+
+
Shares

‘बहुपक्षीयता गम्भीर संकटमा छ, एक्लिए कोही सुरक्षित रहन्न’

चीनका राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटमा नेपालको भूमिबाट व्यापार गर्ने भारत र चीनको सहमतिबारे आपत्ति जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति राष्ट्रका शक्तिशाली नेताहरू उपस्थित सोमबारको एससीओको सम्मेलनमा ‘नियममा आधारित विश्व व्यवस्था संकट’मा पर्दै गएको धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एससीओ बैठकमा भाग लिन चीन पुगेका बेला राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटमा नेपालको भूमिमा भारत-चीन सहमतिप्रति आपत्ति जनाएका छन्।
  • ओलीले एससीओको औपचारिक सम्मेलनमा नियममा आधारित विश्व व्यवस्था संकटमा परेको र बहुपक्षीयताको पुनर्जीवन आवश्यक रहेको धारणा राखेका छन्।
  • प्रधानमन्त्री ओलीले तीन रणनीतिक रूपान्तरणको आवश्यकता औंल्याउँदै क्षेत्रीय सहकार्य र न्यायपूर्ण बहुपक्षीय प्रणालीको समर्थन गरेको बताए।

१६ भदौ, काठमाडौं । सांघाइ सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन शनिबारै चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति सी चिनफिङ लगायतका अन्य मुलुकका राष्ट्र र सरकार प्रमुखसँग भेटघाट गर्दै सोमबार पूर्ण बैठकमा सहभागी भए ।

सी चीनफिङसँगको द्विपक्षीय भेटमा नेपालको भूमिमा भारत र चीनको सहमतिबारे आपत्ति जनाएका ओलीले शक्ति राष्ट्रका शक्तिशाली नेताहरु उपस्थित सोमबारको औपचारिक सम्मेलनमा ‘नियममा आधारित विश्व व्यवस्था संकटमा पर्दै गएको धारणा राखेका छन् । बहुपक्षीयताको अह्वान गर्दै नेपाललाई एससीओको नेपालले पूर्ण सदस्य बनाउन पनि ध्यानकर्षण गराए ।

‘शान्ति र न्याय अझै दुर्लभ छन्, यसले आज बहुपक्षीयता गम्भीर संकटमा रहेको देखाइरहेको छ’ प्रधानमन्त्री ‌ओलीले भने । प्रधानमन्त्री ओलीले विश्वव्यवस्थाका समस्या र त्यसमा सबै मुलुकहरुले लिनुपर्ने साझा पहलबारे कुरा गरे ।

जलवायु संकट, आर्थिक अस्थिरता र द्वन्द्वका कारण अहिले विश्व विभाजित भइरहेको उल्लेख गरे । तर यस्तो अवस्थामा कुनै पनि राष्ट्र एक्लिएर सुरक्षित रहन नसक्ने उल्लेख गर्दै उनले भने,’बहुपक्षीयता संकटमा भए पनि आशा बाँकी नै छ ।’

प्रधानमन्त्री ओलीले बहुपक्षीय मञ्चहरूले धेरै वाचा गर्ने तर थोरै मात्र उपलब्धि दिने कुरालाई अब तोड्नुपर्ने बताए । ‘बहुपक्षीयता परित्याग गर्नु समाधान होइन, बरु बहुपक्षीयताको पुनर्जीवन अहिलेको आवश्यकता हो’ उनले भने ।

क्षेत्रीय सहकार्यमा नेपाल प्रतिबद्ध

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघदेखि चीनले सोमबार एससीओ बैठकमै अघि सारेको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ सम्मको कुरा उठाए । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राख्दै विश्वव्यापी प्रणाली अझै प्रभावकारी र न्यायापूर्ण बनाउनुपर्ने धारणा राखे ।

उनले चीनद्वारा प्रस्तावित जीजीआईको समर्थन गर्दै यसले ‘न्यायसंगत, समावेशी र समान विश्व प्रणाली’ निर्माणमा योगदान दिने विश्वास व्यक्त गरे ।’जीजीआईले मानवताका लागि साझा भविष्य निर्माण गर्ने हाम्रो आकांक्षालाई साकार पार्न बहुपक्षीय प्रणालीलाई बलियो बनाउनेछ,’ प्रधानमन्त्री ओलीले भने,’नेपाल एक स्वतन्त्र, सार्वभौम र शान्तिप्रेमी राष्ट्रको हैसियतले, क्षेत्रीय सहकार्यमा दृढ प्रतिबद्ध छ ।’प्रधानमन्त्री ओलीले क्षेत्रीय सुरक्षा, जलवायु परिवर्तन, आतङ्कवाद र साइबर आक्रमणजस्ता खतराहरू बढ्दै गएको उल्लेख गरे ।

हिमालय क्षेत्रको हिउँ पग्लिँदै गएको र त्यसले करोडौं मानिसको जीवनमा संकट ल्याएको विषय पनि प्रधानमन्त्री ओलीले सम्बोधनमा समेटे । ‘हाम्रा हिमालहरूले विश्वको जलवायु सन्तुलनमा भूमिका खेलेका छन्, तर अहिले तीनको हिउँ हराउँदै छ’ ओलीले भने,’ तलतिर बसोबास गर्ने अर्बौं जनताको जीवन संकटमा पारिरहेको छ।

सी चीनफिङसँगको द्पक्षीय भेटमा नेपालको भूमिमा भारत र चीनको सहमतिबारे आपत्ति जनाएका ओलीले शक्ति राष्ट्रका शक्तिशाली नेताहरु उपस्थित सोमबारको औपचारिक सम्मेलनमा ‘नियममा आधारित विश्व व्यवस्था संकटमा पर्दै गएको धारणा राखेका छन् ।

तीन रणनीतिक रुपान्तरणका दिशा

प्रधानमन्त्री ओलीले भविष्यको दिशा निर्धारणका लागि तीनवटा रणनीतिक रूपान्तरण आवश्यक रहेको औंल्याए ।

  • आइसोलेन टु कनेक्टीभिटी- भौतिक, आर्थिक, डिजिटल र सामाजिक-सांस्कृतिक कनेक्टिभीटी विस्तार गर्दै क्षेत्रीय समृद्धिमा टेवा पुर्‍याउनुपर्छ।
  • कन्फ्रन्टेसन टु कन्सल्टेसन- विवादहरु घातक विनासतर्फ जान नदिइ कूटनीतिक उपायमार्फत समाधान खोज्नु पर्छ ।
  • कम्पिटिसन टु को-अपरेसन – साझेदारीमार्फत समावेशी र लचिलो विश्वव्यवस्था निर्माण गर्नुपर्छ ।

संसारलाई अहिले विभाजन होइन, सहकार्य चाहिएको ओलीले उल्लेख गरे । उनले नेपालले एससीओ भित्रको क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने नेपालको प्रतिबद्धता जनाए । ‘हामी न्यायपूर्ण, समावेशी र नियममा आधारित बहुपक्षीय प्रणालीको समर्थन गर्छौं’,प्रधानमन्त्री ओलीले भने,’ शाङ्घाई स्पिरिटलाई जोगाउन, मित्रता र असल छिमेकी सम्बन्ध बलियो बनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?