
सोलुखुम्बु जिल्लामा मेरो यो सातौं पटकको यात्रा हो । सामान्यत: सोलुखुम्बु भन्नासाथ सगरमाथा सम्झने गर्दछन्, जो–कोहीले । तर सोलुखुम्बु जिल्लामा सगरमाथा आधारशिविर मात्र नभएर पदयात्राका लागि धेरै स्थान छन् । यिनै स्थानहरूमध्ये यो पटक तल्लो सोलुमा पर्ने दूधकुण्ड पदयात्रा रह्यो । तल्लो सोलु यात्रा गर्दा लाग्यो म त निकै ढिला पो आइपुगेको जस्तो अनुभूति भयो ।
जीवनमा कतिपय यात्रा केवल गन्तव्यसम्म पुग्ने बाटो हुँदैनन्, कहिलेकाहीं ती बाटाहरू आत्मासम्म पुग्ने पुल बन्छन् । यस्तै भयो मेरो लागि सोलुखुम्बुको दूधकूण्ड यात्रा ।
जीवनमा कहिलेकाहीं यस्तो यात्राको अनुभव हुन्छ, जसले केवल आँखालाई मात्र होइन, आत्मालाई पनि छुन्छ । मेरो लागि सोलुखुम्बुको दूधकुण्ड यात्रा त्यस्तै अविस्मरणीय अनुभव बन्यो ।
जीवनमै पहिलो पटक २०४७ सालतिर तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज चढेर जुम्ला जाने अवसर जुटेको थियो । तत्पश्चात् २०७० सालतिर काठमाडौंदेखि धनगढी यात्राको मौका मिलेको थियो भने यो पटक काठमाडौंदेखि फाप्लुसम्म नेपाल एयरलाइन्स चढ्ने अवसर प्राप्त भयो ।
काठमाडौंदेखि करिब ३५ मिनेट हाराहारीमा फाप्लु पुग्यौं । समुद्री सतहबाट २४ सय १३ मिटरको उचाइमा अवस्थित फाप्लु बजार दूधकुण्डको मात्र नभएर सगरमाथा क्षेत्र प्रवेशको ढोका पनि हो ।

विदेशी पर्यटकहरू फाप्लुदेखि नै पदयात्रा गर्ने गर्दछन् भने मैले टाकशिन्दुसम्म सवारी साधन प्रयोग गरें । टाकशिन्दुसम्मको बाटो ग्राभेल भएका कारण हामीले मोटरसाइकलमा यात्रा गर्यौं ।
यात्रामा साथ दिए सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रहरी प्रमुख दावा शेर्पाले । हामीले फाप्लुदेखि यात्रा तय गर्दा नै ढिला भएका कारण हाम्रो यात्रा कामोडाँडासम्म भयो ।
समुद्री सतहबाट २९०० मिटर उचाइमा रहेको टाकशिन्दुदेखि ३५०० मिटर उचाइमा रहेको कामोडाँडा पुग्नलाई उकालोबाटो भएका कारण हामी विस्तारै यात्रा गर्यौं । सुरुवातमै हामीलाई उकालो बाटोले स्वागत गर्यो । घना जंगल र बाटोमा विभिन्न चराचुरुंगीको आवाजले उकालो बाटोमा यात्रा पनि त्यति थकित भएन । अझ जंगलमा चरिरहेका चौंरी, गाईवस्तु चराउँदै गरेका किसान अनि बालबालिकाको न्यानो हाँसोले यात्रालाई रमाइलो बनाइरहेको थियो ।
यात्रा केवल शारीरिक मिहिनेत मात्र थिएन, यो आत्मिक आनन्द पनि थियो । बाटोभरि फुलेका विभिन्न प्रजातिका फूलहरूले हामीलाई स्वागत गरेको जस्तो अनुभूति भएको थियो । लगभग दिनको १ बजेतिर शुरु गरेको यात्रा कामोडाँडा पुग्दा सात बजेको थियो ।
हामीले पहिले नै कामोडाँडामा अवस्थित नुम्बुर रिट्रिट लजका लाक्पालाई सम्पर्क गरेर हामी आउँदै गरेको जानकारी गराएका कारण बास बस्न सहज भयो । दूधकुण्ड यात्रा मेरो पहिलो भएको कारण यो क्षेत्रको भौगोलिक अवस्थाको बारेमा मैले सुनेको मात्र थिएँ । लजका साहुजी लाक्पासँग केही समय भलाकुसारी गरें । बिहानै सबैरै म र मेरा सहयात्री यात्रामा निस्कने सोच बनाएका थियौं । तर लजका साहुजी लाक्पाले कामोडाँडाबाट सगरमाथा सहित सूर्योदयको दृश्य राम्रो हुने जानकारी दिए । अनि हामीले सूर्योदयको दृश्य अवलोकन गरेर मात्र यात्रा तय गर्ने योजना बनायौं र खाना खाएर भोलिपल्टको सूर्योदयको दृश्यवलोकन गर्ने योजनासहित सुत्ने तरखरमा लाग्यौं ।

