
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच अब बैठक सम्भव रहेको बताएका छन्।
- रुसले युक्रेनको नेटोमा सामेल नहुने, डोनबास क्षेत्रबाट युक्रेनी सेनाको पछि हट्नुपर्ने र युक्रेनको तटस्थता कायम राख्नुपर्ने शर्त राखेको छ।
- पुटिनले डोनबास क्षेत्रको दोनेत्स्कमा करिब ७० प्रतिशत रूसी सेनाको नियन्त्रण कायम राख्न चाहन्छन् र स्थायी सम्झौता गर्न ट्रम्पलाई मञ्जुर गराएका छन्।
३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र जेलेन्स्कीबीच अब बैठक सम्भव हुनसक्ने बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस यात्रा र युरोपेली नेताहरूसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन–जेलेन्स्कीको भेट सम्भव रहेको बताएका हुन् ।
ट्रम्पले जेलेन्स्कीलाई भेटेपछि फक्स न्यूजसँग भनेका छन्– ‘जेलेन्स्कीले लचिलोपन देखाउपर्छ, र पुटिन पनि त्रिपक्षीय बैठकका लागि तयार हुनुपर्छ ।’
तर, युद्ध अन्त्य गर्न आखिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका के शर्त छन् ? भन्ने अहिलेको मुख्य प्रश्न हो । मुलत: पुटिनले क्षेत्रीय स्थिरता, भूराजनीतिमा युक्रेनको तटस्थता र युक्रेनी सेनाको आकारका विषयमा शर्त राखेका छन् ।
पहिलो, युक्रेनले युरोपेली सैन्य संगठन (नेटो)मा सामेल हुने निर्णय गरेपछि रुसले सन् २०२२ देखि युद्ध छेडेको थियो । यस दौरान दुवैतर्फ मानवीय र भौतिक क्षति भएको छ । युक्रेनमा निकै धेरै क्षति भएको छ ।
सीमा जोडिने छिमेकी युक्रेनमा नेटो सैनिक प्रवेश गर्ने र त्यसले क्षेत्रीय स्थिरता भंग हुने रुसको तर्क छ । पुटिनलाई शंका छ– युक्रेनलाई प्रयोग गरेर पश्चिमाले आफ्ना नेटो सैनिक रुसी सीमासम्मै ल्याइपुर्याउँछन् । युक्रेन नेटोमा सामेल हुन नपाउने नै शान्ति वार्ताका लागि रुसको सबभन्दा पहिलो शर्त हो ।
रुसको यही चिन्तालाई महत्व दिँदै ट्रम्पले अलास्का शिखर सम्मेलनपछि युक्रेन नेटोमा सामेल नहुनेमा पुटिनलाई आश्वस्त पारे । तर, युक्रेन नेटोमा सामेल नहुने कुरा पुन:पुष्टि गर्दै रुसले औपचारिक सहमति चाहन्छ ।
दोस्रो, आशिंक नियन्त्रणमा लिइसकेको युक्रेनको डोनबास क्षेत्रमा पूरै रुसी नियन्त्रण । अर्थात् डोनबासको दोनेत्स्क र लेहांस्क प्रान्तमा अझै युक्रेनी सेनाको उपस्थिति रहेको क्षेत्रबाट पछि हट्नुपर्ने रुसको माग छ ।
यसो भए रुसले क्रिमिया प्रायद्वीपमा आफ्नो नियन्त्रण कायम राखिराख्न सक्छ र पूर्वी युक्रेनको डोनबास क्षेत्र (डोनेत्स्क र लुहांस्क) लाई अधिनमा लिन चाहन्छ । डोनबास कब्जा गरेर रुस पश्चिमी देशबाट हुने खतरालाई वरै रोक्न चाहन्छ । डोनबासलाई रुसले सुरक्षा घेरा बनाउन खोजेको छ । डोनबासमा कोइला र ग्यासका स्रोतहरू पनि छन् । डोनबास नियन्त्रणमा लिएर पूर्वी युक्रेनलाई जोडेर दक्षिणतर्फको क्रिमियासम्मै करिडोर बनाउन चाहन्छ रुस ।
यसले आजोभ र कालो सागरमा आफ्नो बलियो उपस्थिति बनाउन सघाउ पुग्ने रुसको रणनीति छ ।
डोनबास कब्जा गरेर रुसले सुरक्षा चासोको अवहेलना गर्न नपाइने र तत्कालीन शोभियत संघमा समेटिएको युक्रेन लगायतका क्षेत्र अझै पनि आफ्नो प्रभाव क्षेत्र हो भन्ने सन्देश दिन खोजेको छ ।
सन् १९९१ मा शोभियत संघको पतनपछि पनि डोनबास क्षेत्रका धेरै स्थानीयले रुससँग आत्मीय सम्बन्ध देखाएका छन् । सन् २०१४ मा क्रिमिया कब्जा गर्दा डोनबासमा पनि रुस समर्थित विद्राेह बढ्याे । भाषिक र सांस्कृतिक कारण पनि डोनबासका बासिन्दा रुससँग नजिक छन् ।
अहिले डोनबास क्षेत्रको दोनेत्स्कको झन्डै ७० प्रतिशत हिस्सामा रूसी सेनाको नियन्त्रण छ । डोनबास क्षेत्रमाथिको कब्जालाई कायम राख्न चाहन्छन् पुटिन ।
पछिल्लो साता अलास्का शिखर वार्ताका क्रममा पुटिनले ट्रम्पसँग पनि शान्ति सम्झौताका लागि युक्रेन दोनेत्स्कबाट पछि हट्नुपर्ने र बदलामा रुसले जापोरजिया र खेरसोन क्षेत्रमा युद्धरत रुसी फौजलाई त्यहीँ रोक्ने प्रस्ताव राखेका थिए ।
यद्यपि पुटिनले युद्धविरामको मागलाई खारेज गरेको बीबीसीले उल्लेख गरेको छ ।
तर, रिपोर्ट अनुसार पुटिनले आफ्ना शर्तमा ट्रम्पलाई समेत मञ्जुर गराएका छन् । ट्रम्प भने रुस र युक्रेनबीच युद्धविराम भन्दा पनि सीधै स्थायी सम्झौता गराउन चाहन्छन् ।
प्रतिक्रिया 4