+
+
Shares
अन्तर्वार्ता :

‘चीनको ‘जीएसआई’बारे प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर सोध्छौं’

अहिले ‘जीएसआई’ को जुन कुरा चीनको वक्तव्यमा आएको छ, त्यसप्रति हाम्रो समितिको ध्यानाकर्षण भएको छ । जबसम्म नेपालको आधिकारिक धारणा आउँदैन यसको सही तथ्य के हो ? यतिकै भन्न सकिँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा समर्थन गरेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।
  • नेपालले जीएसआईमा समर्थन गरेको आधिकारिक धारणा सार्वजनिक गरेको छैन र परराष्ट्र समितिले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ।
  • परराष्ट्र समितिका सभापति राजकिशोर यादवले नेपाल कुनै सैन्य गठबन्धनमा नजाने र नन-एलाइनमेन्टको नीति कायम राख्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत शनिबार भएको द्विपक्षीय वार्तामा नेपालले चीनले अघि सारेको सुरक्षासम्बन्धी अवधारणा ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) मा समर्थन गरेको कुरा आएको छ । चीनको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको उल्लेख छ ।

यसबारेमा नेपालले आधिकारिक धारणा बाहिर ल्याएको छैन । तर नेपालको राजनीतिक वत्तृमा भने जीएसआईमा नेपालले समर्थन जनाएको कुराले तरंगित छ । चीन जानु अघि प्रधानमन्त्री ओलीले भ्रमण र त्यहाँ हुने कार्यक्रमकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका थिए । त्यसबेलामा यो केही कुरा आएको थिएन ।

नेपालको सहमति बिना नै चीनले आफ्नो वक्तव्यमा जीएसआईको कुरा घुसाएको हो कि भन्ने आशंका पनि छ । यसै सन्दर्भमा परराष्ट्र मामिलामा सरोकार राख्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र  पर्यटन समितिका सभापति राजकिशोर यादवसँग अनलाइनखबरले गरेको कुराकानी :

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा समर्थन गर्‍यो भन्ने चीनले जारी गरेको वक्तव्वमा उल्लेख छ । यो विषयमा तपाईं संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध  समितिको सभापति पनि भएको हुनाले कसरी लिनुभएको छ ?

सबभन्दा पहिला त चीन हाम्रो मित्र राष्ट्र मात्र होइन,एउटा महत्वपूर्ण छिमेकी पनि हो । हामीले छिमेकीसँग राम्रो सम्बन्ध राखेर नेपाललाई बढीभन्दा बढी कसरी उपलब्धि लिन सकिन्छ भन्ने ढंगले नै अघि बढ्नुपर्छ ।

अहिले हाम्रो सम्मानीय प्रधानमन्त्रीजी चीनमा शाङ्घाई सहयोग संगठन (एसईओ) को बैठकमा जानुभएको छ । त्यहाँ खासगरी हामी दुइटा मुलुकको बीचमा  विगतमा भएका सवाल रसम्झौताहरुलाई  कार्यान्वयन तहमा पुर्‍याउने र कसरी अझै मजबुत बनाउने भन्ने कुरा भएको छ ।

तर खासगरी चिनियाँ पक्षबाट जसरी नेपाल चाहिँ ‘जीएसआई’मा सहमत भयो भन्ने कुरा आयो त्यसबारे नेपालबाट आधिकारिक धारणा आइसकेको छैन ।

पञ्चशीलको सिद्धान्त हाम्रो परराष्ट्रनीतिको कोर भ्यालु हो । त्यसैले कुनै पनि सैन्य गठबन्धनमा कसैको पक्षमा नलागेर एक प्रकारको ‘न्यूट्रालिटी मेन्टेन’ गर्ने हाम्रो उद्देश्य हो ।

तर अहिले ‘जीएसआई’ को जुन कुरा चीनको वक्तव्यमा आएको छ, त्यसप्रति हाम्रो समितिको ध्यानाकर्षण भएको छ । जबसम्म नेपालको आधिकारिक धारणा आउँदैन यसको सही तथ्य के हो ? वास्तविकता के हो ? यतिकै भन्न सकिँदैन ।

चिनियाँ पक्षबाट जुन फर्मलरुपमा उसमै डकुमेन्टमै यो कुरा आयो अब यसको बारेमा प्रधानमन्त्रीज्यू फर्केपछि नेपाल सरकारको आधिकारिक धारणा के हो भन्ने बारेमा हामीले परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समेत बोलाएर समितिमा छलफल गर्छौं ।

प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर छलफल गर्नुहुन्छ ?