बिहानको करिब ५ बजेको थियो । बिहान उठ्नासाथ होटलका साहुजीले चिया तयार गरेका थिए । अनि होटलसँगै रहेको डाँडामा सूर्योदयका दृश्य खिच्न उक्लियौं । बिहान बादल लागेका कारण एकछिन मन त खिन्न भयो । तर, विस्तारै बादल फाट्दै गएपछि सगरमाथासहितको हिमश्रृंखलाको दृश्य क्यामरामा कैद गरेर हामी गन्तव्यतर्फ लाग्यौं ।
यात्रा तय गरेपछि कहिले बादलसँगै हिंडिरहेको भान हुन्थ्यो भने कहिले बादल खुलेर हिमाल देखिंदा हिंडाइको थकान पनि हट्दै थियो ।
उकालो चढ्दै जाँदा शरिर अलि थकित भएको अनुभूति हुन्थ्यो । तर, बाटोभरी फूलेका रंगीविरंगी फूलहरू देख्दा शरीरको थकान एकाएक गायब हुन्थ्यो । कामोडाँडाबाट यात्रा गरेपछिको बास बस्ने स्थान हो सहस्रबेनी जुन समद्री सतहबाट ३८०० मिटर उचाइमा रहेको छ ।
कामोडाँडादेखि सहस्रबेनीसम्मको यात्रा बढीमा ४ घण्टाको रहेको छ । दूधकुण्ड यात्राको आधारशिविर हो, सहस्रबेनी । कामोडाँडाका लाक्पाले हामी आउँदै गरेको खबर गरेका कारण हामीलाई सहज भयो । चाँडै पुगेका कारण हामी दूधकुण्डतर्फ जाने योजना बनायौं । सहस्रबेनीदेखि ४ घण्टाको उकालो यात्रापश्चात् पुग्न सकिन्छ, दूधकुण्ड । दूधकुण्ड पुग्नका लागि सहज होस् भनेर सोलुदूधकुण्ड नगरपालिकाले बाटोमा ढुंगा बिछ्याएका कारण पदयात्रीलाई बाटो पहिल्याउन त्यति गाह्रो भएन । हामी उकालोतर्फ यात्रा गर्दा हामीले बाटोमा तालको अवलोकन तथा दर्शन गरेर फर्कंदै गरेका केही आन्तरिक पदयात्रीहरूसँग पनि भेट भयो ।

