
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो । शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ ।
प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सृदृढ गर्ने विषयमा कुरा राखेका थिए ।
जवाफमा रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए ।
राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरे ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।
एससीओ बैठकका लागि चीनको उत्तरी शहर तियानजिनमा पुगेका ओली र पुटिनबीच भएको कुराकानीको सम्पादित अंश :
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन :
सम्मानीय प्रधानमन्त्रीज्यू, एससीओ शिखर सम्मेलनको अवसरमा म तपाईंसँग भेट गर्न र समसामयिक मुद्दा तथा द्विपक्षीय सम्बन्धबारे विचार विमर्श गर्न पाउँदा अत्यन्तै खुशी छु । जहाँसम्म मलाई लाग्छ, सन् १९५६ मा हाम्रो दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो, र आगामी वर्ष (दौत्य सम्बन्धको ७०औं वर्षगाँठ) मा हामीले यस सम्बन्धको एक विशेष वार्षिकोत्सव मनाउनेछौं ।
आज हामी हाम्रो आपसी सम्बन्धको केही नतिजा संक्षेपमा हेर्न सक्छौं । मैले भन्नै पर्ने हुन्छ कि हामीबीच कहिल्यै कुनै समस्या आएको छैन । अझ महत्वपूर्ण कुरा त के छ भने अन्तर्राष्ट्रिय एजेन्डाका मुख्य विषयहरूमा समेत हाम्रो धारणा समान छ वा भनौं एकअर्कासँग नजिक छ । वा पूर्णतया मेल खान्छन्, जस्तो कूटनीतिज्ञहरू भन्छन् । हामीले मुख्य क्षेत्रहरूमा कसरी आपसी सहयोग विस्तार र सुदृढ गर्न सकिन्छ भनेर पनि सोच्न सक्दछौं । म तपाईंलाई भेट्न पाउँदा अत्यन्तै खुसी छु, प्रधानमन्त्रीज्यू ।
प्रधानमन्त्री केपी शर्मा ओली :
धन्यवाद, महामहिम, यति राति– लगभग मध्यरातको समयमा मलाई तपाईं सँग भेटेर यो छलफल गर्न मौका दिनुभएकोमा । म यो अवसर पाएकोमा अत्यन्तै खुसी छु, महामहिम ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन :
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको यो विचार र प्रस्ताव अनुसार हामी नेपाल भ्रमण गर्नेबारे सोच्नेछौं । साथै, तपाईंलाई अनुकुल हुने कुनै पनि समयमा हामी तपाईंलाई पनि रूसमा स्वागत गर्न सधैं तयार छौं ।
प्रधानमन्त्री केपी शर्मा ओली :
१९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–रुस सम्बन्ध सधैं मैत्रीपूर्ण र समुधर रहँदै आएको छ ।
तर के कारणले हो, म भन्न सक्दिनँ, अहिलेसम्म रुसबाट विशेष गरी उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण भएको छैन ।
नेपालतर्फबाट भने म स्वयं सन् १९९९ र सन् २००० मा रुस भ्रमणमा गएको थिएँ । ती अवसरमा मलाई मस्को, सेंट पिटर्सबर्गजस्ता ऐतिहासिक शहरहरूको भ्रमण गर्ने र रूसी सभ्यता–संस्कृति नजिकबाट बुझ्ने अवसर प्राप्त भयो ।
खासगरी जब म १९९९ मा रुस घुम्न गएको थिएँ, त्यतिबेला नै मैले थाहा पाएँ कि पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीहरू रसियाका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।
आज पनि नेपालमा धेरैजसो चिकित्सकहरू, जसले रुसमा अध्ययन गरेर फर्किएका छन्, जनताको उपचारमा समर्पित छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन :
तपाईंलाई थाहा होला, जब मानिसहरू कुनै देशमा पढ्न जान्छन्, जस्तै मानौं रूसमा, उनीहरू जब फर्कन्छन्, सधैं राम्रा सम्झनाहरू लिएर जान्छन् । वा भनौं रूसको सम्झना लिएर फर्कन्छन् । यस्ता मानिसहरू आफ्नो मातृभूमि वा भनौं नेपाल–रूसबीचको सम्बन्धको सेतु जस्तै हुन्छन् ।
मानविकी सहयोगको दृष्टिले हामी शिक्षा लगायत संस्कृति क्षेत्रको निरन्तर सम्पर्कमा गम्भीर ध्यान दिन्छौं, र हामी यो सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी हुनेछौं । तपाईंले भन्नुभयो, नेपालका विभिन्न क्षेत्रका मानिसहरू रूसमा शिक्षा लिन इच्छुक छन् ।
हामी तपाईंको साथमा शिक्षा क्षेत्रमा सबैभन्दा चासो लाग्दा र सम्भावनायुक्त क्षेत्रहरू पत्ता लगाउनेतर्फ सहकार्य गर्नेछौं । हामी अन्य मानविकी सहयोगका क्षेत्रमा पनि ध्यान दिन सक्छौं । मलाई विश्वास छ कि रूसी जनताले नेपाली मूर्तिकलालाई हेर्न धेरै चासो दिनेछन् । हो, हामी यसबारे पनि सोच्न सक्छौं ।
प्रतिक्रिया 4