+
+
Shares

अपडेट : अफगानिस्तान भूकम्पमा कम्तिमा २५० जनाको मृत्यु, ५०० बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १०:११

१६ भदौ, काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ ।  ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।

यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।

पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए । ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ ।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयाः भूकम्प प्रतिरोधी छैनन्।

तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

२०२३ मा ४ हजार मानिस मारिएका थिए

यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो । सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो । संयुक्त राष्ट्रसंघले भने १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो ।

गएराति फेरि राजधानी काबुलबाट सडकमार्ग हुँदै १०० माइल भन्दा कम दूरीमा रहेको जलालाबाद केन्द्र भएर भूकम्प गएको हो ।

सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै भूकम्पले ‘पूर्वी प्रान्तहरूमा जनधनको क्षति पुर्‍याएको’ बताएका छन् । तर उनले मानवीय क्षतिको विवरण सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?