
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् ।
सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका छन् ।
‘रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव भएको छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि छलफल भएको छ ।’
त्यस्तै, रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति पनि बढाउनेबारे छलफल भएको स्रोतले बतायो ।
उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो ।
शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबारदेखि चीनमा छन् ।
प्रतिक्रिया 4