News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित ११० जनालाई काभ्रेको बनेपा–६ मा रहेको रेडक्रसको प्रशिक्षण केन्द्रमा ल्याइएएको छ।
- बनेपाको होल्डिङ सेन्टरमा सुत्केरी, बालबालिका, वृद्धदेखि अपाङ्गता भएका व्यक्तिहरु समेत छन् ।
- विस्थापितहरूले खान र बस्न सरकारले दिए पनि रोजगारी, पढाइ र नवजाज शिशुको स्याहारमा समस्या भएको गुनासो गरेका छन्।
२८ वैशाख, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई काभ्रेको बनेपा ल्याइएको छ । उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा, शंखमुल, बोक्सीघाट र प्रयागघाट लगायतका स्थानबाट विस्थापित भएका ११० सुकुमवासीहरूलाई बनेपा–६ मा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा राखिएको छ ।
होल्डिङ सेन्टर रहेका सुकुमवासीहरू पटकपटक सर्नुपर्दा चिन्तित देखिन्छन् । उनीहरू सबैको साझा प्रश्न सुनिन्छ, ‘सरकारले खान र बस्न त देला तर दिनभरि के काम गर्ने ? परिवारको गुजारा सधैं कसरी चलाउने ? रोजगारीको लागि के छ विकल्प ?’ सरकारले नै रोजगारीको लागि व्यवस्था मिलाइदिनुपर्ने उनीहरूको माग छ ।
काठमाडौं– ९ प्रयागघाट सुकुमवासी बस्तीका टेकबहादुर थापाले आफूहरूलाई खानको समस्या भन्दा पनि बासको समस्या भएको गुनासो गरे । उनी माछापोखरीस्थित एक होटलमा ११ दिन बसेर बनेपा आइपुगेका हुन् ।
‘खान त दिनभरि काम गरेर खोले खाउँला तर बास ठाउँठाउँमा सारेर भन्दा पनि कहाँ बस्ने भन्ने कुरा सरकारले तय गरिदियोस्,’ उनले गुनासो गरे ।
३० वर्षदेखि थापाथली बस्दै आएकी धनुषाकी बीमा देवी झाको गुनासो पनि थापाको जस्तै छ । ‘सरकारले चाँडो छानबिन गरिदियोस्, गरिबको उद्धार गरोस्,’ उनको माग छ ।
काठमाडौ–९ स्थित बस्तीमा बस्दै आएकी मनकुमारी सार्कीको भने समस्या अलि फरक छ । विस्थापित हुनुअघि उनी ठेकेदारमार्फत कुचो लगाउने, फूल गोड्ने लगायतका काम गर्थिन् । अहिले उनको काम छुटेको छ ।
‘ठेकेदारले बोलाउँछ तर म जान सकेको छैन । एक त समयले भ्याइँदैन अर्को पैसा छैन । झन् बनेपाबाट त काठमाडौं पुग्न नै दुई घण्टा लाग्दो रहेछ,’ उनको गुनासो छ ।
१४ दिनको सुत्केरीलाई छैन स्याहार
थापाथलीमा बस्दै आएकी २० वर्षीया अन्जली कुमारी महतोलाई चिकित्सकले वैशाख दोस्रो साता नै सुत्केरी हुने समय दिएको थिएका थिए । वैशाख १२ मा घरमै डोजर चल्यो ।

सकिनसकी सामान व्यवस्थापन गरेकी उनलाई सुरुमा बालाजुको होल्डिङ सेन्टर पुर्याइयो । ‘मलाई त्यहाँ पुगेपछि सुत्केरी हुने व्यथा लाग्यो, परिवारले नै अस्पताल लग्यो,’ उनले भनिन्, ‘१४ वैशाखामा छोरी जन्मिइन् ।’
सुत्केरी अञ्जली केहीदिन अस्पताल बसेर पुन: बालाजुको होल्डिङ पुगेकी थिइन् । उनलाई पनि बालाजुबाट चार दिन अघि बनेपा ल्याइएको छ । ‘अप्रेसन भएको ज्यान कहिले कता, कहिले कता सारिरहेका छन् । सर्ने क्रममा अप्रेसन गरेको ठाउँमा साह्रै दुख्छ,’ उनको दुखेसो छ ।
अहिले पर्याप्त स्तनपान नहुँदा बच्चालाई समेत समस्या भइरहेको उनले बताइन् । पोषण नपुगेर बच्चा कमजोर हुने चिन्ता उनमा छ । भर्खरै जन्मिएकी दूधे बालकलाई तेल लाउन पनि धौ–धौ भएको उनले बताइन् ।
उनको ७ जनाको परिवार थापाथलीमा मिस्त्रीको काम गरेर पालिएका थिए । त्यो कामको लय अहिले छुटेको उनी बताउँछिन् ।
पढ्नबाट बञ्चित बालबालिका
बनेपाको होल्डिङ सेन्टरमा पुगेका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित देखिन्छन् । होल्डिङ सेन्टरमा राखिएका ११० जनामध्ये २८ जना विद्यार्थी नै छन् । विद्यालय जाने टुंगो नहुँदा चिन्ता थपिएको उनीहरू सुनाउँछन् ।
गुह्यश्वरी बाल शिक्षा माध्यमिक बिद्यालयमा कक्षा–३ मा पढ्दै गरेकी राधिका महतो अहिले यस्तै अन्योलमा छिन् । ‘हामीलाई बालाजुबाट बनेपा ल्याएको छ, स्कुल खुलेपनि पढ्न जान पाइएन,’ उनले भनिन् ।
उनीजस्तै १३ वर्षीय रोहन परियारलाई पनि पढाइ बिग्रिने चिन्ता छ । नयाँ शैक्षिक सत्र सुरू भएको दुई साता हुनै लाग्दासम्म अझै भर्नाको टुंगो नहुँदा उनीहरूमा चिन्ता थपिएको प्रष्ट देखिन्छ ।
‘हामीलाई कहिले कहाँ, कहिले कहाँ लिएर जाँदा हाम्रो पढाइ झन् बिग्रिने भयो । जहाँ लगेपनि हामीले पढ्न पाउनुपर्छ,’ रोहनले भने ।

अनलाइनखबरकर्मी होल्डिङ सेन्टर पुग्दा उनीहरूलाई खाना र खाजा खान जाने कुपन वितरण भइरहेको थियो ।
बनेपाको होल्डिङ सेन्टरमा १६ वर्षमुनिका २६ जना, १६–४० वर्षका ३४ जना, ४०–६० वर्षका ३१ जना र ६० वर्षमाथिका जेष्ठ नागरिक १९ जना छन् । जसमध्ये १४ दिनको नाबालक १ जना, बौद्धिक अपाङ्ग १ जना, दृष्टिविहीन १ जना र ८० वर्षका एक जना छन् ।

प्रतिक्रिया 4