छ ।

कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइ/इस्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छ ।

बाँकी २० देखि ३० प्रतिशतको हाराहारीमा बिरामी भने पूर्ण रूपमा निको हुने गर्छन् ।

संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेसी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्यु समेत हुन्छ ।

यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ ।

तर, सबै संक्रमितमा लक्षण देखिँदैन । धेरैलाई सामान्य रूपमा संक्रमण भएर निको हुन्छ । डेंगु तुलनामा केस संख्या कम देखिने भए पनि मृत्यु दर भने उच्च रहने विज्ञ बताउँछन् ।

लामखुट्टेजन्य रोग नियन्त्रणमा ‘एकीकृत रणनीति’ आवश्यक

हाल नेपालमा लामखुट्टेजन्य रोगहरू ‘इमर्जिङ डिसिज’को रूपमा चुनौती बनेका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा बढ्दो लामखुट्टेजन्य रोगलाई नियन्त्रण गर्न छुट्टाछुट्टै कार्यक्रमभन्दा ‘एकीकृत रणनीति’ अपनाउनुपर्ने सुझाव दिन्छन् ।

डा. शेरबहादुर पुन/फाइल तस्वीर

उनका अनुसार अहिले जापानी इन्सेफलाइटिस, डेंगु, मलेरिया, हात्तीपाइले र हालै देखिन थालेको चिकनगुनिया जस्ता रोग सबै लामखुट्टेबाट सर्ने भएकाले एउटै किसिमको समग्र अभियानमार्फत नियन्त्रण गर्न सकिन्छ ।

विशेषगरी मृत्यु भएका अधिंकाश ४० वर्षमाथिका खोप नलगाएका व्यक्ति छन् । कृषि र पशुपालनसँग आबद्ध समुदायमा उच्च जोखिम देखिँदा रोग नियन्त्रणका लागि खोप अभियान, सरसफाइ, लामखुट्टे नियन्त्रण र एकीकृत स्वास्थ्य रणनीति तत्कालै आवश्यक भएको विज्ञ बताउँछन् ।

‘हामीले लामखुट्टे नियन्त्रणका अभियानलाई छुट्टाछुट्टै नाम र बजेटसहित सञ्चालन गर्दै आएका छौं । तर एउटै लामखुट्टेबाट विभिन्न घातक रोग फैलिरहेका छन् । त्यसैले यसलाई अलगअलग नभई समग्र रोग नियन्त्रण अभियानमार्फत अघि बढाउन सकिन्छ,’ डा. पुनले भने ।

लामखुट्टे नियन्त्रणलाई ‘बहुउद्देश्यीय स्वास्थ्य रणनीति’को रूपमा लिनुपर्ने  उनको तर्क छ ।

जापानी इन्सेफलाइटिस एक समय हराएको जस्तो देखिएको थियो, अहिले फेरि बढ्दै छ । डेंगु त हरेक वर्ष महामारीको स्वरूपमै आउँछ ।

उनले सरकारलाई लामखुट्टे नियन्त्रणका छुट्टाछुट्टै बजेट र कार्यक्रमलाई एकीकृत गरेर दीर्घकालीन रणनीति बनाउन सुझाव दिए।

‘दीर्घकालीन रणनीतिकोलाई व्यवहारमा उतार्न सक्दा नेपाल दक्षिण एसियामै रोग नियन्त्रणको ‘मोडेल’ बन्न सक्छ,’ डा. पुन भन्छन् ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?