+
+
Shares

रूस-युक्रेन युद्धमा पश्चिमा मुलुक जिम्मेवार : पुटिन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १६:४१

१६ भदौ, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति भएको बताएका छन् ।

शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका पुटिनले गत महिना अलास्कामा ट्रम्पसँग भएको शिखर वार्तामा युक्रेन युद्ध अन्त्य गर्न सहमति भएको बताएका हुन् ।

तर, उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटेर शान्ति वार्ताका लागि रूस तयार रहेको वा नरहेको बारे भने केही खुलाएनन् ।

एससीओ सम्मेलनका लागि तियानजिनमा रहेका पुटिनले युक्रेन विरुद्धको रूसी आक्रमणको बचाउ गर्दै युद्धका लागि पश्चिमा मुलुक जिम्मेवार भएको दोहोर्‍याए ।

अलास्का बैठकपछि अमेरिकी विशेष दूत स्टिभ विटकोफले पुटिन युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न तयार भएको बताएका थिए । तर, रूसले भने हालसम्म यसको पुष्टि गरेको छैन ।

तियानजिनमा सम्बोधनका क्रममा पुटिनले भने, ‘अलास्कामा ट्रम्पसँग भएको भेटमा सहमति भएको थियो, आशा छ ट्रम्प युक्रेनमा शान्ति कायम गर्ने दिशामा अगाडि बढिरहेका छन् ।’

पश्चिमा मुलुकले युक्रेनलाई युरोपेली सैन्य गठबन्धन नेटोमा सामेल गराउन लगातार प्रयास गरिरहेको उनको भनाइ छ ।

पुटिनले युक्रेन नेटोमा सामेल हुने कुराप्रति लगातार असहमति राख्दै आएका छन् । युक्रेनलाई प्रयोग गरेर पश्चिमा मुलुकका नेटो सैनिक आफ्नै सीमासम्मै आइपुग्ने पुटिनको आशंका छ ।

सन् २०१४ मा रूसले क्रिमिया कब्जा गरेको थियो । साथै रूसी समर्थक  समूहले पूर्वी युक्रेनको केही हिस्सा समेतमा कब्जा जमाएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा नेटोमा सामेल हुने चर्चाका बीच पुटिनले युक्रेनमा उच्च तहमा आक्रमणको निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?