+
+
Shares

अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १४:२७

१६ भदौ, काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो ।

खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ ।

भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा थियो ।

भूकम्पको केन्द्रबाट झण्डै ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म धक्का महसुस गरिएको थियो ।

मध्यरातमा आएको भूकम्पले माटो र ढुंगाले बनेका ग्रामिण क्षेत्रका अधिकांश घरहरू भत्किएका छन् ।

सञ्चारमाध्यममा आएका भिडियो फुटेजहरूमा हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

भूकम्पले भत्किएका भग्नावशेषमा खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा आएको यति ठूलो भूकम्पले देशलाई पुन: संकटमा पारेको छ ।

मानवीय संकटसँग लडिरहेको दक्षिण एशियाली मुलुक अफगानिस्तानले वाह्य सहायता समेत तीव्ररूपमा कटौतीको सामना गरिरहेको छ ।

तालिबान सरकारको आन्तरिक मन्त्रालयले पूर्वी प्रान्त कुनार र नाग्गाहारमा थुप्रै घरहरू भत्किएका र ठूलो धनजनको क्षति भएको जनाएको छ ।

‘पूर्ण सहायताका लागि उद्धार र राहतमा हाम्रा सबै टोलीहरूलाई परिचालित छन्,’ मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीले भने, ‘सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणका लागि प्रयास भइरहेको छ ।’

भूकम्प र बाढीले प्राय: प्रभावित भइरहने ग्रामिण क्षेत्रमा उद्धारकर्मीहरू परिचालित भइरहेका राजधानी काबुलका अधिकारीहरूले बताएका छन् ।

पछिल्लो पटक सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला झण्डै एक हजार मानिसको मृत्यु भएको थियो । गएराति त्यसयताकै ठूलो भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?