
News Summary
Generated by OK AI. Editorially reviewed.- कबीर बेदीले पाँच दशकभन्दा बढी फिल्म क्षेत्रमा बिताएका छन् र बलिउड, अन्तर्राष्ट्रिय फिल्म तथा डिजिटल प्लेटफर्ममा सक्रिय छन्।
- उनले आफ्नो किताब 'स्टोरीज आई मस्ट टेल' मा सम्बन्धहरूलाई 'वन नाइट स्ट्यान्ड' नभएको उल्लेख गरेका छन् र असल साथी बन्ने कुरा लेखेका छन्।
- उनले इटालीको टिभी सिरिज 'स्यान्डोकान' र हलिउडको 'अक्टोपसी' मा अभिनय गरी अन्तर्राष्ट्रिय ख्याति पाएका छन्।
करियरको उत्कर्षमा हुँदा फिल्मी पत्रिकाका कभर र अखबारका पिन-अप पोस्टरहरू प्रायः उनको मनमोहक स्टाइलले भरिएका हुन्थे । चम्किला आँखा, मिलेको नाक, चौडा चिउँडो र बलियो काँध भएका यी अग्ला मान्छेको अनुहारमा खास दाह्री थियो । यी सबले मनमा गहिरो छाप छाड्ने अरू कोही नभएर कबीर बेदी हुन् ।
हिन्दी चलचित्र र विज्ञापनहरूमार्फत लाखौंको मन जितेका उनी एक समयमा भारतभन्दा युरोपमा बढी प्रख्यात थिए । त्यसको कारण बलिउडमा उनले गरेको अभिनय थियो ।
७९ वर्षमा हिँडिरहेका उनले फिल्म क्षेत्रमा पाँच दशकभन्दा बढी बिताएका छन् । यतिको लामो करियरमा पनि कबीर बेदी अझैं उस्तै देखिन्छन् । चाहे त्यो भारतीय टिभी होस् या अन्तर्राष्ट्रिय फिल्महरू अथवा डिजिटल प्लेटफर्महरू-उनी सधैँ नयाँ बाटोहरू खोज्छन् ।
जब उनी कुनै कार्यक्रमका लागि मञ्चमा चढ्छन्, दर्शक मन्त्रमुग्ध देखिन्छन् । त्यसले पनि उनको फ्यानबेस कति थियो, देखाउँछ । यस्तो वजन भएका उनको जीवनका उतार-चढाव, परिवार, विवाह र बच्चाहरूसँगको सम्बन्ध मिडियाका लागि सधैं खुराक हुने गर्छ । तर उनले कुनै पनि सम्बन्धहरूलाई ‘वन नाइट स्ट्यान्ड’ नमानेको बताउँछन्।
हुन पनि हो, उनको पहिलो विवाह ६ वर्ष टिक्यो । दोस्रो विवाह करिब १० वर्ष अनि तेस्रो विवाह १५ वर्षको रह्यो ।
सम्बन्धहरूबारे उनले आफ्नो किताब ‘स्टोरीज आई मस्ट टेल’मा खुलेर लेखेका छन् । जहाँ उनले आफूलाई मानिसहरूसँग बस्न मन पराउने भनेर व्याख्या गरेका छन् । उनी कुनै अनुभव, कुनै नयाँ कुरा सधैँ यस्तो चाहन्छन् कि कोही होस्, जससँग उनी बाँड्न सकून् ।
‘मलाई आफ्नो वरपर कोही चाहिन्छ । मेरा जति पनि सम्बन्धहरू भए । ती सबै एक बिन्दुसम्म पुगे । र त्यसपछि पनि हामी असल साथी बन्यौँ’ उनले लेखेका छन् ।
अहिले एक वाक्यमा भन्दा कबीर बेदी एक ब्रोडकास्टर, विज्ञापन फिल्ममेकर, भ्वाइस ओभर आर्टिस्ट, अभिनेता र लेखक हुन् ।
उनी लाहोरमा जन्मेका थिए । उनी जन्मँदा त्यो ठाउँ ब्रिटिश भारतको हिस्सा थियो । उनका बुबा प्यारेलाल बेदी ट्रेड युनियन नेता, दार्शनिक र लेखक थिए । उनकी आमा फ्रेड बेदी ब्रिटिश महिला थिइन् । जो पछि बौद्ध भिक्षु बनिन् ।
यस्तो अनौठो परिवारमा जन्मे/हुर्केकाले हुन सक्छ, कबीर बेदीको विचार र जीवन विशिष्ट बन्यो । उनमा खुला र जिज्ञासु दृष्टिकोण विकसित भयो ।
उनको फिल्मी यात्रा भने सन् १९७० को दशकमा सुरु भएको थियो । अनि दमदार आवाज र व्यक्तित्वले उनलाई बलिउडमा चाँडै नै एउटा छुट्टै पहिचान दिलायो ।
‘खून भरी मांग’ (१९८८) र ‘मै हुँ ना’ (२००४) उनका सर्वकालीन हिट फिल्महरू हुन् । यी फिल्मले उनलाई भारतको घर-घरमा चिनाउन ठूलो भूमिका खेलेको छ । तर, उनले वास्तविक ख्याति भने इटालीको टिभी सिरिज ‘स्यान्डोकान’ (१९७६) मा पाइरेट (डाँकु) को भूमिकापछि पाएका थिए । त्यो पात्रले उनलाई त्यहाँको पनि सुपरस्टार बनाइदिएको थियो ।
त्यस्तै उनले हलिउड, त्यसमा पनि जेम्स बन्डको फिल्म ‘अक्टोपसी’ (१९८३) मा पनि अभिनय गर्ने अवसर पाए । त्यसपछि उनी अन्तर्राष्ट्रिय स्टार पनि बने । जुन एउटा ठूलो उपलब्धि थियो । किनकि त्यससमय भारतीय कलाकारहरू हलिउडमा त्यसरी चम्किनु सपनाजस्तै थियो ।
छोटोमा भन्दा उनले स्क्रिनभन्दा बाहिर पनि उत्तिकै प्रभाव पारे । रोमाञ्चक जीवन जिइरहे । आफूलाई भूगोल भित्रको कलाकारका रुपमा मात्र नराखी त्यसको दायरा फैलाए ।
प्रतिक्रिया 4