ताललाई छिनमा बादलले ढाक्ने छिनमा खुल्ने भएका कारण पनि निकै मनमोहक अनुभूति भयो । नुम्बुर हिमालको काखैमा अवस्थित दूधकुण्ड जब बादल फाटेर तालमा हिमाल प्रतिबिम्बित हुँदा दृश्य अलौकिक देखिन्थ्यो।
तालको छेउमा उभिंदा आत्मामा अनौठो शान्ति छायो । मौसम चिसो थियो तर भित्रको ऊर्जा गर्मीझैँ फैलिएको थियो । तालको पानि हातमा लिएर मुखमा राखें अनि श्रद्धापूर्वक मुखलाई स्नान गरें ।
स्थानीय लगायत देशभरबाट मानिसहरू जनैपूर्णिमामा यहाँ पुग्छन् । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको आस्थाको स्थल भएकाले, दूधकुण्ड केवल ताल मात्र नभई संस्कृति र विश्वासको संगम हो ।
दूधकुण्ड पुग्दा मलाई प्रकृतिसँग नजिक मात्र बनाएको छैन, म यहाँ आउन किन यति अबेर भयो भन्ने समेत अनुभूति गरायो ।
यस्तो छ दूधकुण्ड पोखरीको महिमा
दूधले भरिएको कुण्ड ‘दूधकुण्ड’, धेरैले प्राकृतिक स्वर्गको रूपमा चित्रित गर्छन् । नुम्बुर हिमालको काखैमा रहेको दूधकुण्ड समुद्री सहतदेखि ४,५३१ मिटरको उचाइमा अवस्थित छ । यो धार्मिक र प्राकृतिक पवित्र तीर्थस्थल हो ।
दूधकुण्डबारे विभिन्न किम्वदन्तीहरू रहेका छन् । हिमालहरूको सृष्टि हुँदादेखि नै दूधकुण्ड बनेको र यसलाई स्थानीय भेडा तथा चौंरी गोठालाहरूले पत्ता लगाएको एकथरीको भनाइ छ ।
परापूर्वकालमा चौंरी चराउन जाँदा एउटा चौंरीले कुण्ड रहेको ठाउँस्थित एक ढुंगामा दैनिक दूध चढाउने गरेको र त्यहाँ जाँदा गाईको दूधले भरिएको कुण्ड भेटेकोले दूधकुण्ड नामांकन गरिएको किम्वदन्ती पनि छ ।

जसले गर्दा यहाँ देवीदेवताको बास रहेको जनविश्वास छ । आत्मा, शुद्धि र पितृको शान्तिको लागि पनि दर्शनार्थीहरू दूधकुण्ड पुग्ने गरेका छन् । दर्शनार्थीहरू दोहोरो तेहरो पनि दूधकुण्ड पुग्छन् ।
पोखरीको पानीले स्नान गर्दा सन्तान नभएका दम्पतीको सन्तान हुने जनविश्वास रहेको छ । पशुचौपायबाट नराम्रो भए यस कुण्डमा गई पूजा गरे समस्या हल हुने विश्वास पनि छ ।
प्राचीनकालमा देवता र दानव बीच यही कुण्डमा समुद्र मन्थन भएको र देवताले जितेर दिव्यरत्न अमृत लिएर गएको जनभावना रहेको छ ।
हिमाली क्षेत्रमा प्रशस्त कुण्डहरू भेटिए पनि दूधकुण्डको महिमा गर्विलो र धार्मिक रहेकाले दर्शनार्थीको संख्या वर्षेनि बढ्दै आएको छ । पोखरीमा स्नान गरी फेदमा गणेशको प्रार्थना, अलि माथि चढेपछि तीन धारा छ । धारामा फूलपाती गरिसकेपछि पार्वती जन्मिएको स्थलको रूपमा गौरापार्वती धाममा पूजा गर्ने प्रचलन रहेको छ ।
ढुंगामाथि रहेको सानो पोखरीमा शिवजीलाई पूजाआजा गर्ने र वर माग्ने चलन रहेको छ ।
के भन्छन् सोलुदूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा ?
सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने नुम्बुर हिमालको काखैमा समुद्र सतहबाट ४६०० मिटरको उचाइमा रहेको दूधकुण्डमा वर्षेनि धार्मिक पर्यटकको चाप बढ्दै गएको छ ।
धार्मिक महत्त्व बोकेको तथा प्राकृतिक सुन्दरताले भरिएको दूधकुण्ड पोखरी जानका लागि आधा बाटोसम्म सडकको पहुँच पुगेको छ भने बाँकी पदमार्गका रुपमा छ ।
दूधकुण्ड पोखरीमा जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गरेको र मेलामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् । दूधकुण्डमा पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो । मेलामा हिन्दु मात्रै नभई बौद्धमार्गी, किराँतीहरू समेत दूधकुण्ड पुग्ने गर्छन् ।
दूधकुण्ड पदयात्रामा जाने पदयात्रीको लागि सहज होस् भनेर नगरपालिकाले शौचालय लगायत बस्ने स्थानको समेत व्यवस्थापन गर्नु साथै नगपालिकाले पदमार्ग तथा अन्य पूर्वाधारको निर्माणमा तीव्रता दिएको छ ।
पदयात्रीलाई सहज होस भनेर स्थानीय तर विभिन्न निकायसँग सहकार्य गरेर बाटोमा संकेतहरू समेत राखिएको छ ।








प्रतिक्रिया 4