निश्चित रुपमा हामी गर्छौं । मलाई के लाग्छ भने, पहिले त त्यसको अधिकारिक कुरा आइसकेपछि थप हामी यसको बारेमा कसरी जाने हो ? यो तय हुनुपर्छ । मलाई अहिले पनि यस्तो सहमति भयो होला भन्ने लाग्दैन ।

तर यदी महत्वपूर्ण विषयमा सहमति नै हो भने यसबारेमा कसैलाई थाहा छैन । यदी हो भने यो ‘प्याराडाइम सिफ्ट’ हो । यदी यस्तो सहमति गर्न नै खोजेको हो भने पनि प्रधानमन्त्रीले सर्वदलीय र सम्मानित सदनमा चर्चा गर्नुहुन्थ्यो होला । तर जानु अघि प्रधानमन्त्रीले कुनै छनक दिनुभएको थिएन । त्यसैले मलाई अहिले पनि यो एक पक्षीय रुपमा आयो कि भन्ने लाग्छ ।

तपाईं परराष्ट्र समितिको सभापति पनि हुनुहुन्छ । सुरक्षा गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने हाम्रो परराष्ट्र नीतिको खास मान्यता चाहिँ के हो ?

हामी कुनै पनि सैन्य ब्लकमा रहँदैनौं । अहिले विश्व जसरी ध्रुवीकृत हुने अवस्था छ, त्यसमा हामी कसैको पक्षमा नलाग्ने भन्ने हो । नेपाल कुनै  पक्षधरता नराखिकन शान्तिको पक्षमा आफूलाई मेन्टेन गर्ने गर्छ । नन्-एलाइनमेन्ट मुभमेन्टको हामी सक्रिय सदस्य हौं । केही समय अघि अजरबैजानको बैठकमा नेपाल भाग लिएर आएको हो ।

विश्वमा जुनप्रकारको युद्धको खतरा छ, त्यसबाट मुक्त गराउने हो भने नन्- एलाइनमेन्टको मुभमेन्टको मान्यतालाई अघि बढाउनुपर्छ भन्ने हो । यो हाम्रो कोर भ्यालु हो । त्यसैले कुनै सैन्य गठबन्धनको अंग बन्नु हँदैन भन्ने हाम्रो मूल मान्यता हो ।

कुनै सैन्य गठबन्धनको अंग बन्नु हँदैन भन्ने हाम्रो मूल मान्यता हो ।

चीनले ‘जीएसआई’ को कुराहरु आएको बेला देखि नै नेपालको समर्थन लिन कोसिस गरेको थियो । यो भन्दा अगाडिका प्रधानमन्त्री भिजिटको क्रममा पनि र अन्य तरिकाले पनि यो कुरा आउने गरेको थियो । त्यो बेलामा जीएसआईमा अहिले हामी जादैनौँ भन्ने खालको नेपालले मान्यता र अडान राखेको थियो ।

त्यो अडान अहिले पनि परिवर्तन भएको छैन । अडान परिवर्तन नभएकै बेला यो नयाँ कुरा आएको छ ।

यो भन्दा अगाडिको अडानको चाहिँ कस्तो थियो ?

यसलाई दुइटा पाटोबाट हेर्नुपर्छ। हामी चीन भ्रमणमा हुँदा या चिनियाँ पक्षहरुसँग हाम्रो यो प्रकारको भेटघाट हुँदा उनीहरुले बीआरआई हुँदै जीएसआई सम्म जाने कुरा राख्थे । नेपालले हामी चाहिँ नन्- एलाइनमेन्ट मुभमेन्टमा छौं भनेर त्यो प्रस्तावलाई अस्वीकार गर्दै आइरहेको हो ।

विकासका सवालमा हामी पार्टनर बन्न सक्छौं, तर कुनै प्रकारको सैन्य गठबन्धनमा हामी सहभागी हुँदैनौं भनेर हामीले चीनलाई पनि त्यही भनेको हो । अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीको कुरा आउँदा, एमसीसीको कुरा आउँदा त्यो विकासका लागि हो भनेर लिएको हो । तर त्यो भन्दा अगाडि कुनै सैन्य गठबन्धन या त्यस्तो रणानीतिक रुपमा हामी जादैनौं भन्ने स्पष्ट धारणा थियो ।

तर अहिले जसरी एक पक्ष आएको छ, मलाई विश्वास भइरहेको छैन। हाम्रो प्रधानमन्त्रीजीले यो तहसम्म गर्नुभएको होला भन्ने लाग्दैन । यदि हो भने यो छलफलको विषय बन्छ ।

चिनियाँ पक्षले चाहिँ अब जीएसआई विश्वका धेरै देश सहभागी भइसकेका छन् यो शान्ति र सहस्तित्वको लागि हो भनेको छ । कसैका विरुद्धमा आक्रमण गर्ने र कुनै खालको युद्धकारी मोर्चा बनाउने हाम्रो अभिप्राय छैन पनि भनेको छ । शान्ति र सहस्तित्वको लागि हो भनेर जुन दाबी गरेर नेपाललाई आग्रह गरिराख्या छ । यो विषयलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

