News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा भरत यादवलाई नियुक्त गरिएको छ।
- नेपाल भलिबल संघले भदौ १२ गतेको बैठकमा यादवलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको र उनलाई पत्र हस्तानतरण गरेको जनाएको छ।
- पुरुष टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका यादवले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।
१७ भदौ, काठमाडौं । भरत यादव नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आगामी कात्तिकमा बंगलादेशमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगलाई लक्षित गर्दै नेपाल भलिबल संघले यादवलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको ढाकामा हुँदैछ ।
यही भदौ १२ गते बसेको भलिबल संघको ५४औं कार्य सम्पादन समितिको बैठकले काभा पुरुष नेसन्स लिगमा नेपाली टोली सहभागिता गराउने निर्णय गर्दै भरत यादवलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
भलिबल संघले यादवलाई पत्र समेत हस्तान्तरण गरिसकेको छ ।
महोत्तरीका प्रशिक्षक यादवले यसअघि नेपाली राष्ट्रिय महिला टिम र पुरुष टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
पहिलो पटक कुनै पनि सिनियर टिमको मुख्य प्रशिक्षक नियुक्त भएका यादवले खुशीसँगै जिम्मेवारी पनि थपिएको बताए ।
‘यसअघि पनि पुरुष टिममा सहायक प्रशिक्षक भएर काम गरिसकेको थिएँ । मुख्य प्रशिक्षक नियुक्त हुँदा खुशी पनि छु जिम्मेवारी थपिएको पनि अनुभव भएको छ,’ यादवले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म माथि अझ धेरै जिम्मेवारी थपिएको छ । नेपाली भलिबल र भलिबल खेलाडीको विकासका लागि काम गर्नेछौँ ।’
सन् २०२३ मा नेपालले १९औं एसियन गेम्समा सहभागिता जनाउँदा पुरुष टोलीको मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका हान अबिङ थिए भने उनको सहायकमा यादव नै थिए ।
यस्तै त्यसपछि श्रीलंकामा भएको काभा च्यालेन्ज कप भलिबल प्रतियोगितामा पनि हान अबिङ मुख्य प्रशिक्षक हुँदा यादव सहायक नै थिए ।
त्यसपछि नेपालको पुरुक्ष भलिबल टिमले कुनै प्रतियोगिता खेलेको छैन । दुई वर्षपछि नेपाली पुरुष भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी गर्दा यादवले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।
यस्तै पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा यादव लुम्बिनी लाभाजको मुख्य प्रशिक्षक भूमिका छन् । महिला लिगको पहिलो संस्करणमा यादवले मधेश युनाइटेड टिमको प्रशिक्षण सम्हालेका थिए ।
भलिबल संघले पुरुष टिमको सहायक प्रशिक्षकमा घरेलु भलिबलका सफल प्रशिक्षक उत्सव खड्कालाई नियुक्त गरेको छ । हेल्प नेपाल स्पोर्ट्स क्लबको प्रशिक्षक रहिसकेका खड्काले एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रशिक्षण सम्हालिरहेका छन् ।
टिम व्यवस्थापकमा भलिबल संघले प्रविण श्रेष्ठला२ नियुक्त गरेको छ ।
प्रतिक्रिया 4