अहिले विश्व राजनीति नै एक प्रकारको वर्ल्ड अर्डर चेन्ज हुने स्थितिमा छ । अब युनिपोलरबाट मल्टिपोलर र रिजनल पावर बलियो भएर आएको स्थिति छ । उहाँहरुले यो प्रस्ताव अगाडिदेखि नै राख्दै आएको हो ।

यदि हामीले सोच्ने हो भने पनि नेपालका दलहरुकोबीचमा व्यापक छलफल हुनुपर्छ । उहाँहरुले राख्ने प्रस्ताव हो । नन्- एलाइनमेन्टको च्याम्पियन भएकाले हामी सैन्य गठबन्धनको गन्ध आउने कुनै पनि कुराको अंग बन्दैनौ र बन्नुहुन्न ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डजीको भ्रमण हुँदा पनि यो प्रस्ताव आएको थियो । तर हामी यसको पाटो हुन सक्दैनौं भनेर अस्वीकार गरेको स्थिति थियो । त्यो बाउण्ड्रीलाइन हामीले क्रस गर्न सक्ने अहिले पनि स्थिति छैन ।

यो भ्रमणमा सत्ता साझेदार नेपालीका कांग्रेसका उपसभापति एवं पूर्वगृह र रक्षामन्त्री समेत भइसक्नु भएका नेता पूर्णबहादुर खड्का पनि सहभागी हुनुहुन्छ । कतै गोप्य रुपमा कांग्रेस-एमाले का सिनियर नेताहरुकै सहमतिमा त यो कुरा चीनियाँ पक्षसँग अघि बढाइयो कि ?

जबसम्म नेपालको तर्फबाट आधिकारिक धारणा धारणा आउँदैन। तबसम्म हामीले शंकाको भरमा यति ठूलो कुरा गर्नु हुँदैन । सबैभन्दा पहिले त हाम्रो प्रधानमन्त्रीजी माथि नै विश्वास छ। उहाँले हाम्रो पोलिसीको प्याराडाइम सिफ्ट नै हुने काम पक्कै गर्नु भएन ।

यदी उहाँलाई नेपाललाई यो आवश्यकता हो भन्ने लागेको भए सदनमा सम्बोधन गरेर भन्नुहुन्थ्यो होला । सदनमै त्यो प्रकारको चर्चा हुन्थ्यो होला । जानुभन्दा अगाडि सर्वदलीय बैठक गरेर यसरी हामी सोच्दै छौं भन्नुहुन्थ्यो होला ।

लिपुलेकको सहमतिमा नेपालले असहमति जनाइसकेको छ । यदी हाम्रो जानकारीबिना जीएसआईको कुरा एकतर्फी आएको हो भने अब नेपालले के गर्नुपर्छ ?

अहिले एकपक्षीय रुपमा कुराहरु आइरहेको स्थिति छ। त्यसैले नेपालले सबैभन्दा पहिले यस्ता कुरामा तुरुन्तै आफ्नो अधिकारिक पोजिसन के हो भने धारणा सार्वजनिक गर्नुपर्छ । नेपाल सहमत भएको छैन भने यसलाई खण्डन गर्नुपर्छ जस्तो लाग्छ।

तपाईंले अघि विश्व ध्रुवीकरणको कुरा पनि गर्नुभयो । पुटिन, सी जिनफिङ र मोदी हात मिलाइरहेको ठाउँमा नेपाल पनि गएर बस्ने कुरालाई तपाईंले कसरी हेर्नुहुन्छ ?

महत्वपूर्ण छ । शक्ति राष्ट्रका नेताहरुबीच जुन प्रकारको फोटो मात्र होइन हात मिलाएकोले देखिएको छ,  यो अब विश्व नयाँ ध्रुव बन्दैछ भन्ने एउटा मेसेज हो । नेपाल त्यो पोजिसनमा त पुगिसकेको छैन । तर हामीले सबै घटनाहरुलाई मिहिन ढंगले वाच गर्नुपर्ने छ ।

शक्ति राष्ट्रहरुको चीन र भारत मिलेर अहिले जुन प्रकारको हाम्रो भूमिमा सम्झौता भएको यसले विश्वमा यस्ता घटनाहरु शक्ति राष्ट्रहरुको आफ्नो स्वार्थ भयो भने तुरुन्तै मिल्ने र घटित हुने स्थिति रहेछ ।

त्यसैले नेपाल अहिले बडो सतर्कतापूर्वक यी घटनाहरुलाई नियाल्ने र आफ्नो  मुलुकको हितमा  हेर्ने हो । अब परराष्ट्रनीति यदि विश्व राजनीति परिवर्तन हुँदै छ र विश्व परिवेश  परिवर्तन हुँदैछ भन्ने हो भने हामीले आन्तरिक तयारी व्यापक गरेर मात्रै कुनै काम गर्नुपर्‍यो ।

कसैको लहैलहैमा कुनै घटनाबाट मात्रै उत्तेजित भएर अगाडि बढ्नु हुँदैन । अहिले एकदम संवेदनशील हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?